
काठमाडौं : ‘वानएक्स-बेट’ प्रकरणमा प्रहरीले कलाकारसहित एक दर्जन भन्दा बढी मानिसलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। सुरुमा पक्राउ परेका कैलालीका दिनेश खड्का, अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछानेको बयान थालिएको छ।
त्यस्तै, दोस्रो चरणमा प्रहरीले कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी, राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी), अलिस राई, जलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे, बेगम नेपाली (भटभटे माइला) माथि पनि थप अनुसन्धान गरिरहेको छ। पहिलो चरणमा समातिएकाहरुको बयान सकिए पछि उनीहरूको बयान हुनेछ।
'अहिले पहिले समातिएकाहरुको बयान सुरु भएको छ। त्यसपछि बाँकीको बयान थाल्ने छौं,' काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले भने।
बुधवार मात्र प्रहरीले सट्टेबाजी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। उनीहरूले ७४ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको खुलेको थियो। मुख्य अभियुक्त भनिएका दिनेश खड्काले मात्र ६४ करोड रुपैयाँको कारोबार गरेको खुलेको थियो। तर अहिले अनुसन्धान जारी रहँदा यो रकम अझै बढेर जाने देखिएको छ। घटनामा अरु मानिसको पनि संलग्नता खुलेको छ। थप प्रमाणसँगै मानिसको पहिचान भइसके पनि पक्राउ गर्न बाँकी रहेको प्रहरीको दाबी छ।
'अरूको पनि कनेक्सन देखिएको छ। हामी अनुसन्धानसँगै थप काम गरिरहेका छौं,' एसएसपी केसीले भने।
कलाकार र युटुबरको हकमा उनीहरूले सट्टेबाजी गरेको भन्दा पनि प्रोत्साहन गरेको देखिएको छ। विभिन्न विज्ञापन हालेर उनीहरूले सट्टेबाजीलाई 'प्रमोसन' गरेको भेटिएको हो। यसरी युट्युबमा विज्ञापन हाले बापत उनीहरूले कमिसनमा रकम लिने गरेको खुलेको छ। त्यसो त पक्राउ भएका बाहेक अन्य कलाकार, युटुबरहरुले पनि वानएक्स-बेटको विज्ञापन गरेको पाइएको छ। उनीहरूले यस घटना पछि यस्ता सामाग्री हटाएका छन्। तर पनि प्रहरीले उनीहरूको निगरानी भने गरिरहेको छ।
मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ मा सट्टाबाजी गर्न गराउन नहुने भनेर परिभाषित गरिएको छ।