PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

भुईँको टिप्न खोज्दा पोल्टाको गुमाउँदै ओली: रावल, भुसाल र साह प्रकरणले एमालेलाई कति ‘ब्याक फायर’ हुन्छ चुनावमा?



प्रकाश भण्डारी

भुईँको टिप्न खोज्दा पोल्टाको गुमाउँदै ओली: रावल, भुसाल र साह प्रकरणले एमालेलाई कति ‘ब्याक फायर’ हुन्छ चुनावमा?

काठमाडौं: जनता समाजवादी पार्टी, नेपाल (जसपा) सँग तालमेल गरेर शक्ति आर्जन गर्ने रणनीतिमा रहेको एमाले आफ्नै शक्तिलाई जोगाउन भने असफल भएको छ। चुनावी समीकरण मिलाउन एमाले आंशिक रुपमा सफल भए पनि पार्टीभित्रकै समीकरण मिलाउन असफल रह्यो। जसकारण अहिले एमालेभित्र तरंग सिर्जना भएको छ। 

एमालेका अध्यक्ष केपी शर्मा ओली जसपालाई सत्ता गठबन्धनबाट अलग गराउन जति सफल भए, त्यति नै आफ्नै पार्टीका असन्तुष्टलाई समेट्न असफल रहे।  वर्ष दिनअघि भएको पार्टी विभाजनको असर भोगिरहेको एमालेले चुनावमा पनि अर्को धक्का सामना गर्नुपर्ने देखिएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको चुनावको टिकट वितरणमा उत्पन्न किचलोले एमालेमा परकम्प उत्पन्न गराएको छ।

ओलीले आफ्नो आलोचना गर्ने नेताहरुलाई समेट्न नसक्दा एमालेलाई चुनावको परिणाममा फेरि पनि धक्का लाग्ने अनुमान थालिएको छ। यसअघि स्थानीय तह निर्वाचनमा एमालेले सत्ता गठबन्धनका कारण पराजय भोगेको थियो। त्यतिबेला एमालेले साना दलहरुसँग केही ठाउँमा तालमेल गर्ने बाहेक देशव्यापी रुपमा एकल उम्मेदवारी दिँदा विपक्षमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धन थियो। 

अर्को धक्का 

गत भदौमा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले ओलीको आलोचना गरेर पार्टी विभाजन गरे। विभाजनअघिसम्म नेपाल-खनाल पक्षमा रहेका नेता घनश्याम भुसाल र भीम रावललाई ओलीले अहिले चुनावको टिकट  दिएनन्। ओलीसँग रुष्ट भुसालले पार्टी नै परित्याग गरेर सत्ता गठबन्धनको पक्षमा उभिएका छन्। गठबन्धनले भुसाललाई रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारका रुपमा अघि सारेको छ। उम्मेदवारी घोषणाअघिको पत्रकार सम्मेलनमा भुसालले एमालेमा ओलीबाहेकको अस्तित्व नभएकाले पार्टी परित्याग गरेको बताएका थिए। 

स्थानीय तह निर्वाचनअघिदेखि नै वाम एकताका लागि पार्टीमा फरक विचार राखिरहेका भुसाल-ओलीबीच बैठकहरुमै चर्काचर्की हुने गरेको थियो। भुसालले पनि आफ्नो विचारबाट निकटस्थहरुलाई यसपटको चुनावमा एमालेलाई असहयोग गराउने नीति लिने बताइन्छ। 

बालकोटमा मध्यरातसम्म एमालेको बैठक : समानुपातिकको बन्दसूची हेरफेर गर्ने अधिकार ओलीलाई


असोज १४ गते बालकोटमा मध्यरातसम्म बसेको एमालेको सचिवालयको बैठक। जसले टिकट बाँडने अधिकार ओलीलाई दिएको थियो।


यसअघि स्थानीय तह निर्वाचनमा पनि भुसालले आफ्नो क्षेत्रमा एमालेका उम्मेदवारलाई जिताउन सहयोग नगरेको आरोप ओली निकट नेताहरुले लगाएका थिए। भुसाल निकट एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले ओलीले गरेको टिकट वितरणप्रति इंगित गर्दै असन्तुष्टि व्यक्त गरेकी छिन्।  ‘दलहरुले गरेको टिकट वितरणले प्रमाणित गरेको एउटा कुरा मात्रै के हो भने -ज्ञानको कुनै ठाउँ छैन, चेतनाको कुनै महत्व छैन,’ तिम्सिनाको भनाई छ। 

भुसालले पार्टी नै परित्याग गरेर स्वतन्त्रबाट उम्मेदवारी दिँदा रावलले पार्टी नछोडने अडान लिए। स्वतन्त्रबाट उम्मेदवारी दिने रावलले चेष्टा गरेनन्। तर, ओलीले गरेको चुनावी गठबन्धनको चर्को आलोचना रावलले गरेका छन्। ‘अनैतिकताको नमूनाः कमल थापा एमालेका सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर चिन्हमा लड्ने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसँग  गर्ने!,’ रावलको टिप्पणी छ।

अहिले एमालेका लागि अर्को टाउको दुखाइको विषय हुन् -स्थायी कमिटी सदस्य प्रभु साह। माओवादी केन्द्रका पूर्व नेता साहले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद हुँदा ओलीको पक्ष लिएका थिए। विभाजनका बेला ओलीलाई साथ दिएका साहको स्थानीय तह निर्वाचनअघि पनि असन्तुष्टि सार्वजनिक भएको थियो। त्यतिबेला साहको असन्तुष्टिलाई ओलीले टालटुल पारे। उक्त विवाद समाधानपछि साहले २०७८ कात्तिक १५ गते चितवनमा आयोजित कार्यक्रममा ओली बान्चुन्जेल आफूले निःशर्त साथ दिने वाचा गरेका थिए। ‘जिउँदो रहुन्जेल केपी शर्मा ओलीलाई निःशर्त साथ हुनेछ। केपी शर्मा ओली मैले बुझेको देशको एउटा सेन्टर हो,’ साहले भनेका थिए।

तर, प्रतिनिधि सभा मनोनयनका बेला भने साहले पार्टीलाई धोका दिएको एमालेको आरोप छ। एमालेले दिएको टिकट अस्वीकार गर्दै मधेश प्रदेशको प्रतिनिधि सभा तथा प्रदेश सभाको गरी २५ ठाउँमा साहको समूहले उम्मेदवारी दर्ता गराएको छ। ओलीले साहको कदमलाई षडयन्त्रको संज्ञा दिएका छन्। साहले रौतहटमै एमालेको उम्मेदवारी शून्य गराउन खोजेको प्राइम टिभीलाई दिएको अन्तर्वार्तामा बताएका छन्।


असोज २२ गते ओली, महासचिव शंकर पोखरेल लगायतको हातबाट लोसपाका नेता मियाँलाई एमालेमा प्रवेश गराउदै। फोटो : साहकै फेसबुकबाट


‘उहाँले षडयन्त्र गर्नुभयो। पाँच बजेसम्म टिकट खल्तीमा राख्नुभयो। पाँच बजे वारेस पठाएर स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्नुभयो। त्यो बेइमानी भयो,’ ओलीको आरोप छ। 

रोचक त के भने असोज २१ गते लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का नेता एकवाल मियाँलाई एमालेमा प्रवेश गराएका साह असोज २३ गतेको मनोयनमा आफू नै एमाले त्याग्ने निर्णयमा पुगे। एमालेसँग रातारात भएको जसपाको चुनावी तालमेलप्रति साह असन्तुष्ट बनेका हुन्। 

चुनावमा असर कति?

एमाले विभाजनबाट हुने जनमतको नोक्सानीलाई भरथेग गर्न ओली सत्ता गठबन्धनमा रहेको कुनै एक दललाई एमालेसँग सहकार्य गर्ने रणनीतिमा थिए। कांग्रेस-एमाले समीकरणकै लागि पनि ओलीले गृहकार्य गरेका हुन्, प्रतिनिधि सभाबाट मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता पारित हुनुअघि। 

स्थानीय तह निर्वाचनको मत परिणामपछि माओवादी केन्द्र र एमालेले चुनावी सहकार्यका लागि संवाद अघि बढाएका थिए। तर, यी दुबै प्रयास असफल भए। प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनकै बेला जसपासँग सहकार्य हुँदा एमाले उत्साहित भएको थियो। मुख्यगरी तराईको जनमतमा जसपाको हात हुने भएकाले जसपासँगको सकार्यले एमालेलाई फाइदा पुग्नेगरी चुनावी तालमेल भएको एमाले नेता विशाल भट्टराईले बताए।

‘तराईमा जसपा बलियो छ नि। एमालेका लागि एकदमै राम्रो हुन्छ यसले,’ भट्टराईले भने। 


एमालेसँग सहकार्य गरेर जसपाले पाएको १७ सिट।


अर्कोतिर सत्ता गठबन्धनका नेताहरुले पनि जसपा गठबन्धनबाट अलग भए गठबन्धनलाई क्षति हुने भन्दै १६ सिट दिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लविङ गरेका थिए। १६ सिट दिन कांग्रेस तयार नभएपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छाडेर एमालेसँगको सहकार्यलाई अघि बढाएका छन्। गठबन्धनले पनि रानीतिक हिसाबमा प्रतिनिधि सभा विघटनकै बेलादेखि ओलीको कित्तामा उभिएको लोसपालाई बालुवााटारमा ‘इन्ट्री’ गराएको थियो। लोसपाले ७ सिट पाएको छ। जसपाबाट विभाजन भएर गठन भएको लोसपाको जनमत जसपाजस्तो बलियो नभएको भन्दै गठबन्धनलाई यादवले गर्ने क्षति रोक्न नसकिने बुझाइमा गठबन्धनकै नेताहरु थिए। 

तर साह, भुसाल-रावल प्रकरणले भने फेरि एमालेलाई चुनावमा असर गर्ने भएकाले गठबन्धन जसपा बाहिरिए पनि उत्साहित भएको छ। जसकारण पनि भुसालले एमाले परित्याग गरे लगतै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भुसाललाई फोन गरेर समर्थन गरे। जहाँ चुनाव लड्ने तयारी गरेकी नेतृ ओनसरी घर्तीलाई माओवादीले काठमाडौं-२ मा उम्मेदवार बनाएको छ।

एमालेलाई ‘व्याक फायर’ कति?

पार्टीको नीतिविरुद्ध उभिएको विषयलाई ओलीले रावललाई उम्मेदवारी नदिनुको कारण बनाएका छन्। एमालेका पदाधिकारीहरुका अनुसार अछाम-१ बाट रावलको एकल सिफारिस भएको भए पनि उनलाई उम्मेदवारको सूचीबाट हटाइनुको कारण रावलले संसदमा र पार्टीका गतिविधिमा अध्यक्ष ओलीलाई असहयोग गर्नु भएको बताउँछन्। 

१०औं महाधिवेशनमा रावलले ओलीलाई अध्यक्ष पदमा उम्मेदवारी दिएर चुनौती दिएका थिए। पराजयपछि पनि रावललाई ओलीले केन्द्रीय सदस्यको शपथग्रहण गर्न आग्रह गरे। तर, रावलले अस्वीकार गरे। प्रतिनिधि सभाको बैठकमा पनि रावल पार्टीको रणनीति विपरीत चलेको आरोप लागेको थियो। लगातार अटेर गरेपछि ओलीले अछाम १ मा माओवादीबाट एमालेमा प्रवेश गरेका नेता झपट बोहोरालाई टिकट दिएका छन्। रावलको ठाउँमा बोहोराले टिकट पाएपछि एमाले अछाम जिल्ला कमिटीका ४१ जना सदस्यले राजीनामा दिएका छन्। उम्मेदवारी दर्ताका दिन रावल पक्षका नेता कार्यकर्ताले ओलीविरुद्ध नाराबाजी गरेका थिए। 

सर्वसम्मत हुनबाट रोक्नमात्र मेरो उम्मेद्वारी भन्नु हाँसउठ्दो कुरा : भीम रावल, ‘ओलीले स्नेह देखाउनुभयो’


ओलीलाई १०औं महाधिवेशनमा सर्वसम्मत हुन रावलले रोकेका थिए। त्यतिबेलै देखिकै ओली-रावल टसल चुनावको बेला पनि प्रकट भयो।


सुदुरपश्चिम प्रदेशमा प्रभाव राख्ने रावलले अघोषित रुपमा चुनावमा असहयोग गर्ने नीति लिए एमालेका लागि सुदूरपश्चिम त्यति फलदायी हुने छैन्। रावललाई साइजमा राख्न ओलीले लिएको नीतिले एमालेलाई ‘व्याक फाएर’ हुने देखिन्छ। हुनत ओलीले सकेसम्म पार्टीलाई कम क्षति होस् भनेर रावल खेमाकै पूर्व सांसद झपट रावललाई कैलाली-२ बाट उम्मेदवार बनाएका छन्। ओलीले टिकट नदिएको विषयमा रावलले औपचारिक प्रतिक्रिया दिन मानेनन्। उनी निकट स्रोतले भने एमालेमा रहेर ओलीविरुद्ध संघर्ष गर्ने पहिलोपोस्टलाई बताएको थियो।

राष्ट्रिय सभामा पनि नोक्सान

एमालेले ‌ओली सत्ताबाट बाहिरिएदेखि आफ्नो शक्ति गुमाउन थालेको हो। किचलो चर्किएपछि पार्टी विभाजन मात्रै भएन ६ वटै प्रदेशमा एमाले सत्ता ढल्यो। स्थानीय तह निर्वाचन २०७४ को जितलाई  पनि जोगाउन सकेन एमालेले वैशाखमा भएको चुनावमा। राष्ट्रिय सभामा रामबहादुर थापा बादल लगायतका उम्मेदवारलाई एमालेले जिताउन सकेन। जसमा गठबन्धनले बाजी मारेको थियो। 

एकपछि अर्कोगरी शक्ति गुमाइरहेको एमालेले चुनावको मुखमा पनि शक्ति गुमाउने क्रम रोकिएको छैन। पार्टी किचलोका कारण रुपन्देही-५ मा एमालेकै दुई जनाले उम्मेदवारी दर्ता गराए। बासुदेव घिमिरेले उम्मेदवारी दर्ता गराएपछि अध्यक्ष ओलीको पत्र लिएर एमालेका नेता खिमलाल भट्टराईले निर्वाचन अधिकृतलाई भूलसुधार गरिदिन आग्रह गर्दै उम्मेदवारी दर्ता गराएका थिए। 


उम्मेदवारी दर्ता गराउँदै भट्टराई। उनको उम्मेदवारी खारेज भएको छ।


तर, निर्वाचन अधिकृतको कार्यालयले भट्टराईको उम्मेदवारीलाई खारेज गरिदियो। राष्ट्रिय सभा सदस्य रहेका भट्टराईले उम्मेदवार बन्न पदबाट राजीनामा दिएर चुनावको टिकटका लागि लविङ गरेका थिए। तर, ‌ओलीले पहिला घिमिरेलाई टिकट दिए भने पछि भट्टराईलाई अघि सारेका थिए। भट्टराईको राजीनामा उपलब्धिविहीन भएको छ भने एमालेले राष्ट्रिय सभामा एक सिट गुमाएको छ। 

संसद् विघटनपछि ओरालो लागेको एमालेलाई प्रदेश तथा प्रतिनिधि सभामा के कति क्षति होला? त्यो अहिले नै आकलन गर्न भने सकिन्न। तर, सत्ता गठबन्धनको एक बलियो घटक जसपालाई लिएर मोर्चा कसिरहेको एमालेले पार्टीभित्रकै समीकरणलाई चुनावसम्म राम्ररी मिलाउन नसके चुनावी परिणाममा असर पर्ने देखिन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell