PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

सादा पोसाकका  प्रहरी जवानले आफैं सूचना दिएर 'फनफनी' घुमाएको १५ किलो सुन प्रकरण!



सविन ढकाल

सादा पोसाकका  प्रहरी जवानले आफैं सूचना दिएर 'फनफनी' घुमाएको १५ किलो सुन प्रकरण!

काठमाडौं: मंगलवार बिहान प्रहरीले बरामद गरेको नक्कलीसहितको १५ किलो सुन प्रकरणमा प्रहरीको भूमिका शंकास्पद बन्दै गएको छ। घटनाको एकपछि अर्को पाटो खुल्दै जाँदा प्रहरीकै संलग्नता देखिएको छ।

प्रहरीकै'सुन अप्रेसन'माशंका भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पहिले महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाको नेतृत्वमा छानविन समिति गठन गरेको थियो। त्यसपछि समिति परिवर्तन गरेर नेतृत्वको जिम्मेवारी एसएसपी सुशीलकुमार यादवलाई दिएको छ। यादव नेतृत्वको समितिले घटनाको अनुसन्धान थालिसकेको छ।

यही समितिले सुन प्रकरणमा मंगलवार प्रहरीको हातबाट फुत्किएकामध्ये तीन जनालाई पक्राउ गरिसकेको छ। प्रहरीले पूर्वी नवलपरासीबाट निलेश सखिया, देवानपटेल र विजय पटेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ परेका तीनै जना भारतीय नागरिक हुन्। त्यस्तै प्रहरीलाई सूचना दिने भनिएका कैशल पटेललाई समेत नियन्त्रणमा लिएको छ।

पक्राउ परेका अभियुक्तको बयान, प्रहरीको थप अनुसन्धानले घटनामा प्रहरीको संलग्नता खुलेकोहो। महागनरीय प्रहरी वृत दरबारमार्गमा कार्यरत प्रहरी जवान बहादुरसिंह कडायत र सादा पोशाकमा खटिएका जवान प्रशन्न श्रेष्ठसमेत अनुसन्धानमा तानिएका छन्। शुक्रवार बिहान प्रहरीले श्रेष्ठले लुकाएको सुनजस्तो देखिने एक किलो सुन बरामद गरेको छ।

सुन प्रकरणको रहस्य गहिरिँदै : प्रहरीले नै लुकाउन लगाएको एक किलो सुन बागबजारमा भेटियो

बागबजारबाट उमेश श्रेष्ठलाई समेत सुन लुकाएको अनुसन्धानमा नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरुले दिएको बयानको आधारमा नै प्रहरीले छापा मारेको थियो। श्रेष्ठ प्रहरीलाई सुनको सुराकी दिने मानिस भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

तस्करसँग प्रहरीको साइनो

प्रहरी नियन्त्रणमा रहेका देवान पटेल र कैशल पटेल दाजुभाई रहेको प्रहरी अनुसन्धानमा खुलेको छ। भारतीय नागरिक भएपनि उनीहरु लामो समयदेखि परिवारसँगै काठमाडौंमा बस्दै आएका छन्। उनीहरुको न्युरोड क्षेत्रमा कोठा रहेको छ। दुबै जना सुनका सामग्रीमा जलप लगाउनेदेखि सुनका गहना बनाउने काम गर्दै आएका छन्।

पक्राउपछि प्रहरी जवान कडायतसँग केही समयदेखि सम्पर्क भएको उनीहरुले बयानमा बताएका छन्। घटनाको अघिल्लो दिन उनीहरुबीच दरबारमार्गको एक रेस्टुरेन्टमा भेट भएको देखिएको समितिका एक सदस्यले भने।'उनीहरुबीच राती फोन भएको देखिन्छ। त्यसपछि दरबारमार्गमा भेट्न आएका छन्,'समिति सदस्यले भने।

जवान कडायत र पटेल भेट भएपछि कडायलले सादा पोशाकमा खटिएका श्रेष्ठलाई बोलाएर सुन लग्ने योजना बनाएको देखिएको छ। जवान कडायतले नै महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी रञ्जन दाहाललाई सोमवार राति ८ बजेतिर सुन आउने जानकारी दिएको अनुसन्धानमा खुलेको छ।

जवानले यसरी घुमाए फनफनी

९ बजेतिर सादा पोशाकका प्रहरी प्रशन्नले डिएसपी दाहाललाई फोन गरेर सुन आउने जानकारी दिएका थिए। त्यतिखेर डिएसपी दाहाल ड्युटीमा बाहिर नै थिए। दाहालले घटनालाई सामान्य लिए। त्यसपछि उनी ड्युटी सकेर वृतमा पुगे र सुते। ११ बजेर ३५ मिनेटमा फेरि प्रशन्नले फोन गरेर भेट्न आउने जानकारी दिए। सुन तस्करीको सुराकी भएकाले डिएसपीले अस्विकार गर्न सकेनन्। उनले भेटेर भोलि बिहानै सुन आउने जानकारी दिएका थिए।

जवान श्रेष्ठले दिएको जानकारीअनुसार नै भोलिपल्ट बिहान डिएसपीको टोलीलेहात्तीसारको सडकमा खटिए।जवान श्रेष्ठले हात्तीसारको बाटो प्रयोग गरी सुन बोकेको गाडी आउने जानकारी दिएका थिए। जवान श्रेष्ठको जानकारीअनुसार डिएसपीको टोली सातबजेतिर हात्तीसारको सिद्धार्थ बैंक अगाडिखटिए। जवान प्रशन्नले होटेल मेरियट नजिकै रहेको एपार्टमेन्टबाट सुनसहितको गाडी निस्किने जानकारी दिए। जवान श्रेष्ठले विश्वास दिलाउन डिएसपीलाई केही समय अगाडि नै गाडी नम्बरसमेत म्यासेज गरेका थिए।

दरबारमार्ग हुँदै गाडी जाने सूचना पाएपछि डिएसपी दाहाल सिद्धार्थ बैंक नजिकै चेकिङ प्वाइन्ट बनाई टोलीसहित खटिए। तर गाडी भने अनुमानित समयमा आइपुगेन। बरुप्रहरी जवान श्रेष्ठ मोटरसाइकल लिएर डिएसपी भएको ठाउँमा आइपुगे।

करिब पौने९ बजेतिर जवान श्रेष्ठले गाडी कमलपोखरीबाट सुन्धारातिर'फुत्किसकेको'सुनाए।

त्यसपछि सूचना लिएर पुगेका जवान श्रेष्ठलाई डिएसपीले गाडी फलो गर्न निर्देशन दिए।

श्रेष्ठ मोटरसाइकल लिएर हुत्तिँदै निस्किए। टोली बटुलेर निस्कन डिएसपीलाई भने केही समय लाग्यो। गाडीमा प्रहरी राखेर डिएसपी दाहाल पुतलीसडक, प्रर्दशनीमार्ग, भद्रकाली हुँदै हुँइकिए सुन्धारातिर। बीचबीचमा जवान श्रेष्ठले सम्पर्क गरिरहेका थिए।

कमलादीबाट बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडी भद्रकाली,सुन्धरा,थापाथली हुँदै टेकु गएको जानकारी दिए उनै श्रेष्ठले। डिएसपी 'जसो जसो श्रेष्ठ उसै उसै श्रेष्ठ' गर्दै टेकु पुगे। जवानले गाडी फर्किएर आएको भन्दै अर्को लोकेसन दिए। डिएसपीफेरि त्यतै लागे।

त्यही क्रममा सुन बोकेर फुत्किएको गाडीमा भएका पटेल समूहले सुनसहितको झोला थमाएको समितिको अनुसन्धानमा खुलेको छ।'सुनको झोला उसले अरु कसैलाई नै बुझाउने योजना थियो। तर प्रहरी टोली पुगेपछि भेटिएको भनेर बुझाएको देखिँदैछ। थप अनुसन्धान हुँदैछ,' समितिका एक सदस्यले भने।

उक्त झोलामा चाँदी, सुनर दुई थान पेस्तोल भेटिएको थियो। आधा केजी सुनबाहेक अरु चाँदी भएको प्रमाणित भइसकेको छ।

डिएसपीको भ्यान जब फेरि सुन्धारा पुग्यो, फुत्किएको गाडीबाट सामान फ्याँकेर मानिसहरु भागेको जानकारी दिएजवान श्रेष्ठले। डिएसपीको टोली पुग्दा जवान कडायत आकास पुलमा सुन कुरेर बसिरहेको भेटिए। कडायत प्रहरीको (सिआरभी) गाडी चालक हुन्। उनी त्यहाँ पुग्नु नै शंकास्पद् थियो।

सुन फेला परेको ठाउँ डिएसपी दाहालको कार्यक्षेत्र थिएन। अर्कैको क्षेत्रमा अप्रेसन भएपछि प्रहरीले घुमाउरो तरिकाले घटनास्थल कमलादी बनायो। प्रहरीको गल्ती त्यही भयो। जवानले दिएको पूर्व जानकारीअनुसार गाडी दरबारमार्ग भएर आउने भएकाले डिएसपी दाहालले आफ्नो एरिया भएकाले अप्रेसन गर्ने तयारी गरेका थिए। समयमा नै अन्य प्रहरीलाई खवर गरिएको भए गाडी र मानिस तत्कालै समात्न सकिने सम्भावना देखिन्छ। तर त्यही नगर्दा प्रहरीको अप्रेसनमा शंका थपिएको हो।

तर जवानले गाडी कमलपोखरीको अपार्टमेन्टबाट आउँछ भन्ने कुरा लुकाएका रहेछन्। उनी भने सुन कटाउन पहिले नै कमपोखरीको अपार्टमेन्टअघि पुगेको देखियो।'प्रहरीको संलग्नता पुष्टि भए सबैलाई कारबाही हुन्छ। प्रहरी भनेर छुट हुँदैन,' महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरलले भने।फरार भएको गाडी महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीवार ललितपुरको नख्खिपोटमा रहेको निर्माणाधीन घरमा फेला परेको छ।

१५ किलो सुन प्रकरणका अप्रेसन कमाण्डर डिएसपी दाहाललाई वृत प्रमुखको जिम्मेबारीबाट हटाइसकिएको छ।

 

यो पनि  पढ्नुहोला

समातिएको सुन रहेछ 'नक्कली', गाडी लिएर तस्कर चाहिँ सहजै फरार!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell