PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

निर्मला पन्त हत्याको दुई वर्ष : दुई प्रहरी प्रमुख फेरिए, छैन न्यायको नामोनिसान



सविन ढकाल

निर्मला पन्त हत्याको दुई वर्ष : दुई प्रहरी प्रमुख फेरिए, छैन न्यायको नामोनिसान

काठमाडौं : गत माघ २८ गते सरकारले डीआइजी ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आइजीपी) बनाउने निर्णय गर्‍यो। उनी पाँच महिनाका लागि आइजीपी बन्दै थिए। धेरैले ज्ञवालीको पृष्ठभूमिका आधारमा केही महत्वपूर्ण सफलता हासिल हुने अपेक्षा पनि गरे। विगतका उनको कृयाकलापले पनि आशा राख्नु स्वभाविक नै थियो।

सबैभन्दा धेरै आशा उनीमाथि एउटा 'अनसल्भ' केसमा थियो - निर्मला हत्या प्रकरण। ढेड वर्षदेखि गिजोलिएको निर्मला प्रकरणको निचोड देलान् भन्ने थियो, धेरैलाई। त्यसका पछाडि एउटा विशेष कारण थियो - निर्मला पन्तको बलात्कारपछि हत्या भयो, त्यसको अनुसन्धान गर्न उनी आफैं खटिएका थिए।

२०७५ भदौ १६ गते केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) बाट ज्ञवालीसहित डीएसपी कमल थापा कञ्चनपुर पुगेका थिए। निर्मला प्रकरणमा अभियुक्त भनिएका दिलिप सिंह विष्टलाई भेटेर घटनाक्रमको जानकारी समेत लिएका थिए उनले। विष्ट तिनै व्यक्ति थिए जसलाई प्रहरीले निर्मलाको हत्यामा संलग्न अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो।

घटनामा विष्टको संलग्नता भएको ढुक्क भएर तत्कालीन एसएसपी ज्ञवाली काठमाडौं फर्किएका थिए। तर, विष्टको डीएनए नमिलेपछि उनी मौन नै रहे। त्यसपछि निर्मला प्रकरणका घटनाक्रमले धेरै मोड लियो। दर्जन भन्दा बढी अनुसन्धान टोली कञ्चनपुर पुग्यो। जति टोली खटिए पनि सुरुमै केन्द्रीय अनुसन्धान ब्यूरोबाट डीएसपी अंगुर जिसीले गरेको अनुसन्धानभन्दा बढी प्रमाण र व्यक्ति पहिचान कसैले पनि गर्न सकेनन्।

ज्ञवालीले आफैँले हेरेको केस अब आइजी हुँदा टुङ्ग्याउलान् भन्ने थियो। तर, त्यसो भएन। पाँच महिनाको कार्यकालमा उनले निर्मला हत्या प्रकरणको 'बिजनेस' नै अगाडि बढाएनन्। प्रहरीभित्रको बढुवाका विषयमै उनको सुरुको कार्यकाल अलमलियो। त्यसपछि कोरोना भाइरसको संक्रमण अनि लकडाउन। अदालतले जघन्य प्रकृतिका बाहेक अन्य अपराधीलाई संवेदनशीलता हेरेर मात्र पक्राउ गर्न आदेश दियो। उनको कार्यकाल लकडाउनकै बीचमा सकियो।

'मेरो कार्यकालमा नै टुङ्ग्याउने चाहना नभएको होइन। सोचेको पनि थिएँ। तर, समय नै त्यस्तै पर्‍यो,' पूर्व महानिरीक्षक ठाकुर ज्ञवालीले भने।

निर्मलाको बलात्कारपछि हत्या भएको आज दुई वर्ष पूरा भएको छ। दुई वर्षमा नेपाल प्रहरीमा दुई आइजी फेरिए। तर, निर्मलाको हत्यारा भेटिएन। वा भेटिए पनि समात्न प्रहरी प्रशासन असफल रह्यो।

घटना हुँदा नेपाल प्रहरीको जिम्मेवारी सर्वेन्द्र खनालले सम्हालेका थिए। सुरुमा उनले केही अभिव्यक्ति त दिए तर उनको नेतृत्व असफल रह्यो। उनले नै गठन गरेका केही छानविन समितिले बुझाएको प्रतिवेदन र अन्य कारणले प्रहरीदेखि अनुसन्धानलाई समेत शंकामाथि शंका थुपार्न योगदान मात्र दिइरह्यो, हत्यारा खोज्न होइन। नक्कली अभियुक्त समेत खडा गर्न खोजेको आरोप सर्वेन्द्रमाथि लाग्यो। तर, महानिरीक्षकबाट अवकाश पाउने समयमा भने उनले केही गर्ने प्रयास गरे। एउटा अनसल्भ केसको ट्याग भिरेर घर फर्किन चाहेका थिएनन् उनले। अनुसन्धानमा दवंग छवि बनाए पनि निर्मला प्रकरणबाट नराम्रारी साख गुमाउन चाहन्थेनन् उनी। अर्थात् आफैँले गिजोलेको प्रकरणलाई एउटा निचोड दिन चाहन्थे।

डीआइजी सुरज केसीको नेतृत्वमा फेरि सर्वेन्द्र खनालले छानविन समिति गठन गरे निर्मला प्रकरणमा। समितिले यसअघि एआइजी धीरु बस्नेतले गरेको अनुसन्धानलाई नै गलत ठहर गर्दै प्रतिवेदन बुझायो। पछिल्लो घटनाक्रमले फड्को लिएर अन्य भौतिक प्रमाण समेतलाई आधार बनाउँदै सर्वैन्द्र गएको मंसिरमा केस टुङ्ग्याउने गरी आफैँ धनगढी पुगेका थिए।

उनी एउटा निष्कर्षमा पुगेर अभियुक्त समात्न पुगेका थिए तर फेरी पनि उनी सफल  भएनन्। उनी निराश भएर फर्किनुभन्दा केही गर्न सकेनन्। पहिले आफ्नै प्रहरीको अनुसन्धानमाथि शंका गर्ने खनाल अवकाशको मिति नजिकिँदै कन्भिन्स त भए तर समय घर्किसकेको थियो। उनी निर्मला प्रकरणलाई बीचमै छोडेर घर गए।

अहिले नेपाल प्रहरीले नयाँ महानिरीक्षक पाएको छ। शैलेश थापा क्षेत्री। उनी अब्बल प्रहरी अफिसरका रुपमा हेरिएका छन्। के उनले निर्मला हत्या प्रकरण टुङ्ग्गोमा पुगाउलान् त? सहज प्रश्नको जवाफ अनुत्तरित छ। प्रहरीको नेतृत्वमा २२ महिने कार्यकालमा उनीसामु अघिल्ला दुई प्रहरी प्रमुखले नसकेको गुत्थी सुल्झाउने अवसर छ र चुनौति पनि।

निर्मला प्रकरणमा संलग्न प्रहरीको मुद्दा अहिले पनि अदालतमा चलिरहेको छ। दुई वर्षदेखि उनीहरु अदालतको चक्कर लगाइरहेका छन्, न्यायको खोजी जारी छ। निर्मलाको परिवारसँगै अनुसन्धानमा खटिएका आधा दर्जन भन्दा धेरै प्रहरीमाथि न्याय कहिले मिल्छ यकिन छैन।

पछिल्लो समय प्रहरी आफैँले गरेका विभिन्न अनुसन्धान प्रतिवेदन हेर्ने हो भने उनीहरुमाथिको अभियोग मनासिव लाग्दैन। अदालत पनि अलमलमा नै छ यो विषयमा।

यसै विषयलाई लिएर केही दिनअघि महानिरीक्षक क्षेत्रीले केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुख डीआइजी सहकुल थापा र सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीलाई बोलाएर छलफल गरे। व्यूरोबाट डीएसपीको नेतृत्वमा फेरि कञ्चनपुर टोली पठाउने तयारी भएको छ।

यसअघि, परिस्थितिजन्य प्रमाण तथा साविति बयानले दिलिप सिंह विष्टतिर संकेत गरेको छ। अब अघि बढ्ने प्रहरीको अनुसन्धानले के हुन्छ त? यस प्रकरणमा दिलिपलाई अलग गरेर अनुसन्धान गर्दा टुङ्गोमा प्रहरी पुग्न सक्ला त?

डीएसपी अंगुर जीसीको टोलीले गरेको अनुसन्धान र प्रमाणबाहेक अरु अनुसन्धानले थप केही हासिल गर्न सकेको छैन यस केसमा। त्यसैले अबको अनुसन्धान दिलिपतिर कि अरुतिर भन्ने आइजीपी थापाले राम्रोसित बुझेका होलान्।

न्याय पाउने आशा मरिसक्यो : दुर्गा पन्त

आजभन्दा ठीक दुई वर्ष अघि। २०७५ साउन १० गते। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीय निर्मला पन्त प्याजी रङको लेडिज साइकल चढेर बिहान १०:३० बजेतिर साथीको घरजान भनेर निस्केकी थिइन्। उनी निस्किँदा आमा दुर्गादेवी घरमा थिइनन्। गाउँका अरु महिलाहरु पनि उनीसँगै सामान लिनको लागि भारतको वनवासा पुगेका थिए।

उनी घर फर्किदा निर्मला घरमा थिइनन्। अबेरसम्म पनि नआएपछि उनको खोजी भयो। छरछिमेकदेखि प्रहरीसम्म छोरी खोज्न हारगुहार गरिन्। भोलिपल्ट मात्र भीमदत्त नगरपालिका–१८ निम्बुखेडा स्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव भेटियो।

निर्मला पन्तको हत्याको विषय सुदूर पश्चिमबाट मुलुभर चर्चाको विषय बन्यो र दवाव दिने समूहहरु सडकमा उत्रिन थाले।

अभियुक्तका रुपमा सुरुमा सार्वजनिक गरिएका ४१ वर्षीय दिलिप सिंह विष्ट डिएन परीक्षण नमिलेपछि रिहा भए। त्यसपछि ७० जना भन्दा धेरैको डीएनए परीक्षण भयो। तर, कसैसँग मेल खाएन।

गृह मन्त्रालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व निर्देशक जीवनप्रसाद रिजालको नेतृत्वमा गठन गरेको तीन सदस्य छानविन समितिले बुझाएको प्रतिवेदनमा भेजिनल स्वाबमा भनिएको पुरुषको डीएनए बिर्य हो भन्न नसकिने उल्लेख गर्‍यो। त्यसपछि डीएनएको आधारमा अपराधीको पहिचान हुने विषयले पूर्णविराम पायो।

अहिले प्रहरीले पहिले सार्वजनिक गरेका विष्टमाथि शंका बलियो भएर गएको छ। तर, सम्भावित सामाजिक दवावको डरका कारण प्रहरीले विष्टलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने हिम्मत देखाउन सकेको छैन। निर्मलाकी आमा दुर्गादेवीले विष्टबिरुद्ध किटानी जायरी समेत दिइकी छिन्। त्यसपछि उनीविरुद्ध नै मानिसहरु सक्रिय भए।

'पहिला मलाई भ्रम परेको थियो होइन भन्ने। अहिले धेरै शंका छ। तर, मैले उजुरी दिँदा धेरै मानिस खनिए। त्यसैले अचेत त बोल्न समेत छोडेको छु,' निर्मलाकी आमा दुर्गादेवी पन्तले भनिनन्।

उनी अपराधी विष्ट हुन् भने अरु खोजेर बसे त कहिले पनि पत्ता नलाग्ने तर्क गरिरहेकी छिन्।

'कि यो नै हो भन्नु पर्‍यो कि होइन भने को हो? देखाउनु पर्‍यो,' दुर्गादेवीले भनिन्।

निर्मलाले न्याय नपाएकोमा उनलाई मन पोलिरहेको छ।

'उहाँहरुले अपराधीलाई कारबाही गर्न सक्नुभएन,' उनले भनिन्, 'अब त आशा समेत मरिसकेको छ।'

#WhoKilledNirmala शृङ्खला  

विगत : निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि
शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै 
शृङ्खला १७ : विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव
शृङ्खला १८ : को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए?

शृङ्खला १९ : प्रहरीले गोप्य राखेको निर्मलाको त्यो 'अटोजोमल एसटिआर रिपोर्ट' जसमा बलात्कारीको डिएनए देखिएन

शृङ्खला २० : जब निर्मलाको हत्यामा 'क्लु' खोजिरहेको प्रहरीसामु आफै 'क्लु' आइपुग्यो

शृङ्खला २१ : बरु एक्लै रुन सजिलो : निर्मलाकी आमा

शृङ्खला २२ : 'स्पाइरल अफ साइलेन्स' चिरिएको महेन्द्रनगर : आखिर कसले गर्‍यो निर्मलाको हत्या?

शृङ्खला २३ : अछामबाट 'पक्राउ परेका' दुई आर्मीको निर्मला प्रकरणमा के छ कनेक्सन?

शृङ्खला २४ : निर्मलाको सुरुवाल पखाल्ने चाँदनी : हाइप्रोफाइल अपराधीको हल्लामा चेपिएकी प्युसो प्रहरी

शृङ्खला २५ : निर्मला प्रकरणमा वीरबहादुरको बन्दै गरेको घरसँग जोडिएको कनेक्सन 

शृङ्खला २६ : निर्मला प्रकरणलाई 'ट्विस्ट एन्ड टर्न' गराउने ती शक्तिशाली व्यक्ति

शृङ्खला २७ : मान्छे मर्ने गरी आन्दोलन चर्काउन उक्साउने ती रहस्यमय व्यक्ति को थिए? 

शृङ्खला २८ : 'आन्दोलन नगरे ३५ लाख, मर्ने मार्ने गरी गरे सुविधा' : निर्मलाको नाममा घिनलाग्दो राजनीति  

शृङ्खला २९ : निर्मला र रमिलाको पीडा : कानुनको कठघरामा उभ्याउन होइन, चोख्याउन सघाइरहेको छ डिएनए रिपोर्ट 

समापन : निर्मला प्रकरण : यसरी गरियो रिपोर्टिङ, यस्तो रह्यो हाम्रो निष्कर्ष (शृङ्खला ३०)

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell