PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

शरणार्थी प्रकरणः हाइप्रोफाइल जोडिँदै जाँदा सातामा के-के भए?



सविन ढकाल

शरणार्थी प्रकरणः हाइप्रोफाइल जोडिँदै जाँदा सातामा के-के भए?
फाइल फोटो

काठमाडौंः नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइल व्यक्ति समातिएपछि यतिखेर सदनदेखि सामाजिक सञ्जाल समेत तातेको छ। त्यस्तै भिआइपी व्यक्ति भनिएकाहरुको पनि एकपछि अर्को गर्दै यस प्रकरणमा नाम जोडिएपछि राजनीतिक दलदेखि आम मानिसलाई अबको प्रहरीको अनुसन्धान कसरी अगाडि बढ्ला भन्ने चासो छ।

नक्कली भुटानी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहमा हाइप्रोफाइको संलग्नता खुलेको छ। गत मंगलबार प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ गरेको थियो। रामबहादुर थापा बादल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व सरकारमा गृहमन्त्री थिए। २०७४ फागुन १४ गतेदेखि २०७८ असार २८ गतेसम्म उनले गृह मन्त्रालय सम्हालेका थिए।

चैत ११ गते केशव दुलाल, सानु भण्डारी र सागर राईलाई पक्राउ गरेर अनुसन्धान गरेपछि राई अनुसन्धानमा तानिएका हुन्। उनका छोरा निरज राई पनि यस घटना जोडिएका छन्। उनीविरुद्ध पनि प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ। बाबु छोराले ठगी गिरोहबाट ४ करोड रुपैयाँ भन्दाबढी रकम बुझेको खुलेको छ।

त्यस्तै राई पक्राउ परेपछि अन्य हाइप्रोफाइल व्यक्तिको संलग्नता खुल्यो। बुधबार ( बैशाख २० गते) नेपाल सरकार सचिव सामातिए। उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे प्रहरीको नियन्त्रणमा आएका थिए। २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म सचिवका रुपमा पाण्डेले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले। त्यतिखेर तालुकदार मन्त्री चाहिँ नेपाली कांग्रेसका बालकृष्ण खाण थिए। पाण्डे अगाडि सामातिएका व्यक्तिसँग रकम बुझेको र पटक पटक सम्पर्क भएको खुलेपछि समातिएका थिए। प्रहरीले उनीविरुद्ध प्रमाण जुटाएर अनुसन्धान गरिरहेको छ। पहिलो पटक अदालतबाट तीन हिरासतमा राख्न अनुमति पाएको प्रहरीले दोस्रो पटक समय थप गरेको छ। थप सात दिन हिरासतमा राख्ने अनुमति प्रहरीले पाएको छ।

पाण्डे प्रकाउसँगै त्यही दिन अर्को समचार बाहिरिएको थियो। जुन घटनाले झन् यो प्रकरणलाई सबैको नजरमा खिचेको थियो। घटनामा नेकपा एमालेका सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गर्‍यो। पूर्जी जारी हुँदा उनी अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रममा प्रतिनिधि सभाका सभामुखसँगै थिए। त्यहीबाट उनी काठमाडौं फर्किएर प्रहरीको अनुसन्धानलाई सघाउने बताएका थिए। तर टोपबहादुरका छोरालाई भने प्रहरीले बुधबार साँझ नै बुटवलबाट पक्राउ गर्‍यो। टोपबहादुरले भने काठमाडौं आउने प्लेन क्यान्सिल गरेर सम्पर्कविहीन भए।

बिहीबार प्रहरीले घटनाको अनुसन्धानको क्रममा सन्दीपलाई बुटवलबाट काठमाडौं ल्याएर अनुसन्धान सुरु गर्‍यो। उनलाई पनि हिरासतमा राख्न अदालतबाट प्रहरीले ३ दिन म्याद पाएको थियो। दोस्रो पटक फेरि सात दिनको म्याद थप गर्‍यो। अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

प्रहरी खोजीमा रहेका टोपबहादुर सम्पर्कमा आएका छैनन्। बरु एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई भेटेर घटनाको जानकारी लिने काम गरिसकेका छन्। त्यस्तै सांसद र उपप्रधानमन्त्री जस्तो व्यक्तिलाई बाटोघाटोबाट पक्राउ नगर्न भन्दै आक्रोसित अभिव्यक्ति दिन ओलीले भ्याएका थिए। प्रहरीले पनि रायमाझी आफैं प्रहरी कहाँ आउने अनुमान गरेको थियो।

शुक्रबार प्रहरीले अभियुक्तको बयानदेखि अन्य अनुसन्धानको पाटो केलाइरहेको थियो। बयानको क्रममा अभियुक्तहरुले हाइप्रोफाइल व्यक्तिका नाम लिएका थिए। जसमा पूर्वगृहमन्त्री बालकृष्ण खाणको पनि नाम आयो। प्रहरीले खाणको कनेक्सन र प्रमाण खोज्न लाग्यो। शनिबार खाणको बारेमा समचार पनि आए। तर उनले आफूमाथि लागेको आरोप खण्डन गरे।

आइतबार नक्कली भुटानी प्रकरणले संसदमा समेत प्रवेश पायो। संसदमा हंगामा नै मच्चियो। यो घटनामा कांग्रेस सांसद आरजु राणा र मञ्जु खाणको समेत नाम मुछियो। तर सांसद आरजुले यसको खण्डन गरिन्। प्रहरीले घटनामा अनुसन्धान भने गरिरहेको छ।

सोमबार प्रहरीले घटना जोडिएका र साक्षी केहीसँग बयान लिएको छ। त्यस्तै रायमाझी सम्पर्क नआएपछि देशभरकै प्रहरी कार्यालयमा हेडक्वाटरले सर्कुलर जारी गरेर पक्राउ गर्न निर्देशन समेत दिएको छ। ६ दिन भइसक्दा पनि फरार रहेका रायमाझी कहाँ छन् भन्ने खुलको छैन।

'हामी घटनाका सबै पक्षहरुको काम गरिरहेका छौं,' जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले भने।

नक्कली शरणार्थी प्रकरणमा सुरुमा पक्राउ काठमाडौं उपत्यका  अपराध अनुसन्धान कार्यालयले गरेको थियो। पाँच जनालाई पक्राउ गरेपछि थप अनुसन्धानको लागि फाइल परिसरलाई बुझाएको छ। परिसरले त्यसपछि थप ३ जनालाई समातेर अनुसन्धान गरिरहेको छ। मंगलबार प्रहरीले रायमाझीको ललितपुरस्थित घरमा छापा समेत मारेको छ।

एक हप्तामा शरणार्थी प्रकरणमा हाइप्रोफाइल मानिस पक्राउदेखि संलग्न भएको आरोप लागेको छ। यसलाई प्रमाणित गर्ने प्रमाण जुटाउन र अनुसन्धान निष्पक्षरुपले टुङ्गोमा पुर्‍याउन प्रहरीलाई चुनौती थपिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell