PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

सत्तारुढ दल फुट्दा सडकमा पोखिएका दृष्य : 'ओलीको बयलगाडा सिद्धान्त, कार्यकर्ताको टाउको फुटाउनुपर्ने चिन्ता'



विधुर ढकाल

सत्तारुढ दल फुट्दा सडकमा पोखिएका दृष्य : 'ओलीको बयलगाडा सिद्धान्त, कार्यकर्ताको टाउको फुटाउनुपर्ने चिन्ता'

काठमाडौं: प्रतिनिधिसभा विघटनको विरोधमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहले मंगलबार काठमाडौंमा वागमती प्रदेशस्तरीय बृहत् शक्ति प्रदर्शन गर्‍यो। राजधानीका विभिन्न १३ स्थानबाट प्रदेशका १३ जिल्लाबाट आएका कार्यकर्ता सहभागी भए।

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र अर्का अध्यक्ष माधव नेपालसहित भृकुटीमण्डपबाट सुरु भएको र्‍याली पुन: भृकुटीमण्डपमा आएको थियो। विभिन्न स्थानबाट सुरु भएका जनवर्गीय संगठनहरुका र्‍याली पनि भृकुटीमण्डप सडकमा आइपुग्यो। सभागृहदेखि पद्मोदय मोडसम्म कार्यकर्ताको भीड एकाएकार देखियो। कार्यकर्तामाझ सांसद, पूर्व मन्त्री सडकमै बसिरहेका देखिन्थे। र्‍यालीमा प्रयोग भएका काला ब्यानर ओछ्याउँदै बदामको स्वाद लिएर कार्यकर्तामाझ गफिइरहेका देखिन्थे उनीहरु।

वागमती प्रदेशस्तरीय प्रदर्शन भनिए पनि र्‍यालीमा देखिएका अनुहारहरुले मधेश पहाड हुँदै कर्णालीसम्मको प्रतिनिधित्व गरेको देखिन्थ्यो।

'हाम्रै हो कालापानी, हाम्रै हो लिपुलेक'

केपी शर्मा ओलीको पछिल्ला कदमको विरोधमा आयोजना गरिएको प्रदर्शनमा प्रतिनिधिसभा विघटन विरुद्धका नारामात्र होइन, राष्ट्रिय स्वाधिनताकै नारा लाग्यो।

कालापानीमा रहेको भारतीय सेना हटाउन माग गर्दै 'भारतीय सेना कालापानी छोड' भन्ने नारा भृकुटीमण्डपमा गुञ्जियो। त्यतिमात्र होइन, कार्यक्रम सुरु हुनु अगाडि 'हाम्रै हो लिपुलेक, हाम्रै हो कालापानी, हाम्रै हो टनकपुर, हाम्रै हो नालापानी' बोलको गीत बजिरहेको थियो। त्यस्तै 'काँडाहरुको बीचमा हाँसेर फूल फुल्छ'देखि मातृभूमि जलाएर बैरीको देश बनाउनेलाई... सम्मका गीत घन्किए। त्यस्तै, जनसांस्कृतिक महासंघका कलाकारले पुरानो जनवादी गीत 'गरिबको चमेली...'सम्म सुनाए।

बदामको अपार ब्यापार

निर्धारित समयभन्दा ढिलोगरी विरोध सभा सुरु हुँदा कार्यकर्ता भोकाएका जस्ता देखिन्थे। कार्यकर्तामात्र होइन, नेता, सांसदहरु सडकमै कालो ब्यानर, र्‍यालीका लागि बोकिएका झण्डामा नुन र बदाम राखेर खाँदै थिए।

पूर्वमन्त्री शेरबहादुर तामाङसहित निवर्तमान सांसद जीवनराम श्रेष्ठसहितका नेता कार्यकर्ता सडकमा बसेर बदाम खाँदै गरेको देखियो। पूर्व प्रधानमन्त्रीसहितका नेताहरु सडकमा ओर्लिँदा कार्यकर्ताहरु कुर्लिँदै थिए।

डालामा बदाम र पानी बोकेर बेच्नेहरुको पनि ब्यापार चल्दै थियो।

कति बेचियो दाई बदाम? 

'अरु दिनभन्दा बढी नै बेचेको छु। पैसा गनेपछि थाहा होला,' डालामा बदाम लिएर बेचिरहेका एक जनाले हाँस्दै सुनाए। उनको मुहारमा ब्यापार बढ्दाको खुसी झल्किन्थ्यो।

आफ्नै साथीको टाउको फोड्नुपर्ने होला!

मञ्चमा नेताहरु सरकार र प्रधानमन्त्रीविरुद्ध हुँकार बोलिरहँदा कतिपय कार्यकर्ता सडक किनारका चिया पसलहरुमा गफिँदै थिए। 'चुनाव त हुँदैन। भयो भने आफ्नै साथीका टाउको फोड्नुपर्ने होला!'

कार्यकर्ताहरुमा अझै पनि आशंका देखिन्थ्यो- 'सूर्य त हाम्रै हो! चुनाव हुन्न सरकारको निर्णय अदालतले उल्ट्याउँछ।'

कतिपय कार्यकर्ता भने गाउँमा हुने चुनावको आँकलन र अंकगणित गरिरहेका थिए। 'सूर्य चिन्ह हाम्रै हो।'

'त्यति भए पनि कार्यकर्ता थेगिनसक्नु गरी आउँछन्,' अर्को समूहमा चिया खाइरहेका भविष्यवाणी गर्दै थिए।

'अहिले पार्टी फुटिसकेको त छैन। अब अदालतले र निर्वाचन आयोगले के गर्छ त्यो हेर्नुपर्छ,' यस्तै मन्थन गरिरहेका थिए उनीहरु।

राष्ट्रपति र ओलीविरुद्ध नारा

सडकमा विरोध प्रदर्शनका क्रममा नारा २०६२/६३ सालको आन्दोलनको नारा बिर्साउने खालका थिए। शाही शासनविरुद्धको नारामा राजविरुद्ध जसरी नारा लागेको थियो, त्यसैगरी प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध उत्रिए। 'आर्यघाटले के भन्छ? केपी ओली ले भन्छ'देखि विद्या भण्डारी 'जोकर हो केपी ओलीको नोकर हो' सम्मका अभद्र नारा पनि गुञ्जिएका थिए।

विरोधसभामा बोल्ने अधिकांश नेता कार्यकर्ताको एउटै स्वर थियो - 'केपी ओलीको सर्वसत्तावाद ढल्छ।'

कार्यक्रमको उद्घोषण ओली सरकारका पूर्वमन्त्री, नेकपाका स्थायी कमिटीका सदस्यसमेत रहेका योगेश भट्टराई थिए। प्रचण्ड-नेपाल समूहले बनाएको संघर्ष समितका प्रवक्तासमेत रहेका भट्टराईदेखि कार्यक्रमको अध्यक्षता गरिरहेका नारायणकाजी श्रेष्ठ र स्वागत गर्न आइपुगेकी नेतृ अष्टलक्ष्मी शाक्य अनि शीर्ष तीन नेताहरु एउटै स्वर थियो - केपी ओलीविरुद्ध।

भावी मुख्यमन्त्रीभन्दा हुटिङ

'वागमती प्रदेशका भावी मुख्यमन्त्री'को रुपमा सम्बोधन गर्दै सञ्चालक भट्टराईले शाक्यलाई बोलाउँदा कार्यकर्ताले ताली र हुटिङले स्वागत गरेका थिए।

मञ्चमा उक्लिएकी उनले कामरेड केपी ओली विरुद्ध नभई 'अधिनायकवादी केपी ओलीविरुद्ध' आन्दोलन भएको उद्घोष गरिन्।

'हामी राजाविरुद्ध सडकमा ओर्लिएका थियौं। अहिले ओलीविरुद्ध सडकमा छौं। जनताको शक्तिको अघि कस्ता कस्ता तानाशाह त ढले भने ओलीको शासन पनि ढल्नेछ,'उनले भनिन्, 'जनताको अधिकार खोसेर ओली कमरेड रहेनन्। उनी निरंकुश सामन्ती शासक ओली बने। जनताको खोसिएको अधिकार प्राप्त गर्ने आन्दोलन राजाले रोक्न सकेन भने ओलीले पनि सक्दैनन्।'

संविधान निर्माणपछि राजनीतिक स्थायित्व कायम हुन्छ भनेर जनताले नेकपालाई अभिमत दिएर सम्मान गरेर भन्दै उनले ओलीले जनताको विश्वास तोडेको बताइन्।

'ओली प्रधानमन्त्री भएपछि गण्तन्त्र नेपाल बलियो हुन्छ भन्ने लागेको थियो। तर ओलीले संवधानमाथि कू गरेर जनताको लोकतान्त्रिक अधिकार खोसेको छ,' उनले भनिन्।

उखानटुक्काबाट देश नचल्ने खनालको भनाइ

त्यसपछि मञ्चमा नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उत्रिए -'जबसम्म संसदको पुनर्स्थापना हुँदैन, संविधान ठिक ठाउँमा आउँदैन तबसम्म आन्दोलनको आधिबेहरी रोकिँदैन!'

उनले बालुवाटारमा बस्ने तानाशाही र पार्टी विरोधी गुट भएको आरोप लगाए। ओलीले जनमतको दुरुपयोग गरेर संविधानमाथि हमला गरेको भन्दै त्यसलाई जनताले स्वीकार नगर्ने उल्लेख गरे। ‘आज उपत्यका गर्जमान भएको छ। प्रतिगमनविरुद्ध देशभर नारा उठेको छ,’ उनले भने।

नेता खनालले नेकपा नै देशको आधिकारिक पार्टी भएको र पार्टी मात्रै होइन सूर्य चिह्न पनि यही पार्टीको भएको दावी गरे। यही पार्टीले देशमा नयाँ ढंगले संसद् पुनर्स्थापना गर्ने उनको भनाई थियो।

उनले तीन वर्षसम्म प्रधानमन्त्री ओलीले काम नगरी 'गफै हानेर' बिताएको सुनाए। 'गफैगफ हाँकेर ३ वर्ष बिताउनुभयो,’ खनालले भने, 'पानीजहाजको कुरा गरे। घरघरमा चुलो पुर्‍याउने भने। खै घरघरमा चुलो? आफ्नै घरमा पुर्‍याए होलान्। जनताको घरमा त छैन। गफ र उखान टुक्काबाट देश चल्दैन। सही भिजन र नीति चाहिन्छ। ३ वर्ष खेर गयो।’

नेता खनालले मरिचमान र नगेन्द्र रिजालले गरेजति पनि काम ओलीले गर्न नसकेको टिप्पणी गरेका थिए। ‘उहाँ विश्व चकित परेको छ भन्नुहुन्छ। उहाँले पुल र सडकमा समाजवाद देख्नुभयो। केपी ओलीले रानीपोखरी र धरहरा बनाएको हो? सिकर्मी, कालिगड र इन्जिनियरले बनाएका हुन्। तुइन उन्मुलन गर्छु भने तर अहिले पनि तुइनबाटै तर्न बाध्य छन्। खोलामा खसेर मरिरहेका छन्। हाम्रो देश अग्रगतितिर जान सकेन,’ उनले भने।

उनले ओलीकै असहयोगले ३ वर्ष बित्दा पनि एकीकरणको काम नसकिएको बताए।

बयलगाडीको कथा

झलनाथ खनालपछि मञ्चमा आएर अध्यक्ष माधवकुमार नेपालले ओलीको बयलगाडाको कथा सुनाए।

'ओलीले गणतन्त्रविरुद्ध खिसिट्युरी गर्ने गरेका थिए। उनी भन्ने गर्थे - बयलगाडा चढेर वासिङटन पुग्न सकिँदैन। सडकमा सानो स्वरले कराएर, राजतन्त्र फालेर गणतन्त्र ल्याउन सकिँदैन भनेर महामहिम ओलीले भनेका थिए। त्यसैले ओली संघीयता र गण्तन्त्रविरुद्ध प्रतिकदम चाले। त्यसैले जनता सडकमा ओर्लिए,' नेपालले भने।

ओलीमा कम्युनिस्टमा हुनुपर्ने गुण नभएको भन्दै नेपालले उनलाई अझै अनुशासित बन्ने अवसर भएको बताए।

'ओलीलाई अनुशासनको कारवाही मात्रै गरेका छौं। पार्टीबाट हटाएका छैनौं। ओलीलाई अन्तिम मौका दिएका छौं। सुध्रिनुहुन्छ कि भनेर,' उनले अगाडि भने, 'तर, ओली सुध्रिनेमा विश्वास छैन।'

नेपालले नेकपा र सूर्य चिह्न नेकपाको भएको बालुवाटारको गुटको नभएको दोहोर्‍याए। 'भ्रममा नपर्नुस्। बालुवाटारमा भएको भेला गुटको भेला हो। त्यो नेकपाको बैठक होइन। नेकपा हामी हौं सूर्य चिह्न हामीसँग छ। बालुवाटारमा छैन,' उनले भने।

केपी वंश र प्रवृत्तिबाट मुक्ति पाउने बेला भएको भन्दै व्यक्तिवाद निरंकुशतावादविरुद्ध आन्दोलन गर्ने उनले बताए। 'खुट्टाले संविधान कुल्चिएर प्रतिनिधिसभाको विघटन गरियो। निरंकुश बाटोमा लागेका केपी ओली र प्रोपर्टीको आयु पुग्यो। अब जनता सडकमा ओर्लिसक्यो,' उनले भने।

उनले 'केपी बा' प्रवृत्ति समाप्त हुने भन्दै प्रतिनिधिसभालाई पुन: स्थापना गर्न आह्वान समेत गरे।

उनले केपी ओली कामचलाउ प्रधानमन्त्री भइसकेको बताए। 'सन्तान खोजे जस्तो जन्मिँदैनन्। सपुत भइदिउन भन्ने चाहना हुन्छ। कहिलेकाँही कपुत भइदिन्छ। अहिले पनि कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई समयमा सद्वुद्धि देओस्। उहाँले आफूलाई सच्याउनु भएन भने उहाँलाई समयले पर्खिँदैन। समयले दोषीलाई कडाभन्दा कडा सजाय दिनेछ,' नेता नेपालले भने।

तीन वर्षमै सडकमा आउनुपर्ने थाहा थिएन : प्रचण्ड

सभाको अन्तिममा सम्बोधन गर्न उक्लिएका अध्यक्ष प्रचण्डले ओली बयलगाडा सिद्धान्तमै अडिक रहेको बताए।

‘ओली संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र आन्दोलनको पक्षमा थिएनन्,’ प्रचण्डले भने, ‘नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्थे। आँधीहुरी आयो मान्दिनँ भन्थे। उहाँले मनले मानेको होइन। उहाँ बयलगाढामै हुनुहुन्छ। सच्चिए होला भन्ठान्यौं। तर, होइन। हामीले केपी ओलीलाई बुझ्न सकेनौं। यति निर्मम प्रहार कसैले गर्न सकेको छैन। केपी ओली कम्युनिस्ट पार्टीको प्रधानमन्त्रीले यस्तो गर्ला भन्ने कल्पनामा नआउने कुरा हो।’

आफूले नै वाम गठबन्धन र पार्टी एकताको प्रस्ताव गरेको भन्दै प्रचण्डले प्रतिगमनविरुद्ध यति छिटै आन्दोलनमा आउनुपर्ला भन्ने नसोचेको उल्लेख गरे।

‘तीन वर्षपछि केपी ओलीको प्रतिगमनकारी कदमविरुद्ध सडकमा आउनुपर्ला भनेर सोचेको थिइएन। तर विडम्बना सडकमा आउनुपर्‍यो,’ उनले भने, ‘संविधानमाथि क्रुर र निर्मम प्रहार, लोकतन्त्रमाथि कठोर प्रहारविरुद्ध विश्वभरका नेपालीसँग अपिल गर्दछु कि यो लडाईं हामी सबैको हो। ७० वर्ष लामो संघर्षको परिणाम संविधान हो। जनताको अगाडि उभिएर ७० वर्षे संर्घषबाट आएको संविधानमाथि प्रहार हुँदा, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भयो भनेर बोल्दा क्षमायाचना गर्न चाहन्छु।’

ओलीले हुँदै नभएको प्रस्ताव ल्याएर संविधानमाथि घात गर्ने, बलात्कार गर्ने प्रयास गरेको भन्दै प्रचण्डले संसद् भंग नभएको दावी गरे। ‘भंग भएको त केपी ओली सरकार हो। संविधान विरोधी काम गरेर आफैंलाई विघटन गरेका छन्। जबसम्म ओलीले गल्ती स्वीकार गर्ने छैनन् इतिहासले र नेपालीले माफी र क्षमा दिने छैन,’ उनले चेतावनी दिए।

उनले ओलीले एक वर्षदेखि नै संविधान र पार्टी विधान मिच्न थालेको प्रचण्डले टिप्पणी गरे। ‘ओली कति निरंकुश छन् भन्ने पार्टी बैठकमै देखियो। उहाँले संविधानमाथि प्रहार गर्न खोजेको गत वैशाखबाट पार्टी विभाजन अध्यादेशबाटै हो,’ उनले भने।

ओलीले जहिल्यै पनि छलछाम र ढाँटेर पार्टी, सत्ता र देश चलाउन खोजेको प्रचण्डको आरोप थियो। ‘हामी छोड्ने वाला छैनौं,’ उनले भने।

आन्दोलन प्रतिगमनकारी कदम नसच्चिएसम्म नरोकिने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell