PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

काठमाडौंको नगर अधिवेशन : पहिलो गठजोडमा कतिको फाप्यो प्रकाशमान - गगनको जोडीलाई?



काठमाडौंको नगर अधिवेशन : पहिलो गठजोडमा कतिको फाप्यो प्रकाशमान - गगनको जोडीलाई?

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौंको ९ वटा नगरमा अधिवेशन सकिएको छ। महानगरसहित काठमाडौंका ९ तहमा आइतवार अधिवेशन सकिएको हो। काठमाडौंलाई कांग्रेस नेता प्रकाशमान सिंह र भीमसेनदास प्रधानबीच टक्कर हुने जिल्लाको रुपमा लिए पनि यसपटक समीकरणमा केही फेरबदल भयो।

यसपटक प्रकाशमानलाई केन्द्रीय महामन्त्रीमा उम्मेद्वार दिइसकेका युवा नेता गगन थापाको साथ रह्यो भने भीमसेनदासलाई केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षको साथ रह्यो। यसअघि नेता कृष्णप्रसाद सिटौलाको गुटमा रहेका गगन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नजिकिँदा प्रकाशमानलाई साथ मिलेको बताइएको छ। सिटौलाको साथ भने यसपटक भीमसेनदास समूहलाई नै रह्यो।

प्रकाशमान - गगन एकातिर, देउवा - सिटौला - भीमसेनदास अर्कोतिर टिमै बनाएर अधिवेशनमा उत्रिएको थियो। यसरी चुनावी मैदानमा उत्रिँदा प्रकाशमान गगन टिमले ९ मध्ये ६ स्थानमा आफ्नो समूहलाई जिताउन सफल भएको छ। यता देउवा - सिटौला - भीमसेनदास पक्षले ३ स्थानमा चित्ता बुझाएका छन्। ११ स्थानीय तह रहेको काठमाडौंका कीर्तिपुर र दक्षिणकाली अधिवेशन हुन सकेको छैन।

कहाँ कसको समूह?

काठमाडौंमा निलकाजी शाक्य

नेपाली कांग्रेस काठमाडौं महानगरको सभापतिमा निलकाजी शाक्य निर्वाचित भएका छन्। शाक्यसँगै काठमाडौं महानगरमा प्रकाशमान सिंह-गगन थापा समूहको प्यानलनै विजयी भएको छ।

आइतवार भएको मतदानमा शाक्यले ७८६ मत प्राप्त गर्दा अर्का उम्मेद्वार प्रगतिमान रञ्जितले ३२९ मत पाए। तरुण दलका केन्द्रीय सदस्यसमेत रहिसकेका शाक्य काठमाडौं महानगर वडा २५ का वडाध्यक्षसमेत हुन्। शाक्य नेता प्रकाशमान सिंह निकट हुन्।

यसैगरी, उपसभापतिको पदमा सन्तकुमार महर्जन र शुशिला ढकाल निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा शुसन बैद्य र पुरुषोत्तम खकुरेल निर्वाचित भएका छन्।

यता, सहसचिव पदमा बिमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका छन्। पदाधिकारीमा निर्वाचित सबै शाक्य प्यानलका हुन्।

शंखरापुरमा श्रेष्ठ

नेपाली कांग्रेस शंखरापुर नगरपालिकाको नगर सभापतिमा दिलीपकुमार श्रेष्ठ प्यानलसहित विजयी भए। शनिवार सम्पन्न मतदानमा उनले ८६ मत ल्याउँदा अर्का उम्मेद्वार सत्यमान लामाले ६८ मत ल्याए। श्रेष्ठ प्रकाशमान सिंह-गगन थापा समूहका हुन्।

२०४९ सालदेखि कांग्रेसको क्रियाशील सदस्य लिँदै ९ औँ महाधिवेशनदेखि क्षेत्रीय प्रतिनिधिको रुपमा सक्रिय रहेका श्रेष्ठ १३ औँ अधिवेशनमा साबिक शंखरापुर वडा नम्बर १० को इकाई सभापतिको रुपमा काम गरिसकेका छन्। उनी २०७४ सालको स्थानीय निर्वाचनमा शंखरापुर ६ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षको प्रत्यासी समेत रहेका थिए।

नगर कार्यसमितिको उपसभापतिमा मिलन खड्का र अमित प्रधान निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा रनबहादुर तामाङ र स्वयम्भू लाल श्रेष्ठ निर्वाचित भएका छन्।

त्यसैगरी, सहसचिव पदमा श्रीराम लामिछाने र बसन्त थिङ निर्वाचित भएका छन्।

गोकर्णेश्वरमा कुमार

नेपाली कांग्रेस गोकर्णेश्वर नगर कार्यसमितिको सभापतिमा कुमार लामा निर्वाचित भए। पार्टीको आसन्न १४औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनबाट उनले १०९ मत प्राप्त गरे। लामा नेता प्रकाशमान सिंह गगन थापा समूहबाट उम्मेद्वार बनेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी रामजी श्रेष्ठले ९३ मत प्राप्त गरे।

यसैगरी उपसभापतिद्वयमा वटुकृष्ण ढुङ्गेल १२० र विकास श्रेष्ठ ११५ मत प्राप्त गरी निर्वाचित भए।

सचिवद्वयमा जयराम विष्ट र रमेश रिजाल निर्वाचित भएका छन्। सहसचिवद्वयमा अशोक नेपाल र गोकुलप्रसाद सिम्खडा निर्वाचित भए। कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था कांग्रेसका विधानमा रहेको पूर्वनगर सभापति श्रीकृष्ण ज्योतिले जानकारी दिए। यसैगरी नगर कार्यसमितिका अधिकांश सदस्य पनि लामा समूहबाटै निर्वाचित भएका छन्।

नागार्जुनमा गौतम

कांग्रेस नागार्जुन नगर सभापतिमा दुर्गाप्रसाद गौतम निर्वाचित भए। उनी पनि प्रकाशमान सिंह र गगन थापा निकट मानिन्छन्।

गौतमले १२८ मत पाउँदा सभापतिका अर्का उम्मेदवार अच्युत पाण्डेले ७८ मत मात्रै ल्याएका थिए। नागार्जुनाको कांग्रेस उपसभापतिमा लेखनाथ काफ्ले र नवराज पुरी निर्वाचित भए। सचिवमा कृष्ण दाहाल र रविन श्रेष्ठ निर्वाचित भए भने सहसचिवमा अमृत लामिछाने र सविन गौतम निर्वाचित भएका छन्।

बुढानिलकण्ठमा बुढाथोकी

कांग्रेस बुढानिलकण्ठ नगरपालिकाको नगर सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भए।

शनिवार सम्पन्न मतदानमा उनले १५५ मत ल्याउँदा अर्का उम्मेद्वारद्वय राजन बुढाथोकीले ६८ र राजुबिक्रम थापाले ४८ मत ल्याए। राजाराम बुढाथोकी प्रकाशमान प्रकाशमान-गगन समूहबाट निर्वाचित भए। त्यसो त बुढाथोकी गगन निकट मानिन्छन्।

नगर कार्यसमितिको उपसभापतिमा सानुकान्छा श्रेष्ठ र शम्भु कार्की निर्वाचित भए। त्यस्तै, सचिवमा बिजेन्द्र श्रेष्ठ र बिजेन्द्र पुडासैनी निर्वाचित भएका छन्।

त्यसैगरी, सहसचिव पदमा कुमार खड्का र निर्मला आचार्य (पौडेल) निर्वाचित भए।

चन्द्रगिरीमा घनश्याम गिरी

काठमाडौंस्थित चन्द्रगिरी नगरपालिकाको कांग्रेस नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको छ। आइतवार राति अबेर सहमति भएपछि चन्द्रगिरी नगरको कांग्रेस सभापतिमा घनश्याम गिरी सर्वसम्मत चयन भएका हुन्। उनी नेता प्रकाशमान सिंह र गगन थापा समूहका हुन्।

यसैगरी उपसभापतिमा इन्द्रावती श्रेष्ठ र राजेन्द्रविक्रम बानियाँ चयन भए। यता सचिवमा भने राजेन्द्र महर्जन र नवीन महर्जन चयन भए।

सहसचिवमा जीवन गिरी र भुवन श्रेष्ठ चुनिए। कोषाध्यक्ष मञ्जयप्रकाश श्रेष्ठ भए।

कागेश्वरी मनोहरामा दाहाल

कागेश्वरी मनोहरा नगर इकाई सभापतिमा उद्धव दाहाल विजयी भएका छन्। संस्थापन पक्षका उनले १५१ मत प्राप्त गरे।

यस क्षेत्रमा कांग्रेस काठमाडौको सभापतिका दाबेदार उपेन्द्र कार्कीको प्रभाव रहेको छ। उनी कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता हुन्। यहाँ प्रकाशमान सिंह - गगन थापा समूहबाट उम्मेद्वार रहेका मिठ्ठाराम दाहालले १३८ मत पाए।

कागेश्वरी मनोहरा इकाई उपसभापतिमा शंकरबहादुर विष्ट र राम खड्का विजयी भए। त्यस्तै सचिवमा सुजन थपलिया र सुरेन्द्रप्रसाद ढकाल विजयी भए। सहसचिवमा रमेश घिमिरे र विनोद मुल्मी निर्वाचित भएका छन्।

तारकेश्वरमा महर्जन

कांग्रेस तारकेश्वर नगरपालिकाको नगर सभापतिमा कृष्णहरि महर्जन निर्वाचित भए। शनिवार सम्पन्न मतदानमा उनले १३५ मत ल्याउँदा अर्का उम्मेद्वारद्वय श्रीराम थापाले ११४ र मुकुन्द तिमिल्सिनाले २ मत ल्याए।

काठमाडौं क्षेत्र नम्बर ६ का सांसद एवं पूर्व जिल्ला सभापति भीमसेनदास प्रधान निकट कृष्णहरि महर्जन र पूर्व महामन्त्री प्रकाशमान सिंह निकट श्रीराम थापा हुन्।

कोषाध्यक्ष महर्जनको सहयोगमा भिमसेनदास प्रधान गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। थापा भने आफैं स्थानीय तह निर्वाचनमा पराजित भएका थिए।

नगर कार्यसमितिको उपसभापतिमा नवराज अर्याल र जमुना तिमिल्सिना निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा राजु फुयाँल र शंकर तिमिल्सिना निर्वाचित भएका छन्।

त्यसैगरी, सहसचिव पदमा सरस्वती पौडेल र अप्सरा खड्का निर्वाचित भएका छन्।

टोखामा विमली

नेपाली कांग्रेस काठमाडौंको टोखा नगर सभापतिमा ओमकृष्ण विमली विजयी भएका छन्। शनिवार सम्पन्न नगर अधिवेशनमा विमलीले ११७ मत प्राप्त गरे। विमली भीमसेनदास प्रधान निकट नेता हुन्।

प्रकाशमान सिंह - गगन थापा टिमबाट उम्मेद्वार बनेका दिपकराज जोशीले १०६ मत पाए।

उपसभापतिमा ऋषिराम अर्याल र मनराज अधिकारी विजयी भए। नगर सचिवमा द्वारिका कुइकेल र नरेन्द्र बानियाँ निर्वाचित बने। बानियाँ जोशी टिमबाट चुनाव लडेका थिए।

सह- सचिवमा विजेन्द्र श्रेष्ठ र रीता प्रजापति श्रेष्ठ विजयी भए। पदाधिकारीमा बानियाँबाहेक सबै विमली टिमको निर्वाचित भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell