
काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ। काठमाडौं प्रहरीको टोली बुधबार घटना भएको काठमाडौंको पिङगलास्थान स्थित होटेल र नगरकोटमा पुगेको हो।
कप्तान लामिछानेले १७ वर्षीय किशोरीलाई करणी गरेको भन्दै मंगलबार प्रहरीमा उजुरी परेको हो। स्याङ्जा घर भएका लामिछाने हाल बुढानीलकण्ठमा बस्दै आएका छन्। अहिले भने लामिछाने लिग क्रिकेट खेल्न क्यारिबियन राष्ट्र सेन्ट लुसियामा छन्।
भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटेलमा लगेर करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। साँझतिर लामिछानेले ती किशोरीलाई गाडीमा राखेर बानेश्वरबाट नगरकोट पुर्याएका थिए। नगरकोटको एक रिसोर्टमा उनीहरूले केही समय बिताएका थिए। त्यसैको भौतिक प्रमाण सङ्कलन गर्न प्रहरी नगरकोट पुगेको हो।
प्रहरीले नगरकोटको रिसोर्टमा इन्ट्री गरेको समय, उनीहरूले गरेको गतिविधि र निस्किएको समय लगायतको विषयमा अनुसन्धान गरिरहेको छ। त्यस्तै रिसोर्टमा सिसि क्यामरा भएको खण्डमा फुटेज समेत सङ्कलन गरेर फर्किने एक प्रहरी अधिकृतले जानकारी दिए।
नगरकोटबाट फर्किए सन्दीप र किशोरी पिङ्गलास्थानस्थित एक होटेलमा पुगेका थिए। ११ बजेर ५५ मिनेटमा उनीहरू होटेलमा पुगेको खुलेको छ। उनीहरुले होटेलको ३०५ नम्बरको रुम समेत बुक गरेको खुलेको छ। प्रहरीले होटेलमा पुगेर सिसि क्यामरा फुटेज लगायत उनीहरू त्यहाँ बसेको समय र कर्मचारीहरूको बयान समेत लिनेछ। जुन पीडित किशोरीले दिएको बयानसँग मेल गरेर थप घटना प्रमाणित गर्न प्रहरीलाई सजिलो हुनेछ। उनीहरु बिहान ६ बजेपछि होटलबाट बाहिरिएका थिए।
'सिसि क्यामरा फुटेजदेखि अन्य सबै प्रकारको प्रमाण हामी सङ्कलन गर्दैछौं,' जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसएसपी भरतबहादुर बोहराले भने।
घटना भएको भोलिपल्ट नै कप्तान लामिछाने केन्याविरुद्धको अन्तर्राष्ट्रिय खेलका लागि उडेका थिए। जानुभन्दा अघिल्लो दिन आफूलाई जबरजस्ती करणी गरेको पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्। लामिछानेसँग उनको सामाजिक सञ्जालमार्फत भेट भएको जाहेरीमा उल्लेख गरिएको एक प्रहरी अधिकृतले जानकारी दिए। स्न्याप च्याटमा कुराकानी गर्दै जाँदा काठमाडौंको एक होस्टेलमा बस्दै आएकी किशोरी लामिछानेसँग जोडिएकी हुन्। लामिछानेको आफू फ्यान भएका बताउने ती किशोरीले स्न्याप च्याटबाटै कुराकानी सुरु भएको बताएकी छिन्।
सहमतिमै पनि १८ वर्ष नपुगी यौन सम्बन्ध राख्न नेपालको कानुनले वर्जित गरेको छ। यदि जाहेरीमा उल्लेख भएअनुसार घटना भएको पुष्टि भएमा सन्दीपले १० देखि १२ वर्ष कैद सजायको सम्भावना रहन्छ। प्रहरीले अनुसन्धानपछि पीडित किशोरीले भने झैँ प्रमाण देखिएमा जिल्ला अदालतबाट कप्तान लामिछाने विरुद्ध पक्राउ पुर्जी लिने तयारी समेत गरिरहेको छ।
जबर्जस्ती करणीको आरोप लागेका सन्दीप लामिछानेविरुद पक्राउ पुर्जी लिने प्रहरीको तयारी
दिनभर घुमाएर राती होटेलमा पुर्याएर लामिछानेले पटकपटक करणी गरेको युवतीको आरोप, प्रमाणले देखिए विमानस्थलबाट नै पक्राउ पर्ने
सामाजिक सञ्जालबाट सम्पर्क बढाएर किशोरीलाई करणीसम्म गरेको आरोप, सन्दीपविरुद्ध कसरी अगाडि बढ्छ अनुसन्धान?
जबरजस्ती करणीको आरोप लागेका सन्दीप अहिले सेन्ट लुसियामा, क्यान भन्छ : सम्पर्क गर्ने प्रयासमा छौं