उनको वेबसाइटमा उल्लेख भएको जीवनीलाई आधार मान्ने हो भने नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्ड २०५१ बाट पार्टीको सर्वोच्च पदमा रहे।
त्यतिबेला नेकपा (माओवादी)मा महामन्त्री रहेका उनले २०५२ बाट युद्धको नेतृत्व लिए। २०५७ दोस्रो राष्ट्रिय सम्मेलनबाट त नेकपा माओवादीको अध्यक्ष नै बने। त्यसअघिसम्म डा बाबुराम भट्टराईसँग नेतृत्वमा सहकार्य गरेका प्रचण्डले त्यसपछि भने नेतृत्वमा कसैलाई अघि बढ्न दिएनन्।
प्रचण्ड उही लयमा पार्टी चलाउन लागि परे। त्यसपछि माओवादीमा जुटफुट भइरह्यो। नाम हेरफेर पनि। त्यसमा पनि प्रचण्डकै नेतृत्व कायम भयो। प्रचण्डको लय समाउन नसकेकाहरु भकाभक साइड लागे।
२०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित उनी २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पनि पुनःअध्यक्ष पदमा निर्वाचित भए।
सामान्यतय हामीले शाही ठेकेदार, पार्टीहरु सत्ता र शक्तिको खेलका लागि जुटफुटमा पुगेको देखिरहेकै हो। तर, त्योभन्दा बढी पटक कम्युनिस्ट पार्टीको जुटफुट चलेको छ - शक्तिका लागि। अनि सत्ताका लागि पनि। प्रचण्डबाहेक अरुले जुटफुटको अभ्यासपछि सत्ताको स्वाद चाख्न पाएका छैनन्।
मोहनविक्रम सिंहले कहिल्यै सत्ता रुचाएनन्। मोहन वैद्य निर्वाचन बहिस्कार गरेरै बसे। नेत्रविक्रम चन्द विप्लव सत्ताको विद्रोहमा छ। गोपाल किराती आफू सच्चा माओवादी भएको भन्दै झोला भिर्दै हिँडेका छन्।
अन्तिम समयसम्म साथ दिएका बाबुराम अहिले समाजवादी पार्टीका संघीय अध्यक्ष छन्। कुनै बेला माओवादीका नेता पोस्टबहादुर बोगटीले प्रचण्ड र बाबुरामलाई हात्तीको संज्ञा दिएका थिए।
बोगाटीको भनाई पत्रकार नेत्र पन्थीको किताब डिभोर्समा पनि पढ्न पाइन्छ। जहाँ बोगटीले भनेका छन्, 'उहाँहरु दुईवटा हात्तीजस्तो हो। हात्ती जुध्दा पनि तोरीबारी ध्वस्त हुने। मिल्दा पनि उहाँहरुले अरु कसैलाई मान्नुहुन्न। हामी कसैलाई टेर्नुहुन्न। जुध्दा पनि हामी नै ध्वस्त हुन्छौं।' बोगटीको २०७१ भदौ ३० मा निधन भयो।
त्यही सालको मंसिरतिर प्रचण्डले बाबुरामलाई अध्यक्ष बनाउने भन्दै लोभ्याए। प्रचण्डले तय गरेको २५ बुँदे प्रस्तावमा नेतृत्व हस्तान्तरणको कुरा थियो। २०७२ को माघ अन्त्यमा आठौं महाधिवेशन आयोजना हुने कुरा भयो। तर, त्यो कुरा त्यसै थाँती बस्यो। त्यसपछि प्रचण्डमाथि शंका बढ्न थाल्यो र बाबुरामले पत्रकार सम्मेलन गरी असोज ९, २०७१ मा पार्टी छाडे। संविधान जारी भएपछि उनले संसद पदबाट समेत राजीनामा दिए। बाबुरामले एमाओवादी छाडेपछि बोगटीले भनेजस्तै माओवादी ध्वस्त भयो। पन्थीले किताबमा लेखेका छन् - 'बारी भासियो, तोरी नासियो। भयो त्यस्तै।'
हुन त प्रचण्डलाई लाग्ला यी सबै आफैले हुर्काएका हुन्। त्यही हुर्काएकाहरुले गुँड छोडेपछि रित्तो गुँड रुँग्ने कुरा पनि भएन। त्यसैले उनले माओवादी नामको गुँड छाडिदए ३ जेठ २०७५ मा।
ठूला कम्युनिस्ट पार्टीहरुको मेलको नाममा प्रचण्ड नेकपा एमालेको गुँडमा सरे। उनलाई भनिएको थियो- 'बैठकमा आलोपालो अध्यक्षता। सरकारको नेतृत्वमा आलोपालो।'
तर, सोचेजस्तो र भनेजस्तो कहाँ हुने रहेछ र? २० वर्षभन्दा बढी लगातार पार्टीको कार्यकारी शक्तिमा रहेका प्रचण्ड अहिले पार्टीमा झन्डै भूमिकाबिहीन अध्यक्षको रुपमा देखिएका छन्। भनौ- उनी पूर्व एमालेको पेलाइमा परे।
अध्यक्ष भएको झन्डै १७ महिनाको अवधिमा प्रचण्डले जम्माजम्मी एकपटक सचिवालयको बैठकको अध्यक्षता गर्ने मौका पाए। त्यो पनि प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गर्न गएका बेला। गत भदौ ९ गते बसेको उक्त बैठकमा प्रचण्डले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिए। हुन त, अध्यक्ष ओलीले प्रचण्डलाई यो अधिकार नदिएको बताइएको छ।
र, सायद प्रचण्डले कार्यकारी अधिकार नपाएको झोकमा निर्णय हानिदिएका हुन सक्छन्। यही कारणले पनि ओली पक्ष प्रचण्डदेखि झस्किएको बताइन्छ। त्यसैबेलाबाट प्रचण्ड पार्टीमा झनै साइड लागेका छन्।
भन्नलाई त प्रचण्ड नेपाली राजनीतिको 'किङमेकर' भनिएको छ। तर, पछिल्लो छटपटाहाटले उनलाई किङमेकरको उपाधि लगाइहाल्दिने अवस्था पनि छैन। केही समयअघि प्रचण्डलाई नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी दिने विषयमा छलफल पनि भएको थियो। तर, अहिले यो विषय सामसुम छ।
असोजको अन्तिम सातादेखि कात्तिक पहिलो सातातिर प्रचण्ड प्रधानमन्त्री एवं अर्का अध्यक्षमाथि आक्रमक रुपमा प्रस्तुत हुन थालेका थिए कार्यक्रमहरुमा।
बेलाबेला उनले आन्दोलन गर्ने विषयदेखि राजनीतिले कसरी कोल्टे फेर्छ हेर्दै जाउँ... सम्म भन्न भ्याएका थिए। घुर्की लगाइरहेका प्रचण्डको बोली अचेल त्यति उत्ताउला छैन।
सत्ता र शक्तिको 'सिन' अलि धमिलो हुँदै गएकाले होला वा अथवा पर्ख र हेरको सिद्धान्त अपनाएर हो - प्रचण्ड अहिले खुम्चिएका छन्।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था, प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुको हेरफेर, सीमा विवादले सत्ताको सिन प्रचण्डले चाहेजस्तो भइदिएको छैन। यता मन्त्रिपरिषद्को हेरफेरको चर्चाले पनि प्रचण्डले चाहेजस्तो सिन निर्माण हुन सकेको छैन।
आइतबारमात्र प्रधानमन्त्री ओलीले आफ्नो भ्रातृ संगठन युवा संघको कार्यक्रममा नेतृत्वमा आउन चाहनेहरुतर्फ इंगित गर्दै हतार नगर्न आग्रह गरे। कार्यक्रममा उनले पालो आउँछ, आत्तिनु हुन्न भन्ने आशयको भनाई राखेका थिए। कार्यकारी नेतृत्वमा आउन चाहने प्रचण्ड नै देखिएका छन्। सायद, यो तीर प्रचण्डलाई नै ताकेका होलान्।
राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै आलीले भनेका थिए, 'नेतृत्वका लागि महत्वाकांक्षी नबन्नुस्। हामीले १०० वर्ष त नेतृत्व गर्दैनौं नि। ढुक्क हुनुस्। पालो आउँछ। हामी विस्तारै नेतृत्व छाड्दै जाने समयमा छौं।' कार्यक्रममा थपेका थिए, ' मलाई प्रधानमन्त्री बनुँला भन्ने थिएन। पार्टी अध्यक्ष बन्छु भन्ने पनि थिएन।'
२० वर्षभन्दा बढी कार्यकारी शक्तिमा रहेको शक्तिशाली पार्टीको अध्यक्षता गरिरहेको बानी परेका प्रचण्डलाई यो अवधि कति चस्कापूर्ण भयो होला? यो बह कसलाई पोख्ने?
शहरमा एउटा गीत ट्रेन्डिङमा छ
कल्लाई थाह छैन हो। कल्लाई थाह छैन
मुख खोलेर भन्न पो भा'छैन। तर कल्लाई थाहा छैन?
संयोग भनौं गीत प्रचण्डकी नातिनी स्मिता दाहालले गाएकी रहिछिन्। प्रचण्ड अचेल यही गीत गुन्गुनाउँछन् होला। नातिनी स्मिता आफ्नो गीत हजुरबाले गुन्गुनाउँदा कति मख्ख पर्दिहुन्?