PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

अकुपाइ टुँडिखेल : अभियन्तादेखि किन तर्किन्छन् मेयर शाक्य?



सहयोग रञ्जित

अकुपाइ टुँडिखेल : अभियन्तादेखि किन तर्किन्छन् मेयर शाक्य?

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई महानगरको कार्यालयमा भेट्ने समय हो दिउँसो। महानगरको कार्यालयस्थित उनको कार्यकक्षबाहिरै एउटा सूचना टाँसिएको छ, जसमा लेखिएको छ - प्रमुखज्यु सँगको भेटघाट २ बजेपछि।

त्यसैलाई आधार मान्दै काठमाडौंको मध्यभागमा रहेको टुँडिखेल खुल्ला गराउने उद्देश्यसहित शुरु भएको अकुपाइ टुँडिखेलका अभियन्ताहरु सोमवार महानगर प्रमुख शाक्यलाई भेट्न बागदरबारस्थित काठमाडौं महानगरको मुख्य कार्यालय पुगे।

अभियानलाई नागरिक स्तरबाट समर्थन पाउने क्रम बढ्दै जाँदा सरोकारवाला निकायहरुले भने अभियानलाई नदेखेको झैं गरेको भन्दै उनीहरु पूर्व जानकारी गरेर प्रमुख शाक्यलाई ध्यानाकर्षण गराउन पुगेका थिए। त्यसका लागि अभियानले आइतवार नै मेयर शाक्यको सचिवालयमा पत्र दर्ता गराएका थिए।

दिउँसो २ बज्यो। तर मेयर शाक्य कार्यालयमा उपस्थित भएनन्। अभियन्ताहरुले करिब साढे १ घण्टा मेयर शाक्यलाई कुरे। तर उनी आइपुगेनन्।

मेयरको चालचुल नदेखिएपछि उनीहरुले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौंपानेलाई भेट्ने प्रयास गरे। तर, उनी पनि कार्यालयमा नभएपछि अकुपाइ टुँडिखेल अभियानका संयोजक विजय श्रेष्ठ नेतृत्वको टोलीले प्रशासन विभागका विभागीय प्रमुख नमराज ढकाललाई टुँडिखेल संरक्षण तथा प्रवर्द्धन गर्दै त्यहाँ रहेको अतिक्रमण हटाएर पूर्ववर्ती अवस्थामा फर्काउन भन्दै ध्यानाकर्षण पत्र बुझाए।

पत्र बुझ्दै ढकालले टुँडिखेल खुल्ला हुनुपर्ने कुरामा आफू पनि सहमत रहेको तर केही प्राविधिक कारणले हाल खुल्लामञ्चमा केही संरचना बनेको र त्यो केही महिनामा नै हट्ने आश्वासन दिए।

भने, 'सार्वजनिक सम्पत्तिको संरक्षणको जिम्मेवारी स्थानीय सरकारको हो। टुँडिखेलजस्तो ऐतिहासिक सम्पदा केही प्रयोजनका लागि अकुपाइ भएका छन्। तिनको काम सकिने बित्तिकै खुल्लामञ्चमा बनाइएका संरचना खाली हुनेछ।'

अकुपाइ टुँडिखेलले तीन महिनासम्म टुँडिखेल खुल्ला हुनुपर्ने भन्दै विभिन्न कार्यक्रम गर्ने बताएको छ। ढकालले अभियानको समय भित्र नै खुल्लामञ्चका अस्थायी संरचना हट्ने बताउँदै प्रमुख शाक्य समक्ष अभियन्ताहरुले मागलाई पुर्‍याउने बताए।

***

विगत तीन हप्तादेखि टुँडिखेललाई खुल्ला गर्नुपर्ने मागसहित अकुपाइ टुँडिखेल अभियान संचालन भयो। पहिलो हप्ता मानव साङ्लो बनाएर रत्नपार्कदेखि खुल्लामञ्चसम्म घेरियो। मानव साङ्लोमा सहभागी भएर टुँडिखेल बचाउने अभियानमा सहयोग गर्न अभियन्ताहरुले काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई निमन्त्रणा गर्न बागदरबार पुगेका थिए। तर मेयर शाक्यले समय दिएनन्। न त उनी अभियानमा नै सरिक बने।

उल्टै मेयर शाक्यले शंखधर दिवसका दिन आयोजित कार्यक्रममा अकुपाइ टुँडिखेलमा राजनीतिक रंग देखिएको आरोप लगाए। यता, दोस्रो साता राजा महेन्द्रले काटेर फाल्न लगाएको टुँडिखेलको मध्य भागमा रहेको खरीको रुख ब्युताउँने प्रयास स्वरुप खरीको बोट रोपियो। गत शनिवार टुँडिखेल माग्दै खरीको रुख मुनि कविहरुको साहित्‍यिक जमघट भयो।

तीन हप्ता बित्यो। तर अभियन्ताहरुले प्रमुख शाक्यलाई भेट्ने समय कहिल्यै पाएनन्। आज पनि प्रमुखलाई अभियानमा सरिक गराउने उनीहरुको प्रयास सफल हुन सकेन।

अभियन्ता सुसन वैद्य मेयर शाक्यले मेयर शाक्यले टुँडिखेल खुल्ला गराउने अभिव्यक्ति दिएको सुनिएको भन्दै आफूहरु मेयरलाई नै सहयोग गर्न आएको बताउँछन्।

उनी मेयरले कार्यव्यस्तताका कारण भने पनि टुँडिखेलमा केही समस्या नै नदेखेर चासो नदेखाएको हुन सक्ने बताउँछन्। भन्छन्, 'हामीले उहाँलाई धेरै पटक भेट्न प्रयास गर्‍यौं। तर उहाँले समय नै दिनुभएन। उहाँलाई यो कुरा सामान्यजस्तो नलागेर नआएको हुनुपर्छ। उहाँले यस विषयमा समाधान नदेखेकोले टार्न प्रयास गरेको हुनसक्छ।'  

प्रमुख शाक्यकै संलग्नतामा टुँडिखेल अतिक्रमण भएको स्थानीयको आरोप छ। विरोधका बाबजुद प्रमुख शाक्‍यको ठाडो आदेशमा खुल्लामञ्चमा ढलान गरिएको, दुईमाजु मन्दिरमा टहरा बनाइएको, खुल्लामञ्चमा बनाइएको बसपार्कमा सटर राख्न दिएको भन्दै शाक्यमाथि विरोध हुँदै आएको छ। त्यसैले पनि अभियन्ताहरुले शाक्यलाई नै भेटेर ध्यानाकर्षण गराउन चाहेका हुन्।

तर शाक्‍यको अनुपस्थितिमा प्रशासन विभागका प्रमुखलाई पत्र बुझाएपछि अभियन्ताहरुले उपप्रमुख हरीप्रभा खड्गी श्रेष्ठलाई भेटेर टुँडिखेलको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।

टुँडिखेल भित्रनै आफ्नो कूल देवता रहेको बताउँदै उपप्रमुख श्रेष्ठले टुँडिखेल खुल्ला गराउन आफूले प्रयास गरिरहेको बताइन्। सेनाले नक्सा पास नगरी संरचना बनाउन आफूले 'स्ट्यान्ड' लिएर नक्सा पास गराउन सेनासँग आग्रह गरेको दाबी गर्दै उनले पछि सेनाले नक्सा पास गर्ने प्रक्रिया अगाडि बढाएको बताइन्।

खुल्लामञ्चका रहेका संरचना चाँडै हटाउने भन्दै उनले भनिन्, 'हामीले त्यो संरचना धेरैसमयका लागि बनाउन दिएका होइनौ। स्कुल र अस्पतालको काम लगभग सकिएको छ। हामी खुल्लामञ्च खुल्ला गराउन पत्राचार गर्छौं।'  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell