PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एकै घरका तीन जनाको मृत्यु : दुई जनामाथि धारिलो हतियारको प्रयोग भएको देखायो पोस्टमार्टमले



पहिलोपोस्ट

एकै घरका तीन जनाको मृत्यु : दुई जनामाथि धारिलो हतियारको प्रयोग भएको देखायो पोस्टमार्टमले

काठमाडौं : भक्तपुरमा एकै घरका तीन जनाको मृत्यु हुँदा दुई जनामाथि धारिलो हतियार प्रयोग भएको देखिएको छ। शुक्रवार मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरामा घरभित्रै एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका थिए।

गएको शुक्रवार आफ्नै घरमा ३६ वर्षीय सुदिप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय सुशान्त (छोरा) मृत अवस्थामा फेला परेका हुन्।

सम्झना र सुशान्तमाथि धारिलो हतियार प्रयोग भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ। मृत्युको केही दिनपछिमात्रै फेला परेकाले हत्याको कारण तत्काल पहिचान गर्न सकिएको थिएन। शनिवार भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजको अस्पतालमा तीन जनाको पोष्टमार्टम गरिएको थियो। अस्पतालले प्रहरीलाई दिएको जानकारी अनुसार दुई जनाको हतियार प्रयोगले मृत्यु भएको देखिएको हो।

'अस्पतालले लिखित रिपोर्ट दिइसकेको छैन। तर, उहाँले मौखिक दिएको जानकारी अनुसार दुई जनाको हतियारको चोटका कारण मृत्यु भएको बताउनु भएको छ,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

सुशान्तको शरीरमा चारवटा गहिरो चोट देखिएको छ। उनको खप्परको भागमा धारिलो हतियारले प्रहार भएको देखिएको हो। त्यस्तै घाँटी समेत रेटिएको छ। उनको टाउकाको भित्री भाग बाहिर निस्किएकाले किरा समेत परिसकेको थियो।

'हामी त्यही दिन घटनास्थल पुग्दा एकदमै गन्हाएको थियो। किरा परिसकेको थियो,' महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले भने।                    खेतमा भेटिएको ‍बिषको बट्टा र घरभित्र मृत फेला परेको कुकुर

छोरा सुशान्तको शव घरको पहिलो तल्लामा भेटिएको थियो। पलङमा उनको शव भेटिएको थियो। उनले मर्ने समयमा केही संघर्ष समेत गरेको देखिन्थ्यो, भित्तमा रगत लत्पत्तिएको र खाटको तन्ना समेत च्यातिएको थियो। मरेपछि उनको शवमा रामनामी समेत ओडाइएको थियो।

त्यस्तै, सम्झनाको शिरमा ३ वटा चोट लागेको देखिएको छ। उनको पनि छोराको जस्तै खप्परमा नै प्रहार गरिएको देखिएको हो। सम्झनाको शव घरको दोस्रो तल्लामा फेला परेको थियो। उनको पनि शरीर गन्हाएर किरा पर्न थालेको अवस्थामा पलङमा नै फेला परेको थियो।

प्रहरीले घटनास्थलबाट धारिलो हतियारसमेत फेला पारेको थियो।

त्यस्तै, घरको माथिल्लो तल्लामा सुदीपको शव भेटिएको थियो। पोस्टमार्टम उनको शिरमा अन्य दुई शवमा जस्तो कुनै चोट नदेखिएको अस्पतालले प्रहरीलाई ब्रिफ गरेको छ। उनको शरीरमा बिषको मात्रा देखिएको छ। उनको शव घोप्टिएको अवस्थमा फेला परेको थियो। उनको मृत्यु अन्य दुईजनाभन्दा निक्कै पछि भएको देखिन्छ किनकि त्यसबाट अन्य दुईबाटजस्तो गन्ध आएको थिएन। घटनास्थलमा उनको कमिजमा रगतको दाग लागेको देखिएको थियो।

'सुदीपको शरिरमा भने कुनै चोट नदेखिएको अस्पतालले जानकारी दिएको छ। शरीरमा बिष देखिएको हो। तर यसबारे थप डिटेल आएको छैन,' ती प्रहरी अधिकृतले सुनाए।

प्रहरीले घर नजिकैको खेतमा विषका दुईवटा बट्टा फेला पारेको थियो। तर, सुदीपको शरीरमा देखिएको बिष त्यही हो या अरु कुनै पहिचान भइसकेको छैन। अरु थप जानकारीका लागि भिसेरा परीक्षण गर्नुपर्ने हुन्छ। त्यसको रिपोर्ट आउन केही समय लाग्नेछ।                        उनीहरुको घरमा पालेको कुकुर समेत मृत अवस्थामा फेला परेको थियो। कुकुरको समेत पोष्टमार्टम गरिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले आमा छोराको हत्यापछि सुदीपले आत्महत्या गरेको संकेत गरेको छ। तर अझैंसम्म प्रहरीले प्रमाण सहित त्यसलाई पुष्टि गर्न भने सकेको छैन। साथै हत्याको कारण समेत खुलिसकेको छैन।

सुदीप आर्थिक भार थपिँदै गएपछि केही समस्यामा परेको भने थाहा भएको छ। शुक्रवार दिउँसो ५ बजेतिर सुदीपका भाइ उनीहरुको घरमा जाँदा तीनै जना मृत देखेपछि घटना बाहिर आएको थियो।

सम्बन्धित समाचार

तीन जनाको मृत्यु संदेहपूर्ण बनाउने गरी खेतमा विषादीको बट्टा, बाथरुममा बान्ता, कमिजमा रगतका छिटा, ढोका चाहिँ खुला

जब भाइले घरभित्र छिरेर हेर्दा सबै परिवार मृत देखे…

भक्तपुरमा तीन जनाको शंकास्पद मृत्यु : घटनास्थल पुगेका वडाध्यक्ष भन्छन, 'शव गनाएर हेर्नै सकिएन'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell