PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

क्वहितिका कर्सनव शाक्य बने नयाँ जीवित देवता भैरव

क्वहितिका कर्सनव शाक्य बने नयाँ जीवित देवता भैरव

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : जीवित देव श्री भैरव परिवर्तन भएको छ। तलेजुका मूल पुजारी उद्दव कर्माचार्यले जीवित देव भैरवका रुपमा कर्सनव शाक्यलाई आज प्रतिस्थापन गराएका हुन्।

कीर्तिपुण्य महाविहार, क्वहिती बहा: स्थित घरमा ३ वर्ष १० महिनाका कर्सनव शाक्यलाई जीवित देव भैरवका रुपमा सगुन दिएर प्रतिस्थापन गराइएको हो।

यसअघिका जीवित देवता भैरव रुजन शाक्य ओमबहालस्थित मञ्जुश्री नक महाविहारस्थित घरमा बस्दै आएका थिए। रुजन शाक्यको घरबाट क्षमा पूजा गरेर क्वहितिमा नयाँ भैरवको घरमा पूजा लगेपछि कर्सनवलाई नयाँ भैरवका रुपमा प्रतिस्थापन गरिएको हो।

शुक्रवार भने जीवित देव गणेश परिवर्तन गरिएको थियो। समवेग शाक्यले अवकाश पाएपछि नरदेवी पाछै गल्लीका साढे ४ वर्षीय रोदिन शाक्यलाई जीवित देव गणेशका रुपमा प्रतिस्थापन गरिएको थियो।

समवेगलाई अझै दुई दिन र र रुजनलाई तीन दिन श्री गणेश र श्री भैरव कै रुपमा पूजा गरिनेछ। त्यसपछि उनीहरु सामान्य जीवनमा फर्किन सक्नेछन्।

पढ्नुस : जीवित देवीमात्र हैन, काठमाडौँमा दुई जीवित देवता पनि छन् जसबारे धेरैलाई थाहै छैन

कसरी छानिन्छन् गणेश र भैरव?

इन्द्रजात्रा लिच्छवी कालदेखि नै मनाइँदै आएको भए पनि कुमारी, गणेश र भैरवको रथयात्रा भने कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले चलाएको बताइन्छ। त्यतिबेला गणेश र भैरवको रथलाई अगाडि पारेर राजा जयप्रकाश स्वयं कुमारीको रथमा बसी यात्रा चलाउने गर्ने गरेको कथन छ।

कुमारी छनोट गर्दा अपनाइने विधिहरु नै गणेश र भैरव छनोट गर्न अपनाइन्छ। तर, कुमारीले प्रायः १२ वर्ष हुँदा अवकाश पाएता पनि शाक्य परिवारका छोरा १४ वर्ष उमेरसम्म जीवित देवता गणेश र भैरवका रुपमा रहन्छन्। अवकाश लिने समय नजिकिँदै गर्दा काठमाडौंका शाक्य समुदायबीच आफ्नो छोरालाई गणेश र भैरव बनाउन इच्छुक परिवारलाई आवेदन गर्न लगाइन्छ। तर, गणेश भैरव बन्न केही कडा नियमहरु पनि छन्।

पहिलो, गणेश भैरव बन्ने बालकको बुबा आमा काठमाडौंकै शाक्य हुनुपर्छ। काठमाडौंको पनि १८ शाक्य महाविहारमध्येको परिवारबाट हुनुपर्छ। ती विहार बाहिरका शाक्य परिवारले यसमा सहभागी हुन पाउँदैनन्। काठमाडौं बाहिरका शाक्यसँग बिहे भई जन्मेको छोरा भए ऊ गणेश वा भैरव बन्न पाउँदैन।

दोस्रो, बालकमा कुनै रोग, चोट वा खोट हुन हुँदैन।

पढ्नुस : गणेश र भैरवका लागि कहिले बन्ला स्थायी आवास?

बालकहरुको प्राप्त चिना ज्योतिष/जोशी कहाँ पठाइन्छ। उनले बालकको चिना हेरी राज्यको हितमा रहेको नरहेको बुझी उपयुक्त उम्मेदवारको चिना पठाई सिफारिस गरिन्छ। पहिला एक जनामात्र सिफारिस भएमा ऊ स्वतः पदका लागि छनोट हुन्थ्यो। तर, दुई चार जना भए आपसी सल्लाहमा छनोट गर्ने गरिनेछ।

श्री गणेश र श्री भैरव दशैंको समयमा परिवर्तन गर्ने भएपनि यसपटक विशेष परिस्थितिका कारण चाँडै परिवर्तन गरिएको बताइएको छ। गतवर्षको दशैंमा नै नयाँ गणेश र भैरव परिवर्तन गरिने भनिएपनि त्यो सम्भव हुन सकेको थिएन। पछि चैतमा परिवर्तन गर्ने तयारी चलेपनि कोरोना संक्रमणका कारण रोकिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell