PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

३४ दिनपछि अग्रवाल परिवार सम्पर्कमा, ह्वाट्सएपमा ६ मिनेट कुराकानीको प्रमाण लिएर प्रहरीमा पुगिन छोरी रजनी



पहिलोपोस्ट

३४ दिनपछि अग्रवाल परिवार सम्पर्कमा, ह्वाट्सएपमा ६ मिनेट कुराकानीको प्रमाण लिएर प्रहरीमा पुगिन छोरी रजनी

काठमाडौँः एक महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका अग्रवाल परिवार सम्पर्कमा आएका छन्।

पुस २२ गतेदेखि ओमप्रकाश अग्रवालको परिवार सम्पर्कविहीन भएकाले खोजी गरिदिन भन्दै महानगरीय प्रहरी वृत्त माली गाउँमा निवेदन परेको थियो। ‌ओमप्रकाशकी छोरी रजनी अग्रवालले परिवार सम्पर्कविहीन भएको भन्दै उजुरी दिएकी थिइन्। बुधबार दिउँसो उनै छोरी रजनीले प्रहरीमा पुगेर आफ्नो परिवार सम्पर्कमा आएको जानकारी दिएकी हुन्। परिवारका सबै सदस्यहरू सुरक्षित रहेको रजनीले जानकारी गराएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीले बताए।

बुधबार दिउँसो २ बजे अमित अग्रवालले रजनीलाई ह्वाट्सएपमा फोन गरेका थिए। उनीहरुबीच ६ मिनेट कुराकानी भएको प्रहरीले जानकारी दिएको छ। परिवार भारतबाट चाँडै फर्कने जानकारी पनि रजनीले प्रहरीलाई दिएकी छिन्।

'छोरीले नै आफ्नो परिवार सम्पर्कमा आएको बताउनुभयो,' एसएसपी गिरीले भने।

अग्रवाल परिवारले झन्डै तीन दशकयता काठमाडौँको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ग्रीनलाइनका सञ्चालन गर्दै आएको थियो। ओमप्रकाश, अमित, अभिषेक, भारती, उषा, रुचिका सँगै  ओमप्रकाशकी १७ वर्षीया नातिनी नन्दनी, ९ वर्षीया पार्था र २ वर्षीय अनव सम्पर्कविहीन भएपछि प्रहरीले खोजी गरेको थियो। पुस २३ गते ओमप्रकाशकी छोरीले प्रहरीमा पुगेर आफ्नो बुवा-आमासहित सिङ्गो परिवार नै हराएको भन्दै उजुरी दिएकी छिन्।

'उहाँले आफ्नो परिवार कहाँ भएको भने खुलाउनु भएको छैन। आफैँ सम्पर्कमा आएको भनेर प्रहरीमा जानकारी दिनुभएको हो। अब हामीले खोजिरहनु परेन,' एसएसपी गिरीले भने।

प्रहरीको अनुसन्धानमा अग्रवाल परिवार भारत गएको देखिएको थियो।

अग्रवाल परिवारले तीन अर्बभन्दा धेरै रुपैयाँ ऋण लिएको देखिएको छ। जसमा अहिलेसम्म बैङ्क तथा वित्तीय संस्थाबाट आधा र त्यसभन्दा धेरै रकम मिटर ब्याजमा लिएको अग्रवालको घरमा फेला परेको नोटमा उल्लेख गरिएको थियो। छोरा अमित अग्रवाल मिटर ब्याजको फन्दामा पर्दा सम्पत्ति सिद्ध्याएको समेत उल्लेख गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell