PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एनएसएल र ए डिभिजन लिग क्लबबीचको विवाद सतहमा, 'रिलिज' र 'अनुबन्धन' लफडा



मुकुन्द घिमिरे

एनएसएल र ए डिभिजन लिग क्लबबीचको विवाद सतहमा, 'रिलिज' र 'अनुबन्धन' लफडा

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) र शहीद स्मारक ए डिभिजन लिगका क्लबहरुबीच केही दिनयता विवाद सतहमा छ।

ए डिभिजन सकिएलगत्तै सुपर लिगका क्लबहरु मार्की खेलाडी र प्रशिक्षक अनुबन्धनमा आक्रामक देखिए। त्यस्तै सुपर लिगले खेलाडीको ग्रेडिङ छुट्याउँदै अक्सनको समेत घोषणा गरिदियो। यता विज्ञप्ति निकालेर अनुमतिबिना आफूले अनुबन्धन गरेका खेलाडीलाई सुपर लिगका क्लबले धमाधम मार्की खेलाडी घोषणा गर्दा विरोध गरे। तर, मार्की खेलाडी घोषणा गर्ने क्रम रोकिएन।

ए डिभिजन लिगका ८ क्लबले एन्फा अध्यक्षलाई पत्र लेख्दै अक्सन रोक्न माग गरे। र, एन्फाको पत्र अनुरुप शुक्रबार हुने अक्सन रोक्न भनिएको जनाइएको छ। यद्यपि आधिकारिक जानकारी भने एनएसएलले दिएको छैन।

पछिल्लो घटना क्रममा भने एन्फा मूकदर्शकमात्र देखिएको छ। एन्फा महासचिवको क्लब लगायत ८ क्लबले विरोध जनाउँदा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको हिमालयन शेर्पा क्लब र तीन विभागीय क्लबले भने आधिकारिक धारणा राखेका छैनन्, सुपरलिगको खेलाडी अनुबन्धनलाई लिएर।

बिहीबारमात्र दुईवटा एनएसएलका फ्रेन्चाइजीले मार्की खेलाडी र प्रशिक्षक घोषणा गरे। पहिलो विराटनगर सिटी एफसीले मार्की खेलाडीका रुपमा मछिन्द्रका रञ्जित धिमाललाई निरन्तरता दियो र विष्णु गुरुङलाई मुख्य प्रशिक्षकमा भित्र्यायो भने सुपर लिगको साबिक विजेता काठमाडौं रेजर्सले आर्मीका विकेश कुथु र राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक समेत रहेका बालगोपाल महर्जनलाई प्रशिक्षकमा निरन्तरता दियो।

असन्तुष्ट ए डिभिजन लिगका क्लबमध्ये च्याम्पियन समेत बनेको मछिन्द्र क्लबका उपाध्यक्ष र म्यानेजरसमेत रहेका अनिल श्रेष्ठ आफूहरू फुटबल विरोधी नरहेको तर क्लबलाई नसोधी कानुनी रुपमै अनुबन्धित भएका खेलाडी लैजानु गलत भएको तर्क गर्छन्।

'हामीलाई चिठी पनि आएको छैन। सब चुपचाप छन्। एन्फामा भन्दा एनएसएललाई हामीले मिति दिएको होइन भन्छ। के भइरहेको छ भन्ने हामीलाई नै थाहा छैन,' उनले भने, 'प्लेयर त चिठी पठाएर माग्न परो। हामीसँग एउटा सल्लाह त हुनुपर्‍यो नि। नेपाली फुटबल नै के हो के हो?'

+++

एन्फाको लिगका संयोजक हुन विज्ञानराज शर्मा। ए डिभिजन लिगमा संयोजकको महत्वपूर्ण भूमिकामा देखिएका शर्मा एनएसएलमा फ्रेन्चाइजी काठमाडौं रेजर्सको टेक्निकल डाइरेक्टर छन्। काठमाडौं रेजर्सले प्रशिक्षक र मार्की खेलाडी अनुबन्धन गरेको कार्यक्रममा उनीमाथि प्रश्न तेर्सियो: एउटा क्लबमा अनुबन्धित खेलाडीलाई क्लबमा बिना कुनै जानकारी अर्को क्लबमा अनुबन्धित गर्न मिल्छ? उनीसँग यसको गोलमटोलमात्र जवाफ थियो।

'त्यस्तो नियम हुँदैन। चाडोचाडो प्रक्रिया अघि बढेको र अक्सन पनि चाँडै भएको हुँदा यसो गरेको हो,' उनले भने, 'लिग संयोजकका नाताले उता लिगको सञ्चालन हो भने यताको बेग्लै भूमिका हो। त्यसैले म जुन ठाउँमा हुन्छु, इमानदार काम गर्छु।'

ए डिभिजन लिगका क्बलहरुले आफ्ना खेलाडी अनुमतिबिना लगेको भनेर विरोध जनाइरहँदा लिग संयोजक आफैले खेलाडी अुनबन्धन गर्न मिल्छ भन्ने प्रश्नमा ठाडो उत्तर दिए, 'मलाई त मिल्दैन जस्तो लाग्दैन।'

फिफा र एएफसीका नियमका हिसाबले यसरी एउटा क्लबमा अनुबन्धित खेलाडीलाई अर्कोतिर अनुबन्धन गर्न नहुने उनी स्वीकार्छन् पनि। तर, क्लबले रिलिज दिनेमा उनी विश्वस्त सुनिए। तर क्लबले रिलिज दिएन भने? 'हामीले खेलाउन सक्दैनौं,' उनले स्पस्ट भने।

त्यसो त पछिल्ला परिदृश्यले नेपाली फुटबलमा ए डिभिजन लिग र सुपर लिगबीचको द्वन्द्व देखिन थालेको छ।

'यो कुरा एन्फाले पहिल्यै मिलाउनुपर्थ्यो। यी कुरा पहिल्यै क्लियर भएको भए यो अवस्था आउँदैन थियो। एनएसएल क्लब र एन्फाबीचको समझदारी नहुँदै तयारी गर्न एनएसएलले भनि हाल्नुहुन्थेन,' उनी भन्छन्, 'हामीले यसलाई एउटा प्रक्रियामा ढालेको मात्र हो। साँच्चै केही विवाद देखिएका छन्। त्यसलाई चाँडै निदान गर्नुपर्छ। अन्यथा एनएसएल जस्तो फुटबललाई उद्योगका रुपमा कर्पोरेट सेक्टरको उद्यमी आइरहेको अवस्थामा फुटबलको विकासमा धक्का पुग्न सक्छ।'

त्यस्तै रेजर्सका मार्की खेलाडी विकेश कुथुलाई आर्मीले रिलिज नदिए के हुन्छ भन्ने प्रश्नमा आफूले एनएसएल खेल्न नसक्ने बताए।

+++

यी त भए सतहमा आएका विवादका कुरा। नेपाली राष्ट्रिय टोलीको प्रशिक्षणदेखि लिग च्याम्पियन मच्छिन्द्र क्लबको एएफसी कप छनोट यात्रामै पनि सुपर लिगले प्रभावित पार्ने देखिन्छ।

ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबले एएफसी कप छनोटअन्तर्गत श्रीलंकाको ब्लुस्टार क्लबसँग अप्रिल ५ मा प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा जित निकालेको खण्डमा १२ अप्रिलमा भारतीय टोली एटीके मोहन बगानसँग खेल्नेछ। उक्त खेलमा पनि जित निकालेको खण्डमा समूह चरणमा प्रवेश गर्नेछ। र, अगाडिका खेल तालिकाहरू निश्चित हुनेछ।

मछिन्द्रले ब्लु स्टारलाई जितेर मोहन बगानसँग १२ अप्रिलमा खेल्नुपरेको खण्डमा ९ तारिखबाट सुरु हुने नेपाल सुपर लिग के हुन्छ? टुंगो छैन। त्यसमा पनि प्रतियोगिता अघि टिम अभ्यास महत्वपूर्ण हुन्छ। यसले सुपर लिगका क्लब र मछिन्द्र दुवै संकटमा पर्ने देखिन्छ।

अघिल्लो वर्ष तामझामका साथ मध्यकोभिड र लकडाउनमा चलेको एनएसएलले फुटबलमा नेपाली समर्थकको चासोलाई ह्वात्तै बढाएको थियो। मैदानमा दर्शकको उपस्थिति नभए पनि लिगको भ्युअरसिपमा सकारात्मक प्रभाव परेको थियो। साथै खेलाडीको व्यवसायिकरणमा पनि। विदेशका उत्कृष्ट खेलाडीहरुलाई पनि विभिन्न क्लबहरुले ल्याएका थिए। तर, दोस्रो सिजन सुरु नहुँदै ए डिभिजन लिग र सुपर लिगबीच जुँगाको लडाइ सुरु हुँदा भने फुटबल अन्योलमा देखिएको छ।

यो पनि :
क्रिकेटप्रेमीको देशमा फुटबलको लफडा : आई लिग र आइएसएलको द्वन्द्वबीच बन्यो यस्तो 'रोडम्याप'
एनएसएलको तयारी बढ्दै गर्दा किन असन्तुष्ट छन् लिगका क्लबहरू?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell