PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

खेलाडी एन्फा धाएको धाइ, पदाधिकारी चाहिँ पन्छिएको पन्छियै



मुकुन्द घिमिरे

खेलाडी एन्फा धाएको धाइ, पदाधिकारी चाहिँ पन्छिएको पन्छियै

काठमाडौं : नेपाली राष्ट्रिय फुटबलको विवाद सतहमा आएको हप्तादिन भन्दा धेरै भइसक्दा पनि समाधानको बाटो लिन सकेको छैन। बन्द प्रशिक्षण छाडेपछि खेलाडीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले आफूलाई अन्याय भएको र घटनाको छानबिन गर्न माग राखे। खेलाडीको 'मुभ'मा डिफेन्सिभ नभई प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बैकल्पिक खेलाडीलाई बोलाएर प्रशिक्षणलाई निरन्तरता दिँदै काउन्टर अट्याक जारी राखेका छन्।

आइतवार प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै क्याम्प छाडेका खेलाडीलाई आफूले माफी गरेको र उनीहरुलाई कुनै कारबाही नगर्न आग्रह गरेका छन्।

'मलाई थाह छ, राष्ट्रिय टोलीको क्याम्पमा रहेका केही खेलाडीले ममाथि सार्वजनिक रुपमा आरोप लगाएका छन्,' उनले लेखेको पत्रमा छ, 'राष्ट्रिय टोलीका खेलाडीका अभिभावकका रुपमा म उनीहरुमा 'योङ ब्लड' को कारण असहज स्थिति उत्पन्न भएको छ। यो एकतर्फी कार्यले मलाई गहिरो चोट पुर्‍याएको छ।'

त्यसको भोलिपल्ट निवेदन लिएर क्याम्प छाडेका खेलाडी र खेलाडी संघ पनि एन्फा पुग्यो। उनीहरुले महासचिव इन्द्रमान तुलाधरलाई पत्र बुझाउँदै आफूहरुलाई क्याम्प छाड्न भनिएको र जानकारी गराएरै क्याम्प छाडेको बताए। प्रशिक्षकसँग जायज माग राख्दा पटक-पटक क्याम्प छाड्न भनेको र उनको व्यवहारका कारण बाहिरिएको असन्तुष्ट खेलाडीको पत्रमा उल्लेख छ।

'प्रशिक्षणका दौरान टोलीको कार्यवाहक नेतृत्व गरिरहेका रोहित चन्दले प्रशिक्षकको प्रश्नपछि जायज माग राख्दा उनीसँग प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गरेको व्यवहारप्रति हाम्रो असन्तुष्टि थियो। त्यसबारे नै कुरा गर्न जाँदा हामीलाई पटक-पटक क्याम्प छोड्न भनेपछि हामी बाहिरिएका हौँ,' उनीहरुले एन्फालाई बुझाएको पत्रमा भनिएको छ, 'हामीलाई क्याम्प छोड्ने भनेपछि स्वयं प्रशिक्षक अलमुताइरी, सहायक प्रशिक्षक किरण श्रेष्ठ, गोलरक्षक प्रशिक्षक विकास मल्ल र सहायक व्यवस्थापक कृष्णभक्त मानन्धरलाई जानकारी गराएका हौँ। हामीले दैनिक जीवनयापनका लागि आवश्यक आधारभूत कुराहरु माग राख्दा उल्टो क्याम्प छोड्न निर्देशन दिनु र त्यसमाथि एन्फाका पदाधिकारीले सार्वजनिक रुपमा हामीविरुद्ध नै अनावश्यक प्रतिक्रिया दिनुले निक्कै दु:खी तुल्याएको छ।'

छलफलको प्रयास

पछिल्लो समय खेलाडीहरु छानबिनका लागि एन्फा कार्यालय धाएको धाइ छन्। फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा दिनैपिच्छे एन्फा गइरहेको बताउँछन्।

'हामीले गर्नुपर्ने कुराहरु सबै गरिसक्यौँ। एन्फामा नियमित जस्तो गइरहेको छौँ। हामीले भनेको चाहिँ छानबिन गरेर गल्ती गरेको मान्‍छेलाई देखाउनु पर्‍यो भन्ने हो। तीन पक्ष बस्यो भने कसले के गरेको भन्ने थाहा भइहाल्छ नि। यो माग गरेर हामी जान्छौँ, उहाँहरु भागेको भाग्यै। सम्पर्क हुन्छ, भेट चाहिँ हुँदैन,' लामाले पहिलोपोस्टसँग भने, 'छानबिन गर्छौँ भन्नु भएको छ तर अहिलेसम्म औपचारिक केही छैन। चार/पाँच दिन भयो धाएको। तर, उहाँहरुले राम्रो रेस्पोन्स दिनुभएको छैन।'

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले मिलाउने प्रयास गरे पनि अध्यक्षले चासो नदिएको आरोप लगाए।

'हामीले पटक-पटक बैठक माग गरिरहेका छौं। अध्यक्ष बैठक बस्न चाहनु हुँदैन। सबै पक्षलाई एकै ठाउँ राख्न चाहनु हुँदैन। अस्ति मैले व्यवस्थापक, महासचिव राखेर कुरा गरेँ। खेलाडी राखेँ,' वरिष्ठ उपाध्यक्ष नेम्बाङले भने, 'त्यसमा व्यवस्थापकले खेलाडीको गल्ती छैन भने। व्यवस्थापक नहुँदा सहायक व्यवस्थापक र सहायक कोचलाई भनेको हो भन्ने खेलाडीको कुरा छ। हेडकोचले पटक-पटक जान भनेपछि सबैलाई भनेर गएको हो भन्छन् खेलाडी।'

उसो त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले पनि खेलाडीसँग भेट गरेका थिए। तर, उक्त भेटघाट फलदायी नभएको खेलाडी बताउँछन्।

नेम्बाङले भने फुटबलको समस्यालाई भन्दा राजनीतिलाई एन्फा अध्यक्षले बढी प्राथमिकता दिँदा समस्या समाधान हुन नसकेको आरोप लगाए।

'अध्यक्ष र म खेलाडीसँग बस्यौँ। कुरा हुँदै थियो बिचैमा अध्यक्षज्यू मेरो वार्डमा घरदैलो कार्यक्रम छ एकघण्टामा आउँछु भनेर निस्किनुभयो। मैले नजानुहोस् न अहिले यो समस्या ठूलो हो भनेँ। सबै पक्षलाई बोलाउँ बसौँ भनेँ। एक घण्टामा आउँछु भनेर निस्किनु भयो। चार घण्टामा नि आउनु भएन,' नेम्बाङले भने।

अर्कातर्फ खेलाडी संघका अध्यक्ष लामाले सत्यतथ्य पत्ता लगाइदिन एन्फासँग आफूले आग्रह गरेको बताए।

'यो त निस्कर्षमा निस्कनु पर्‍यो नि। सत्यतथ्य निस्कनु पर्‍यो। बेकारमा खेलाडीलाई मात्र आरोप लगाएर भएन। खेलाडीको मात्र कुरा सुनेर नि भएन। प्रशिक्षक ज्यू र प्रशिक्षकको टेक्निकल टीमले पनि आफ्नो भर्जन दिनु पर्‍यो,' उनले भने, 'उहाँहरु किन यसरी भागिरहनु भएको छ? आज, भोलि, २ बजे, पाँच बजे भन्नुहुन्छ, हामीसँग किन डराएर भाग्नु? हामीले स्पस्ट भनेका छौँ, गल्ती छ भने सजाय दिनुहोस् खेलाडीलाई।'

उनी पुरानो खेलाडी जाने र नयाँ खेलाडी आउने प्रकृया खेलकुदमा सामान्य भए पनि अन्यायपूर्ण तवरले निकाल्नु गलत भनेको बताउँछन्।

'कुनै पनि नयाँ प्रशिक्षक आउँदा ४/५ जना नयाँ खेलाडी त आउनै पर्छ। त्यहि प्रशिक्षकले नयाँ खेलाडी ल्याए पछि त पुरानो खेलाडीले आफ्नो स्थान छाड्दै जाने हो। यो कुरामा हामी सहमत छौँ,' उनले भने, 'अहिले १० जना खेलाडी निकाले पनि केही समस्या छैन तर अन्यायपूर्ण तरिकाले निकाल्नु गलत हो भनेका हौँ। अहिलेको १० जना र किरण सहित ११ जना निस्कँदा टिम के हुन्छ? कम्तीमा पनि तीन चार जना नहुँदा त टिम नै नचल्ने अवस्था छैन र?'

महत्वपूर्ण खेलाडीबिनै ठूलो प्रतिस्पर्धामा जाँदा हुनसक्ने दुर्घटनाबारे पनि चिन्तित देखिन्छन् लामा। उनले भने, 'नेपालले राम्रो गर्‍यो भने ठीक छ। तर, रेकर्ड ब्रेकिङ गोल खायो भने के गर्ने? यसको जिम्मेवारी कसको हुन्छ?'

सम्बन्धित समाचार :

पेचिलो बन्‍दै खेलाडी प्रकरण : एन्फामा कार्यसमिति बैठकको माग, दुई पक्षको कुरामा के छ विरोधाभाष ?

खेलाडीलाई यसरी दबाबमा पारिरहेका छन् अलमुताइरी, विवादको अन्तर्यबारे यसो भन्छन् खेलाडी

१० खेलाडीको विद्रोहपछि फुटबल टिमको मनमुटाव छरपस्ट : खेलाडी बाहिर, प्रशिक्षक मौन, एन्फाका पदाधिकारी मुखामुख



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell