PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

झिसमिसेमै बोलाउन पुगेका थिए १० वर्षका छोरा तर बाबुआमा दुवै थिएनन् ज्युँदा



सविन ढकाल

झिसमिसेमै बोलाउन पुगेका थिए १० वर्षका छोरा तर बाबुआमा दुवै थिएनन् ज्युँदा

काठमाडौं : मंगलवार बिहानै कृष्णबहादुर पुन आफ्नो नियमित दिनचर्या झैं घाम नझल्किँदै आफ्नो पशु फार्ममा पुगे। फार्मको मुख्य गेटमा भित्रबाट चावी लगाइएको थियो। पहिले पनि यसरी नै चावी लगाइन्थ्यो। फार्म भित्रै बस्नेगरी अन्य कामदारहरु पनि थिए।

करिब साढे ४ बजे फार्ममा पुगेका उनले गेटमा संकेत गरे। तर, कोही आएनन्। पहिले उनले संकेत गर्दा गेटमा चाबी खोल्न मानिस हुत्तिएरै आइपुग्थे। उनले फार्ममा काम गर्ने माधवको नामै लिएर चिच्याए। तर, कोही पनि गेटको ताल्चा खोल्न आएनन्। अरुलाई पनि बोलाए। आएनन्।

त्यसपछि फार्मभित्र नै रहेको अर्को कोठाबाट एकजना बालकको आवज आयो। १० वर्षीय बालकले आफू व्यूझिएको संकेत गरे। त्यसपछि बालकलाई उसको बाबुलाई बोलाउन भने। बालक दौडिँदै फार्मको अर्को कोठातिर गए जहाँ उनका बाबु आमा सुत्थे। कोठामा ढोका थिएन। बालकले कोठामा बाबुलाई देखेनन्। त्यसपछि जवाफ दिए - यहाँ त कोही हुनुहुन्न।

कृष्णले फेरि बालकलाई फार्ममा गएर हेर्न भने। त्यहाँ सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजाली सहित अरु काम गर्ने सुत्थे। नभन्दै उनका बुबा त्यही रहेछन्। कृष्णले बुबालाई उठाउन भने। तर, बालकले जवाफ दिए - उहाँ उठ्नु हुन्न। रगत पनि बगेको छ।

यति भन्दा कृष्णको मनमा चिसो पस्यो। बालक र उनकी सानिआमा भने फार्म नजिकै रहेको कोठामा सुत्थे। उनीहरुको कोठा भने केही व्यवस्थित र ढोका समेत थियो।

'त्यसपछि मलाई केही डर लाग्यो। अनि गेटबाट नाघेर भित्र गएँ,' गंगादेवी पशुपालन फार्मका संचालक कृष्ण पुनले भने।

पुनले २ वर्षदेखि पशु फार्म संचालन गर्दै आएका थिए। उनको गोठमा अहिले बाच्छाबाच्छी र दुहुनो गरेर ३८ वटा गाईभैंसी रहेका छन्। उनी भित्र पस्दा रगत बगिरहेक थियो। पाँचवटा लास असरल्ल परेको अवस्थामा देखियो। लास उनको फार्ममा काम गर्ने जानकी मुसहर, माधव मुसहर, करण चौधरी, आशिष चौधरी र पोषराज मुसहर थियो।

त्यसपछि बालक र उनकी सानीमालाई छोडेर कृष्ण प्रहरीलाई बोलाउन गए। प्रहरी घटनास्थलमा पगेर हेर्दा पाँच जनाको शव रगताम्मे भएर लडिरहेको थियो।

'टाउकोमा चोट लागेर रगत बगिरहेको अवस्थामा फेला पारेका हौं,' जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेमकुमार थापाले भने।

प्रहरीले घटनाको अनुसन्धान गर्न फार्ममा काम गर्दै आएका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीलाई नियन्त्रणमा लिएको छ।

१२ बजेतिर ढोकामा ढकढक

घटनास्थल नजिकै बच्चा र उनकी सानीआमा मस्त निन्द्रामा थिए। रातिको समयमा १२ बजेतिर कसैले ढोकामा लौरोले हानेको जस्तो आवाज आएको थियो। तर, उनले ढोका खोलिनन्।

'राति ढोकामा हानेको भनेकी छिन्। बाहिर निस्की भन्ने आवाज सुनिएकी रहिछिन्,' फार्म संचालक पुनले भने।

नियन्त्रणमा लिएका युवकले मदिरा सेवन गरेका भेटिएको छ। उनी अचेतजस्तो देखिन थालेपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले जानकारी दिए। 'अत्याधिक मादक पदार्थ सेवन गरेको देखिएको छ। अहिले उपचारको लागि अस्पतालमा राखेका छौं,' एसपी थापाले भने।

प्रहरीको प्रारम्भीक अनुसन्धानमा सिंजालीले फरुवा( कोदालो) प्रहार गरेर पाँच जनाको हत्या गरेको देखिएको छ।

युवकलाई पुनले वैशाख १६ गतेबाट काममा राखेका थिए। केही महिना अगाडि पुनको फार्ममा काम गर्न भन्दै सिंजाली पुगेका थिए। तर, आफूलाई कामदार अहिले नचाहिएको भन्दै फर्काएका थिए। त्यसपछि सिंजालीले पटकपटक फोन गरेर काम मागेपछि वैशाखमा काममा राखेका थिए।

यो पनि पढ्नुहोस्

५ जनाको हत्या अभियोगमा सुर्खेतका सिंजाली पक्राउ, एसएसपीको नेतृत्वमा छानविन समिति

क्राइम सिन : कोदालो भिजेको छ रगतले, श्रीमान् श्रीमती नै मारिए, १४ वर्षको बालकको पनि हत्या

रुपन्देहीमा एक युवकले गरे पाँच जनाको हत्या, युवक प्रहरी नियन्त्रणमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell