काठमाडौं : काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउन प्रक्रिया थाल्ने निर्णय गरेको विरोध भइरहेको छ। महानगरको कार्यपालिका बैठकले खुल्लामञ्चमा पार्किङ बनाउन डिपिआरको कार्य अघि बढाउने भएपछि स्थानीय र अभियन्ताले विरोध गरिरहेका छन्।
महानगरको खुल्लामञ्चमा पार्किङ बनाउने निर्णयको विरोधमा अकुपाइ टुँडिखेल अभियानले आज महानगर उपप्रमुख सुनिता डंगोलाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्र बुझाउनुअघि अभियन्ता र स्थानीयले महनगर कार्यलय बाहिर केही समय धर्ना दिएका थिए।
अभियानले मेयर वालेन्द्र शाह (बालेन)लाई भेटेर ज्ञापनपत्र बुझाउन समय लिएको थियो। तर, उनले कार्य व्यस्तता भनेर अभियन्ता र स्थानीयलाई भेटेनन्। यसअघिका मेयर विद्यासुन्दर शाक्यले पनि आफ्नो कार्यकालमा अकुपाइ टुँडिखेलका अभियन्तालाई भेटेका थिएनन्। त्यसबेला अकुपाइ टुँडिखेललाई खुलेरै साथ दिएकी थिइन् तत्कालिन उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले।
आज प्रमुख बालेनले नभेटपछि अकुपाइ टुँडिखेलका संयोजक विजय श्रेष्ठले उपप्रमुख डंगोललाई ज्ञापन पत्र बुझाएका छन्। ज्ञापनपत्रमा डिपिआरको कार्य तत्काल रोक्न माग गरिएको छ।
ज्ञापनपत्र बुझेपछि उपप्रमुख सुनिता डंगोलले हाल टुँडिखेल क्षेत्रमा रहेको खुल्लामञ्चमा पार्किङ बनाउनेबारेमा 'फिजिबिलिटी स्टडी' मात्रै भएको बताइन्।
'टुँडिखेल एउटा खुल्ला क्षेत्र हो। यसको संरक्षण हुनुपर्छ। पार्किङको बारेमा फिजिबिलिटी स्टडी गरेको हो। डिपिआर पछिको स्टेज हो। त्यसपछि मात्र बनाउने नबनाउने भन्ने कुरा आउँछ। पहिलो प्राथमिकता आवश्यकता हो कि होइन भन्ने हो,' उनले भनिन्।
सुनिताले बन्दै गरेको नयाँ धरहरा र अन्य भवनमा पार्किङको पर्याप्त सुविधा भएको भन्दै अध्ययनपछि नयाँ संरचना बनाउने नबनाउनेबारेमा निर्णय गर्ने बताइन्। साथै, उनले स्थानीय जनताको मर्म विपरित महानगरले कुनै काम नगर्ने बताइन्।
'जनताको मर्मलाई सबैले प्राथमिकतामा राख्नुपर्छ। यसको सांस्कृति ऐतिहासिक महत्व छ। जनताको राय लिएरै काम गर्ने हो। जनताको रायविरुद्ध काम भयो भने म हजुरहरुको आवाज बन्ने छु,' सुनिताले भनिन्।
'अकुपाइ टुँडिखेल'ले २०७५ साल कात्तिक २३ गते रत्नपार्कदेखि खुल्लामञ्च र सैनिक मञ्चको बीचको बाटोसम्म मानव साङ्लो बनाएर आन्दोलन सुरु गरेको थियो। तत्कालिन मेयर विद्यासुन्दर शाक्यले टुँडिखेल मास्न खोजेको भन्दै यो अभियान सुरु भएको थियो। अहिले टुँडिखेलकै अंश रहेको खुल्लामञ्च मास्न स्थानीय सरकार लागि परेको भन्दै यो अभियान फेरि ब्युँतिएको हो।
खुल्लामञ्चलाई खुल्ला नै गर्नुपर्ने माग सहित सुरु भएको यो अभियानमा संलग्न गणपतिलाल श्रेष्ठले मेयर शाहको अरु अभियानमा आफूहरुको समर्थन रहेको भन्दै खुल्लामञ्चमा पार्किङ बनाउने नीतिको भने विरोध गरिरहने बताए।
'विकल्पहरु छन्। तर त्यसमा छलफल भएको छैन,' उनले भने।
खुल्लामञ्चमा पार्किङका बनाउने निर्णयबारे महानगरकै वडा अध्यक्षहरुले विरोध गरिरहेका छन्।
पढ्नुस : एसियाकै विशाल 'परेड मैदान टुँडिखेल': कसरी पर्यो राणा, राजा, सेना र गणतन्त्रको अतिक्रमणमा
नेपालभाषामा टुँडिखेललाई 'तुंख्यो' भनिन्छ। तुंख्यो अर्थात 'पानी भएको खेत'। परापूर्वकालमा ढिस्कोले पुरिएर रहेको यस खेतमा रुखैरुख थिए। पानी निस्किरहने भएकाले धेरै क्षेत्रमा दलदल थियो। त्यसैले जताजतै पानी नै पानी भएकाले यसलाई 'तुंख्यो' भनियो।
नेपालमा राणाशासन सुरु हुने बेलासम्म काठमाडौंको मध्य भागमा रहेको यो खेत बहुप्रयोजनका लागि प्रयोग गरिन्थ्यो। त्यहाँ नेवार समुदायले कूल पूजा गर्थे। दुईमाजु मन्दिरमा शक्तिको उपासना हुन्थ्यो। गाइगोरु चराउने काम हुन्थ्यो। स्थानीयका लागि 'रिक्रिएसनल' स्थान जस्तै थियो टुँडिखेल।
काठमाडौंका अजिमाहरुलाई एकै स्थानमा ल्याएर भेटाउने स्थान थियो टुँडिखेल। तर, विशाल मैदान देखेर जंगबहादुर राणाले छाउनीमा गरिने सैन्य परेड टुँडिखेलमा सारे। त्यहीँबाट सुरु भयो टुँडिखेल अतिक्रमणको खेल।
त्यो खेल आजसम्म पनि जारी छ।
वि. सं १९१२ मा जंगबहादुर राणा प्रधानमन्त्री हुँदा नेपाल आएका इतिहासकार हेनरी एम्ब्रोस ओल्डफिल्डले टुँडिखेल २-३ माइल लामो र ३ गज चौँडा रहेको उल्लेख गरेका थिए। हेनरीद्वारा लिखित पुस्तक 'स्केच्स् फ्रम नेपाल'मा टुँडिखेललाई 'एसियाको सबैभन्दा ठूलो परेड मैदान' भनिएको थियो। टुँडिखेल हाल त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालादेखि रानीपोखरी (न्हु पुखु) सम्म फैलिएको थियो।
समयक्रममा टुँडिखेलभित्र नै खुल्लामञ्च बनाइयो। नेपालमा प्रजातन्त्र ल्याउन ठूलो भूमिका खेलेको त्यही पानीको खेतमाथि बनाइएको खुल्लामञ्चमाथि अहिले पटकपटक आक्रमण भइरहेको छ।
राजा फाल्नेदेखि गणतन्त्र ल्याउनेसम्मका भाषण गुञ्जिएको खुल्लामञ्च शाक्यको कार्यकालमा गाडी राख्ने डम्पिङ साइट बन्यो। पुरानो बसपार्क क्षेत्रमा बहुप्रयोजनको भ्यू टावर बनाउने भनेर खुल्लामञ्चमा बसपार्क स्थान्तरण गरिएको थियो। भ्यू टावर त बनेन नै शाक्य नेतृत्वको महानगरले खुल्लामञ्चलाई झनै साँघुरो बनाउँदै लगेको थियो। खुल्लामञ्चमाथि ढलान र कालोपत्रे गरिएको थियो भने लाखौंको 'डिल'मा सटर बनाएर व्यापारिकस्थलका रुपमा रुपान्तरित गरिएको थियो। मल्ल राजाहरुको देवाली मन्दिर दुईमाजुमा जनप्रतिनिधिकै संलग्नतामा अतिक्रमण गरिएको थियो। पछि अकुपाइ टुँडिखेलकै नेतृत्वमा भएको आन्दोलनपछि महानगर आफ्नो कार्यबाट पछि हटेको थियो। तर, सो अवधिमा शाक्यले टुँडिखेल बचाउन लागेका स्थानीय र अभियन्तालाई सामुहिक रुपमा कहिल्यै भेटेनन्।