PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रमाणले पीडित पुष्टि गर्दा पनि न्याय नदिने गजबको कानुन!



सविन ढकाल

प्रमाणले पीडित पुष्टि गर्दा पनि न्याय नदिने गजबको कानुन!

काठमाडौं : पीडित आफैंले करणी भएको सामाजिक सन्जालमा भनिरहेकी छिन्। ८ वर्षको अगाडि घटना भएको पुष्टि गर्ने साविति बयानको आधार बनेको छ। प्रहरीले अनुसन्धान गर्दा अन्य प्रमाण पनि भेटिएला! तर, के कानुनमा हदम्याद नै छैन भनेर पीडितले न्याय नै नपाउने त?

'कस्तो नियम हो यो नेपालको? एक वर्षभित्र रिपोर्ट गरेन भने फाइल लिँदैन रे कोर्टले। आइ एम लुजिङ होप।'

सामाजिक सञ्जालमा बुधवार भिडियो अपलोड गरेर बिहीवार समाचार आएपछि सौन्दर्य प्रतियोगितको नाममा यौन शोषण भोगेकी किशोरीमा न्याय पाउने केही आशा पलाएको थियो। १६ वर्षको उमेरमा भएको यौन शोषण ८ वर्षपछि बोल्ने हिम्मत उनले देखाएकी थिइन्। तर, फेरि घटनामा हदम्याद लाग्ने भएकाले केही गर्न नमिल्ने खबर आएपछि पीडित किशोरी हतोत्साहित भएकी देखिन्छिन्। माथिको अंश उनले बिहीवार दिएको पछिल्लो अभिव्यक्ति हो।

जबर्जस्ती करणीको केसमा हदम्याद लागेका कारण अब उनले न्याय नै नपाउने हुन् त? प्रश्न उठ्न थालेको छ। सामाजिक सञ्जालमा यस विषयमा चर्को आलोचना भएपछि अहिले नेपाल प्रहरीले यस घटना अनुसन्धान थालेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले बिहीवार कानुन व्यवसायीसँग परामर्शसमेत लिएको थियो। त्यस्तै, महानगरीय अपराध महाशाखाको टोलीले घटना आरोपी भनिएका ग्लोबल इन्टरनेसनल नामक ब्युटी प्याजेन्टका आयोजकलाई समेत निगरानीमा राखेको थियो। अहिले उनी प्रहरीको निगरानीमा छन्। तर, कानुनमा हदम्याद रहने भन्दै प्रहरीले बिहीवार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने साहस देखाउन सकेन।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसी भने यस घटनाका बारेमा कानुनी र प्राविधिक पक्षका बारेमा छलफल गरेर अगाडि बढिसकेको बताउँछन्। अहिलेसम्म प्रहरीले सम्बन्धी पीडित किशोरीसँग सम्पर्क भने गर्न सकेको छैन।

सामाजिक सञ्जालमा पीडित किशोरीले अपलोड गरेको भिडियोअनुसार घटना २०७१ साल भदौमा भएको देखिएको छ। २०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेसनल नामक ब्युटी प्याजेन्टका क्रममा होटेलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताएकी छिन्। पाण्डे थरका युवकले ब्युटी प्याजेन्टमा सहभागी उनलाई एभरेस्ट होटेलमा बोलाएका थिए – सक्सेस पार्टी भनेर। त्यसपछि खानेकुरामा नशालु पदार्थ राखेर बेहोस बनाई करणी गरेको उनको आरोप छ। त्यसपछि पनि फोटो र भिडियोका लागि भन्दै पटकपटक करणी गरेको पीडित किशोरीको दाबी छ।

घटना ८ वर्षपछि आएर भन्ने हिम्मत उनले जुटाएकी छिन्। मुलुकी अपराध संहिता २०७४ मा बालबालिका सम्बन्धी ऐनले हदम्याद तोकिदिएको छ। नाबालिगका हकमा बालिग भएको एक वर्ष हदम्याद तोकिदिएको छ। उनी घटना हुँदा १६ वर्ष भएकाले त्यतिखेरको कानुनअनुसार उनी नबालिग नै थिइन्। तर, उनको उमेर २४ वर्ष पुगेको छ। अर्थात् हदम्यादसमेत नाघिसकेको छ। त्यसैले अब प्रश्न उठेको छ, के उनले उजुरी वा कानुनी बाटो नै समात्न सक्दिनन् त?

अधिवक्ता तथा मानव अधिकारकर्मी मोहना अन्सारी अहिलेको घटना हदम्यादको कुरा आएपछि अन्तर्राष्ट्रिय रूपमा हेर्दा यस्ता विषयमा हदम्याद नलाग्ने भएकाले कानुनलाई चुनौती दिएर अगाडि बढ्नुपर्ने बताउँछिन्।

'कानुनलाई च्यालेन्ज गर्नुपर्छ। हाम्रो जस्तो गरिब देशमा मात्र हो, यस्तो हदम्याद। अन्तर्राष्ट्रिय कानुनले यस्तो भनेको हुँदैन। त्यसले यस केसमा पनि अदालतले हेरेर अगाडि बढ्नुपर्छ,' अधिवक्ता अन्सारीले भनिन्।

आठ वर्षसम्म ती युवतीले किन भनिनन्? प्रश्न गर्नेहरूको कम छैनन्। समाजमा यस्ता अपराधमा महिलालाई नै दोषी देखाउने संस्कार कम भएको छैन। त्यसैको सिकार बनेकी छिन् यी युवती। त्यसो त पल शाह प्रकरण नसेलाउँदै कानुनको 'लुप होल' देखाएर अमानवीय बहस गर्नेहरू पनि उत्तिकै छन्।

पीडितको भनाई प्रमाणको मुख्य आधार हुनेगर्छ। युवतीले यस घटनामा जे जे विवरण पेश गरेकी छिन् भिडियोमार्फत्, दावी गरेको मितिमा कार्यक्रम भएको र सम्बन्धी व्यक्ति, आयोजकदेखि कोरियोग्राफरसम्म खुलेको छ। कोरियोग्राफर रहेकी पूर्व मिस नेपाल माल्भिका सुब्बालाई समेत उनले घटनाको बारेमा त्यतिखेर नै जानकारी दिएको बताएकी छिन्।

तर, माल्भिकाले त्यतिखेर गैरजिम्मेवार तरिकाले युवतीलाई आफूले केही गर्न नसक्ने उत्तर दिएको भिडियोमा उनले बताएकी छिन्। धेरैले माल्भिकाको ‘फेमिनिस्ट’ छविमाथि प्रश्न उठाउँदै प्रश्न गरेपछि सुब्बाले जवाफ दिएकी छिन्। उनले घटनाको जानकारी भए पनि यो हदसम्मको नभएको बताएकी हुन्। यस अर्थमा यो घटना भएको भन्ने पुष्टि गर्ने एक सबुद प्रमाण पूर्व मिस नेपालको भनाइ पनि हो।

घटना भएको समयमा किशोरी १६ वर्षभन्दा कम उमेर भएको भए अदालतले नाबालिग भएर थाहा नभएको भन्दै हदम्याद नलाग्ने परिभाषा गर्न पनि सक्ने वरिष्ठ अधिवक्ता सुनिल पोख्रेल बताउँछन्। तर प्रहरीले अदालतसम्म मुद्दा लैजाँदा मानव बेचबिखन ऐनमा टेकेर लैजाँदा प्रभावकारी हुने उनको बुझाइ छ।

'मानव बेचविखनमा हदम्याद हुँदैन। मानव बेचविखनमा यौन शोषणलाई पनि आधार बनाएको छ। त्यसमा टेकेर जाँदा पनि हुन्छ,' वरिष्ठ अधिवक्ता पोखरेलले भने। बन्धक बनाएर यौन शोषण गरेको कुरा मानव बेचविखन ऐनले परिभाषित गरेको छ। घटना होटेलको कोठामा भएको र नशालु पदार्थ खुवाएर बेहोस बनाएको भनेर पीडितले भिडियोमा खुलाएकी छिन्।

त्यस्तै घटनाका बारेमा फोटोग्राफरले समेत केही हदसम्म जानकार रहेको स्वीकारेका छन्। उनले दुईजनाबिच विवाद भएपछि सम्झाएर फर्किएको जनाएका छन्। उनको फोटोसुट आफूले गरेको भएपनि यस हदसम्म अपराध भएको थाहा नपाएको सोसल मिडियाबाटै जानकारी गराएका छन्। उनले अनुसन्धानमा आवश्यक पर्ने सहयोग गर्ने पनि जनाएका छन्।

पूर्व प्रधान न्यायाधीश सुशीला कार्की ढिलो उजुरी गर्दा अदालतमा दावी पुष्टि हुन नसक्ने बताउँछिन्। तर मिटू जस्ता अभियान यस्ता घटना सबैभन्दा धेरै प्रभावकारी भएको उनको बुझाइ छ।

'कानुनी रूपमा न्याय पाउने बाटो बन्द हुँदा मिटू अभियान पछिल्लो समय धेरै प्रभावकारी देखिन्छ। विश्वमा धेरै त्यस्ता उदाहरण छन् जहाँ मिटूबाट मानिस सामाजिक प्रतिष्ठा लगायतबाट दण्डित भएका छन्,' प्रधान न्यायाधीश कार्कीले भनिन्।

आठ वर्षपछि भए पनि किशोरीले आफूमाथि भएको शोषणलाई बाहिर ल्याउने हिम्मत देखाइन्। यही घटनाबाट विक्षिप्त हुँदा उनले आत्महत्याको प्रयास समेत गरेको बताएकी छिन्। कानुनका छिद्राकै सहायतमा यस्ता अपराधमा न्याय दिन नसक्ने हो भने यस्ता अपराधका घटना बाहिर ल्याउने हिम्मत गर्नेहरु निस्तेज हुने निश्चित छ।

सम्बन्धित समाचार: 

यौन शोषणकै कारण आत्महत्याको प्रयाससम्म गरेकी युवतीलाई श्रृंखलाको साथ : तिम्रो गल्ती छैन

बलात्कार भोगेकी युवतीको खुलासा, ब्युटी प्याजेन्टका नाममा यौन शोषण : 'खसी बाजी राख्‍ने'लाई समात्‍ने प्रहरी जघन्य अपराधमा के हेरिरहेको छ?
 

फलो अप समाचार 

बलात्कार भोगेकी युवतीको खुलासापछि प्रहरीले थाल्यो अनुसन्धान



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell