काठमाडौं : नेपालमा राजनीतिक पूर्वाग्रह राखेर हत्या तथा मानवअधिकार उल्लंघनका घटना बढेको संयुक्त राज्य अमेरिकाले आरोप लगाएको छ। २०१९ को मानवअधिकार अभ्यास प्रतिवेदनमा अमेरिकाले यस्तो आरोप लगाएको हो। प्रतिवेदन मार्च ११ मा अमेरिकी विदेश मन्त्री माइक पम्पेओले सार्वजनिक गरेका हुन्।
नेपालमा २०७४ मा सम्पन्न निर्वाचनमा निर्वाचन आयोगले अपारदर्शी काम गरेको आक्षेप लगाइएको छ। त्यतिमात्र नभइ नेपालमा गैरन्यायिक हत्या, कानुन भन्दा माथि उठेर हत्या, यातना तथा पक्राउका घटना बढेको प्रतिवेदनमा उल्लेख छ। यसमा सरकार प्रत्यक्ष संलग्न रहेको किटानीसमेत छ।
त्यस्तै, प्रतिवेदनमा वेवसाइटहरु बन्द गर्नु, गालिबेइज्जती कानुन, शान्तिपूर्ण ढंगबाट सभासम्मेलन गर्न पाउने अधिकारको कटौती, गैरसरकारी संस्थामाथिको बन्देज, तिब्बती शरणार्थीहरुको गतिविधिमा बन्देज, भ्रष्टाचारका घटना वृद्धि लगायतका घटनालाई मानव अधिकार उल्लंघनका उदाहरणका रुपमा प्रस्तुत गरिएको छ।
यस्ता घटनामा सरकारले अनुसन्धान गरे पनि पारदर्शी नभएको तथा संलग्न अधिकारीलाई कानुन उल्लंघनका घटनामा जिम्मेवार नठहर्याइएको प्रतिवेदनमा उल्लेख छ।
'पछिल्ला वर्षमा प्रदर्शनमा अधिक शक्ति प्रयोग गर्ने सुरक्षा अधिकारीहरुलाई न त जवाफदेही बनाइएको छ न त द्वन्द्वका समयमा मानवअधिकार उल्लंघन गर्नेलाई नै,' प्रतिवेदनमा भनिएको छ।
कुमार पौडेलको गैरन्यायिक हत्या
अमेरिकी प्रतिवेदनमा गैरकानुनी तथा राजनीतिक स्वार्थ केन्द्रित हत्या उप शीर्षकमा कुमार पौडेलको हत्या गरिएको उल्लेख छ।
'यसबीच सरकार वा यसका एजेन्टहरुबाट गैरन्यायिक तथा गैरकानुनी हत्यामा संलग्न भएका घटनाहरु रिपोर्ट भएका छन्,' प्रतिवेदनमा अगाडि भनिएको छ, 'जुन २० मा प्रहरीले सर्लाहीमा माओवादीबाट अलग भएको विप्लव नेतृत्वको पार्टीका स्थानीय नेता कुमार पौडेलको हत्या गरेको छ।'
प्रहरीले 'जवाफी कारवाही' भने पनि राष्ट्रिय मानव अधिकार आयोग, एड्भोकेसी फोरमलगायतका संघ संस्थाले इन्काउन्टर नाटकीय भएको बताइरहँदा सेप्टेम्बरसम्म कुनै पनि अधिकारीहरुलाई कारवाहीको दायरामा नल्याइएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, प्रतिवेदनमा प्रहरी इन्काउन्टरमा भक्तपुरमा मारिएका ११ वर्षीय निशान खड्कालाई अपहरण गर्ने दुई जनाको हत्याको घटना पनि टुंगो नलागेको समावेश छ। कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा १३ वर्षीय बालकको मृत्यु तथा २४ जना घाइते भएको घटनामा संलग्नलाई कारवाही नभएको पनि प्रतिवेदनमा समावेश छ।
त्यस्तै, निर्मला पन्तलाई बलत्कार तथा हत्या गर्ने कुनै पनि अभियुक्त प्रहरीको नियन्त्रणमा समेत नरहेको प्रतिवेदनमा उल्लेख छ।
सिके राउत समर्थक राममनोहर यादवको प्रहरी हिरासतमा यातना दिएर हत्या भएको भन्दै उक्त घटनामा पनि प्रहरी अधिकारीहरुलाई कारवाही नभएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, लाल आयोगको प्रतिवेदन सार्वजनिक समेत नभएको आरोप लगाइएको छ।
'सन् २०१५ मा संविधान निर्माणपछि भएको आन्दोलन दबाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीले व्यापक दमन गर्यो। छानविनका लागि उच्चस्तरीय आयोग गठन भयो। आयोगमा सन् २०१७ मा ३ हजार बढी उजुरी परे,' प्रतिवेदनमा अगाडि भनिएको छ, '२०१५ मा ९ प्रहरी अधिकारीसहित ४५ जनाको मृत्यु भयो। आयोगले आफ्नो प्रतिवेदन तयार पारेर बुझायो। तर, सरकारले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन।'
सरकारले संविधान जारी भएपछि भएको आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिषचन्द्र लालको नेतृत्वमा छानविन समिति गठन गरेको थियो। समितिको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन। पटकपटक राजपाले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद पनि अवरुद्ध पारिसकेको छ।
त्यस्तै, प्रतिवेदनमा त्यस अवधिमा वेपत्ता पारिएका घटना नभए पनि द्वन्द्वकालमा वेपत्ता पारिएका नागरिकहरुको अवस्था सार्वजनिक हुन नसकेको उल्लेख छ।
नेपालमा पछिल्लो समय गैरन्यायिक पक्राउका घटना बढेको उल्लेख गरेको छ। यसबीच २ सय ४७ वटा गैरन्यायिक पक्राउका घटना भएको उल्लेख छ। विप्लवका कार्यकर्तामाथि प्रहरीले पक्राउ पूर्जीबिना सुरक्षा चुनौतीको नाममा पक्राउ गरिएको बताइएको छ।
यसरी पक्राउ परेकालाई गैरकानुनी थुनामा राखिएको बताइएको छ। सरकारले सन् २०१८ मा १४ प्रतिशत पक्राउ गरिएका व्यक्तिलाई २४ घटनाभित्र न्यायिक अधिकारी समक्ष उपस्थित नगराइ थुनामा राखेको उल्लेख छ। त्यस्तै, यो संख्या २०१५ मा ४१ प्रतिशत रहेको उल्लेख छ।
कुमार पौडेलको फेक इन्काउन्टर सम्बन्धि पहिलोपोस्टको कभरेज:
प्रहरीको विवादित 'इन्काउन्टर'मा मारिएका कुमार पौडेल आखिर को हुन्?
प्रहरीको फेक इन्काउन्टरमा मारिएका कुमार पौडेल को हुन्? यस्तो छ घटनाको इतिवृत्त
कुमार पौडेल मृत्युको मुचुल्कामा सही गरेका वडा अध्यक्षको यु टर्न, भने : दोहोरो भिडन्त भएकै थिएन
सुकुम्बासीका हिरो तर सरकारको भिलेन : कुमार पौडेलसँग जोडिएको सागरनाथ कनेक्सन
असार ५ गतेको ती दुई कल: सञ्चै छु भनेको ४ घन्टामा मृत्युको सन्देश