PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कांग्रेसका तीन नेताको निचोड : फागुनमा महाधिवेशन हुँदैन



नेत्र तामाङ

कांग्रेसका तीन नेताको निचोड : फागुनमा महाधिवेशन हुँदैन

काठमाडौँ: नेपाली कांग्रेसको १४‍औँ महाधिवेशन अब फागुनमा नुहने लगभग निश्चित जस्तै भएको छ।

बुधबार विपी कोइरालाको १०७औँ जन्म जयन्तीको अवसरमा  'विपीको विचार नेपालको समुन्नतिको मुल बाटो' विषयमा आफ्नो धारणा राख्दै कांग्रेस शीर्ष नेताहरुले यस्तो सन्देश दिएका हुन्।

कांग्रेस केन्द्रले आयोजना गरेको कार्यक्रममा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले यसबारे छलफल गर्न केन्द्रीय समिति डाक्नुपर्ने सुझाव सभापति शेरबहादुर देउवालाई दिए।

पढ्नुस्ः फागुनमा महाधिवेशन हुने देखिएन, अब केन्द्रीय समिति बोलाउँ : कृष्णप्रसाद सिटौला

'केन्द्रीय कार्यसमितिले जुन कार्यक्रम बनाएको छ। फागुनमा कुनै पनि हालतमा महाधिवेशन हुँदैन भनेर हामीले सन्देश पाइसकेका छौँ,' सिटौलाले भने, 'यसैले हामीले जीवन्त छलफल गरौँ पार्टीको केन्द्रीय समिति बोलाएर।'

कांग्रेसले १४औँ महाधिवेशन आगमी फागुनमा सम्पन्न हुनेगरि कार्यतालिका सार्वजनिक गरेको थियो। गत माघ १३ गते कांग्रेसले फागनु ७ देखि १० गतेसम्म काठमाडौँमा केन्द्रीय अधिवेशन सम्पन्न गर्नेगरि कार्यतालिका सार्वजनिक गरेको थियो। क्रियाशील सदस्य बाँड्ने काम सकिनसाथ आउँदो कात्तिक १६ बाट स्थानीय तहको अधिवेशन सुरु हुने प्रारम्भिक कार्यतालिका हिमाली जिल्लाका नेताहरुको विरोधपछि हेरफेर भयो। महाधिवेशनको मिति तोकेयता देउवा इतरका नेताहरुले नेतृत्वको चर्को आलोचना गर्दै आएको छ।

देउवाले विरोधका बीच एक वर्ष कार्यकाल थप्न भ्याए। विधान अनुसार एक वर्षपछि कार्यकाल थप्ने ठाउँ हुन्न।

तर, कांग्रेसले महाधिवेशनको कार्यतालिका तोक्नु र कोरोना संक्रमणको महामारी आउनु एकैपटक भइदियो। सुरुवाती क्षणमै संक्रमण फैलिएपछि महाधिवेशनको कार्यतालिका प्रभावित भएको उल्लेख गर्दै सिटौलाले महाधिवेशनबारे यस्तो अवस्थामा पार्टीभित्र गम्भीर छलफल हुनुपर्ने धारणा राखेका हुन्।

महामारीका कारण लगभग कांग्रेसको महाधिवेशन सार्नु पार्ने बाध्यता नेतृत्वलाई आइलागेको छ। तर, देउवा आफ्नो मुखबाट महाधिवेशन सर्‍यो भनेर अपजस लिन चाहन्नन्। किनभने एक वर्ष अवधि बढाएर उनले धेरै तिरबाट चर्को आलोचना व्यहोरिसकेका छन्।

निर्वाचनमा नराम्ररी हार ब्योहर्नेदेखि प्रतिपक्षमा राम्रो भूमिका निभाउन नसकेको असफल सभापतिका रुपमा उनलाई पार्टीभित्रको विपक्षीले आरोप लगाउँदै आएको छ। यस्तो अवस्थामा आफू अघि बढेर महाधिवेशन सारौँ भन्न देउवालाई निकै अप्ठेरो परेको हो।

त्यसैले देउवाले आफ्नो कुरा अरु नेतामार्फत वा अरु गुटबाट उठोस् भन्ने चाहना राखेको हुन सक्छन्। सिटौलाले महाधिवेशन फागुनमा हुन्न भन्ने सन्देश पाएको भनी धारणा राख्न साथ वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रश्न तेर्स्याउन भ्याए : यत्रो दिनसम्म केही नगरी बस्ने, अहिले रुवाबासी गर्ने?

पढ्नुस्ः महाधिवेशनबारे देउवालाई पौडेलको प्रश्न : यत्रो दिनसम्म केही नगरी बस्ने, अहिले रुवाबासी गर्ने?

वरिष्ठ नेता पौडेलले अहिलेको नेतृत्वले आफ्नो कार्यकालमा केही गर्न नसकेकै कारण पार्टी संकटमा फसेको आरोप लगाए।

पार्टी सभापति देउवाप्रति लक्षित गर्दै नेता पौडेलले समयवद्ध रुपमा पार्टी नेतृत्व नचल्दा पार्टी संकटमा फसेको बताए।

आफूले यस्तो संकट आउन सक्ने पहिल्यै जानकारी गराएको उल्लेख गर्दै पौडेलले भने, 'सयमवद्ध काम गरेको भए अहिले रुवाबासी गर्नु पर्दैनथ्यो नि। यत्रो दिनसम्म केही नगरी बस्ने?'

उनले पार्टीलाई कसरी संकटबाट बचाउने भनी प्रश्नसमेत गरेका थिए।

'पार्टीमाथि संकट कसले गर्दा आयो? अब कता लानी हो?' पौडेलको भनाई पनि अब महाधिवेशनको मिति कहिलेलाई सार्ने भन्ने नै थियो।

पौडेल, सिटौलालगायत अरु नेताको भनाई सुनिसकेपछि देउवाले आफ्नो सम्बोधन सुरु गरे। विपी कोइरालाको प्रशंसाबाट सुरुवात गरेका देउवाले नेताहरुलाई आफूलाई विधान नसिकाउन चुनौती दिए। आफू जसरी पनि महाधिवेशन गराउने पक्षमै रहेको दाबी गर्दै प्रश्न गरे, 'मलाई पनि थाहा छ संविधान अनुसार एक वर्षभन्दा बढी बढाउनु हुन्न भनेर। भन्नै पर्दैन।'

पढ्नुस्ः कोरोनाका कारण महाधिवेशन हुँदैन भने मैले के गर्न सक्छु र : देउवा, 'यस्तो बेला सरकारविरुद्ध कहाँ गर्ने आन्दोलन?'

सभापति देउवाले समयमै महाधिवेशनका लागि आफूले हर प्रयास गरेको दाबी गर्दै अबको दिनमा पार्टीले जे निर्णय गर्छ, सहमति जे हुन्छ त्यही अनुसार आफू अघि बढ्ने बताए। महाधिवेशन तोकिएकै समयमा हुन्छ वा सर्छ भन्ने विषयमा ठोस भनाइ उनले राख्न सकेनन्।

बरु कोरोनाका कारण महाधिवेशन हुँदैन भने आफूले केही गर्न नसक्ने गैरजिम्मेवारपूर्ण वक्तव्य राख्न भ्याए। देउवाले भने, 'कोरोनाका कारण हुँदैन भने मैले के गर्न सक्छु। सार्नुपर्ने भए कहिले सार्ने?'

सम्बोधनकै क्रममा देउवाले गत निर्वाचनमा कांग्रेस हार्नुको कारण कम्युनिस्टहरुको तालमेल मुख्य कारण भएको दाबी गर्न भ्याए। उनले भने, 'निर्वाचनमा किन हार्‍यो? त्यो त सबैलाई थाहै छ नि। दुई-दुई वटा पार्टी मिलेर लडेपछि कहाँ जितिन्छ?'

सिटौला, पौडेल र देउवाको सवाल जवाफबाट स्पष्ट हुन्छ कांग्रेसको चौधौँ महाधिवेशन अब तोकिएको समयमा नहुने लगभग निश्चित भएको छ।

कांग्रेसको विधानको धारा ४३ अनुसार एक वर्षभन्दा बढी पदावधि बढाउन मिल्दैन। फागुनको महाधिवेशन एक वर्ष पदावधि बढाएर तोकिएको हो। यस्तो अवस्थामा कांग्रेसले केन्द्रीय समिति बोलाएर संक्रमणकालीन व्यवस्था लागू गर्ने देखिन्छ। यस्तो अवस्थामा ६ महिना कार्यवधि बढाएर महाधिवेशन सार्नसक्ने सम्भावना रहेको नेताहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell