PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

करोडौंको कारोबार गर्ने पिन्टु र रामविलाश को हुन्? एकै वर्षमा ६४ करोड कारोबार गर्ने दिनेशतिर किन सोझियो सुई?



सविन ढकाल

करोडौंको कारोबार गर्ने पिन्टु र रामविलाश को हुन्? एकै वर्षमा ६४ करोड कारोबार गर्ने दिनेशतिर किन सोझियो सुई?

काठमाडौं : ‘अहिलेसम्म प्रहरीले अनलाइन जुवामा भेटाएको सबै भन्दा धेरै रकम हो।’

बुधवार काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले गरेको पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एसएसपी मनोज केसीको भनाइ हो यो।

प्रहरीले ‘वानएक्स-बेट’बाट बेटिङ गर्ने पाँच जनालाई पक्राउ गर्न सफल भएपछि पत्रकार सम्मेलन गरको थियो। पक्राउ परेका समूहले विभिन्न माध्यमबाट ७४ करोड १३ लाख रुपैयाँको कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। रकमको परिमाण अझै बढ्ने प्रहरीको आँकलन छ।

गिरोहका मुख्य नाइके कैलाली घर भएका २९ वर्षीय दिनेश खड्का देखिएका छन्। विभिन्न बैंक खाताबाट उनले ६४ करोड रुपैयाँको कारोबार गरेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ।

उनले रामविलास थारु, तेजबहादुर कठायत, नविन चौधरी, अनिता धितालको कागजपत्र प्रयोग गरेर ६३ वटा बैंकमा खाता खोलेको फेला परेको छ। १२ वटा बैंकबाट ६४ करोडको कारोबार भएको प्रहरीले भेटेको हो।

यही प्रकरणमा दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने पनि समातिएका छन्। दीपेशले ५ करोड ५४ लाख ६६ हजार रुपैयाँ, दिनेश चन्दले प्रभु बैंकबाट ४५ लाख र आशिष लामिछानेले विभिन्न बैंकको खाताबाट २ करोड ९८ लाख ९६ रुपैयाँ भन्दा बढीको कारोबार गरेको खुलेको छ। उनीहरुसँग ७४ करोड १३ लाख ५० हजार रुपैयाँको कारोबार भएको देखिएको छ।

एसएसपी केसीले यो प्रकरणबारे अनुसन्धान दुई महिना अगाडिदेखि नै सुरु भएको बताए। पुष्टि गर्न सकिने प्रमाण संकलन भएपछिमात्र अभियुक्तहरु पक्राउ गर्न सफल भएको उनले बताए।

उनीहरुको संलग्नता अनलाइन जुवामा भएको सूचना पाएको थियो प्रहरीले। त्यसैको आधारमा धेरैजना प्रहरी अनुसन्धानको घेरामा परेका थिए। यसपटक भने प्रहरी साना जुवाडेभन्दा ठूलासम्मै पुग्ने योजनाका साथ अनुसन्धानमा अगाडि बढाएको थियो।

सुरुमा नेपालमा बसेर ‘वानएक्स-बेट’मार्फत सट्टेबाजी गर्ने ३४ जनाको लिष्ट तयार पार्‍यो प्रहरीले। जसमा १ लाख रुपैयाँदेखि माथिका अनलाइन जुवा खेलाउनेहरुको नाम थियो।

अहिले पनि प्रहरीसँग ३४ जनाको नामको सूची छ जसलाई प्रहरी ‘डिस्क्लोज’ गर्न चाहेको छैन। थप अनुसन्धान गरेर उनीहरुलाई पनि कानुनी दायरमा ल्याउने प्रहरीको तयारी छ।

‘धेरैजना मानिसमाथि अनुसन्धान गरेपछि हामी करौडौंको कारोबार गर्नेसम्म पुगेका हौं,’ एसएसपी केसीले भने।

प्रहरीले सुरुमा अनुसन्धान गरेका ३४ जनाको ‘कनेक्सन’ कतै न कतैबाट दिनेशसँग ठोकिन पुगेको थियो। उनीहरुको नाममा अनलाइन जुवा खेलाउन प्रयोग हुने ‘आइडी’ समेत दिनेशले प्रयोग गर्ने गरेको देखियो।

त्यसपछि प्रहरीको अनुसन्धान घेरा ३४ जना बाट २३ जनामा साँघुरिएको थियो। त्यससँगै उनीहरुले विभिन्न बैंकमा खोलेका खातामाथि प्रहरीले अनुसन्धान गरिरहेको थियो।

२४ जनामाथि अनुसन्धान गर्दा प्रहरीले १० करोडको कारोबार गर्ने पिन्टु नाम गरेका व्यक्तिमा नजर गाड्यो। कैलालीको एक बैंकमा खाता खोलेर १० करोड रुपैयाँको कारोबार भएको भेटिएको थियो।

प्रहरीले कैलालीसम्म पुगेर पिन्टुको बारेमा अनुसन्धान गरे पनि उनी कतै फेला पर्न सकेनन्। फेरि अनुसन्धानको सुई दिनेशतिरै तेर्सियो।

त्यसपछि प्रहरीले रामविलास थारुको खोजी थाल्यो। उनको बैंक खातामा पनि ठूलै रकम कारोबार भएको देखिएको थियो।

प्रहरी राम विलासको पछि लाग्यो। तर उनी पनि भेटिएनन्। अन्ततः दिनेशमा नै आएर ठोकियो अनुसन्धान। अनुसन्धान गर्दै जाँदा दुवै खाताका असली मालिक त दिनेश नै रहेछन्।

‘अरुको कागजपत्र र नामबाट बैंक एकाउन्ट खोलेर आफैंले चलाएको देखिन्छ। हामी थप अनुसन्धान गरिरहेका छौं,’ एसएसपी केसीले भने।

त्यसो त दिनेश पहिलोपटक पक्राउ परेका भने होइनन्। २०७८ माघमा राजस्व अनुसन्धान विभागले उनको परिवारलाई नै नियन्त्रणमा लिएको थियो।

दिनेशको ग्लोबल आइएमई बैंकबाट ९ करोड ७९ लाखभन्दा बढी रकम कारोबार भएको देखिको थियो। त्यस्तै उनकी दिदी भगवती खड्काको एनआईसी एसिया बैंकमा रहेको खाताबाट २० करोड ४२ लाखको कारोबार भएको भेटिएको थियो। खड्काका बुबा नरबहादुरको ग्लोबल आइएमई बैंकबाट १ करोड ६४ लाख बराबरको कारोबार भएको देखिएको थियो।

प्रहरीले ‘वानएक्स-बेट’मा कलाकारमाथि पनि अनुसन्धान थालेको छ। बिहीवारमात्र प्रहरीले कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’लाई नियन्त्रणमा लिएको छ।

‘वानएक्स-बेट’मा विज्ञापन गरेको भन्दै प्रहरीले उनलाई सोधपुछ गरिरहेको छ। त्यस्तै, अन्य कलाकारमाथि पनि अनुसन्धान थालेको छ। प्रहरीले युट्युबरसहित आठ जना कलाकारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

यस्ता, केही ‘अनलाइन बेटिङ’ कम्पनीले कलाकारको अनुमति नलिई उनीहरुको नाम दुरुपयोगसमेत गरेको पाइएको छ।

जेलबाट छुटेको एक वर्षमै ६४ करोडको कारोबार ! तीस वर्षे दिनेशको क्रिप्टो र 'वान एक्स' कनेक्सन कथा

‘वानएक्स-बेट’ प्रकरणमा आधा दर्जन कलाकार प्रहरी नियन्त्रणमा : को-को पक्राउ परे?

‘वानएक्स-बेट’ प्रकरण : कलाकार ‘बल्छी धुर्बे’सहित ८ जना पक्राउ, विज्ञापन खेल्ने अन्य कलाकार पनि प्रहरीको निगरानीमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell