PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

'कमलादी १५ किलो सुन' प्रकरणः को को समातिए? कसलाई खोज्दैछ प्रहरी?



पहिलोपोस्ट

'कमलादी १५ किलो सुन' प्रकरणः को को समातिए? कसलाई खोज्दैछ प्रहरी?

काठमाडौं : प्रहरी अनुसन्धान अघि बढेसँगै 'कमलादी  १५ केजी सुन' प्रकरणका विभिन्न पाटाहरु खुल्दै गएका छन्। आजको दिनसम्म आइपुग्दा सुन प्रकरणका मुख्य योजनाकार बारा घर भएका इल्ताफ हुसेन अन्सारी भएको देखिएको छ।

उनी नक्कली भारतीय नोटको कारोबारमा पक्राउ परी सजाय भुक्तान गरेका व्यक्ति हुन्। नेपालमा बसेर नक्कली नोटको कारोबारीको सूचीमा हुसेन अग्रपंक्माति  पर्छन्। प्रहरीले यस घटनामा उनको संलग्नता भएको भन्दै खोजी गरिरहेको छ।

गत मंगलवार बिहान प्रहरीले घटनामा संलग्न कैशल पटेलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो। त्यसपछि बुधवार दिउँसो प्रहरीले पूर्वी नवलपरासीबाट देवान पटेल, विजय पटेल, निलेश सखियालाई नियन्त्रणमा लिएको हो। उनीहरु तीनै जना भारतीय हुन्। सुन भारत पुर्‍याउने योजना बनाएको खुलेको छ।

उनीहरु मंगलवार कमलदीबाट फूत्किएपछि भागेर भारत जान लाग्दा नियन्त्रणमा लिएको थियो। कैशल र देवान दाजुभाई हुन्। उनीहरु न्युरोडमा सुनको जलप लगाउनेदेखि गहना बनाउनेसम्म काम गर्दै आएका छन्।

रातिको समयमा उनीहरु काठमाडौंको नागढुंगाबाट ट्याक्सी लिएर नवलपरासीसम्म पुगेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले ट्याक्सी चालक सन्दीप गुरुङलाई समेत नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान गरिरहेको छ। उनीहको बयानमा थप विषय खुलेपछि महानगरीय प्रहरी वृत दरबारमार्गमा सादा पोसाकमा खटिएका प्रहरी जवान प्रसन्न श्रेष्ठ र प्रहरीको (सिआरभी) गाडी चालक बहादुर सिंह कडायतलाई नियन्त्रणमा लिएको छ। उनीहरुले सुन तस्करीमा सहयोग गरेको खुलेको हो।

त्यस्तै शुक्रवार दिउँसो बागबजारबाट उमेश श्रेष्ठलाई समेत सुन लुकाएको अनुसन्धानमा नियन्त्रणमा लिएको हो। श्रेष्ठ प्रहरीलाई सुनको सूचना दिने सुराकी हुन्। उनी मोबाइल व्यापारी हुन्। प्रहरी जवान प्रशन्नले नै उनलाई १ किलो सुन लुकाउन दिएको खुलेको छ। अर्का न्युरोडको सुन पसलमा काम गर्ने मनिष मल्लिकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

घटना अर्का भारतीय नागरिक सञ्जय पटेलको पनि संलग्नता रहेको खुलेको छ। उनी प्रहरीको खोजी सुचीमा रहेका छन्। मंगलवार प्रहरीले कमलादीबाट बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडीमा सुन आउने जानकारी पाएपछि प्रहरीले फलो गरेको थियो। तर गाडीले सुन प्रहरीलाई दिएर फुत्किएको थियो।

प्रहरीलाई दिएको १५ केजी सुनमध्ये आधा केजी सक्कली सुन र बाँकी सुनले लेपन गरिएको चाँदी भएको प्रमाणित भएको हो। यस घटनामा महानगरीय प्रहरी वृत दरबामार्गका डिएसपी रञ्जन दाहाललाई वृत प्रमुखको जिम्मेबारीबाट हटाइएको छ।

सादा पोसाकका  प्रहरी जवानले आफैं सूचना दिएर 'फनफनी' घुमाएको १५ किलो सुन प्रकरण!

सुन र पेस्तोल प्रकरणमा नयाँ ट्विस्ट : बरामद भयो कहाँ, कमलादी कि सुन्धारा?

समातिएको सुन रहेछ 'नक्कली', गाडी लिएर तस्कर चाहिँ सहजै फरार!

सुन बोक्न प्रयोग भएको गाडी भेटियो ललितपुरको निर्माणाधीन घरभित्र



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell