PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

केशव स्थापितको तामझाम चल्दा सभागृहको कुनामा विद्यासुन्दर शाक्य के गरिरहेका थिए?



पहिलोपोस्ट

केशव स्थापितको तामझाम चल्दा सभागृहको कुनामा विद्यासुन्दर शाक्य के गरिरहेका थिए?

  • प्रकाश भण्डारी र मुकुन्द घिमिरे

काठमाडौं : नेकपा एमालेका तर्फबाट काठमाडौं महानगर प्रमुखको उम्मेदवार बनेका छन् पूर्व प्रमुख केशव स्थापित। स्वतन्त्र रुपमा महानगर प्रमुख उठ्ने घोषणा गरेकी पूर्व मिस नेवा: सुनिता डंगोललाई एमालेले उपमेयरमा उठाएपछि स्थापित र डंगोलसँगै देखिनु अनौठो भएन। उम्मेदवार मनोनयका लागि सोमवार स्थापित र डंगोल राष्ट्रिय सभागृह पुगेका थिए।

स्थापित सभागृहमा देखिनासाथ पत्रकारको घेरामा परिहाले। तिखा प्रश्नको ठट्यौली पारामा जवाफ दिने स्थापितको शैली नौलो होइन। उम्मेदवारी मनोनयन गरेपछि पत्रकारको घेरामा त झन् पर्ने नै भए उनी। उनले दाबी गरे-डब्बल मतले जित्छौ,  गेम ओभर। उनी कफिडेन्ट देखिन चाहान्थे।

केशव र सुनिताको राजनीतिक जोडी

उनको हाउभाउ राष्ट्रिय सभागृहमा हेर्नलायक थियो। रातो गम्छामा ठाटिएर हिँडेका स्थापित आफ्नो योजना फ्याट्टै सुनाइहाल्थे।

स्थापित र डंगोलको पृष्ठभूमिमा भने आकास जमिनको भिन्नता छ। डंगोल युवा पुस्ताकी उम्मेदवारी हुन भने स्थापित डंगोल भन्दा झण्डै दोब्बर उमेर समूहका। स्थापित राजनीतिक पृष्ठभूमिबाट स्थापित नेता मात्रै होइन एक कार्यकाल काठमाडौं महानगरको प्रमुख भइसके। तैपनि उनीहरुको राजनीतिक दोस्ती देखाएर एमाले काठमाडौंमा भोट माग्नका लागि तयारी गरिरहेको छ।

एमालेको प्रशंसा गरेर थाक्दिनन् सुनिता

सुनिता डंगोल एमालेको बखान गर्न पछि पर्दिनन्। बखान नगरुन पनि किन। ढुंगा खोज्दा देउता भेटिएजस्तै भएको छ डंगोललाई एमालेले उपमेयरमा टिकट दिएपछि।

महानगर प्रमुख हुने चाहना राखेकी डंगोललाई सबैभन्दा ठुलो दल एमालेले पत्याएको छ। दलहरुभित्र उम्मेदवार बन्नका लागि महिनौं अघिदेखि नेताहरुको घम्साघम्सी चलिरहँदा एमालेले भने डंगोललाई सोझै काठमाडौं महानगरपालिकाको उपप्रमुखमा अघि सारेको हो।

युवाहरुको मत तान्ने र काठमाडौंको कोर क्षेत्रको मतलाई एमालेको पक्षमा पार्न सक्ने आकलन गरेर एमालेले डंगोललाई आफ्ना पार्टीबाट उपप्रमुख पदको अन्य आकांक्षीलाई पन्छाउदै अघि सारेको छ। 

आफूलाई उम्मेदवार बनाएर एमालेले युवाहरुलाई उपहार दिएको बताउँछिन् डंगोल।

उनको दाबी छ,'मैले बनाएको योजना कुनै कोठामा बसेर बनाएको होइन। यो समग्र महानगरवासीको भावना हो। कसैले पनि मेयर हुन्छु भनेर ऐजेण्डा अघि नसारेको बेला पहिलो पटक मैले योजना अघि सारे।'

स्थापितको जम्दो माहोल

माहोल सभागृहको कस्तो रह्यो भने उम्मेदवार केही कार्यकर्तासहित सभागृहमा छिर्दा बाहिर उनीहरुको पक्षको जुलुस थियो। निर्वाचन आयोगले चुनाव चिह्न अंकित झण्डा, कपडा लगायतका सामाग्री प्रयोग नगर्न भनेको भए पनि दलहरुले निर्वाचन आचारसंहिताको वास्तै गरेनन्। बरु कुन दलको कत्रो जुलुस निकाल्ने भन्नेमा प्रतिस्पर्धा नै देखियो।

प्रमुख प्रतिपक्षी र संसदको सबैभन्दा ठुलो दल एमालेको उम्मेदवारी दर्ता दलबलसहित हुनु पनि सामान्य नै भयो। साना दलसमेत दलबलसहित उम्मेदवारी दर्ता गराउन पुगेका थिए सभागृहमा।

एमालेको आन्तरिक कलहका कारण स्थापितले मेयरको टिकट पाएको बताइन्छ।

शीर्ष नेताहरुबिचको शक्ति संघर्षका कारण स्थापितले आफूलाई स्थापित गर्ने अर्को मौका पाएका छन्। काठमाडौं महानगरका बहालवाला प्रमुख विद्यासुन्दर शाक्यले अर्को कार्यकालका लागि दोहोरिने चाहना राखेका थिए। तर, उनको साथमा जिल्ला र केन्द्रका नेताहरु उभिएनन्। एमालेमा शक्तिशाली भनिने खेमा उनलाई फेरि प्रमुखमा ल्याउन चाहन्थे। तर पार्टी अध्यक्ष केपी शर्मा ओली निकट नेताको लबिङका कारण शाक्यले यसपटक प्रमुखको टिकट पाएनन्। तिनै नेताले सुनितालाई पनि उपप्रमुखमा ल्याउन लबिङ गरेको बताइन्छ।

हुनत पछिल्लो समय स्थापितले एमाले अध्यक्ष ओलीसँग राम्रै दोस्ती जमाइरहेको खबरहरु नआएका होइन्। ओलीको इच्छाको कारण मात्रै भन्दा पनि एमाले भित्रको शक्ति संघर्षका कारण स्थापितले मौका पाएको एमालेका नेताहरु बताउँछन्। 

सम्बन्धित समाचार : सभागृहमा केशव स्थापितको ठट्टा : पागलहरुलाई औषधि खान पैसा लाग्दैन

के गरिरहेका छन् विद्यासुन्दर शाक्य?

एमाले भित्रको किचलोका कारण स्थापितले टिकट पाएका हुन् भन्ने पुष्टि सभागृहको दृश्यले पनि थाहा हुन्थ्यो। स्थापितको मनोनयन दर्ता गराउन जाँदा धेरैले शाक्यलाई र्‍यालीमा खोजे। तर, अघि देखेनन्।  

काठमाडौं महानगर प्रमुख शाक्य सभागृहमा नपुगेका भने होइनन। तर, स्थापितको पक्षमा माहोल बनाउन भने उनी उपस्थित भएका थिएनन्। बरु आफ्नो पक्षका नेताहरुलाई वडा तहमा भए पनि उम्मेदवार बनाउने गृहकार्यमा जुटिरहेको थिए शाक्य। सभागृहको पछाडिको भागमा उनी सरसल्लाहमै व्यस्त रहे।

स्थापितको शैलीले सभागृहको माहोल तातिरहँदा सोही भवनमा कार्यालय बनाएर महानगर हाँकेका शाक्य भने घटौंसम्म सभागृहको पछाडीपट्टी छलफलमा व्यस्त रहे। अगाडि आफ्नो पार्टीको उम्मेदवार स्थापितबारे भने उनी बेखबर देखिए।

शाक्य के गरिरहेका थिए त सभागृहको पछाडिपट्टी?

उनी जवाफ दिन तयार भएनन्।

तपाईंको पार्टीले स्थापितलाई उम्मदेवार बनाएको छ, के भन्नुहुन्छ? प्रश्न स्वभाविक थियो। तर उनी जवाफ दिने मुडमा भने देखिएनन्।

'यसबारे अहिले नबोलौँ होला। वडा तहको सबै मिलाउने जिम्मा छ। पहिला यो सबै मिलाउँ,'बोल्न इन्कार गर्दै शाक्यले भने।

त्यसो त उनी कोठाभित्र बसेर महानगरपालिकाको वडाहरुको उम्मेदवारबारे छलफल मात्र गरिरहेका थिएनन्। सभागृहको पछाडिको भागमा खाली ठाउँमा उभिएरै आफू निकट नेताहरुसँग गोप्य कुराकानी गरिरहेका थिए। स्थापितले सभागृहको अगाडि उम्मेदवारी दर्ता देखि नेता कार्यकर्तासँगको छलफल गरिरहँदा समेत विद्यासुन्दर शाक्य सहभागी भएनन्।

२०७४ सालमा पनि स्थापित प्रमुखका आकांक्षी थिए। यसपटक भने शाक्यलाई स्थापितले पछि पारे। तर, मलिन अनुहार लिएर शाक्य यसै बस्ने मुडमा पनि छैनन्।  

स्थापितको के छ जितको आकालन?

स्थापित घरी आफ्नै पार्टीका नेताहरुसँग फोटो सेसन गर्थे त घरी मिडियामा प्रतिक्रिया दिन उपस्थिति भइहाल्थे। मिडियामा प्रतिक्रिया दिने बेलामा लामो समय लागेपछि स्थापितलाई सहयोगीहरुले सकेर निस्कन सल्लाह दिन्थे। उनले कुराकानी गर्न नपाएपछि पत्रकारलाई उनले भेटघाटका लागि बोलाए।

'भोली एलोपेगोडामा आउनुस। कफि खादैँ गर्ने हो त्यसै गर्ने हो र,'स्थापितले नेवारी लवजमा निमन्त्रणा दिन पनि भ्याए।

स्थापित आफूलाई लोकप्रिय देखाउन अनेक गतिविधि गरिरहन्छन्, जुन आज पनि कायम रह्यो।

काठमाडौंमा शौचालय नहुँदा आफ्नो श्रीमतीले अरुको घरको शौचालयमा गएर शौच गर्नुपरेको बाध्यता सुनाए उनले आज। कहिले वातावरण प्रदुषणबारे आफ्नो योजना सुनाउँथे त कहिले सभागृह वरिपरि अर्बौँ लगानी गरेर ठूलो पार्किङ बनाउने बताउँथे। ‘रेल चलाउँछु’समेत भन्न भ्याए उनले।

आफू २५ वर्षअघि महानगर प्रमुख बन्दा विश्वको चौथो उत्कृष्ट मेयर भएको दाबी गर्न पछि परेनन् उनी।

त्यसो भए उनको जितको आकलन के छ?

'कसैले गीत गाएर म मेयर हुन्छु भन्यो होला। कसैले स्वतन्त्र उम्मेदवार हुन्छु भन्यो होला। तर, राजतन्त्र फाल्ने संघर्ष गर्ने हामी। जित्ने भए वडामा जाने संगठन बनाउने अनि जितेर आउने हो। मेयर जितेर हुन्छ खै संगठन? यहाँ प्रमाणित मान्छे म यहीँ छु। उनीहरुले केही हजार भोट ल्याउँला,'स्थापितले आफ्नो जित सुनिश्चित भएको भन्दै भने।

स्थापित आफ्ना योजना सुनाउन पछि पर्दैनन्। २५ वर्षअघि मेयर हुँदा पनि उनको योजनाका कथा कुनै सपना भन्दा कम थिएनन्।

पत्रकारले जितेपछि के गर्नुहुन्छ भन्ने प्रश्न सोध्नथालेपछि उनले भने,'जहाँ उत्पादन हुन्छ, त्यहीँ व्यवस्थापन हुन्छ। मेरो विज्ञ टिमले के भन्छ भने ६ महिना भित्र फोहोरको कथा अन्त्य गर्छौं।'

हुनत उनले बारम्बार आफ्नो घोषणापत्र पढ्न आग्रह नगरेका होइनन्। तर उनी पत्रकारको प्रश्नबाट तर्किन पनि चाहेनन्। किनभने उनी आफ्नो पक्षमा मिडियाले पनि माहोल बनाइदियोस भन्ने जो चाहन्छन्।   

उनकै पार्टीका मेयर शाक्यले कामै नगरेको भनेर आलोचना भइरहेको बारे पनि स्थापितलाई प्रश्नो सोधियो। उनी दिकदारी मानिरहेका छन् शाक्यको बचाउ गर्न।

भन्छन्,'विगततिर धेरै जानु हुँदैन। पार्टीले जिम्मेवारी दियो, मैले जनताका लागि काम गरेँ, त्यो एउटा कुरा थियो। अर्बन सर्भिस सेन्टर ४८ वटा बन्छन्। लेखेर राखे हुन्छ। जस्तै बागबजारमा एउटा होला, बागबजार भरीबाट सबैकुरा त्यहाँ लिन सकिन्छ। सांस्कृतिक गतिविधि त्यहीँ होला।'

स्थापितले योजना सुनाउन कुनै विषय नै बांकी राखेनन्।

सम्बन्धित समाचार :

जब सिर्जना तस्विर खिचाउन सँगै उभिइन तब केशवले भने : सूर्य नै यता आउँला जस्तो भयो त



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell