PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सरकारले एकीकृत गर्‍यो सबै अस्पतालका एम्बुलेन्स, अब १०२ बाट चौबिसै घण्टा सेवा



कमलराज भट्ट

सरकारले एकीकृत गर्‍यो सबै अस्पतालका एम्बुलेन्स, अब १०२ बाट चौबिसै घण्टा सेवा
फाइल फोटो

धादिङको ज्वालामुखी गाउँपालिका ३ का २७ वर्षीय एक युवकले मंगलबार र्‍यापिड टेस्ट (आरडीटी) गर्दा पोजेटिभ देखिएपछि क्वारेन्टाइन जान एम्बुलेन्स खोजे। कोरियाबाट ४२ दिनअघि आएका उनको गाउँपालिकाले गरेको टेस्टमा कोरोना पोजेटिभ देखिएपछि साँझ एम्बुलेन्सको खोजी भयो। तर, कुनै पनि एम्बुलेन्स चालक उनलाई लैजान तयार भएनन्। गाउँपालिकास्थित मैदी स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत तार्केश्वर पटेलले पनि एम्बुलेन्स चालकलाई मनाउने प्रयास गरे। नमानेपछि ती युवक आफैँ बाइक चलाएर धादिङबेसीस्थित धादिङ अस्पतालको क्वारेन्टाइन स्थलमा पुगे।

पढ्नुस्ः र्‍यापिड टेस्टमा पोजेटिभ देखिएपछि एम्बुलेन्स चालकले टेरेनन् अनि आफैँ मोटरसाइकलमा हानिए धादिङका युवक...

चैत २३ गते सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा ओमनबाट फर्किएकी महिना बिरामी परिन्। सिन्धु सदावहार अस्पताल खाडीचौरले उनलाई कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण गर्नुपर्ने र यसका लागि जिल्ला अस्पताल चौतारा लैजान भन्यो। एम्बुलेन्स खोजियो। तर, चौतारा ल्याउन कुनै एम्बुलेन्स तयार भएनन्। केही सीप नलागेपछि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङ आफैँले गाडी चलाएर बिरामीलाई अस्पताल पुर्‍याए।

पढ्नुस्ः एम्बुलेन्स चालकले नमानेपछि जिसस प्रमुख कृष्णगोपाल आफैँ गाडी चलाएर पुगे बिरामी लिन, पुर्‍याए आइसोलेसन वार्डमा

पोखरा घर भई मिर्गौला डायलासिसका लागि छवि गुरुङ र श्रीमती हेमकुमारीसहित काठमाडौँ बस्दै आएका थिए। चैत १३ गते पनि उनको डायलासिस गर्ने पालो थियो। राष्ट्रिय मिर्गौला केन्द्र वनस्थली जाने तयारी गर्दा अचानक छवि भुईँमा लडे। बेहोस भए। मिर्गौला केन्द्रमा घटनाबारे बताउँदै एम्बुलेन्स पठाउन अनुरोध गरिन्। आएन। अरू एम्बुलेन्समा फोन गर्दा आएनन्। तीन घण्टापछि चिनेको ट्याक्सीवालाले मिर्गौला केन्द्र पुर्‍याइदियो। इमर्जेन्सी वार्डमा पुर्‍याउँदा छविलाई मृत घोषित गरियो।

यो पनिः आएन एम्बुलेन्स, टेरेन ट्याक्सीले, पति गुमाएकी पीडितको प्रश्न : कोरोनाबाहेक जुन रोगले मर्दा पनि हुने?

सामाखुसीस्थित आशीर्वाद वृद्धाश्रममा आश्रय लिएर बसेकी २८ वर्षीय सरस्वती भुजेल चैत १८ गते साँझ ५ बजेतिर अचानक बेहोस भइन् । प्रहरी र एम्बुलेन्स बोलाए। प्रहरी आए पनि गाडीमा उनलाई बोक्न मानेन। बोलाएको एम्बुलेन्स एक घण्टापछि आयो। तर, एम्बुलेन्स चालकले बिरामीलाई छुन मानेनन्। वृद्धाश्रमका महिलाले सरस्वतीलाई आफैँ एम्बुलेन्समा राखे। शिक्षण अस्पताल लगियो। त्यहीँ उनलाई मृत घोषित गरियो।

उता दाङमा लकडाउनका कारण हवाई उडान बन्द भएपछि मध्य चैतमा कोरोना लक्षण देखिएर आइसोलेसनमा उपचार गरिरहेका बिरामीको स्वाब काठमाडौँ पठाउन एम्बुलेन्स चाहिने भयो। तर, कोही एम्बुलेन्स पनि बिरामी होइन स्वाब समेत बोक्न तयार भएनन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारी चैत १३ गते संकलन गरिएका नमूना बोकेर आफैँ काठमाडौँ आइन्।

गोरखाको भीमसेन थापा गाउँपालिका ४ धावाका ३८ वर्षीय पुरुषलाई ज्वरो, श्वासप्रश्वासमा समस्या र खोकीले ग्रसित बनाएपछि स्वास्थ्यकर्मीले जिल्ला अस्पताल रिफर गरे। स्वास्थ्यकर्मीले एम्बुलेन्स पनि खोजे। तर एम्बुलेन्स चालक जानै मानेनन्। अन्ततः घरमै गएर स्वास्थ्यकर्मीले ज्वरो नापे। नदेखिएपछि घरमै उपचार गरियो।

यी त प्रतिनिधिमूलक घटना हुन्। कोरोना भाइरस संक्रमणको सन्त्रास फैलिएसँगै एम्बुलेन्स चालकहरू सामान्य बिरामी पनि बोक्न मानिरहेका छैनन्। व्यक्तिगत सुरक्षा सामग्री नभएको भन्दै उनीहरू पन्छिने गरेका छन्। जिम्मेवारी बिरामीलाई समयमै अस्पताल पुर्‍याउने र ज्यान जोगाउन मद्दत गर्ने भए पनि कोरोनाको नाममा र लकडाउनका बेला उनीहरू गैरजिम्मेवार बन्दा धेरैले अकालमा ज्यान गुमाउनु परेको छ।

सरकारले बदल्यो नीति

देशैभर एम्बुलेन्स चालक तथा सञ्चालकका कारण बिरामीको ज्यान जान थालेपछि सरकारले नयाँ नीति लिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काललाई काठमाडौँ उपत्यकामा लागू हुनेगरि रेडक्रस र सरकारी तथा निजी अस्पतालहरूका एम्बुलेन्स केन्द्रीय नेटवर्कमा जोडेर सेवा दिने निर्णय गरेको छ।

'काठमाडौँ उपत्यकाभित्र बिरामीहरूको ट्रान्सफर गर्नको निम्ति, बिरामीको सहयोगका निम्ति नेपाल रेडक्रस सोसाइटीसँग भएको र सय शय्याभन्दा बढी शय्या भएका अस्पतालहरूसँग र गैरसरकारी अस्पतालहरूसँग भएका एम्बुलेन्सहरूलाई समेत केन्द्रीय नेटवर्कमा ल्याउने र ती एम्बुलेन्समार्फत काठमाडौँ उपत्यकाभित्र १०२ को टेलिफोन सेवामार्फत सेवा दिने निर्णय गरिएको छ,' स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भने।

उनका अनुसार बिस्तारै देशभर सबै एम्बुलेन्सलाई केन्द्रीकृत गरी सेवा दिइनेछ। उपत्यकामा १०२ बाट २४ सै घण्टा एम्बुलेन्स सेवा पाइनेछ।  

महानगरको नि:शुल्क सेवा

लकडाउनमा एम्बुलेन्सले सेवा नै दिन नमानेपछि काठमाडौँ महानगरपालिकाले यसअघि नै लकडाउनको अवधिभर हृदयाघात, मिर्गौला लगायतका दीर्घ रोगका बिरामीलाई अस्पताल आउन जान निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गरिसकेको छ। लकडाउन अवधिभर पाँच वटा एम्बुलेन्सले २४सै घण्टा सेवा दिइरहेका छन्। यी एम्बुलेन्सलाई कामपाले आर्थिक सहयोग गरिरहेको छ।

लकडाउनको अवधिमा महानगरमा बसोबास गर्ने सम्भावित बिरामीलाई सार्वजनिक यातायातका सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन संयुक्त एम्बुलेन्स चालक संघसँग सम्झौता गरेर निःशुल्क एम्बुलेन्स सेवा चलाएको मेयर विद्यासुन्दर शाक्यले बताए। उनका अनुसार बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा लिन सम्पर्कका लागि कामपाले हटलाइन नम्बर ११८० को व्यवस्था गरेको छ।

बिरामी नबोक्नेको लाइसेन्स रद्द

त्यसै गरी सिन्धुपाल्चोकमा कोरोना भाइरसको जोखिम रोक्नुपर्ने आपतकालीन अवस्थामा बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने भएको छ। कतिपय एम्बुलेन्सले सम्भावित संक्रमित बिरामीलाई ओसारपसार गर्न नमान्ने र सम्पर्कमा नआउने गरी बस्ने गरेको देखिएपछि प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अध्यक्षतामा बसेको जिल्लास्तरीय खोज तथा उद्धार समितिको बैठकले यस्तो सिफारिस गरेको हो।

एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ को दफा १६ बमोजिम जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिमा सिफारिस गरिने डिएसपी काफ्लेले बताए। उनका अनुसार जिल्लामा सबै एम्बुलेन्सको सूचीकरणमा पनि प्रहरी लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell