PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

तपाईंलाई रोचक लाग्नसक्छ सगरमाथासँग जोडिएका पछिल्ला किस्साहरु...



हेम रोकाहा

तपाईंलाई रोचक लाग्नसक्छ सगरमाथासँग जोडिएका पछिल्ला किस्साहरु...

सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मा साहसको सीमालाई विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोसम्म पुर्‍याए। उनीहरुको पथ पछ्याउँदै सगरमाथा आरोहण गर्नेहरुको संख्या अहिले हजारौंमा छ। यतिसम्म कि सगरमाथा चढ्ने क्रममा आरोहीहरु ‘जाम’मै पनि पर्छन् बेलाबेलामा।

सन् १९६१ मा युरी गागरिन् अन्तरिक्षसम्म र १९६९ मा निल आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला टेक्नुअघि मानिस पुगेको सबैभन्दा अग्लो ठाउँ सगरमाथाको चुचुरो नै थियो। हालसम्म पनि धेरैका लागि सगरमाथा साहसको पर्याय नै हो।

सगरमाथा विश्वकै सर्वोच्च शिखर त हो नै यसको उचाइ निरन्तर बढिरहेको पनि छ। ‘टेक्टोनिक प्लेट’हरुले सगरमाथाको चुचुरोलाई हरेक वर्ष आधा सेन्टिमिटर माथि धकेल्छ।

सन् १८४१ को ‘ग्रेट ट्रिगोनोमेट्रिकल सर्वे’का क्रममा यसको पहिचान गरिएको थियो, जतिबेला यसको नाम ‘पिक फिफ्टिन्थ’ राखिएको थियो। एन्ड्र्यु स्कट वेघले सन् १८५६ मा यसलाई संसारकै उच्च भनेर घोषणा गरे भने त्यतिबेलाका ब्रिटिश कर्नेल जर्ज एभरेस्टको नामबाट यसको नामाकरण समेत गरिदिए।

विश्वले अहिले यसलाई ‘माउन्ट एभरेस्ट’को नामले पनि चिन्छ। भलै जसको नामबाट नामाकरण गरियो उनले यो संसारकै उच्च स्थान कहिल्यै देखन पाएनन्। ‘माउन्ट एभरेस्ट’ बाहेक यसलाई तिब्बतमा ‘चोमोलुङ्ग्मा’ (अर्थात ब्रहमाण्डकी माता देवी) र नेपालमा सगरमाथा (आकाशकी देवी)को नामले पनि चिनिन्छ।

कामीरिताको कीर्तिमानमाथि कीर्तिमान

पहिलो पटक आरोहण गरेर एडमण्ड हिलारी र तेन्जिङ नोर्गेले इतिहास बनाए पनि सगरमाथामा कीर्तिमान बनाउनेको संख्या कम छैन। सगरमाथासँग सम्बन्धित कीर्तिमानीमा धरैपटक आइरहने नाम हो कामीरिता शेर्पा।

कीर्तिमान बनाउन कामीरितामा हुटहुटी नै छ। गत मे २३ मा उनले सगरमाथाको चुचुरोमा २८औँ पटक पुगेर कीर्तिमान कायम गरे

सगरमाथाको चुचुरोमा २८औँ पटक पुगेर कीर्तिमान बनाएका कामीरिता।


यस वर्षको वसन्त ऋतुमा उनले दोस्रो पटक सगरमाथा आरोहण गरेका हुन्। त्यसअघि यही सिजनमा मे १७ मा उनले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए।

उनले २७औँ पटक सगरमाथा चढेर कीर्तिमान बनाएपछि अर्का आरोही पासाङ दावा शेर्पाले पनि २७औँ पटक सगरमाथाको चुचुरोमा पुगेर उनको कीर्तिमान बराबरी गरेका थिए। त्यसपछि कामीरिताले फेरि सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान बनाएका हुन्।

कामीरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए। खुम्बु पासाङ ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन्।

शारिरीक अवस्थाले रोकेन चुचुरोमा पुग्न

सगरमाथाको आरोहण जहिले पायो त्यहिले गर्न सम्भव छैन। यसको लागि वर्षमा दुई पटक केही हप्ताको मात्र समय हुन्छ। माइनस ३० डिग्री सेल्सियससम्म पुग्ने तापक्रम र ३२० किलोमिटर प्रतिघण्टासम्मको गति लिन सक्ने हावाका कारण सगरमाथाको आरोहणलाई निकै चुनौतीपूर्ण मानिन्छ।

त्यसकारण शारिरीक रुपमा सवल व्यक्तिले पनि सगरमाथाको आरोहण गर्ने कुरा हत्तपत्त आँट्दैन्। तर यसवर्ष आफ्नो शारिरीक अवस्थालाई ‘च्यालेन्ज’ गर्दै दुई जनाले साहसको नयाँ मानक कायम गरेका छन्।

दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई विमानस्थलमा स्वागत गरिँदै।


दुवै खुट्टा गुमाएका हरिबहादुर बुढाले सगरमाथाको चुचुरोमा पुगेर शारिरीक प्रतिकूलताले कुनै पनि काम गर्न नरोक्ने सन्देश दिएका छन्। भूतपूर्व गोर्खा सैनिकसमेत रहेका बुढा जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरो पुगेका हुन्

उनी घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोहीसमेत बने। उनले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन्।

यस्तै, अर्का पात्र हुन् जेसन बर्नार्ड। कार दुर्घटनामा परेपछि बर्नार्ड केन्निसनलाई चिकित्सकले ‘अब कहिल्यै हिँड्न सक्दैनौ’ भनेका थिए। तर, ‘स्पाइनल कर्ड इन्जुरी’ पछि पनि उनले हिम्मत हारेनन्।

कार दुर्घटनामा परेको १७ वर्षपछि उनी दर्दनाक चोटहरू र डिप्रेशनका कालो दिनहरूलाई पछि छोडेर विश्वकै सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न निस्किए।

जेसन बर्नार्ड केन्निसन। Photo: Spinal Cord Injuries Australia Facebook page


साहसी अस्ट्रेलियन जेसनको महत्वाकांक्षी सपना २०२३ को मे महिनामा पूरा भयो। एसियन ट्रेकिङको एक्सपेडिसनअन्तर्गत उनी सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए

चुचुरोमा पुगेर फर्किने क्रममा उनले ज्यान गुमाए तर विश्वलाई नै साहसको पाठ सिकाए।

जब शेर्पाले आरोहीलाई मृत्युको मुखबाट बचाए…

सगरमाथाको आरोहण गर्ने हरेक २० जनामा एक जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क छ। यति हुँदा पनि वर्षेनि सयौँको संख्यामा विश्वभरका आरोहीहरु ज्यानको बाजी राखेर सगरमाथाको चुचुरोमा पुग्ने महत्त्वाकाङ्क्षासहित नेपाल आउने गर्छन्।

तिनैमध्येका थिए एक मलेसियन आरोही जसलाई शेर्पाले मृत्युको मुखबाट बचाएर ल्याए

गत मे १८ मा चिनियाँ आरोहीहरुलाई सगरमाथाको चुचुरोतर्फ गाइड गर्ने क्रममा ३० वर्षीय गेल्जे शेर्पाले एक मलेसियन आरोहीलाई डोरीमा झुण्डिरहेको देखे। ‘डेथ जोन’मा ती आरोही माइनस ३० डिग्री सेल्सियसको अति चिसो तापक्रमका कारण काँपिरहेका थिए।

मलेसियन आरोहीलाई बोकेर सगरमाथाबाट ओराल्दै निमा ताशी शेर्पा। फोटो : रोयटर्स।


गेल्जेले ती आरोहीलाई ‘बाल्कोनी’ क्षेत्रबाट करिब ६ घण्टाको अवधिमा ६०० मिटर तलसम्म घिसारेरै ल्याए। त्यसबाट निमा ताशी शेर्पाले गेल्जेलाई उद्धारमा सघाए।

त्यहाँबाट उनीहरुले आरोहीलाई ‘स्लिपिङ ब्याग’ले बेरेर कहिले हिउँमा घिसारे त कहिले पालैपालो ढाडमा बोके। ७ हजार १६२ मिटरमा आइपुगेपछि हेलिकोप्टर उनको उद्धार गरेको थियो।

चुचुरोमा १६ वर्षीया चिनियाँ किशोरी

यो सिजनमा एक १६ वर्षीया चिनियाँ किशोरीले पनि आफूलाई साहसको प्रतीकको रुपमा स्थापना गरेकी छिन्। शुई चो युआनले जेठ १ गते सफलतापूर्वक सगरमाथाको आरोहण गरिन्। युआनले यही जेठ १ गते सोमवार बिहान ५:४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन्

युआनका बुबा शुई चियाङ लेईले पनि सन् २००७ मा सगरमाथाको उत्तरी मोहडाबाटै सफल आरोहण गरेका थिए। उनलाई पनि त्यहीँबाट आरोहण गर्ने प्रेरणा मिल्यो।

सुरुमा मौसमको खराबीले केही चुनौतीको सामना गर्नुपरे पनि आरोहणको दिन भने उनलाई मौसमले साथ दियो।

त्यसअघि, २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोहीको रुपमा पाकिस्तानकी नैला कियानीले सफल आरोहण गरिन्। मे १४ को बिहान ८:०२ बजे उनी सगरमाथाको चुचुरोमा पुगेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell