PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'योजनाबद्ध' देखिँदै सन्दीपको केस : कफीको बहानामा किशोरीलाई ट्रयापमा पारेर होटेलको यात्रा!



सविन ढकाल

'योजनाबद्ध' देखिँदै सन्दीपको केस : कफीको बहानामा किशोरीलाई ट्रयापमा पारेर होटेलको यात्रा!

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने भदौ ६ गते टी-२० को मैत्रीपूर्ण खेलका लागि केन्या पुग्ने कार्यक्रम तय थियो। जुन दिन सन्दीप उड्दै थिए त्यसै दिनको बिहान ७ बजेसम्म पिङ्गलस्थानको एक होटेलमा थिए एक किशोरीसँग। अहिले जबर्जस्ती करणीको प्रकरण बाहिरिएसँगै क्याम्पमा रहेका कप्तान मध्यरातसम्म मदिरापानसहित मनमौजी तरिकामा सक्रिय रहेको खुल्न आएको छ।

सन्दीपको सार्वजनिक भएको हर्कत प्रमाणित भएमा कानुनका नजरमा दोषपूर्ण त थियो नै नेपाल क्रिकेट संघ (क्यान) को नियमको पनि विपरीत थियो। बन्द प्रशिक्षणमा रहेका कप्तान लामिछाने क्यानलाई नै झुक्क्याएर १८ वर्षसमेत नपुगेकी किशोरीसँग रातभर बाहिर रहे देश छोड्नुभन्दा अघि। क्यानले सामान्यतया काठमाडौँ उपत्यकाभित्र घर भएका खेलाडीहरूलाई विदेश जाने अघिल्लो दिन बन्द प्रशिक्षणबाट बाहिर निस्किन दिन्छ। त्यही प्रावधानको फाइदा उठाउँदै सन्दीप घरमा लगेज लिने भन्दै क्याम्पबाट बाहिरिएका थिए।

लगेजका अतिरिक्त पीसीआर परीक्षण गर्नु थियो उनले। नेपाली टोलीको नेतृत्व गर्दै केन्याको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धामा जुट्नु थियो। उनी त्यस दिन घरमात्र पुगेनन्। उनी जेजस्ता गतिविधिमा सरिक भए त्यसले उनको हलक्कै बढेको प्रतिष्ठाको कद एकाएक जमिनमा धसिन पुगेको छ। केही महिना अगाडिदेखि परिचित किशोरीलाई उनी भेट्नमात्र पुगेनन्, उनीमाथि करणीको गम्भीर आरोप समेत लागेको छ।

राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट आफ्नो 'फ्यान'लाई भेट्न जानुपर्ने अरू कुनै कारण खुलेको छैन। ती किशोरीले प्रहरीमा जसरी उजुरी दिएकी छिन् त्यसले प्रस्ट संकेत गर्छ -सन्दीप आकस्मिक हिसाबमा भक्तपुरदेखि नगरकोटसम्म पुगेका होइनन्।

व्यस्त सेड्युलमा पनि सन्दीप किशोरीलाई भेट्न जानु र पछि प्रहरीमा उजुरी पर्नुले उनीमाथि थप प्रश्न उठेको छ। नाबालिगलाई करणी गरेको उजुरी परेसँगै नेपालको क्रिकेटको 'हिरो' एकाएक 'भिलेन'मा परिणत भएका छन्।

'सबै कोणबाट हामीले प्रमाण सङ्कलनदेखि अन्य पक्षहरूमा अनुसन्धान गरिरहेका छौँ। पक्राउ पूर्जीसमेत जारी भइसकेको छ,' काठमाडौँ प्रहरी परिसरका एसएसपी भरतबहादुर बोहराले भने।

प्रहरीमा परेको उजुरी अनुसार भदौ ५ गतेको साँझतिर लामिछानेले ती किशोरीलाई कफी खान बोलाएका थिए। त्यसपछि आफ्नै गाडीमा ती किशोरीलाई उनले नगरकोट लगे। राति फर्किएर गौशालाको एक होटेलमा पटक पटक करणी गरेको किशोरीले उजुरीमा दाबी गरेकी छिन्। उनीहरू नगरकोटको रिसोर्टमा पुग्दा रात परिसकेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

प्रहरी स्रोतका अनुसार सन्दीपले नगरकोटमा नै बस्ने व्यवस्था मिलाएका थिए। तर, किशोरीले नमानेपछि उनीहरू काठमाडौँ फर्किएका हुन्।

कक्षा १२ मा अध्ययन गर्दै गरेकी किशोरी होस्टेलमा बस्छिन्। होस्टेलमा फर्किने समय निर्धारित हुने गर्छ। त्यसबारे सन्दीप जानकार नहुने कुरा भएन। त्यही कोणबाट हेर्दा नगरकोटमा बस्न नमानेकी ती किशोरीलाई काठमाडौँ अबेर गरेर ल्याउँदा आफूले चाहेको परिस्थिति निर्माण गर्ने आधार सन्दीपले बनाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले संकेत गरेको छ।

'यस्तो परिस्थित सृजना गरेर गरेको अपराध जस्तो देखिएको छ। उसले पहिले नै योजना अनुसार किशोरीलाई हरेक कुराले बाध्य पार्दै वातावरण तयार गरेको देखिन्छ,' नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल ठकुरीले भने।

सन्दीपको नगरकोटमा रात बिताउने योजना असफल भएपछि उनले अर्को चाल चलेको देखिन्छ। किशोरीले प्रहरीमा दिएको उजुरी अनुसार सुरुमा दुई वटा कोठा लिएर बस्ने बताएका थिए सन्दीपले। तर, गौशालाको होटेलमा एउटा मात्र कोठा प्रयोग भएको पाइएको छ।

भदौ ५ गते राति ११ बजेर ५५ मिनेटमा उनीहरू होटेलमा छिरेको प्रहरीले प्रमाण फेला पारिसकेको छ। कोठा अभाव भन्दै सन्दीपले किशोरीलाई एउटै रुममा रहनुपर्ने बाध्यता सिर्जना गरेको पीडितले निवेदनले प्रस्ट्याएकी छिन्। बाध्यात्मक परिस्थित सिर्जना गरेर घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि देखाएको छ।

सन्दीपले फोटो खिच्न नदिएको किशोरीले दाबी गरेकी छिन्। यसको स्वतन्त्र पुष्टि भने भएको छैन। तर, किशोरीले प्रहरीमा दिएको उजुरीमा उल्लेख भए अनुसार घटना भएको मिति र समय सबै मिलेको छ। परिस्थितिजन्य प्रमाण पनि प्रहरीले सङ्कलन गरिसकेको छ। घटना भएको भनिएको होटेलमा उनीहरूको उपस्थित भएको पुष्टि भइसकेको छ। मध्यरातदेखि करिब ७ घण्टा उनीहरू सँगै बसेको देखिन्छ।

'अहिलेसम्म बाहिर आएको घटना र उजुरीको कुरा हेर्दा उनको नियत र घटना गर्नको लागि विभिन्न परिस्थिति सृजना गरेर बाध्यतामा पारेको देखिन्छ। बाँकी अनुसन्धानले खुल्छ,' ठकुरीले भने।

उनीहरू दुबै जना बिहान होटेलबाट पौने सात बजेतिर निस्किएको देखिन्छ। त्यसपछि सन्दीप दिउँसो १ बजे सोल्टीमोडमा रहेको ह्यात प्यालेस होटेलमा पत्रकार सम्मेलनका लागि पुगेका थिए। त्यहाँ क्यानले केन्या जाँदै गरेको क्रिकेट टिमको बिदाइ कार्यक्रम राखेको थियो। कार्यक्रममा सन्दीपले आफ्नो टिमको तयारीबारे धारणा पनि राखेका थिए। उनी त्यस दिन अरु दिनझैँ सामान्य अवस्था देखिएका थिएनन्। केही हडबड गरेको जस्तो देखिन्थे।

नेपाली टिम केन्या गएको १५ दिनपछि सन्दीपको घटना सनसनीपूर्ण रुपमा सार्वजनिक भएको छ। एकपछि अर्का सेलिब्रिटी बलात्कारको केसमा मुछिएपछि सामाजिक सञ्जाल तातेको छ।

सन्दीपविरुद्धको मुद्दामा प्रहरीको अनुसन्धान जारी छ, प्रमाण सङ्कलन भइरहेको छ। घटना भएको होटेल र रिसोर्टबाट उनीहरूको उपस्थिति भएको प्रमाण सङ्कलन भइसकेको छ। सन्दीपविरुद्ध प्रहरीले बलियो प्रमाण जुटाएको दाबी छ। उनीहरूबीच सामाजिक सञ्जालमा भएको संवादले पनि थप प्रमाण जुटाउने देखिन्छ। त्यस्तै, पीडित किशोरीको स्वास्थ्य परीक्षण भइसकेको छ भने प्राविधिक रुपमा अन्य प्रमाण पनि जुटाउन प्रहरी जुटेको छ।

सेलिब्रेटी छवि बनाएकाहरु अहिले जबर्जस्ती करणीका घटनामा मुछिरहेका छन्। मंगलबारमात्र अभिनेता पल शाहलाई बाल यौन दुर्व्यवहार गरेको अभियोगमा जिल्ला अदालत नवलपुरले साढे २ वर्ष कैद सुनायो। र, २५ हजार रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ। त्यस्तै अदालतले पललाई पीडित किशोरीलाई १० लाख रुपैयाँ क्षतिपूर्ति समेत भराउने आदेश दिएको छ। पल पनि १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई करणी गरेको अभियोगमा कारागारमा छन्।

अहिले सन्दीपको घटना पनि पलकोझैँ देखिन्छ। तर, केही तथ्यहरू भने यी दुई केसमा फरक छन्। पलले परिस्थितिको फाइदा उठाउँदै घटना घटाएको देखिन्छ। तर सन्दीपको केसमा भने उनले परिस्थिति नै तयार गरेको देखिन्छ घटनाका लागि।

कम्तीमा १८ वर्ष नपुगी हुने यौन सम्बन्धलाई नेपालको कानुनले दण्डनीय मानेको छ। जाहेरीमा उल्लेख भए अनुसार घटना भएको पुष्टि भएमा १० देखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ सन्दीपलाई।

राष्ट्रिय टिमबाटै निलम्बनमा परेका सन्दीप हाल क्यारेबियन प्रिमियर लिग खेल्न सेन्ट लुसियामा छन्। पक्राउ पूर्जी नै जारी भएको अवस्थामा सन्दीप सेन्ट लुसियामा बस्न पाउँदैनन्। सन्दीप नफर्किए प्रहरीले इन्टरपोलको सहयोगमा उनलाई पक्राउ गरी नेपाल ल्याउन सक्छ। शुक्रवार सामाजिक संजालबाट उनले आफू चाँडै नेपाल फर्कने बताएका छन्। सन्दीप नेपाल फर्किए अब प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गर्नेछ।

सम्बन्धित समाचार

दिनभर घुमाएर राती होटेलमा पुर्‍याएर लामिछानेले पटकपटक करणी गरेको युवतीको आरोप, प्रमाणले देखिए विमानस्थलबाट नै पक्राउ पर्ने

जबर्जस्ती करणीको आरोप लागेका सन्दीप लामिछानेविरुद पक्राउ पुर्जी लिने प्रहरीको तयारी

सामाजिक सञ्जालबाट सम्पर्क बढाएर किशोरीलाई करणीसम्म गरेको आरोप, सन्दीपविरुद्ध कसरी अगाडि बढ्छ अनुसन्धान?

सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति, अब विमानस्थलबाटै पक्राउ गर्न सक्ने

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell