PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

गुटका कारण ‘विवादको महासंघ’ बन्दै नेकपा, दुई अध्यक्षबीच फेरि बढ्यो दुरी



कुञ्जरमणि भट्टराई

गुटका कारण ‘विवादको महासंघ’ बन्दै नेकपा, दुई अध्यक्षबीच फेरि बढ्यो दुरी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा स्थायी कमिटी बैठकले मल्हम लगाएको विवाद झाँगिदै गएको छ। गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले विवाद समाधान गरी पार्टी विधि र पद्धतीमा चल्ने प्रस्ताव पारित गरेपनि विवाद झनै चर्किएको हो।

नेकपामा राजदुत नियुक्ति, मन्त्रिमण्डल पुनर्गठन, कर्णालीमा अविश्वासको प्रस्ताव प्रकरण, भारतीय गुप्तचर संस्था रअ प्रमुखको प्रधानमन्त्रीसँगको भेट लगायतका विषयले विवाद थपेको हो।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भदौ २६ गतेलाई विवादमा नफर्किने मितिका रुपमा निर्धारण गर्ने प्रतिवद्धता जनाएका थिए।

'पार्टीभित्र देखापरेको विवाद वा मतभेदका सम्बन्धमा स्थायी कमिटीको पाँचौ बैठक समापनको मिति २०७७ भदौ २६ गतेलाई पुरानो विवादतर्फ नफर्किने निश्चित समय निर्धारण गर्ने र पुनः त्यसप्रकारको अन्तर्विरोधपूर्ण विवाद नहुने कुरा सुनिश्चित गर्ने, अध्यक्षद्वयले अन्तरपार्टी निर्देशनमा संकल्प गरेका थिए, ' सार्वजनिक रूपमा गरिने तथ्यहीन र अमर्यादित आरोप–प्रत्यारोप बन्द गर्ने।'

तर, त्यो वाचा एक महिनापनि टिक्न पाएन। फुटको संघारबाट फर्किएको नेकपामा फेरी विवादको श्रृङ्खला सुरु हुन थालेको छ।

यस्तो छ विवादको श्रृङ्खला

स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिका विषयमा पार्टीमा छलफलपछि मात्रै गर्ने निर्णय गरेको थियो। सोही अनुसार असोज ४ र ६ गते सचिवालय बैठक बस्यो। बैठकले मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड बनाउने जिम्मेवारी ओली-प्रचण्डलाई दियो। तर, लामो समयसम्म दुई अध्यक्षले मापदण्ड तयार गर्न सकेनन्। मन्त्रिपरिषद् पुनर्गठनका विषयमा दुई अध्यक्षबीच विवाद उत्पन्न भयो।

ओलीले केही मन्त्रीमात्र फेरबदल गर्ने प्रस्ताव अघि सारेका थिए भने प्रचण्ड प्राय मन्त्रीहरु हटाउनुपर्ने पक्षमा थिए। मन्त्रिपरिषद्बारे टुंगो नलाग्दै नेकपामा राजदूत नियुक्तिको विषयले विवाद सिर्जना गर्‍यो।

गत असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायतको र पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिकाको राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो। ओलीले पार्टीमा छलफल नै नगरेको भन्दै असन्तुष्ट बन्दै आएका प्रचण्डसहितका नेताहरु पछिल्लो राजदुत नियुक्तिप्रति पनि असन्तुष्ट रहे। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकलौटी ढंगले राजदूत सिफारिस गरेको भन्दै नेताहरु रुष्ट भए।

मन्त्रिपरिषद् पुनर्गठनबारे दुई अध्यक्षबीच छलफलको क्रम चलिरहँदा कर्णाली प्रदेशबाट अर्को विवादको विजारोपण भयो। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वसको प्रस्ताव संसदीय दलमा दर्ता भयो।

ओली निकट प्रदेशसभा सदस्य यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए। उक्त विवादले केन्द्रमा पनि धक्का दियो। अन्तत: कर्णालीका नेताहरुलाई दुई अध्यक्षले छलफलका लागि काठमाडौं बोलाए।

तर, ओली-प्रचण्डले नेताहरुसँग संयुक्त रुपमा छलफल नै गरेनन्। कर्णालीका नेताहरुसँग दुई अध्यक्षले एक्लाएक्लै बिफ्रिङ लिए। ओली-प्रचण्डको सचिवालयले विवाद समाधानका विषयमा छुट्टाछुट्टै प्रेस नोट जारी गरे। उता, अध्यक्षद्वयले मुख्यमन्त्रीलाई छुट्टाछुट्टै निर्देशन दिए। अविश्वासको प्रस्ताव अस्वीकृत भएपनि यसले दुई अध्यक्षबीचको मतभेद झनै छताछुल्ल पारेको छ।

कर्णाली विवादकैबीच प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गरे। असोज २८ गते पुनर्गठित मन्त्रिपरिषद्मा ओली निकट मन्त्रीहरु मात्रै अटाए।

ओलीले अर्थ मन्त्रालयमा महासचिव विष्णु पौडेल, महिला बालबालिका मन्त्रालयमा लीलानाथ श्रेष्ठ र  सहरी विकास मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिए।

रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका ईश्वर पोखरेललाई प्रधानमन्त्री कार्यालय तानियो। यस्तै, ओलीले सञ्चार मन्त्रीको जिम्मेवारी पार्वत गुरुङलाई दिए।

ओलीले प्रचण्डको सहमति बिना नै मन्त्रिपरिषद् हेरफेर गरे। स्थायी कमिटीको भावना अनुसार मन्त्रिपरिषद् पुनर्गठन नभएको भन्दै प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाए। पार्टीमा छलफल नै नगरी अघि बढ्ने गरेको आरोपबाट ओली यसपटक पनि अछुतो रहन सकेनन्।

यसैबीच प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेपछि नयाँ विवाद सृजना भयो।

ओली र गोयलबीच गत बुधवार राती बालुवाटारमा भेटघाट भएको थियो। कुटनीतिक मर्यादा विपरित रअ प्रमुखसँग भेटघाट गरेको बन्दै नेकपा नेताबाट नै ओलीले आलोचना ब्यहोर्नु पर्‍यो।

उता, पर्साको विन्दवासिनी गाउँपालिका कमिटी सचिव मुकेश चौरसियाको हत्याको विषयले नेकपामा थप विवादको सृजना गरेको छ। गाउँ कमिटीको सपथ ग्रहण कार्यक्रममा कार्यकर्ताबीच झडप हुँदा घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो।

प्रचण्डले सार्वजनिक रुपमा नै विज्ञप्ती जारी गरी दोषीलाई कार्बाही गर्न सरकारसँग माग गरेका छन्। चौरसिया पूर्व माओवादी तर्फका नेताहुन्। उनको हत्यामा पूर्व एमाले पक्षका नेताको संलग्नता रहेको आरोप परिवारले लगाउँदै आएका छन्। तर प्रहरीले जाहेरी लिन नमान्दा दुई गुटबीचको विवाद बढ्दै गएको छ। यस विषयमा ओलीले आफ्नो धारणा राखेका छैनन्।

अध्क्षद्वयको छलफल ठप्प

पार्टीमा उत्पन्न विवादका कारण दुई अध्यक्षबीच भेटघाट पनि ठप्प भएको छ। १० दिन यता ओली-प्रचण्डबीच भेटघाट हुन सकेको छैन्। फोनमा कुराकानी भएपनि प्रचण्डले बालुवाटार आउने ओलीको निम्तो अस्वीकार गर्दै आएका छन्। दुई अध्यक्षबीच भेटघाट गराउन नेताहरुले पहल थालेका छन्। तर, भेट हुन सकेको छैन्।

फेरि विवाद किन?

नेताहरुले स्थायी कमिटी बैठकले अध्यक्षद्वयको कार्यविभाजनलाई पुन: व्याख्या गरेर सहमति गरेको भएपनि विवाद तत्कालका लागि टरेको बताएका थिए। अहिले भने नेकपाका नेताहरु पार्टी भित्रको विवाद यथावत् रहेको बताउन थालेका छन्।    

नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे विवाद समाधान कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन नहुँदा विवाद जहाँको त्यही रहेको बताउँछन्।

उक्त कार्यादलको सदस्य रहेका पाण्डे भन्छन्,' हामीले पार्टी विधि पद्धतीमा चल्लुपर्छ र त्यसका लागि यी कुरा गर्दा राम्रो हुन्छ भनेर सुझाव दिएका थियौं। त्यो सुझाव पालना नहुँदा विवाद घुम्दै फिर्दै रुम्जाटार आइपुग्यो। विवाद जहाँको त्यही भयो।'

भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले कार्यदलको प्रतिवेदनमा समावेश विषय पारित गरेको थियो।

उक्त बैठकले कार्तिक १५-१७ का लागि केन्द्रीय कमिटी बैठक बोलाएको थियो। तर, बैठक स्थगित भएको छ। बैठक स्थगित हुँदा महाधिवेशनलाई असर गर्ने भन्दै नेताहरु असन्तुष्ट बनेका छन्।

पाण्डेले पनि विवादबारे बैठकमा छलफल हुनुपर्ने भन्दै केन्द्रीय कमिटी बैठक सारिएकोप्रति असन्तुष्टी प्रकट गरे।

उता, राजनीतिक विश्लेषक श्याम श्रेष्ठ नेकपाको विवाद समाधान हुन नसक्ने दाबी गर्छन्। उनी विवाद बुझ्न पार्टी एकताकै बेलामा पुग्नुपर्ने बताउँछन्।

'दुई पार्टीबीच विचार, सिद्धान्तका आधारमा एकता भएको थिएन। गणितिय आधारमा सत्ताका लागि एक भएका थिए। सत्ताको कुरा मिलुन्जेलसम्म एक भएको जस्तो देखिन्छन्। नमिलेपछि यस्ता विवाद देखिरहन्छन्। यो समाधान हुने विवाद जस्तो लाग्दैन्’ श्रेष्ठ भन्छन्।

उनले प्रधानमन्त्री ओलीको कार्यशैली र गुटका कारण पनि विवाद बल्झिरहेको बताए।

'केपी ओलीको कार्यशैलीले पनि विवाद देखिन्छ। उनी कार्यपद्धितमा भिन्न मतलाई समेटदैन्न’ श्रेष्ठले भने, 'नेकपालाई गुटको महासंघ भन्दा पनि हुने भएको छ। गुटका कारण पनि विवाद आइरहन्छन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell