PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

किम्बदन्तीको पर्व बिस्का : राजनीतिक विजयउत्सवको प्रतिकमा ठडिँदै 'योसिंद्यो'



सहयोग रञ्जित

किम्बदन्तीको पर्व बिस्का : राजनीतिक विजयउत्सवको प्रतिकमा ठडिँदै 'योसिंद्यो'
दुई वर्षअघि योसिंद्यो ठड्याइएको दृश्य

फागु शुक्ल पूर्णिमाको साँझदेखि उपत्यकामा एकै लयको गीत गुञ्जिन सुरु हुन्छ। भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लले लेखेका गीत 'थथिं जा:गु रसबस तोल-ताव, राम हं जि गन वने'  दाफाहरुमा सुनिन्छन्। काठमाडौंमा पाहाँ च:ह्रे लगातयका पर्व र ललितपुरमा घोडेजात्रा लगायतका पर्वहरुमा पनि यही लयकै गीत गुञ्जिने गर्छ। यो गीतले बसन्त ऋतुको आगमनको संकेत गर्छ। 'यस्तो रसबस छोडेर हे राम म कहाँ जाउ..' बोलको गीत बिस्का सम्बन्धित गीत हो। गीतसँगै सुरु हुन्छ भक्तपुरमा बिस्काको चटारो

चैत २८ गते टौमढीमा भैरवनाथ र भद्रकालीको रथ यात्रा शुरु भएपछि विधिवत रुपमा बिस्का सुरु भएको थियो। यसबिच भक्तपुरमा विभिन्न पर्वहरु मनाइए। भक्तपुर बाहिरका मानिसलाई भने भक्तपुरको बिस्का भनेको यःसिं ठ्डयाउने र भैरवनाथ र भद्रकालीको रथ यात्रा मात्रै हो भन्ने बुझाइ रहेको छ। तर यसबाहेक पनि भक्तपुरभरी बिस्काका अवधिमा अरु विभिन्न महत्वपूर्ण जात्राहरु हुन्छन्।

८ रात ९ दिनसम्म मनाइने ऐतिहासिक तथा प्रसिद्ध बिस्का अवधिभर भक्तपुरमा रहेका अष्टमात्रिका, गणेश र भैरवका मन्दिरहरु रहेको स्थानमा छुट्टा छुट्टै जात्राहरु हुन्छन्। ती सबै जात्राहरु एकआपसमा सम्बन्धित रहेको छन्। दुमाजुको जात्रा नसकि यःसिं ठड्याउन मिल्दैन। एक जात्रा नसकिएसम्म अर्को जात्रा सुरु नहुने परम्परा रहेको स्थानीय बताउँछन्।

गत वर्ष कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यही समय लकडाउन गरिएको थियो। जसकारण उपत्यकामा वसन्तु ऋतुको आगमनसँगै मनाइने चाडपर्वहरु प्रभावित बन्न पुगे। सयौं वर्षदेखि निरन्तर चलाइँदै आइरहेको जात्राहरु रोकिए। ४०० वर्षपछि भक्तपुरको बिस्का जात्रा रोकिएको थियो।

एक वर्षपछि भने अहिले फेरि जात्रा पर्वको समय छ। कोरोना संक्रमण फेरि बढ्न थालेको छ। यसबिच यो वर्षभने उपत्यकामा जात्रा पर्वले निरन्तरता पाएको छ। भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि पहिला बिस्का नगर्ने निर्णय गरेको थियो। तर जनदबाबपछि उक्त निर्णय फिर्ता लिइयो। र, पहिलाभन्दा केही चाँडै गरि जात्रा सुरु गरियो।

आज बिस्काको प्रमुख दिन मध्ये एक हो। हरेक वर्षको अन्तिम दिन बोलाछें (पोटरी स्कवायर)मा बिहानै हात नभएको यःसिं ठड्याउने गरिन्छ। यो यःसिं भने बिस्काको अन्तिम दिनमात्रै ढालिन्छ। साँझ भने ल्योसिंखेलमा हात भएको य:सिं ठड्याउने गरिन्छ। स्थानीय भाषामा य:सिं यसलाई 'योसिंद्यो' भनिन्छ।

बिस्का सम्बन्धी थुप्रै किम्बदन्ती भक्तपुरमा प्रचलित छन्। यसलाई राजनीतिक विजयउत्सवका रुपमा समेत अर्थ्याउने गर्ने गरिएको छ। संस्कृतिविद् प्राध्यापक पुरुषोतमलोचन श्रेष्ठ यी किम्बन्दती बिस्का जात्राका विधान जस्तै भएको बताउँछन्।

एक कथन नागनागिनीसँग सम्बन्धित छ। एकजना सुन्दरी राजकुमारी देखेर धेरैजना मोहित हुन्थे। उनीसँग धेरैजना पुरुषहरुले सम्बन्ध राख्ने प्रयास गरेका थिए। तर, राति राजकुमारीसँग रहेको पुरुष बिहान उठ्दा त मृत अवस्थामा भेटिन्थे। राति राजकुमारीको नाकबाट नागहरु निस्किन्थे र राजकुमारीसँग रहने पुरुषलाई मार्ने गर्थे। एक राजाले भने राजकुमारीसँग बस्दा अगिंजार मार्छन् र नागहरुलाई झुण्डाएर जात्रा सुरु भएको कथन समेत छन्। यसले पुरानो सत्ताको अन्त्य र नयाँ सत्ताको आरम्भ भएको संकेत दिने श्रेष्ठको तर्क छ।

'यसले सत्ता परिवर्तनको संकेत पनि गर्छ। मातृसत्ताको अन्त्य र पितृसत्ताको सुरुवात यहीबाट भएको यसले संकेत गर्छ' उनले भने।

अर्को कथन शिवदेवको शासनकालमा उनका तान्त्रिक आचार्य र श्रीमतीसँग जोडिएको छ। त्यसबेला देशमा ठूलो युद्ध भएको हुन्छ। शेखर आचार्यको सहयोगमा तान्त्रिक विधिबाट बाघहरु तयार पारिन्छ। उनी आफै र श्रीमती पनि अक्षताको साहारामा बाघ बन्छन्। धेरै बाघहरुले शत्रुहरु पराजित गर्छन्। पछि आचार्य र उनीकी श्रीमती बाघबाट मान्छे बन्न खोज्दा बिर्सिएर अक्षता आफ्नै मुखमा राख्छन् र दुवैले अजिंगरको रुप लिन्छन्। राजा शिवदेवले आफ्नो आचार्य कहाँ छन् भनेर खोजी गर्न थाल्छन्। तर, पत्ता लगाउन सक्दैनन्। आचार्य र उनको श्रीमतीले आत्म हत्या गरेको र त्यसपछि यो जात्रा चलेको पनि कथन छ।

यी दुवै किम्बदन्तीमा नागको उल्लेख छ। त्यसैले बिस्कालाई सर्प मरेर सुरु भएको जात्राका रुपमा पनि लिइन्छ। नाग र नागिनीहरुले दुःख दिएको अवस्थामा उनीहरुलाई समातेर मारेर प्रदर्शन गरिएको समेत किम्बदन्ती छ। त्यसैले नाग र नागिनको प्रतीकका रुपमा हलिनपत (धव्जा) यं:सिमा फहराइने गरिएको विश्वास छ। नाग जातिको अस्तित्वमा रहेको बेलादेखि नै यो जात्रा अस्तित्वमा कथन रहेको छ।

यी त भए आदिमकालको लोककथन। यी दुवै कथन राजनीतिक परिवर्तन वा विजयउत्सवसँग सम्बन्धित छन्। वर्तमानको कुरा गर्ने हो भने बिस्का जात्रालाई किराँतमाथि लिच्छवीहरुको ‍विजयउत्सवको रुपमा समेत अर्थ्याउन सकिने संस्कृतिविद्हरु बताउँछन्।

य:सिं ठड्याउने परम्परा यससँगै सम्बन्धित छ। लिच्छवीहरुले किराँतीहरुलाई पराजित गर्दै नेपालमण्डलमाथि विजय हासिल गरे। किराँतीहरुलाई पराजित गरेको खुशीयालीमा लिच्छवीहरुले चैत्र शुक्ल मसान्तको दिन य: सिं उठाएर वैशाखको पहिलो दिन य: सिं ढालेर बिस्का जात्रा मनाउने परम्परा सुरु गरेको बताउँछन् संस्कृतिविद् ओम धौभडेल। श्रेष्ठपनि किराँत वंशको अन्त्य गर्दै लिच्छवीहरुको शासनकालको विजयउत्सवको रुपमा य:सिंमा ध्वजा फहराइन सुरु गरिएको हुन सक्ने बताउँछन्।

धौभडेलका अनुसार ‍भक्तपुरलाई राजधानी बनाएर किराँतीहरुले शासन गरिरहेको र लिच्छवीहरुले एउटा वंशको अन्त्य गर्दै आफ्नो वंशको उदय भएको वर्षका उपलक्ष्यमा बिस्का सुरु भएको हो। त्यसैले उनी बिस्कालाई सांस्कृतिक भन्दा पनि राजनीतिक जात्राका रुपमा व्याख्या गर्छन्।

यस्तै लिच्छवीहरुपछि मल्लहरुले नेपालमण्डलमाथि राज्य गरेका थिए। मल्लहरुबीचको आपसी मतभेदले नेपालमण्डल टुक्रिँदै गयो। त्यसबेला भक्तपुर नेपालमण्डलकै केन्द्र रहेको बताइन्छ। पछि रत्न मल्लले कान्तिपुर (काठमाडौं), रणमल्लले भोत (बनेपा) स्थापना गरे। नेपालमण्डल विभाजित हुँदै गएपछि भक्तपुर पनि साँघुरिँदै गयो। राय मल्लभन्दा पछिका राजाहरुले भक्तपुरको अधिनमा रहेका राज्यहरुमा बिस्का जात्रा मनाउने परम्परा बसाले।

धौभडेलका अनुसार भक्तपुरको पूर्व क्षेत्रका ७ र पश्चिम क्षेत्रको ७ गाउँहरुमा (साँखु, टोखा, ठिमी, बोडे,नाला लगायतका क्षेत्र) मल्लहरुले भक्तपुरको अधिनमा रहेको भनेर देखाउन त्यहाँ बिस्का मनाउने परम्परा सुरु गरेका थिए। तर पछि नेपालमण्डल विभाजित हुँदै गएपछि भक्तपुर छुट्टै राज्यको रुपमा स्थापति भयो। यद्यपि, पूर्व र पश्चिमका ७ गाउँहरुमा बिस्का अहिले पनि मनाइन्छ। त्यहाँ पनि आजकै दिन य:सिं ठड्याइन्छ।

य:सिंलाई आकाश भैरवको प्रतिकका रुपमा समेत लिइन्छ। ललितपुर र काठमाडौंमा पनि बिस्का जात्रा मनाइन्छ। भक्तपुरबाटै छुटिएर कान्तिपुर र ललितपुर बनेको इतिहास छ। मल्ल शासनको राजनीतिक मूल थलो भक्तपुर थियो। त्यसैले भक्तपुरमा रहेका उच्चतम देवदेवता काठमाडौं र ललितपुरमा समेत स्थापना भएको कथन छ।

धौभडेल लिच्छवीहरुले वर्षको अन्तिम दिन भक्तपुरको ल्योसिंखेलमा यःसिंमा झण्डा फहराएर उठाउने र वैशाख १ गते ढाल्ने गरि दुई दिनमात्रै बिस्का मनाउन थालिएको बताउँछन्। भने, 'अहिलेको जात्रा कुनै राजाले वा जनताले सुरु गरेको जात्रामात्रै पनि होइन। यो कथाहरुमा आधारित जात्रा हो। पहिले दुई दिन यो जात्रा मनाइथ्यो। अहिले भने ८ रात ९ दिन मनाइन्छ।'

+++  

बिस्काको पूर्व रुप 'विश्वकेतु' हो भएको बताउँछन् संस्कृतिविद् श्रेष्ठ। पछि 'बिस्क्याट' समेत भनिने गरिएको यो पर्वलाई नेपालीलाई बिस्केटका रुपमा व्याख्या गर्न थालियो। भक्तपुर टौमढी टोलमा रहेको यक्ष मल्लको शिलालेख, थिमिमा भेटिएको एउटा ताडपत्रमा पनि बिस्कालाई 'विशिक', भक्तपुर राजदबारमा रहेको मल्ल राजाहरुको शिलालेखमा समेत बिस्का जात्रा सम्बन्धि उल्लेख गरिएको उनी बताउँछन्। भैरवनाथ मन्दिरमा रहेको ध्वजामा वीर ध्वजाको उल्लेख भएको पाइएको छ भने य:सिंमा फहराइने ध्वजामा समेत बिस्का बारे उल्लेख भएको देखिन्छ। त्यसैले श्रेष्ठ यसलाई विश्वकै ध्वजाका रुपमा लिन मिल्ने बताउँछन्।

यता, बिस्कामा देवीदेवताहरुको प्रवेश पछिमात्रै भएको धौभडेलको दाबी छ। भैरवनाथ र भद्रकालीको रथ जात्रा पछिमात्रै सुरु भएको उनको तर्क छ।

भैरवनाथ र भद्रकाली श्रीमान् श्रीमती हुन्। आज (यं:सिं ठ्ड्याउने दिन) भद्रकाली यं: सि उठाएको हेर्न जाने अडान लिन्छिन्। तर, भैरवनाथले उनलाई मञ्जुरी दिँदैनन्। दुवैबीच झगडा हुन्छ। रिसाएर गएकी भद्रकालीलाई भैरवानाथ फकाएर ल्याउँछन्। मिलनको खुशीयालीमा दुवैजनाको रथ जुधाउने गरिएको हो। धौभडेल भैरवनाथ र भद्रकालीको रथ जुधाएर समागम गराएको बताउँछन्।

धौभडेल किम्बदन्ती नभए बिस्का पनि नरहेने बताउँछन्। भन्छन्, 'बाखं भनेकै बछि खं ख बछि खं मखु (आधि कुरा हो, आधि कुरा होइन)। त्यसैले कथाहरुमा केही सत्यता हुन्छ। यी कथाहरु नभएको भए बिस्का अहिले जस्तो भव्य हुँदैन थियो।'

समयसँगै राजनीतिक विजयको प्रतीकको रुपमा सुरु भएको बिस्कामा सांस्कृतिक र मनोरञ्जनात्मक गतिविधि थपिएको उनी बताउँछन्।

'देवीदेवतापछि रथ यात्रा सुरु गर्ने परम्परा भयो। थ: ने (माथिल्लो टोल) र क्व: ने (तल्लो टोल) मा रथ लैजाने प्रतिस्पर्धा सुरु गरियो। बिस्कालाई बिस्तारै प्रतिस्पर्धात्मक मनोरञ्जनका रुपमा विकास गरियो। मानिसहरुलाई जात्रामा सहभागी गराउन केही त हुनुपर्‍यो। यं:सि ठ्डाएर दुई दिन सम्म मात्र जात्रा नहुने भएकाले यसमा कथाहरु थपिँदै ८ रात ९ दिन सम्म चल्न सुरु भयो।'

धौभडेल थप व्याख्या गर्छन्, 'पहिला भैरव र भद्रकालीको जात्रा खटमा हुन्थ्यो। पछि रामायण, महाभारतमा आधारित भएर रथ निर्माण भयो। कथा र किम्बदन्तीहरुले बिस्कालाई थप महत्व दियो। तर पहिला भने य:सिं उठाउने र ढाल्ने मात्रै हुन्थ्यो।'

टौमढीमा भैरवनाथ र भद्रकालीको समागमको रुपमा रथ यात्रा शुरु भएपछि विधिवत रुपमा बिस्का शुरु भएपनि वर्षको अन्तिम दिन (आज) बेलुकी ल्योसिंखेलमा यःसिं उठाउनेलाई महत्वपूर्ण मानिन्छ। वैशाख १ गते यो य:सिं ढालिन्छ। त्यसैले आज र भोलिका दिन भक्तपुरका टोलटोलमा छोरी र आफन्तहरुलाई बोलाएर भोज खुवाउने चलन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell