PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

काँग्रेसको निष्कर्ष : विरोध सभा सफल, सरकार असफल



पहिलोपोस्ट

काँग्रेसको निष्कर्ष : विरोध सभा सफल, सरकार असफल

काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सोमबार सरकारविरुद्ध देशभर प्रदर्शन गरेको छ। कोरोना भाइरसको नियन्त्रण र व्यवस्थापनमा केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको र भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ सरकार नै उन्मुख भएको भन्दै काँग्रेस सडकमा उत्रेको हो।

काठामडौँ उपत्यकासहित सातै प्रदेशका विभिन्न जिल्लामा काँग्रेसले शक्ति प्रदर्शन समेत गरेको हो। देशव्यापी भएको विरोध प्रदर्शनको नेतृत्व गर्न काँग्रेसका शीर्ष नेताहरू विभिन्न जिल्लामा पुगेका थिए।

सबै जिल्लामा प्रदर्शन सकिएपछि काँग्रेसले आफ्नो विरोध कार्यक्रम सफल भएको जनाएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति निकाल्दै प्रदर्शनबाट ओली नेतृत्वको कम्युनिस्ट सरकारको सर्वसत्तावादी प्रवृत्तिविरुद्ध जनमत प्रकट भएको बताएका छन्।

विरोध सभाबाट काँग्रेसलाई नवीन ऊर्जा हासिल भएको भन्दै आगामी दिनमा पार्टी थप सशक्त ढंगले अघि बढ्ने उद्घोष समेत गरेका छन्।

कसले के भने?

सभापति देउवाले आज हेटौँडामा विरोध सभालाई सम्बोधन गरेका थिए। उनले केपी ओलीको कम्युनिस्ट सरकारको रवैयाका कारण राजावादी तत्त्व सलबलाएको आरोप लगाउँदै आजित भएका जनताले पनि केही हुन्छ कि भनेर सोच्न थालेको बताए। कम्युनिस्ट सरकारले एकदलीय सर्वसत्तावाद लागू गर्न खोजेको भन्दै त्यसको विरोधमा सडकमा आएको उनको भनाई थियो।

‘ओलीलाई मैले कोरोनाको लडाइँमा पूरा साथ हुन्छ भनेको थिए। सांसदको तलब भत्ता पनि दियौँ। तर कोरोनामा पनि घुस खाने भ्रष्टाचार गर्ने काम गरे,’ देउवाले भने।

पढ्नुस्ः कमल थापाको गृहजिल्लामा देउवाको गर्जन : राजा फेरि फर्किने कुरो छैन, ओलीकै कारण ‘राजा आउ देश बचाउ’ भनेर कराउँदैछन्

यता नेपाल काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजधानीको शान्ति वाटिकामा आयोजित विरोध सभामा ओलीको विकल्प संसद्बाटै खोज्न नेपाल कम्युनिस्ट पार्टीलाई सुझाव दिएका थिए।

ओली सरकार प्रतिगमनमा लागेको भन्दै उनले नेकपा संसादहरुलाई भने, ‘प्रधानमन्त्री फेरे संसद्बाट फेर्नुस्। प्रतिगमनमा नलाग्नुस्।’

पौडेलले सम्बोधनको क्रममा तनहुँमा पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले आफूलाई पक्राउ गरेको घटना पनि सम्झेका थिए। आफूमाथि भएको आक्रमणबारे भने, 'राणाको पालामा रुख रोप्दा काँग्रेसको टाउको फुट्थ्यो। अहिले यो सरकारको पालामा पुल बन्दा करङ भाचिँदैछन्।'

पढ्नुस्ः सरकारको दिमाग नभएको भन्दै रत्नपार्कमा मुमुर्रिए रामचन्द्र पौडेल : राजावादीलाई प्रश्न, 'तिमीहरुले कस्तो राजा ल्याउन खोजेको?'

उपसभापति विमलेन्द्र निधिले भने भक्तपुरमा भएको विरोध सभाको नेतृत्व गरेका थिए। निधिले देशमा भएका समस्याको समाधान संसद्बाटै खोज्नुपर्ने भन्दै तत्काल संसद् बैठक बोलाउन माग गरेका थिए।

पढ्नुस्ः भक्तपुरमा नेपाली काँग्रेसको शक्ति प्रदर्शन

कैलालीको धनगढीमा आयोजित विरोध सभालाई गगन थापाले सम्बोधन गरेका थिए। इतिहासकै भ्रष्ट सरकारलाई ठेगानमा ल्याउन काँग्रेस सडक र सदनबाट लड्ने भन्दै थापाले मुखले भ्रष्टाचार गर्दिनँ, सहन्न भन्ने सरकार आफैँ वाइडबडी, सेक्युरिटी प्रेस, बालुवाटारको जग्गा खर्लप्पै खाएको आरोप लगाए।

पढ्नुस्ः बरालिएको सरकारलाई ठेगानमा ल्याउन कांग्रेस सडकमा : गगन थापा

यता, मोरङमा आयोजित विरोध सभामा नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले सरकार जनताका चाहना र आवश्यकता अनुसार नचलेको बताए। सरकार कोभिड–१९ नियन्त्रण गर्न असफल भएको र कोरोनाबाट नागरिकलाई जोगाउन खासै काम नगरेको उनको आरोप थियो।

जनकपुर पुगेका पूर्व महामन्त्री प्रकाशमान सिंहले भने वर्तमान सरकारले राज्यको ढुकुटी कार्यकर्ता तथा समर्थकमा बाँडेको आरोप लगाएका थिए। काँग्रेसले आउने दिनमा थप संघर्षका कार्यक्रम गर्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell