PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रंगभेदविरुद्धको मनोविज्ञान : जर्सीमा लेखियो ‘ब्ल्याक लाइभ्स म्याटर’



मुकुन्द घिमिरे

रंगभेदविरुद्धको मनोविज्ञान : जर्सीमा लेखियो ‘ब्ल्याक लाइभ्स म्याटर’

विश्वमा पछिल्लो समय चर्चामा रहेको एउटा नारा हो ‘ब्ल्याक लाइभ्स म्याटर’।

अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोएडलाई श्वेत प्रहरी अधिकारीले नियन्त्रणमा लिने क्रममा घुडाँले घाँटीमा थिचेपछि उनको मृत्यु भयो। उक्त घटना सार्वजनिक भएपछि अमेरिकामा कयौं दिनसम्म प्रदर्शन भयो। ‘ब्ल्याक लाइभ्स म्याटर’ भन्दै सडकमा ओर्लिएका अमेरिकी युवाको समर्थनमा अन्य देशमा समेत विरोध कार्यक्रम गरियो। विश्वका अधिकांश देशमा रंगभेदविरुद्धको नारा चर्चित भयो।

अश्वेतमाथिको विभेद अमेरिकामात्र नभएर युरोपमा पनि त्यतिकै व्याप्त छ। विश्वयुद्ध र उपनिवेशकालको झझल्को अझै पनि रंगभेदको रुपमा युरोप अमेरिकामा देखिने गरेका छन्। राजनीतिक, सामाजिक रुपमा मात्र नभएर खेलकुदमा कहिलेकाहीँ रंगभेदी कुराहरु छरपस्ट हुने गर्छन्।

जबजब अश्वेतमाथि भेदभाव हुन्छ तबतब खेलाडी, प्रशिक्षक, क्लबलगायतले रंगभेद विरुद्ध आवाज उठाउने गरेका छन्। जर्जको मृत्युपछि पनि क्रिकेट, फुटबल, बास्केटबल, टेनिस लगायत विभिन्न खेलका खेलाडीहरुले रंगभेद विरद्ध आवाज उठाउने देखि ऐक्यबद्धता जनाएका छन्।

अर्कोतर्फ कोरोनाका कारण लामो समय खेल गतिविधि ठप्प रहँदा फुटबल भने पछिल्लो समय ब्युतिँदै छ। फुटबल फर्किँदै गर्दा विभिन्न खेलमा रंगभेद विरुद्धका आवाज पनि सशक्त हुँदै गइरहेको छ।

सुरुमा जर्मन बुन्डेसलिगा र हंगेरी लिगका खेलाडीहरुले जर्सी उतारेर ‘जर्ज फ्लोएडका लागि न्याय’ लेखिएको टिसर्ट प्रदर्शन गर्दै रंगभेदविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए। त्यस्तै प्रिमियर लिग सुरु हुनुअघि नै इङलिस क्लब लिभरपुलका २९ खेलाडीले गोलो घेरामा एउटा घुँडा टेकेर बस्दै रंगभेदको विरुद्ध समर्थन जनाएका थिए। त्यस्तै चेल्सी र न्युक्यासलका खेलाडीहरुले पनि यस्तै तस्बिर राखेर रंगभेदविरुद्ध आवाजलाई सशक्त बनाउने प्रयास गरे।

जर्सी पोलिटिक्स

पछिल्लो समय रंगभेदलाई लिएर खेलकुदमा फाट्टफुट्ट असन्तुष्टीहरु आइरहँदा इङलिस प्रिमियर लिगले भने जर्सीमै ब्लाक लाइभ्स म्याटर भनेर रंगभेदविरुद्धको लडाइँमा समर्थन जनाएको छ।

कोरोना महमारीले रोकिएको खेल पुन संचालन भएयता प्रिमियर लिगका खेलाडीहरुले लगाएको जर्सीमा उनीहरुको नाम नभएर ‘ब्लाक लाइभ्स म्याटर’ लेखिएको थियो।

प्रिमियर लिग पुन: सुरु भएयताका १२ खेलहरुमा उक्त जर्सी प्रयोग गरिने प्रिमियर लिगले जनाएको छ।

त्यस्तै खेल अघि, खेल भइरहेको समय र खेल पछि घुँडा टेकेर रंगभेदविरुद्ध खेलाडीहरुले समर्थन जनाउन पनि प्रिमियर लिगमा खुला गरिएको छ।

इङलिस प्रिमियर लिगका २० क्लबकै सामुहिक बक्तव्यमा भनिएको थियो: हामी खेलाडीहरु एकै गोल गर्न एकसाथ उभिन्छौं, त्यो हो रंगभेदको पूर्वाग्रह मेट्न।

उक्त वक्तव्यमा सबै खेलाडीहरु समान अवसर, सम्मानलगायतका विषयका लागि ‘कमिटेड’ भएको बताइएको छ।

तीन महिना भन्दा बढी समय रोकिएर खेल सुरु हुँदै गर्दा एस्टोन भिल्ला र सेफिल्ड युनाइटेडबीचको खेल अघि खेलाडी र रेफ्री समेतले एउटा घुँडा टेकेर कोरोनाबाट ज्यान गुमाएकालाई श्रद्धान्जली दिँदै रंगभेदी विचारको विरोध गरेका थिए।

जर्सी र मनोविज्ञान

फ्लोएडको हत्या पछि विश्वभर अश्वेत समुदायलाई हेर्ने दृष्टिकोणबारेमा बहस भइरहेको छ। प्रिमियर लिगले पनि यस विषयलाई नजिकबाट हेरिरहेको छ। अझ रहिम स्ट्रलिङ, टाइरोन मिङस् लगायतका खेलाडीहरु त रंगभेदविरुद्ध प्रदर्शनमै उत्रिएका थिए।

पछिल्लो घटना क्रमलाई नजिकबाट नियालीरहेका मनोविद स्टेफेन साइलभेस्टरले भन्छन् , ‘मनोविदका रुपमा मैले मानिसहरुको अन्याय, असमानता लगायतका बारेमा कुराहरु सुन्न धेरै समय खर्चेको छु। र, यो भन्नु गलत हुनेछ कि रंगभेदको विषय हरेक खेलाडीहरुले सोचेका हुँदैनन्।’

क्रिकेट खेलाडी रहिसकेका स्टेभेन चार्टड मनोचिकित्सकका रुपमा स्पोर्टस र इन्टरप्राइजहरुमा काम गर्छन्।

‘मैल एकदमै फरक पृष्ठभूमिका फरकफरक खेलाडीहरुसँग धेरै कुरा गरेको छु,’ उनी भन्छन्, ‘ती कुराकानीमा अश्वेत खेलाडी विशेषगरी अहिलेको अवस्थाको फरक अनुभव र वास्तवमा समाजमा कस्तो हुने गर्छभन्ने कुरामा जोड दिन्छन्।’

पछिल्लो समय उनले प्रिमियर लिगका खेलाडीहरुसँग पनि यस्तै संवाद गरेको बताएका छन्।

त्यसो त प्रिमियर लिग रंगभेदको विरोधका लागि खेलाडीहरुलाई टेक्नलगायतमा सहज देखिएको छ। त्यस्तै ब्लाक लाइभ्स म्याटर लेखेको जर्सीले अर्को मनोविज्ञान त पक्कै सिर्जना गर्छ नै।

साइल्भेस्टर यसलाई सामूहिक रुप दिनुपर्ने सुझाउँछन्।

‘यसमा केही गर्नुपर्छ। र म के भन्छु भने क्लबहरुसँग प्रोटेस्टका लागि एउटा प्रोटोकल हुनुपर्छ।’ उनी भन्छन्।

यसो गर्दा सबै खेलाडीको मनोभावना समेटिने उनको तर्क छ। विशेषगरी ती खेलाडी जो मैदान प्रवेशको अवसर सायद नपाउन पनि सक्छन्।

पढ्न सिफारिस् :

फ्लोइड हत्याले खेलकुदमा पनि उठायो रंगभेदको बहस

आइपिएलमा भारतीय खेलाडीले रंगभेद गरेको दाबी गरेका समीलाई गेलको साथ, चर्चामा इशान्तको 'रंगभेदी' पोस्ट

'आइसिसीले देख्दैन म जस्ता मानिसहरुसँग के भइरहेको छ?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell