PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

'एसईई नहुने भएछ, भर्चुअल कक्षा लिई-लिई तयारी गरेको त फोगटै भयो, नम्बर चाँहि कसरी दिने हुन् कुन्नि!'



फूलमाया पुरी

'एसईई नहुने भएछ, भर्चुअल कक्षा लिई-लिई तयारी गरेको त फोगटै भयो, नम्बर चाँहि कसरी दिने हुन् कुन्नि!'
शीतल बरुवाल भर्चुअल कक्षा लिँदै। फाइल फोटो : सिन्ह्वा

बुधवार एसईई परीक्षा नगर्ने निर्णय सरकारले सार्वजनिक गर्‍यो। अब एसईईको परीक्षा दिने तयारीमा बसेका विद्यार्थीले आन्तरिक मूल्याकंनका आधारमा प्रमाणपत्र पाइने प्रावधान सरकारले बनाउने भएको छ।

मन्त्रिपरिषद्को बुधवारको निर्णयपछि कोही सरकारले विद्यार्थीलाई अन्याय गरेको बताउँछन् त कोही यसले विद्यार्थीहरु ठूलो मानसिक तनावबाट मुक्त गराएको बताउँछन्।

यद्यपि, परीक्षाफल कस्तो आउने हो? कहिले आउने हो? यस विषयमा कौतुहलता भने यथावत छ।

चैत ६ गतेबाट हुन तय भएको एसईई परीक्षा ५ गते साँझ स्थगित भएको थियो। चैत ११ गते देखि सरकारले देशभर लकडाउन घोषणा गर्‍यो। आठौं चरणको लकडाउन जारी छ अहिले।

त्यसबीचमा विज्ञहरुले एसईई परीक्षा गराउन आवश्यक नभएको सुझाव सरकारलाई नदिएका होइनन्। तर सरकार भने परीक्षा गराउने भन्ने अडानमै रहेको थियो। र  बारम्बार विद्यार्थीहरुलाई परीक्षाको तयारी गरिरहन भन्यो। जसका लागि भर्चुअल कक्षा सञ्चालन गर्नसम्म भ्यायो।

तर अहिले सरकार आफ्नै अडानबाट पछि हटेको छ। कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार नजिक पुग्दामात्र परीक्षा गराउन नसकिने निर्णयमा पुगेको हो सरकार।

त्यसैले आन्तरिक मूल्याकंनका आधारमा एसईईको नतिजा निकालिने निर्णय समय सापेक्ष भएको दावी गर्छन् नेपाल शिक्षक महासंघ अध्यक्ष बाबुराम थापा।

थापाका अनुसार विद्यार्थीको मूल्याकंनको मुख्य थलो हो विद्यालय। जुन त्यहाँका प्रधानाध्यापक र शिक्षकहरुले विभिन्न टुलहरु प्रयोग गरी मूल्याकंन गर्दछन्। सोही मूल्याकंनलाई मान्यता दिनु स्वाभाविक भएको उनको तर्क छ।

त्यस्तै विद्यालयले पहिलेदेखि नै विद्यार्थीको आन्तरिक मूल्याकंन गर्दै तयारी अवस्थामा छ। र त्यसैलाई परीक्षा बोर्डमा पठाइने छ। तर, यसलाई कार्यान्वयन गर्न भने ऐन संशोधन गर्नुपर्ने उनको भनाइ छ। ‘ऐन संशोधन नभइ यसलाई कार्यान्वयन गर्न मिल्दैन’ उनले भने ‘त्यसैले सबैभन्दा पहिला ऐन संशोधन कार्य अगाडि बढ्नुपर्छ’।

‘हामीले त बैशाख ५ गते नै एक विज्ञप्ती जारी गर्दै सरकारलाई यस किसिमको निर्णय गर्न आग्रह गरेका थियौं’ उनले भने ‘ढिलै भए पनि सरकारले यसलाई अबलम्बन गरेकोमा हामी यस निर्णयको पक्षमा छौं।’

त्यसैगरी निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)कै सुझावलाई  सरकारले सहर्ष स्वीकारेको तर्क गर्छन् प्याबस्नका अध्यक्ष टिकाराम पुरी। मुल्याकंन के कसरी गर्नेबारे शिक्षा मन्त्रालय र परीक्षा नियन्त्रण कार्यलयमा यस विषयमा थप छलफल हुने उनले बताए।

‘हामीले गरेको आग्रह र सुझाव नै अहिले सरकारको निर्णय हो’ पुरीले भने ‘तर मुल्याकंन गर्न कुनै निश्चित मापदण्ड बनाउन आवश्यक छ’।

पुरीका अनुसार विद्यालयले लिएको परीक्षालाई आधार मानेर मुल्याकंन हुनेछ। तर त्यसमा विभिन्न किसिमका दबाव सिर्जना हुन दिनु हुँदैन। र विद्यार्थीको वास्तविक प्रस्तुतिकालाई ध्यान दिनुपर्छ।

‘कोही आफन्त त या नजिकको भन्ने भावनाले कुनै प्रभावमा परेर मुल्याकंन गरिनु हुँदैन,’ उनले भने अविश्वनीय काम गर्न हुँदैन। यदि निश्पक्ष मूल्याकंन नभए मुल्याकंनकर्तालाई ‘इतिहासले सराप्ने’ उनको भनाइ छ।

त्यसो त हतारमा निर्णय गर्ने बानी परेको सरकारले विद्यार्थीलाई अन्याय गरेको बताउँछन् नेसनल प्याब्सनका अध्यक्ष रितुराज सापकोटा। परीक्षा नै रोक्न नहुने अवस्थामा अन्तिम समयमा निर्णय गरेर परीक्षा स्थगित भएको र त्यसपछि कुनैपनि हालतमा परीक्षा हुन्छ भन्दै सरकारले विद्यार्थीमा लामो समय दुविधा सिर्जना गरेको उनको आरोप छ।

त्यस्तै कक्षा ११ को पढाइको विषयमै नसोची एसईईको नतिजाको विषयमा गरिएको निर्णय अपरिपक्क ‘हतारोको निर्णय’ भएको उनको तर्क छ।

‘कक्षा ११ को पढाइको विषयमा ठोस निर्णय नगरेकाले एसईई नतिजाको औचित्य नै पुरा भएन’ उनले भने ‘त्यसैले आन्तरिक र बाह्य भन्ने कुराको कुनै अर्थ नै छैन’।

गणेशमान सिंह अध्ययन प्रतिष्ठान अध्यक्ष नविन्द्रराज जोशीका अनुसार कक्षा १० मा भएका आन्तरिक परीक्षा र विद्यालयमा विद्यार्थीको प्रस्तुति र उसका क्रियाकलापका आधारमा मुल्याकंन गर्न सकिनेछ। 

‘मूल्याकंन गर्दा कुनै पनि पूर्वाग्रह नराखी निष्पक्ष रुपमा गरिनुपर्छ’ जोशी भन्छन् ‘अहिलेको अवस्थामा शिक्षकले गरेको निर्णयमा विद्यार्थीको भविष्य जोडिएको छ।’

सरकारको यस निर्णयले एसईईका विद्यार्थीहरु ठूलो मानसिक तनावबाट मुक्त रहेको उनले बताए। त्यसैले हरेक विद्यालयका शिक्षकले विद्यार्थीको क्षमताको उचित मुल्याकंन गर्न उनको आग्रह छ।

‘हामीले त पहिले नै सुझाव दिएको हो, किन पो परीक्षा गर्छु भन्दै सरकारले जिद्दीपना देखाएको होला’? जोशीले प्रश्न गर्दै भने। अहिलेको परिस्थितिमा सरकारले गर्नै पर्ने निर्णय गरेको जोशीको भनाइ छ।

नम्बर कसरी दिने हुन् कुन्नि?

कक्षा १० मा विद्यालयले लिएको अन्तिम परीक्षा आन्तरिक परीक्षाका आधारमा गरिएको मूल्याकंनले कक्षा ११ को पढाइ खुल्ने अनुमान छ मोरङ मिक्लाजुङ गाउँपालिकास्थित भगवती माविका प्रधानाध्यापक प्रेमप्रकाश कोइराला।

‘हामीले पठाएका नम्बरकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशन गर्न सक्छ’ उनले भने ‘त्यसैका आधारमा प्रमाणपत्र दिने र कक्षा ११ मा पढ्न बाटो खुलाउने होला।’

कोइरालका अनुसार विद्यालयले आफ्नै किसिमले ‘एसईई अभ्यास परीक्षा’ चलाएको थियो। नतिजा पनि सार्वजनिक पनि गरेको थियो। त्यसैका आधार सम्बन्धित निकायमा विद्यार्थीले प्राप्त नम्बर पठाउनुपर्ने छ। तर, विद्यालयले निकालेका नतिजा कहाँ पठाउने भन्नेबारे स्पष्ट सूचना आइसकेको छैन।

‘हामीसँग विद्यार्थीको विवरण र उसले प्राप्त गरेको नतिजा छदैँछ’ प्राधानाध्यापक कोइराला भन्छन्। त्यसलाई गाउँपालिका शिक्षा समन्वय वा राष्ट्रिय परीक्षा बोर्डलाई पठाउनेबारे स्पष्ट नभएको उनले बताए।

सरकारको यस निर्णयले भने अन्यौलता थपेको बताउँछिन् काठमाडौंस्थित अंकु विद्याआश्रमकी छात्रा प्रियकां शर्मा।

परीक्षा स्थगित भएको केहीदिनमै लकडाउन भएपनि परीक्षाको तयारी गरिरहेको उनले बताइन्।  तर, अहिले आएर सरकारले गरेको यस निर्णयमा भने दुख लागेको उनको भनाइ छ। ‘आन्तरिक मूल्याकंन हुन्छ रे भन्ने सुनेको, कति नम्बर दिने हो भन्ने अब स्कूलको हातमा छ’ उनले भनिन् ‘परीक्षामा लेख्न पाएको भए त राम्रो हुने थियो, त्यसैले सोचेजस्तो रिजल्ट नआउलाकी भन्ने डर छ।’

त्यस्तै साथीले भनेपछि मात्र एसईई परीक्षा नहुने जानकारी पाएको बताउँछन् मिक्लाजुङ वडा नम्बर ९ का मन्दिप तिखत्री। ‘एसईई रोकिएको मात्रै थाहा छ’ उनले भने ‘खै के कसरी नम्बर दिने हुन्?’

सम्बन्धित समाचार

भर्चुअल कक्षा पढाउँदा शिक्षकलाई अनौठो अनुभव, 'क्यामेरामेनलाई विद्यार्थी मानेर पढाउँछौँ'
भर्चुअल भादगाउँ : टेलिभिजनबाट यसरी हुँदैछ एसईईको तयारी
एसईईको हाउगुजी कायम राख्नुहुन्न, अब सधैँका लागि अन्त्य गर्नुपर्छ : नवीन्द्रराज जोशी [अन्तर्वार्ता]
एसईईबारे मनोमानी धारणाले अन्योलमा विद्यार्थी : प्याव्सन एकातिर एनप्याव्सन अर्कातिर, परीक्षा बोर्ड भन्छ 'कानुन अनुसार हुन्छ'
एसईई, ११ र १२ कक्षाको स्थगित परीक्षा कहिले, कहाँ र कसरी सञ्चालन गर्ने भन्ने निर्णय गर्दैछौं : शिक्षा मन्त्री



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell