- वेदबहादुर खड्का-
चितवन राष्ट्रिय निकुञ्जको सिमाना भएर बग्ने राप्ती र नारायणी नदीमा ब्याडको रुपमा २०६७ सालयता एउटैमात्र भाले घडियाल गोही थियो। भालेसँग संर्सग गर्न राप्तीका (चितवन) पोथी घडियालहरु ४०/५० किमीसम्म पौड्दै-पौड्दै तल नारायणीमा झर्दथे।
संसर्गको समय करिब ३ महिना (पौष-फाल्गुण महिना) जति भाले-पोथी सँगै बसी सकेपछि भनौँ भाले लागेपछि राप्तीका पोथी नारायणी नदीबाट फर्केर/पौड्दै/बाँकटा हान्दै राप्तीतर्फ उक्लन्थे। आ-आफ्नो राप्ती बगरको परिचित ठाउँमा गएर अण्डा पार्दथे र बच्चा कोरल्थे।
भाले घडियालको मृत्युले प्रजननमा पार्नसक्ने प्रभावको आँकलन
यस्तैमा भाले घडियाल गोहीको एकपटक घट्नाक्रमले अर्कै रुप लियो। २०७४ जेठको १० गतेका दिन नरायणणी नदीको अमलटारीघाटमा घडियाल गोहीको खोजी गर्ने क्रममा भाले घडियाल गोहीको शरीरमा माछा मार्ने माझी मलाहाको महाजाल बेरिएर नारायणी नदीमा बग्दै आएर पानीमा रहेको रुखको जरामा अल्झिएर बल्झिएर गोही मरेको अवस्थामा फेला परेको थियो। घडियाल गोहीको शरीरमा जाल अड्के पनि पानीमा राम्ररी हात खुट्टा र पुच्छर चलाउन पायो भने हतपति मरी हाल्दैन।
तर यो भालेको शरीरमा जाल बेरिएर पानीमा बग्दै-बग्दै पौडिएर तलतिर झर्दा रुखको जरामा जाल अल्झिन पुगेछ र शरीर हलचल गर्न नपाएर पानी खाएर घडियाल मरेको रहेछ। जाल बेरिएर मर्ने भन्ने हुँदैन तर लामो समयदेखि थुतुनोमा जाल बेरिएर आहारा शिकार(माछा) खान नपाए मर्छ।
भाले घडियाल आपूर्तिको चिन्ता
भालेको अभावमा अब राप्ती र नारायणीका पोथी घडियालले भालेबिनाको बतासे अण्डा पार्ने भए जसले चितवन निकुञ्जबाट घडियालको वंश रित्तिने भो भनेर चिन्ता बढ्यो। जसकारण त्यस दिनको साँझको खाना नखाई सुत्न पुगेछु। ओछ्यानमा पल्टेर विभिन्न कुराहरु मनमा खेल्न थालेकाले निन्द्रा परेन।
एक्लै राति बिछ्यौनामै म बेस्सरी रुन पुगेँ। संयोग भनौँ त्यसरात मलाई ज्वरो आयो। भोलिपल्ट बिहान म हिंड्न सक्ने अवस्थामा नभए पनि घडियाल प्रजनन् केन्द्रबाट कसरा कार्यालयमा गएर अब चितवनबाट घडियाल लोप हुने भए भनेर माथि उल्लेख गरे जस्तै गरेर सबै वृतान्त सुनाएँ।
गोही पक्रनको लागि पानीमा महाजाल हाल्दै।
त्यतिखेर चिफ वार्डेनको रुपमा डा रामचन्द्र कँडेल हुनुहुन्थ्यो। नदीमा भाले घडियालको अभावको छलफल हुँदा कहाँबाट ल्याएर भाले परिपूर्ति गर्ने भनेर सल्लाह मसँग माग्नु भयो र भारतबाट ल्याउन पाए नेपाल र भारतका घडियालको वंश मिश्रित हुँदा भविष्यमा झर्रा वंश शुद्धीकरणतर्फ उन्मुख हुने र खियाउटे ठिमाहा वंशको अन्त्य हुनसक्ने हुन्छ भन्ने सल्लाह थियो मेरो।
योभन्दा बेसी त उहाँ आफैँ जीव विज्ञ भएको नाताले धेरै कुरा थाहा छ भन्ने बुझाइ रह्यो मेरो। चिफ वार्डेनले भारतबाट घडियाल ल्याउन उहाँका देहरादुन पढ्दा खेरीका भारतका हितैषी मित्रहरुलाई तत्काल टेलिफोन गरिहाल्नुभयो। टेलिफोन संवादले आशाजनक भइयो र मेरो निन्याउरो अनुहारमा पनि खुसी छायो।
नेपालमा प्रजनन् भएका घडियाल अन्ततः भारतीय नदी तटमै जाने भएकाले नेपालकोमात्र नभई यो प्रजाति संरक्षणमा भारतलाई समेत सहयोग पुग्ने देखिन्छ भन्ने कोणबाट टेलिफोन संवाद भएको थियो। यसमा भारतीय अधिकारीरुको पनि विमति थिएन।
बबई भालेलाई नारायणीमा छोड्ने क्रममा डुङ्गामा राखी सुरक्षित स्थानमा लगिँदै।
सिमापार बैठकमा भारतले नेपाललाई भाले उपलब्ध गराउने विषयमा छलफल
२०७४ को कात्तिक मंसिरतिर पटनामा नेपाल र भारतको सिमाना आसपासका नदीबाट नेपाललाई भाले घडियाल उपलब्ध गराउने भन्ने निर्णय अन्तरदेशीय छलफलबाट पारित भयो तर यस निर्णयलाई टेकेर दुई देशीय उच्चस्तरको सरकारी निर्णय नभई नहुने रहेछ। यस्तो निर्णय पार गर्दा वर्षौँ लाग्ने देखियो।
यता भने भालेको अभावले प्राकृतिक अवस्था अर्थात् चितवन राष्ट्रिय निकुञ्जका नरायणी र राप्ती नदीका घडियालको प्रजनन् ठप्प नै प्रायः भई सक्ने निस्चितप्रायः भइसक्यो। हामीलाई अब के गर्ने भन्ने छटपटाहट भयो। बेलाबेलामा चिफ वार्डेनसँग मेरो भेट भयो कि यिनै कुरा खुनखुन/गुनगुन गरिहाल्थें।
जागिर खाएको नाताले भाले घडियालको जे-जसरी भए पनि व्यवस्थापन गर्न चिफ वार्डेनसँग गुनासो गर्नु मेरो कर्म थियो, धर्म थियो। राष्ट्रिय निकुञ्ज विभाग, बबरमहलले बर्दिया राष्ट्रिय निकुञ्जबाट भाले घडियाल ल्याउन भनी चितवन निकुञ्जलाई विभागीय अनुमति दिएअनुसार २०७४ पुसको शुरुवातीतिर चिफ वार्डेन डा कँडेल, मसमेत गोही समात्ने बन्दोबस्ती सामान सहितका सहयोगीसमेत साथमा लिई चितवनबाट बर्दियातर्फ लाग्यौं।
बबईमा क्याप्चर गरिएको र नारायणीमा छोडेको नक्सा।
भालेको खोजीमा बर्दियादेखि कतर्नियाघाटसम्म
घडियाल समात्ने/क्याप्चर टोलीले बर्दिया राष्ट्रिय निकुञ्जको बबई र कर्णाली नदीमा भाले घडियालको खोजी/सर्च/अनुगमन गर्दा बबईको परेवा ओडारमा २ वटा भाले फेला परे भने कर्णालीमा फेला नपरेपछि त्यतैबाट टोली कोठीयाघाट हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज सिमाना नजिक रहेको भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षतिर लाग्यौं। कतर्नियाले जलचर हेर्नका लागि पर्यटकीय गतिविधिका लागि सानो इन्जिन जडानको पनडुब्बी व्यवस्था गरेको रहेछ। त्यसैबाट कतर्नियामा घुमेर हेर्दा २ वटा भाले सहित १५-२० वटा घडियाल एकै ठाउँमा रहेको पाइयो। सोंस पनि देखियो।
यसको अलवा गैंडा प्रत्यक्ष नदेखे पनि नदी किनारको दलदलमा गैंडाको पाइला धसेको देखिएको थियो। त्यहाँ बेलाबेला बर्दिया राष्ट्रिय निकुञ्जबाट गैंडा आउने रहेछन् तर बुझ्दै जाँदा त्यहाँ देखिएका घडियाल पनि बर्दियाबाट जाने रहेछन्।
गर्मी जाडोको उतारचढाव र आहारको उपलब्धताअनुसार घडियाल, अन्य जलचरलगायत स्थलचर कहिले नेपाल कहिले भारत आउनेजाने गर्ने उनीहरुको निरन्तरता नै रहेछ। आउनुजानु तिनीहरुको अधिकार पनि हो।
२०७८ पौषमा नारायणीमा भेटिएको बबई भाले घडियाल, त्यसपछिका दिनमा सो भाले कहाँ छ निकुञ्ज आफै बेखबर छ।
यो तेरो, यो मेरो वन्यजन्तु होइन। यो अन्तराष्ट्रिय सम्पति हो, जहाँ भए पनि सुरक्षित बाँच्न पाउनु पर्यो भन्ने मान्यतामात्र हो। राजनैतिक हिसाबले नेपाल-भारत फरक देश भएपनि वन्यजन्तुको आँखाबाट हेर्दा एउटै भौगोलिक क्षेत्र भएकोले वन्यजन्तुले कहिले नेपाल र कहिले भारत माइतीमावली गर्नु कुनै नौलो होइन।
कतर्नियाघाटका जिम्मेवार भारतीय अधिकारीहरुसँग नेपाल भारतका घडियाल स्थान्तरण सम्बन्धी छलफल भयो। भाले गोही नेपाललाई दिन स्थानीय स्तरमा भारतीयहरु एकदम तमतयार देखिए तर राष्ट्रिय स्तरको कागजी प्रक्रिया पुगेपछि मात्र भन्ने भनाइ राखेकाले त्यस समय यो कार्य फत्ते हुने देखिएन। नदेखेपछि बर्दिया निकुञ्जमा टोली फर्की बबई नदीमा रहेको भाले घडियाल पक्रन सुरुवात गर्यो।
पक्रने प्रयास
नदीमा स्वतन्त्र रुपले विचरण गर्ने घडियाल पक्रने क्रिया नेपालको लागि नौलो थियो। रातमा समेत बबई पूलमुनि बर्दिया र चितवनका घडियाल हेरालु/क्याप्चर टोली प्रयोग गरी प्रयास गरियो। मान्छेको चहलपहल भएपछि डरले घडियाल गहिरो पानी भएको अप्ठयारो स्थान, रुखको जराको कापमा गएर लुक्थ्यो। यसरी लुकेको घडियाललाई गोताखोरको पाराले पानी भित्रबाट धपाएर घडियाल हिड्ने स्थानमा महाजाल बिच्छ्याइएको स्थानमा घडियाललाई फसाउनु पर्दथ्यो। यो काम डुङ्गाबाट लग्गी (डुङ्गा चलाउने लामो मोटो बाँसको लौरो)ले छोई-घोंची धपाएर निकाल्न पक्कै सजिलो थिएन र बेला-बेला कतिखेर घडियालको आक्रमणमा परिने डर त्यतिकै रहन्थ्यो।
यस्तै अवस्था गुर्जादै गर्दा ३ दिनमा भाले पक्रन सफल भइयो। पक्रेपश्चातः रातारात गरेर मिनी ट्रकमा राखी नारायाणी र राप्ती दोभान (गोलाघाट, चितवन) नजिक खोरिया मुहानस्थित नारायणीमा लगेर सकुशल छोडियो। ट्रकभित्र घडियालको अगाडि पछाडिका चारै खुट्टा बाँधी लोड गरिएको, जाडोबाट बचाउन ट्रकभित्र घडियाललाई परालले छेपिएको थियो।
हिउँद याममा घडियाल अनुगमन।
समा घडियालको अवस्था नजिकबाट बुझ्न घडियाल हेरालु/क्याचर टोलीलाईसँगै सुताइएको थियो। बबई भाले नारायणीमा छोडेपछिका दिनहरुमा नदीमा रहेका घडियालका सबै गुँडबाट बच्चाहरु पैदा भएका थिए र त्यसपछि त हामीबिच हर्षको सीमा नै रहेन।
घडियाल संरक्षणको प्राथमिकतामा कमी
बबई भाले २०७८ हिउँदसम्म नारायणी नदीमा रहेको मैले पत्ता लगाएको थिएँ। त्यसपछिका दिनहरुमा त्यो भाले वा अन्य भालेको खबर बेखबर नै रहेको देखिन्छ।
भेडी खर्कका गोठालाले चरिचरनमा गएका आफ्ना भेडा बथान खोजीनिती गरेजस्तै वर्षैपिच्छे नारायणी र राप्ती नदीहरुमा घडियालको खोजीनिती गर्न आवश्यक छ र समयमा घडियाल प्रजनन् कार्यक्रम फत्ते गर्न जरुरी छ। अग्रजले सफल देखाई सकेको कार्यक्रमलाई निकुञ्जमा कार्यरत पछिल्ला पिढींलाई गर्न केले छेकिरहेको छ कुन्नी?
यस भन्दा अगाडिका अग्रजले थप आर्थिक व्ययभार नपर्ने गरी महिनैपिच्छे बिनाबजेट पनि आफ्नै मेशको रासन चामल बोकेर गाँउले भेषभुषामा जाडो, गर्मी नभनी नदी चाहार्ने र बगरमा रात समेत बसेर गर्ने घडियालको खोजीनिती/अनुगमन गर्ने कार्य कसैबाट पनि छिपेको छैन। हालका दिनमा निकुञ्ज अधिकृतहरु/मालिक र घडियालकोबिच भेटघाट हुन छोडेको जस्तो देखिन्छ।
बरु उल्टो अधिकृतहरु/मालिक र घडियालको भेट नभएर घडियालको आहार (माछा) रित्याई दिने, घडियालले गुँड लगाउने र घाम ताप्ने बालुवाका ढिस्का उत्खनन् गर्ने जस्ता घडियालहरुका दुश्मनसँग मात्र घडियालको भेटघाट हुन थाल्यो। यसमा मेरो दुई दशक घडियालमा काम गर्दाको अनुभव प्रस्तुत गर्न मन लाग्यो : घडियालले अधिकृतहरु/मालिक कसरी चिन्छ भनेर।
वर्षा याममा घडियाल अनुगमन।
डियाल अनुगमनको क्रममा एकदिन साँझ नारायणी नदीको किनारमा वास बसेका थियौँ। त्यसै क्रममा खाना खाएर थाल नदी किनारमा धुन जाँदा घडियाल थाल धोएको आवाज सुनेर थाल धोएतिर आयो। शायद मालिक भनेर चिनेर आएको होला! हाल नदीमा यो स्तरको अनुगमन हुन छाड्यो। अनुगमनमा निस्के पो थाहा लाग्दछ मालिक र घडियालको सुमधुर सम्बन्ध।
यो एउटा माया जागेर भित्रै दिल आत्मादेखि आएर गरिएको कार्य थियो। तर माथि उल्लेख गरिएअनुसारको कार्यमा ओझेल पर्न थालेकोले आजकाल बिस्तारै घडियाल अनुगमन प्राथमिकतामा पर्न छोडेको हो की भन्ने भान हुन थालेको छ भन्ने कुरा समयले देखाउँदै जाला। बबई भाले चितवनमा कहाँ छ भनेर अतोपत्तो छैन, कमसेकम मरे बाँचेको त थाहा लागोस्।
नारायणीमा घडियाल अनुगमन
निरन्तर रुपमा वर्ष, भेल, जाडो गर्मी नभनी निकुञ्जका नदी चहार्ने र बगरमा रातसमेत बसी घडियाललगायतका अन्य जलचरको अनुगमन गर्ने गरिन्थ्यो र पो नारायणीमा भएको एउटा भाले गोही मरेको पत्ता लाग्यो। अहिले जस्तै गोहीको अनुगमनमा कानमा तेल हालेर बसेको भए मरे-बाँचेको के पत्ता लाग्दथ्यो? केको प्राकृतिक प्रजनन् हुन्थ्यो र?
प्राकृतिक अवस्थामा रहेका घडियालका पोथी बाँझै रहने सम्भावना रहन्थ्यो। भालेको अभावमा पोथी घडियाल भारत जान्थे होलान् तबसम्म संरक्षणका कदम चाल्न ढिला भइसकेको हुन्थ्यो होला।
नदी किनारमा गोही।
मेरो कार्यकालमा देश बाहिर पनि बेलाबेलामा भारतीय अधिकारीसँग नेपालबाट भारत छिरेका घडियालको चासो राखिन्थ्यो। चासो राख्दा कयौं पटक चितवनबाट छोडिएका घडियाल भारतको पश्चिम बङ्गालस्थित करिब एक हजार पाँच सय किमी टाढा महानन्द (नेपालमा मेची नदी भनिन्छ) नदीसमेतमा पुगेका घडियालको तथ्याङ्क त्यहाँका सम्बन्धित अधिकारीसँग समन्वय गरेर प्राप्त गरिन्थ्यो। तथ्याङ्क चुस्तदुरुस्त राख्ने काम भएकै थिए चाहे नेपालका भूमिमा रहेका गोही हुन, चाहे भारतीय भूमिमा हुन्।
डा कँडेलको वन्यजन्तु स्थान्तरणमा अग्रणी भूमिका
डा कँडेल वन्यजन्तु क्षेत्रका एउटा विशिष्ट, जोशिला, होनाहार र जागरिलो व्यक्तित्व हुनु हुन्छ र उहाँकै सक्रियतामा बबई भाले चितवनमा ल्याउन सफल भएका हौँ। पछिल्लो समयमा गोही कहाँ छ भनेर भन्न नसक्नु हाम्रो कमजोरी शिवाय अरु के हुन सक्छ र? तर डा कँडेल चिफ वार्डेन हुँदा कोशीबाट अर्ना र शुक्लाबाट बाह्रसिंगा चितवन ल्याइएका थिए।
ल्याउनेले ल्याइदियो पछिल्लो पिढींले के कति बचाउन सके, सकेनन्, त्यो त इतिहासले मूल्याङ्कन गर्दै जाने नै छ। २०७४ सालमा नारायणी नदीको बाढीले बगाएर भारत लगेका गैंडाहरुको पनि उचित अनुगमन र समन्वय नगरिएको भए उद्धार गरी नेपाल ल्याउन सफल हुने कुरै रहन्थेन होला।
अतः विगतमा गरिएका घडियाल अनुगमन कार्यहरु अहिले पनि त्यतिकै सान्दर्भिक छन् र गैंडाहरुको उद्धारमा अवलम्वन गरिएका समन्वय र अनुगमन कार्यको अनुशरण गरी घडियाल गोहीको संरक्षणमा योगदान नपुर्याए घडियालको भविष्य सुनिश्चित देखिदैन कि?
-लेखक चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत तथा घडियाल गोही विज्ञ हुन्।
यो पनि पढ्नुहोस् :