PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

सामूहिक हत्या र आत्महत्याले नै तर्साएको वर्ष : सामाजिक अपराधको शृङ्खला पनि उत्तिकै



सविन ढकाल

सामूहिक हत्या र आत्महत्याले नै तर्साएको वर्ष : सामाजिक अपराधको शृङ्खला पनि उत्तिकै

काठमाडौं : लुटपाट, अपहरण, चोरी डकैतीजस्ता भन्दा पनि सामाजिक परिबेशमा घेरिएका अपराधहरूले यस वर्ष नेपालीलाई आतंकित बनाइरह्यो। घरभित्र र आफन्तबाट नै योजनावद्ध गराइएका हत्याका श्रृङ्खला वर्षभरि नै छाइरह्यो। दुई वर्षदेखिको कोरोना सङ्क्रमणले निम्ताएको आर्थिक सङ्कट, मानिसमा देखिएको नैराश्यताका साथै हत्या र आत्महत्याका ग्राफ उकालो लागेर २०७८ बिदा भएको छ।

सेलिब्रेटी छवि बनाएकादेखि शिक्षित समाज बनाउन लागेका शिक्षकलेमात्र होइन, बाबुदेखि दाजुभाइबाट समेत बालिका सुरक्षित रहन सकेनन्। दैनिकजसो देशभर बलात्कारका घटना भइरहे। आर्थिक अपराधसँग जोडिएका घटना पनि उत्तिकै भए। भ्रष्टाचारदेखि बैङ्किङ कसुरसम्मका घटना बढेर गयो यस वर्ष। यस्ता प्रकरणमा पीडित र पीडक दुवै औसतभन्दा उच्च तह र सेलिब्रेटी छवि बनाएकाहरू नै देखिए। तीव्र गतिमा भित्रिएको प्रविधिले मानिसलाई जानेर होस् वा नजानेर अपराध गर्ने सहज बाटो बनाइदियो। त्यसैले साइबर अपराधले यस वर्ष ढपक्कै छोप्यो।

आतंकित बनाउने सामुहिक हत्या

भदौ २१ गते बिहान सङ्खुवासभाको मादी नगरपालिका -१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या प्रकरणले सबैलाई आतंकित बनायो। आफन्तबाट नै भएको अपराध कसरी बढिरहेको छ भन्ने यसले देखायो। प्रहरीको अनुपस्थित भन्दा पनि सामाजिक प्रकृतिले निम्त्याएको हत्या थियो त्यो।

८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको हत्या गरिएको अवस्थामा शव फेला पारेको थियो। घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनका आफन्त पर्ने भतिजाले हत्या गरेको खुल्यो।

घटना भएको ६ दिनपछि प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सफल पनि भयो। लोकबहादुर कार्कीका भाइसहित अन्य चार जनालाई पक्राउ गरेको थियो। जिल्ला अदालतको आदेशमा उनीहरू पुर्पक्षमा छन्। आवेगमा आएर आफूलाई होच्याएर व्यवहार गरेको कारण हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो।

तर अब यस्ता घटना कसरी कम गर्ने? प्रहरीको उपस्थितिले मात्र रोक्न नसक्ने यस्ता घटना नियन्त्रणको उपाय के हो भन्ने तर्फ कसैले सोचेको छैन। तर अपराधको ग्राफमा यस्ता घटनाले भने उचालेको छ। समाजमा लोकबहादुर जस्ता पात्र अरू पनि नहोलान् भन्न सकिने अवस्था छैन। घरभित्र नै जन्मिने यस्ता 'अभियुक्त' लाई नियन्त्रण गर्न के गर्ने?  अनि यसको नियन्त्रण प्रहरीले मात्र गर्ने कि अन्य निकाय वा समाजले? यस तर्फ खासै कसैले सोचेको देखिँदैन।

सामूहिक हत्याका श्रृङ्खला: किन भइरहेका छन् पारिवारिक नरसंहार?

सामुहिक आत्महत्याले तर्साएको वर्ष

ठ्याक्कै हत्या होइन तर आत्महत्याको ग्राफ पनि २०७८ मा रोकिन सकेन। झन् सामूहिक आत्महत्याका घटना बढी सुनिए। केही साता अगाडि मात्र काठमाडौंको रामकोटमा सामूहिक हत्याको प्रयासको घटनाले पनि समाज कता जाँदै छ देखाएको छ।

काठमाडौंको नागार्जुन नगरपालिका-६ डाडाँपौवा रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका थिए। उद्धवराज पुरीको दुई तले घरको दोस्रो तलामा भाडाका बस्दै आएका प्रधान परिवारमा सो घटना भएको हो। विष सेवन गरी बेहोस भएको सूचना पाएपछि पाएपछि प्रहरी वृत्त स्वयम्भू तथा महानगरीय अपराध महाशाखाको प्रहरी टोली घटनास्थल पुगेको थियो। तत्काल उनीहरूलाई मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगिएकामा उपचार क्रममा ३३ वर्षीय सुवर्णमान प्रधानको राति साढे १० बजे मृत्यु भयो। ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान, ११ वर्षीया सुप्रिया प्रधानको अचेत अवस्थामा भेटिएका थिए। प्रहरीले भेटाएको प्रमाणअनुसार उनीहरूले आर्थिक कारणले गर्दा सामुहिक आत्महत्याको प्रयास गरेको देखिएको छ। अहिले पनि अनुसन्धान चलिरहेको छ। तर प्रहरी यस घटनामा केही गर्न सक्ने अवस्थामा छैन। यहाँ दोषी वा अभियुक्त कसलाई मान्ने?

महामारीमा मानसिक समस्या: आफ्नो ज्यान आफैँ लिने बढ्दै, प्राथमिकतामा पर्दैन मानसिक स्वास्थ्य

बलात्कार पनि बढ्दो

बालबालिकादेखि महिला बलात्कारको घटना बढ्ने क्रममा यस वर्ष पनि ब्रेक लाग्न सकेन। बरु समाजमा चिनिएका र शिक्षित समाज बनाउन लागेकाहरू नै यस्ता घटनामा लागेको देखियो। कलाकार पल शाहदेखि मोरङको पथरी घटना समेत चर्चा आए। २०७८ वैशाख १४ गते तनहुँको दुलेगैँडास्थित एक घरमा बास बसेको समयमा १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई प्रेम जालमा पारेर करणी गरेको आरोप लागेको छ।

पल शाह प्रकरणले यौनदुर्व्यहारको कानुनी परिभाषालाई झनैं चर्चाको विषय बनाइदियो। शाहले १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई बलात्कार गरेको उजुरी परेपछि प्रहरी कारबाहीमा तानिएका छन्। जिल्ला अदालत तनहुँ र नवलपरासीको आदेश अनुसार अहिले शाह पूर्पक्षको लागि थुनामा छन्। शाह प्रकरणमा समाज नै दुई बिचारमा बाँडिएको थियो।

यी पाँच आधार जसले पल शाहलाई पुर्‍यायो पुर्पक्षका लागि थुनामा

मोरङको लेटाङ नगरपालिकामा आफ्नै छात्रालाई दुर्व्यवहार गरेको घटनाले झनैं समाजको अवस्थालाई उदाङ्गो पारिदिएको छ यस वर्ष। जहाँ  स्थानीय र प्रहरीबिच झडप हुँदा एक जना महिला प्रहरीले ज्यानै गुमाउनु पर्‍यो। प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भयो।

लेटाङ नगरपालिका ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत एक बालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो। होली खेल्ने क्रममा शिक्षकले दुर्व्यवहार गरेका थिए। त्यसपछि स्थानीय शिक्षक पौडेलप्रति आक्रोशित बनेका थिए। त्यही क्रममा विद्यालय घेरा हालेर शिक्षकलाई कुटपिट गर्ने जस्ता गतिविधि बढेपछि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो। सामाजिक शिक्षा पढाउने शिक्षकले नै यस्तो हर्कत गरेपछि विश्वास कसलाई गर्ने? शिक्षा दिने शिक्षक नै यस्तो भएपछि समाजको अवस्था कस्तो होला? प्रश्न टड्कारो बनेको छ। फेरि उही प्रश्न जन्मिएको छ - यसको नियन्त्रण कसले गर्ने?

सामाजिक सञ्जालबाट उत्तिकै अपराध

यस वर्ष अन्य प्रकृतिका अपराध भन्दा युट्युबलगायत अन्य सामाजिक सञ्जालको प्रयोगबाट हुने अपराधबाट झनै आतंकित बन्यो। जघन्य प्रकृतिका अपराधका विषयमा युट्युबमा एकपक्षीय हिसाबले सामग्रीहरू अपलोड हुँदा प्रहरीको अनुसन्धान नै प्रभावित हुने त भयो नै प्रत्यक्ष जोडिने मानिस समेत यसको सिकारमा परे। अनुसन्धान परको कुरा, त्यसभन्दा डरलाग्दो हिसाबले समाजमा यसको प्रभाव पर्न थालेको छ। कलाकार पल शाह प्रकरणमा युट्युबमा आएका सामाग्री त्यस्तै प्रभावको पछिल्लो उदाहरण थियो। युट्युब र सामाजिक सञ्जालका यस्ता अपराधलाई कसरी नियन्त्रण गर्ने स्पष्ट नीति सरकारसँग नहुँदा पीडित बन्ने पीडित बनिरहेका थिए।

समाजमा हुने यस्ता अपराध बाहेक फिरौती, लुटपाट, तस्करी, महिला तथा बालबालिका माथि हुने घरेलु हिंसा लगायतका अपराधी गतिविधि भइ नै रहे। बैङ्किङ कसुर र ठगीका घटना बढेर गए। यस्ता घटनालाई नियन्त्रण गर्ने र पीडितलाई कारबाहीको दायरमा ल्याउने कानुन स्पष्ट नै थिए।

सामाजिक घटना जसलाई प्रहरी र कानुनले मात्र नियन्त्रण गर्न सक्दैन त्यस्ता घटना नियन्त्रण गर्न राज्यले नै चासो नदेखाए २०७८ सालमात्र होइन नयाँ वर्षमा पनि पीडा भोग्नुपर्ने निश्चित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell