PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कालो झण्डा देखाउने र लालटिन बाल्ने माधव-प्रचण्ड समूहको अखिललाई ओली पक्षको अखिलले दियो 'संगठनात्मक कारवाही' को चेतावनी



पहिलोपोस्ट

कालो झण्डा देखाउने र लालटिन बाल्ने माधव-प्रचण्ड समूहको अखिललाई ओली पक्षको अखिलले दियो 'संगठनात्मक कारवाही' को चेतावनी

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा विभाजन आएसँगै पार्टीको विद्यार्थी संगठनको विवाद पनि चरम सीमामा पुगेको छ।

एकतर्फ प्रचण्ड/माधव समूह सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा प्रधानमन्त्री केपी शर्माओलीको कदमको विरोधमा सडकमा छन् भने ओली पक्षीय ऐन महर समूह सरकारको कदमलाई 'बाध्यात्मक' भन्दै रक्षात्मक आन्दोलनमा। दुवै पक्षले आफू आधिकारिक भएको दाबी गरिरहेका छन्।

दुवै पक्षले आफूसँग मुख्य संगठन भएको र अर्को समूह टुक्रिएर गएको दाबी गरेका छन्। अझ सह-संयोजक तामाङले त संयोजक ऐन महरलाई कारवाहीका लागि सिफारिसमेत गरिसक्दा संयोजक महरले दोस्रो पूर्ण बैठक सम्पन्न गर्दै विधान संशोधन गरेर केन्द्रीय कमिटीको संख्या १०९९ बनाएका छन्। उनी बहुमतबाट विधान संशोधन गरेकाले आफूहरु आधिकारिक भएको दाबी गर्दै आएका छन्।

अर्कोतर्फ सहसंयोजक तामाङ नेतृत्वको अखिल ओली सरकारको कदमको विरुद्धमा सडक संघर्षमा छ। जसमा प्रधानमन्त्रीको पुत्ला जलाउने देखि मन्त्रीहरुलाई कालो झण्डा देखाउने, बयलगाडा, लालटिन देखाउनेलगायतका कार्यक्रमहरु अघि सारेको छ। ओलीको कदमविरुद्ध उत्रिएको अखिलले आज मध्य दिनमा लालटिन बालेर विरोध जनाएको छ भने खानेपानी मन्त्री मणि थापालाई कालो झण्डा देखाएको छ। यसबाहेक पनि तामाङ नेतृत्वको अखिलले विभिन्न आन्दोलनका कार्यक्रमहरुलाई अघि सारेको छ।

तामाङ नेतृत्वको अखिल सक्रिय भइरहँदा संयोजक महर नेतृत्वको अखिलले भने तामाङ समूहलाई संगठनको नाम र लेटरप्याड दुरुपयोग नगर्न चेतावनी दिएको छ। महरले आजै एक विज्ञप्ति निकाल्दै ‌प्रचण्ड/माधव समूहको घेराबन्दीको कारण दुईतिहाइ बहुमतको बाबजुद घेराबन्दीमा पारेकाले प्रधानमन्त्रीले बाधात्मक अवस्थामा 'ताजा जनादेश' जाने निर्णय गरेको दाबी गरेको छ।

त्यस्तै, अनेरास्ववियूको आयोजनामा कुनै विरोध कार्यक्रम नरहेकाले भ्रममा नपर्न समेत महर समूहले अपील गरेको छ।

'अनेरास्ववियू केन्द्रीय कार्यालय बागबजारमा जम्मा भएर एक झुण्डले संगठनविरोधी क्रियाकलाप गरेको, संगठनको मूल नेतृत्वविरुद्ध तथानाम बोलेको पाइएकाले यस्ताकार्य तत्काल रोक्न आव्हान गर्दछौं,' महरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'साथै संगठनको कार्यालय, लेटरप्याड र अन्य सम्पतिको दुरुपयोग नगर्न सचेत गराउँछौं। यस्ता कार्य जारी राखे संगठात्मक कारवाही गर्न र संगठनको सम्पति सुरक्षाका लागि कडा कदल चाल्न अनेरास्ववियू बाध्य हुनेछन्।'

बुधवार जाजरकोटको भेरी नगरपालिका पुगेका मन्त्री थापालाई वडा ४ स्थित बोहरा भन्ने ठाउँमा विरोधस्वरुप कालो झण्डा देखाएका थिए। त्यस्तै आजै तामाङ नेतृत्वको अखिल माइतीघरदेखि बानेश्वरसम्म लालटिन बालेर सरकारको विरुद्ध प्रदर्शन गरेको थियो।

पछिल्लो समय अखिलका यी दुई समूहबीच विवाद बढ्दै जाँदा कतिपय स्थानमा झडपको पनि सम्भावना पनि देखिएको छ। एकातर्फ महर समूहले पछिल्लो विज्ञप्तिमा लेटर प्याड र कार्यालयमाथि दाबी गर्दै त्यसको प्रयोग नगर्न तामाङ समूहलाई चेतावनी दिएको छ भने अर्कोतर्फ तामाङ पनि केन्द्रीय कार्यालय आफ्नै भएको दाबी गरिरहेको छ।

'संगठनको तत्कालीन कार्यालयलाई नै हामीले केन्द्रीय कार्यालय बनाएको हो। उहाँहरुको कार्यालय नै थिएन। कार्यालय हामीसँगै छ। म कार्यालयमै छु,' केही दिनअघि तामाङले पहिलो पोस्टसँग भनेका थिए, 'देशभरिका कार्यालयहरु बहुमत जता छ त्यतै हुन्छ। संगठनको नाम, संगठनको झण्डा सबै आज हामीसँग छ।'

अखिलको कालो झण्डाको पहिलो सिकार खानेपानीमन्त्री थापा

ओली सरकारको विरोधमा अनेरास्ववियुले बयलगाडा प्रदर्शन गर्ने : प्रधानमन्त्रीको पुत्ला जलाउनेदेखि मन्त्रीलाई कालो झण्डा देखाउने

अखिलमा ओली गुटको ५८ प्रतिशत बहुमतको दाबी, प्रचण्ड माधव-समूहका तामाङको चुनौती : ४० प्रतिशत पुर्‍याएर देखाओ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell