काठमाडौं : प्रतिनिधसभा बैठक भदौ २५ गतेसम्मलाई स्थगित गरिएको छ। नेकपा एमालेका सांसदहरुको अवरोधबिच राजनीति दल सम्बन्धी 'दोस्रो संशोधन' अध्यादेश गृहमन्त्री बालकृष्ण खाँणले पेश गरेका थिए।
आजै बसेको तेस्रो बैठकमा खाँणलाई अध्यादेश पेश गर्न सभामुखले अनुमति दिएपछि एमाले सांसदहरुले प्रतिकार गर्न खोजेका थिए। त्यसक्रममा एमाले सांसद र मर्यादा पालकहरुबिच घम्साघम्सी भएको थियो। खाँणले अध्यादेश पेश गरिरहँदा एमाले सांसदहरुले नाराबाजी गरिरहेका थिए।
अध्यादेश पेश भएपछि सभामुख सापकोटाले भदौ २५ गतेसम्म बैठक स्थगित गरिएको रुलिङ गरेका थिए।
नेकपा एमाले फुटाउन सभामुख अग्नि सापकोटा मतियार बनेको आरोप लगाउँदै नेकपा एमालेले आज दुई पटक प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो। एमाले सांसदको अवरोधबिच सभामुखले दुईपटक बैठक स्थगित गरेका थिए।
पहिलो बैठक अवरुद्ध भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। त्यसपछि बसेको बैठकमा पनि एमाले सांसदले नाराबाजी गरेका थिए। नाराबाजीबिच सभामुखले एमालेको माग संसदमा दर्ज भइरहेको भन्दै बैठक संचालन गर्न दिन आग्रह गरेका थिए।
पहिलो बैठकमा जंगिएका सभामुख दोस्रो बैठकमा नम्र रुपमा प्रस्तुत भएका थिए। उनले पटकपटक एमाले सांसदलाई बैठक संचालन गर्न माग अनुरोध गरेका थिए।
'मैले संविधान नियम कानुन बर्खिलाप केही गरेको छैन। कानुन बमोजिम गरेको हो। तपाईंहरुका माग ध्यानाकर्षण भयो। सदन संचालन गर्न सहयोग गर्नुहोला' सभामुखले भने।
यद्यपि, एमालेले बैठक अवरुद्ध गरिरहेपछि सभामुखले फेरि १५ मिनेटका लागि भन्दै संसद बैठक स्थगित गरेका थिए। त्यसपछि बसेको तेस्रो बैठकमा सभामुखले एमालेको अवरोधबिच गृहमन्त्री खाँणलाई अध्यादेश पेश गर्न अनुमति दिएका थिए।
एमालेले माधव नेपाल सहित १४ जना सांसदलाई निष्काशन गर्न आफूले दिएको पत्र सभामुखले अघि नबढाएर एमाले फुटाउन मतियार बनेको आरोप लगाउँदै बैठकमा नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका हुन्।
एमालेले भने १४ जना सांसदलाई कारवाही नभएसम्म बैठक चल्न नदिने बताउँदै आएको छ।
सम्बन्धित समाचार :
एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, सभामुख दल विभाजनमा मतियार बनेको आरोप
संसदको गरिमा र मर्यादा बाहिर नजान एमाले सांसदलाई सभामुखको चेतावनी, किन आक्रोशित भए सापकोटा ?
दोस्रो बैठकमा नम्र बने सभामुख : आफूले सबै कानुन बमोजिम गरेको दिए जवाफ