PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

महाधिवेशनमा पारित प्रस्ताव लत्याएको भन्दै माओवादीभित्र चर्को असन्तुष्टि, सोसल मिडियामा प्रश्न : जुत्ता हान्ने कहिले?



विधुर ढकाल

महाधिवेशनमा पारित प्रस्ताव लत्याएको भन्दै माओवादीभित्र चर्को असन्तुष्टि, सोसल मिडियामा प्रश्न : जुत्ता हान्ने कहिले?

काठमाडौं : अमेरिकी परियोजना 'एमसीसी'को विषयमा नेकपा माओवादीले लिएको निर्णयलाई लिएर माओवादी भित्रका नेताहरु विरोधमा उत्रिएका छन्।

सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको सम्झौतालाई प्रतिनिधिसभाबाट पारित गर्न सत्तारुढ गठबन्धनले निर्णय गरेपछि यसको विरोधमा माओवादी केन्द्रका नेताहरु उभिएका छन्। बालुवाटारमा आइतवार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने सहमति भएको थियो। 

'व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्न हामी सबै सहमत हुने निर्णय भयो,'  बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले भनेका थिए। 

गठबन्धनमा सहमति जुटेसँगै माओवादी केन्द्रभित्र विरोध चुलिँदै गएको छ।

आजै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवासमा पूर्व स्थायी कमिटी सदस्यहरुको अनौपचारिक छलफल भएको थियो। छलफलमा मोटामोटी सहमति भएसँगै यसलाई फागुन २० गतेको केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्ने माओवादी केन्द्रका नेता वर्षमान पुन 'अनन्त'ले पहिलोपोस्टलाई जानकारी दिए। तर, गठबन्धनमा आजै एमसीसी अनुमोदन गर्ने तयारी भएको छ। एमसीसीको 'डेडलाइन' भोलि फागुन १६ गतेसम्म मात्रै छ।

केन्द्रीय कमिटीको बैठकले अनुमोदन नगर्दै अध्यक्ष प्रचण्‍डले गठबन्धन बैठकमा गरेर अनुमोदन गर्ने प्रस्तावलाई स्वीकार गरेपछि यसको विरोध भएको हो। 

अर्कातिर खुमलटारमा भएको छलफलमा कुनै निर्णय नभएको नेता लीलामणि पोखरेलले दाबी छ। 'यो औपचारिक बैठक होइन निर्णय गर्नलाई। अध्यक्षले पूर्व स्थायी कमिटीका सदस्यहरुलाई परामर्शका लागि बोलाउनु भएको हो,' उनले भने, 'व्याख्यात्मक टिप्पणीको विषयमा प्रश्न उठेको थियो। केही साथीहरु यसमा सकारात्मक भए पनि निर्णय भएको छैन।'

त्यतिमात्र होइन, प्रचण्डले दुई महिना अघिमात्र भएको महाधिवेशनले पारित गरेको प्रस्तावलाई लत्याएको आरोप नेताहरुले लगाएका छन्। 

पुस ११ गते देखि १८ गतेसम्म सम्पन्न माओवादी केन्द्रको ८ औं महाधिवेशनले एमसीसी यथास्थितीमा पारित गर्न नहुने प्रस्ताव पारित गरेको थियो। 

'राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसी बिच भएको सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस्। यस विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसद सहित समग्र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न यो महाधिवेशन माग गर्दछ,' पारित प्रस्तावमा भनिएको थियो। 

एमसीसी पास गर्ने गठबन्धनको निर्णय बाहिर आएसँगै नेता नारायणकाजी श्रेष्ठले आपत्ति प्रकट गरेका छन्। उनले ट्वीट गर्दै ५ दलीय गठबन्धनमा प्रचण्डले  व्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानाकारी गराएको तर त्यसमा आफूसहित नेताहरुको असहमति रहेको उनले बताए।

त्यस्तै, माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने पनि विरोधमा उत्रिएका छन्। न्यौपानेले प्रचण्डले एकल निर्णयबाट पार्टीलाई राष्ट्रघाती पार्टीको कित्तामा उभ्याएको टिप्पणी गरे। 

'नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक पटकपटक स्थगित गरिएको छ। महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्षमात्र बनेको अवस्था छ,' उनले फेसबुकमा प्रश्न गरेका छन्न्, 'एकातिर केन्द्रीय समितिको बैठक बसाल्दै नबसाल्ने अर्कोतिर एमसीसी जस्तो  मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर विषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस, एमाले जस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने?'

उनले यो निर्णयलाई अवैधानिक समेत भनेका छन्। 

'हालको नेकपा (माओवादी केन्द्र)मा केन्द्रीय समितिको निर्णय बाहेक अरुले गर्ने निर्णय अधिकारिक हुँदैन। आज बिहान बसेको भनिएको बैठकको कुनै वैधानिकता छैन,' उनले अगाडि लेखेका छन्, 'माओवादी राष्ट्रघात गर्ने पार्टी होइन। माओवादी एकाध व्यक्तिको निजी क्लब होइन।' 

न्यौपाने एमसीसी पास गर्नुपर्छ भन्नेलाई पार्टीभित्रै जुत्ता प्रहार हुने टिप्पणी गर्दै आएका थिए। अहिले सामाजिक सञ्जालमा उनले बोलेको यही भिडियो ट्याग गर्दै जुत्ता कहिले हान्ने भन्दै प्रश्न गरिरहेका छन्। 

आइतवार बिहान खुमलटारमा भएको छलफलमा पनि पूर्व स्थायी समितिका पाँच जनाले विरोध जनाएका थिए। यसरी विरोध जनाउनेमा नेता श्रेष्ठ, पोखरेलसहित देव गुरुङ, कृष्णबहादुर महरा, र गरीराजमणि पोखरेलले विरोध जनाएका थिए।


सम्बन्धित समाचार: माओवादी केन्द्रले पारित गरेको ४५ बुँदे प्रस्ताव : कालापानी, लिपुलेकदेखि एमसीसीबारे के छ भनिएको?


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell