नाम्चेमा सोचे जति चिसो थिएन। पहिलो पटक यहाँ पुग्दा अलग्लै शुल्क लाग्थ्यो, नुहाउने तातोपानीका लागि। यसपाला अट्याच रुममा तातोपानी सहितको सुविधा। होटलको सोलारले सबै धानिरहेको रहेछ। लामो ट्रेक गरेर आएकाले यहाँ फर्केपछिमात्रै नुहाउँथे। हामी नाम्चेको न्यानो आतिथ्यता छाडेर हिँड्दैछौं। नाम्चेको बायाँ कोखबाट उकालिन थाल्यौं पश्चिमतिर। १५ मिनेट पनि लागेन हेलिप्याड पुग्न। हेलिप्याड नजिकैबाट नाम्चेको यु आकार देखियो। कैलाश हेलिकप्टर हाम्रो अर्को गन्तव्य कालापत्थरका लागि तयार थियो। बिहान कालापत्थर पुग्न सकिएन भने बादलले सगरमाथालाई छोप्ने सम्भावना थियो।
पाइलटले हामीलाई ब्रिफ गर्दै थिए - 'रोकिएको होस् या चलिरहेको हेलिकप्टरको पछाडितिर चै जाँदै नजानु।'
नाम्चेको हेलिप्याड
उनले यसो भनिरहँदा हुम्लाको हेलिकप्टर दुर्घटनाको याद आयो। मानसरोबर गएर फर्किएका एक भारतीय तीर्थयात्री हुम्लामा आएपछि हेलिकप्टरको पछाडिको पङ्खामा परेका थिए। सेल्फी खिच्न खोज्दा उनको ज्यान गुमेको थियो। हेलिकप्टरको पुच्छरमा रहेको पङ्खा हेलिकप्टर चल्दा होस् या नचल्दा नदेखिने हुनाले सधैं जोखिम हुनसक्थ्यो। त्यसमाथि हामी त्यहाँ उत्रिने तयारीमा थियौं जहाँ हेलिकप्टरको पङ्खा बन्द गर्न मिल्दैन थियो।
नाम्चेबाट पहिलो समूहमा ४ र दोस्रो समूहमा ४ जना तौल अनुसार विभाजित भइसकेको थियो हाम्रो टोली। हेलिकप्टर फेरिचेमा पुगेर उत्रिने र त्यहाँबाट तौल व्यवस्थापन गरेर कालापत्थरतिर लाग्ने तयारी थियो। लुक्लाबाट बोकेको इन्धनका जर्किन फेरिचेमा लगेर अनलोड नगरे कालापत्थरको उचाईमा जान नसकिने रहेछ। तौल बढी भए ३ जनामात्र यात्रु त्यहाँ जानुपर्ने रहेछ। त्यसैले फेरिचे हाम्रो ट्रान्जिट थियो।
नाम्चे बजार
त्यत्तिकैमा पाइलटलाई खबर आयो रेस्क्युका लागि। '१५ मिनेटमा पुर्याएर आइहाल्छौं, बस्दै गर्नुहोला।' हेलिकप्टर नाम्चेभन्दा केही माथितिर गयो र त्यहाँबाट लुक्लातिर हानियो।
१५ मिनेटमा हेलिकप्टर हामीलाई लिन आयो र उड्यो। नाम्चेलाई नाघेर पूर्वतिर हाम्रो यात्रा सुरु भयो। हामी जुन रुटबाट सगरमाथाको काखतिर लागिरहेका थियौं, तल गोरेटो झै लाग्ने तर्पायाँ तर्पायाँ बाटो देखिन्थ्यो। २० वर्षअघि त्यही बाटो हुँदै पैदल यात्रा गरेको सम्झना झल्झल्ती भइरह्यो।
+++
'यो त मैले सोचेजस्तो रहेनछ। चित्तै बुझेन।'
तेङ्बोचे अगाडिको माने देखेपछि एकजना विदेशी खिन्न देखिन्थे। त्यहाँभन्दा माथितिर सेताम्मे हिउँ थियो। मानेमा नयाँ रङ टलक्क टल्किएको थियो। ती पर्यटकलाई त्यो रङ्गिन माने मन परेको रहेनछ। नेपाल आउनुअघि उनले जस्तो दृष्य देखेका थिए, त्यही हेर्न चाहिरहेका रहेछन्- ट्राभल गाइड बुकमा देखिएको तस्बिर जस्तै।
हेलिकप्टरबाट देखिएको तेङ्बोचे
उनले देखाएको दृष्यभन्दा फरक थियो माने। खुला नीलो आकाश, ब्याक एन्ड ह्वाइट झैं लाग्ने माने अनि छेउमै चौरी चरिरहेको। तस्बिरको अर्ग्यानिक स्वरुपमा इनामेलका रङहरु पोतिइसकेका थिए। त्यहाँ तस्बिरमा झै हरिया लेउ थिएनन्, रङले छोपिइसकेका थियो त्यो।
हो, त्यही मानेको उत्तरतिर तेङ्बोचे गुम्बा थियो। त्यहाँका रिम्पोचेले बनाउँदै थिए शेर्पा भाषाको शब्दकोष। आखिर किन?
'दुई जना कोरियनले यहाँ आएर शेर्पा भाषाको शब्द बटुलिरहेका थिए,' मेरो प्रश्न झर्न नपाउँदै रिम्पोचेले भनेका थिए, 'अब मेरो भाषा उसले कोरियाली शब्दमा बुझाएर, त्यसलाई अंग्रेजीमा अनुवाद गर्छ। अनि अंग्रेजीबाट नेपालीमा आउँछ। कुनै दिन यहाँको शेर्पाले आफ्नो शब्दको अर्थ अरु भाषामा खोजिरहेको कसरी हेरु?'
मिडियाको विद्यार्थीका हिसाबले रिम्पोचेको त्यो भनाईले मलाई गहिरो गरी घोचेको थियो।
२० वर्ष अघिको त्यो ज्ञानले झलस्स गरायो माथिबाट तल देखिएको सुन्दर गुम्बाले। यात्रामा मैले अब भने मिस गर्न थालेँ - त्यो गुम्बा, रिम्पोचे र उनले दिएको ज्ञान। हेलिकप्टर ट्रेकिङ रुटकै माथिमाथि हुँदै फेरिचेमा पुगेर उत्रियो। हेलिकप्टरबाट इन्धनका जर्किनहरु निकाल्न थालियो, हाम्रा झोलाहरु पनि निकालियो।
फेरिचे
फेरिचेले रुप फेरेछ। त्यतिखेर ३ वटा घर थिए यहाँ। अहिले त सानो बजार नै बसिसकेको रहेछ। पहिलो पटक यहाँ आउँदा अद्भुत अनुभूति भएको थियो - कतैं म अर्कै ग्रहमा त छैन? यसपाला भने फेरिचेमा घरहरु देखेपछि पहिलेजस्तो अनौठो अनुभूति चाहिँ भएन। त्यतिखेर यही रुट हुँदै खुम्बु ग्लेसियर पार गरिएको थियो। तर, मिसन कालापत्थर हो यतिखेर। पहिलेको तुलना गर्नुभन्दा व्यग्र प्रतीक्षा थियो - सगरमाथालाई नजिकैबाट नियाल्ने।
हेलिकप्टरबाट इन्धनका जर्किन निकालिसकेपछि हामी नदीको किनारा किनारै लाग्यौं। गोरक्षेप नाघेर अग्लाइमा पुगेपछि हेलिकप्टर रोकियो।
'पाँच मिनेटमात्र है' पाइलटले भनेका थिए। हेलिकप्टरको इन्जिन अफ गर्न नमिल्ने अनि इन्धन पनि सक्काउन नपाइने शर्तबिच यो समथर थलीमा हामी उत्रियौं।
वाउ!
ओरिपरि हिमाल नै हिमाल। हिउँ नपरेकाले चौर सुख्खा। सगरमाथाको यति निकट हुनु आफैँमा दुर्लभ थियो हाम्रा लागि। आँखा सामुन्ने सगरमाथा श्रृङ्खला। घामले बिस्तारै उठाउँदै गरेको बादल। अनि त्यही बादलको घुम्तोमा लुक्ने तरखरमा रहेका हिमालहरु। कालापत्थरमा देखिएका दृष्यले हामी सबैलाई यात्राका अरु सबै दृष्यहरु भुल्न बाध्य बनाइसकेको थियो। यही दौडिँदै र फोटो खिच्दै हामीले आँखाभरी सगरमाथाको शिरको अद्भुत सुन्दरतालाई कैद गरिरह्यौं।
पाइलटले संकेत गरेसँगै अब हामी हेलिकप्टरतिर दौडियौं। हामी छिर्नासाथ हेलिकप्टरले उचाई लिन सुरु गरिहाल्यो। अलिक पूर्वतिर लागेर सगरमाथा आधार शिविर, तिब्बतसँगको सीमा देखाउँदै पाइलटले भने - 'यहाँबाट उता जान मिल्दैन। चीनको क्षेत्र हो।'
हेलिकप्टरको छतमा रहेको सिसाबाट सगरमाथाको टुप्पो देखिँदा थप रोमाञ्चक भइयो। आधार शिविरसँगै क्याम्प वान नजिकै पुर्याएर पाइलटले ब्रिफ गरे - यहीँबाट हो आरोहणमा जाने। उनले क्याम्प टू देखाए र त्यसमाथिको हिलारी स्टेप। ज्यानको जोखिम मोलेर यहीबाट पर्वातारोहीहरुले कति रेकर्ड बनाए बनाए। यी सबै दृष्य यति नजिकबाट देख्न पाउनु सबैको भाग्यमा हुँदैन। त्यसमाथि मौसमले दिएको साथको बयान गर्न सकिन्न।
फेरिचे, जहाँ इन्धन जर्किनमा छाडिएको थियो
पाइलटले हेलिकप्टरलाई केही बेर होल्ड गरेर ब्रिफ गरेपछि फेरि फेरिचेतिर लाग्यौं हामी। फेरिचेमा ल्यान्ड भएपछि इन्धन थपियो हेलीमा। झोला र रित्ता जर्किन पनि लोड भयो। पुरानै रुट हुँदै हेलिकप्टर पश्चिमतिर हानियो। आँखाभरि सगरमाथामा जे देखियो, त्यही घुमिरह्यो।
केही बेरको यात्रापछि नाम्चेलाई नाघेर हेलिकप्टर फेरि ल्यान्ड भयो। यो त्यही ठाउँ रहेछ जुन हाम्रा लागि सर्प्राइज नै राखिएको थियो। एकपछि अर्को रोमाञ्चक यात्रा! हजुर, हामी कोङ्देमा उत्रिएका छौं यतिखेर। कैलाश हेलिकप्टरका तर्फबाट मिलेको यो अप्रत्यासित डेस्टिनेसनले हाम्रो यात्रालाई 'चार चाँद' लगाइदिएको थियो।
तल फाक्दिङबाट जापानिजहरुलाई आउन दुई दिन लाग्ने रहेछ यो ठाउँ। बिचमा एउटा पनि घर छैन, खानपानको जोहो आफैँ गर्नुपर्ने। ४ हजारभन्दा माथिको यो उचाईमा देखिएको समथर मैदान र त्यसैको आडमा रहेको कोङ्दे र कोङ्दे री हिमाल। पूर्वतिर हेर्यो खर्लप्पै थामसेर्कुदेखि सगरमाथासम्मकै दृष्य। हामी त्यही ठाउँमा छौं - जसको बारेमा यति समूहसँग विवादित खबर पनि छाएको थियो केही अघि। सगरमाथा राष्ट्रिय निकुञ्जभित्र यतिले बनाएको रिसोर्ट विवादको केन्द्रमा थियो कुनै समय।
हत्तपत्त नेपालीहरु यहाँ पुग्दैनन्। पुग्नै चाहने हो भने पनि सजिलो छैन। जे जति संरचना यहाँ बनेको छ, हेलिकप्टरले ओसारेर नै तयार भएको रहेछ। यति समूहले रिसोर्ट बनाउन शक्तिको कति प्रयोग गर्यो थाहा भएन तर यहाँ कसै न कसैले यस्तो संरचना बनाउनै पर्थ्यो। पर्याप्त कर लिएर हुन्छ कि खुला प्रतिस्पर्धा गरेर पर्यटकीय गन्तव्य विस्तारका लागि यहाँ यसको आवश्यकता पुग्ने जो कसैले अनुभूति गर्दो रहेछ। तर, यति चाहिँ हो - यस्तो संरचना बनाउँदा प्रतिस्पर्धा र पारदर्शिता चाहिँ हुनैपर्छ। प्रकृतिमाथि घात पार्नेगरी निर्माण गर्न दिन हुँदैन।
यहाँबाट नाम्चे गहिरोमा पर्ने रहेछ। यहाँ रात बिताउन पाएको भए - नाम्चेको झिलमिल स्वरुपलाई गजबले अनुभूति गर्न सकिन्थ्यो। सानो हिस्सामा अटाएको रिसोर्ट बाहेक यहाँ अरु कुनै संरचना छैन। रिसोर्ट पनि नहुने हो भने चाहिँ यो रुटको अस्तित्व नरहने रहेछ।
आधा घन्टाको यो अनपेक्षित यात्रा गराएपछि हेलिकप्टरको पङ्खा घुम्न थाल्यो र हामी त्यतातिर दौडियौं। कोङ्देबाट देखिएका दृष्य खासै देख्न पाइन्न। कोङ्देमा खिचेको फोटो सोसल मिडियामा हालेपछि फोटो पत्रकार विजय गजमेरले भनेका थिए - 'गोपाल दाइ (गोपाल चित्रकार)ले खिचेको आङछिरिङ शेर्पाको फोटोमात्र देखेको थिएँ त्यहाँको।' गोपाल दाइ मेरो रत्नराज्यलक्ष्मी क्याम्पस पत्रकारिता पढाउने गुरु। गजमेरले यति सुनाएपछि कोङ्दे पुग्नुको अर्थ थप गहिरो बन्यो मेरा लागि।
कोङ्देबाट ५ मिनेट उडेपछि हामी लुक्ला झर्यौं। यहाँ आइपुग्दा एउटा सर्कल पूरा भएको थियो।
लुक्ला विमानस्थलमा उत्रिन समय लागेन। त्यसपछि भइयो फुर्सदिलो। अब कता जाने? एकाएक याद आयो अस्पतालको। डेढ दशक अघि लुक्लामा अस्पतालको सिलन्यास हुँदै थियो। त्यसैको रिपोर्टिङका लागि लुक्ला आइएको थियो। त्यो अस्पताल कस्तो होला? मनभरि प्रश्न थियो। लुक्ला विमानस्थलबाट बाहिरिएलगत्तै एउटा सानो गल्ली पछ्याउँदै गाउँतिर लाग्दा बाटोमा गुम्बाकै शैलीमा एउटा संरचना बनेको रहेछ। त्यो त गुम्बा होइन रहेछ, अस्पताल पो रहेछ त। पासाङ ल्हामु निकोल निक्की अस्पताल। दुर्घटनामा परेका स्विटजरल्यान्डका एक जोडीले आफूले पाउने बिमा बापतको रकम यहाँ अस्पताल खोल्न खर्चिएका थिए। उनीहरुसँगै काठमाडौंबाट हामी यहाँ आएका थियौं। शिलन्यासमा आएको अस्पताल तयारी अवस्थामा देख्दा हुने अनुभूति अलग रहेछ। पासाङ ल्हामु शेर्पाका पति ल्हाक्पा सोनामले हामीलाई यहाँ ल्याउने व्यवस्था मिलाएका थिए त्यतिखेर। ती सबै स्मृतिहरु एकाएक ताजा भए। साँझ लुक्ला बजार सुनसान नै थियो, एकछिन घुमेर हामी फेरि होटलतिर लाग्यौं।
लुक्लामा एक रात बसाई अनि त्यसपछि काठमाडौंतिरको यात्रा। त्यतिखेर काठमाडौं कोरोना भाइरसका संक्रमितको संख्या लगातार उचाई लिइरहेको थियो। त्रिभुवन विमानस्थलमा ल्यान्ड भएर घरतिर पाइला चालिरहँदा मनमा एउटै कुरा चलिरहेको थियो - कति छिटो सकियो यात्रा, अब अर्कोचोटी गोक्योसम्मै पुग्नुपर्छ, हिँडेरै। दुई दशकपछि यसपाला भएको थियो यो अविस्मरणीय यात्रा। अबको खुम्बुको यात्राका लागि भने त्यति लामो समय कुर्ने धैर्यता मसँग छैन। किनकि खुम्बुले छिट्टै बोलाउनेछ।
ट्राभल लग श्रृङ्खला :