PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रचण्ड- ओलीको 'नाटक-नौटंकी'ले जन्माएका गीतहरु



लक्ष्मी बलायर

प्रचण्ड- ओलीको 'नाटक-नौटंकी'ले जन्माएका गीतहरु

संसद भङ्ग भए झै मेरो माया भङ्ग भो

माया प्रेम मसँग बिहे अर्कै सँग भो

मलाई बिचबाटोमै छोड्यौ किन जीवन अन्तै मोड्यौ

आफ्नै धडकन बिर्सियौ तिम्रो मुटु काठकै हो

माया गर्छु भन्थी त्यसको 'नाटकै हो'

साता अगाडि गायक टंक तिमिल्सिनाले 'तेरो नाटकै हो' बोलको गीत सार्वजनिक गरे। गीतमा सुवास कार्की उर्फ कार्की जी र टंकको श्वर रहेको गीतलाई शब्द रुपेश साउदले लेखे।

पछिल्लो दुई सातामा नाटक र नौटंकी शब्द लिएर चार  वटा गीत सार्वजनिक भइसकेका छन्।

प्रतिनिधिसभा विघटन पछि नेकपा दुई समूहमा विभाजित भएको छ। एउटै नाम र एउटै चिन्हमा दुई समूहहरु सडकमा छन्। एउटा प्रतिनिधिसभा विघटनको विरोधमा अर्को समर्थनमा। नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल नेतृत्वको एउटा समूह प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा छन्। अर्को तिर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको समूह प्रतिनिधिसभा विघटनको समर्थनमा छ।

यी दुबै समूहले देशभर सभाहरु आयोजना गरेका छन्। सभाहरुमा एकले अर्को समूहलाई आरोप प्रत्यारोप गरिरहेका छन्।

एकले अर्कोलाई लगाएका आरोपहरु हेर्दा लाग्छन्- नाटक हुन्। नौटंकी हुन्।

सामाजिक सञ्जालमा अहिले चर्चामा रहेका शब्दहरु हुन्, 'नाटक-नौटंकी'। पुस २९ गते प्रचण्डले प्रज्ञा प्रतिष्ठानमा नेकपाको आफू पक्षीय काठमाडौं जिल्लाका अगुवा कार्यकर्ता भेलामा भनेका थिए- 'जी न्यूजको इन्टरभ्यू देख्नुभयो नि। नाटक हो त्यो,' उनले भनेका थिए, 'नाटक हो भन्ने कुरा आज पुष्टि भयो नि माउन्ट एभरेष्टको नाम फेरिदिने रे त्यही जी न्यूजले।'

त्यसको दुई दिन अगाडि पुस २७ मा भारतीय न्युज च्यानल जी न्यूजमा प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रशारण भएको थियो। त्यसको अर्को दिन जी न्यूजमै सगरमाथालाई लिएर विवादास्पद कार्यक्रम प्रशारण भएको थियो।

प्रचण्डले सम्बोधनकै क्रममा ओलीको अन्तर्वार्तालाई नाटकको संज्ञा दिएका थिए।

सम्बन्धित समाचार:

चीनसँग जोडिएको भूगोलमा अनुमतिविनै जी न्युज, प्रधानमन्त्रीका पाहुना लाग्दा रअ प्रमुख पनि थिए पुगेका

प्रचण्डले त्यस अगाडि पनि ओलीले नाटक मञ्चन गरेको नौटंकी गरेको आरोप लगाउँदै आएका थिए। प्रधानमन्त्री ओली पनि के कम? भाषणबाटै प्रचण्डलाई जवाफ फर्काए।  

'एउटा विदेशी टेलिभिजनलाई अन्तर्वार्ता दिएँ। आलोचना गर्ने ठाउँ केही भेटिएनछ। अनि त्यो पत्रकारले इन्डियामा गएर यो एभरेष्टका नाममा किन राखेको हाम्रो मान्छेले पहिले गएर नाप्या थ्यो। हामीले त उसको नाममा भने हुन्थ्यो के बोलेको थियो। यहाँ राष्ट्रवादका नाममा यत्रो बबण्डर मच्चियो। उसले सगरमाथा खान्छु भन्या छ र? यति सारो बहकिने पनि पर्ने आवश्यकता वाहियातमा बहकिएर.. राष्ट्रवाद ड्रामा हो? राष्ट्रको हितमा उभिने कुरा हो? केही भेटिएन् भने एउटा नेताले भाषण गरे यो अन्तर्वार्ता भाषण ठोके यो नौटंकी, नौटंकी नै हो, नौंटऽऽकीऽऽऽ नै हो..,' माघ ८ गते आफू निकट पत्रकारहरुको भेलामा ओलीले भनेका थिए।

त्यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई के चाहियो- सामाजिक सञ्जालमा ट्रोल बने, मोमो बने, दुई नेताको नाटक नौटंकी दोहोरीका टिकटक बने।

त्यतिले मात्र पुगेन अहिले गायकहरु यिनै शब्दलाई सापटी लिएर गीत बनाइरहेका छन्। कसैले प्रेमीको प्रेमलाई नाटक भन्दै छन्। कसैले प्रेमिकाको प्रेमलाई नौटंकी, कसैले नेताकै नौटंकी भन्दै गीत मार्फत नै ब्यंग्य नै गरेका छन्।

गायक टंक तिमिल्सिना आफूले पहिले नै तयार पारेको गीत सामाजिक सञ्जालमा 'नाटक नौटंकी' भाइरल भएपछि अहिले सार्वजनिक गरेको बताए।

'रुपेश जीले गीत पहिले नै तयार पार्नुभएको थियो। रेकर्ड गर्ने कुरा थियो तर ठ्याकै भाइरल भएको बेला गरिहालौँ न भनेर अहिले गीत निकालेका हौँ,' उनले भने, 'यो गीत र अहिलेको भाइरल शब्द नाटकै हो, नौटंकी नै हो मिल्नु संयोग मात्र हो। परिवेश मात्र मिल्न गएको हो। यो रिपोर्ट तयार गर्दासम्म यो गीतलाई युट्युवमा साढे तीन लाखले हेरेका छन्।

उनी मात्र होइन्, गायक मेक्सम खाती, गायिका समीक्षा अधिकारीले पनि गीत 'नाटकै हो' बोलको गीत सार्वजनिक गरेका छन्।

'तिमीलाई माया गर्छु म

नाटकै हो, तिम्रो नाटकै हो

तिम्रै लागि मर्छु म

नाटकै हो, तिम्रो नाटकै हो….'

प्रेमीप्रेमीका बिच कुराकानीमा बनेको गीतको शब्द नरेश खाती क्षेत्रीले लेखेका छन्। जसमा मोडल गरिमा शर्मा र मेक्सनकै अभिनय रहेको छ। मायाप्रेमका कुरामा बनाइएको गीतलाई युट्युबमा ६ लाखले हेरिसकेका छन्। भाइरल भएको प्रवृतिलाई नै आफुले पछ्याएको गीतकार खातीले बताए।

'नाटकै हो प्राय मैले बोलिरहने शब्द हो। जब नाटकै हो शब्द भाइरल भइसकेपछि ओहो यस्तो खालको गीत बनाउन त म बिसिरहेको रहेछु। भाइरल शब्दलाई मायाप्रेममा ढालेर कमेडी र जुहारी गीत लेखेको हुँ,' उनले भने।

त्यसैगरी घनश्याम रिजालले पनि 'नाटक नौटंकी' शिर्षक राख्दै कमेडी गीत सार्वजनिक गरेका छन्। १ लाख बढिले गीत हेरेका छन्। जुन गीतमा घनश्याम स्वयमको नै शब्द र स्वर रहेको छ।

'मैले हाने जस्तो गर्छु, त रुहेजस्तो गर

मैले भागेजस्तो गर्छु, तैले छोएजस्तो गर

नाटकै हो तिम्रो नौटंकी नै हो….'

गीतमा राजनीतिक परिवेश माथि ब्यंग्य गरिएको छ। भाइरल बनेको शब्दलाई सापटी लिएर सबै पार्टीका नेतालाई ब्यङ्ग गर्ने गीत बनाएको उनले बताए।

'प्रचण्ड र ओलीले एकअर्कालाई भन्नुभएको कुरा भाइरल भएको छ। तर अहिले सम्मका कुनै पनि राजनितिक नेताहरुले पार्टीगत र व्यक्तिगत स्वार्थभन्दा माथी उठेर काम गरेनन्। सत्ता सञ्चालनमा खाली नाटक र नौटंकी नै गर्नुभयो। त्यही विषयबस्तु समेटेर मैले हरेक पार्टीको नेतालाई शब्दमार्फत प्रहार गरेको छु,' उनले भने।

त्यस्तै प्रदिप त्रिपाठीले पनि नाटकै हो, नौटंकी नै हो ब्याटल दोहोरी मित्र संसार विचित्र बोलको गीत ल्याएका छन्। जसमा प्रचण्ड र ‌ओलीले एकअर्कालाई व्यङ्ग्य गरेको दोहोरीमार्फत देखाइएको छ।

त्यसैगरी राजेन्द्र भण्डारी र बालकृष्ण गुरासैनीले पनि नाटकै हो/नौटंकी नै हो टाइटल राखेको गीत निकालेका छन्। र गीतमा दाजुभाइबिचमा भएको झगडालाई देखाइएको छ।

कुरा यही हो तेरो मेरो

जति चिप्लो घसे नि नाटकै है तेरे.....!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell