PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

असफल बन्यो सरकारको 'जिरो डेथ' नीति, तीन महिनामा सयभन्दा बढीको कोरोनाले मृत्यु



सहयोग रञ्जित

असफल बन्यो सरकारको 'जिरो डेथ' नीति, तीन महिनामा सयभन्दा बढीको कोरोनाले मृत्यु

काठमाडौँ : जेठ २ गते सरकारले सदनमा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो। कोभिड १९ महामारीबीच लकडाउनको समयमा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले नेपाललाई कोभिड १९ मुक्त बनाउँदै संक्रमणबाट नागरिकको ज्यान जान नदिने प्राथमिकता राखेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरेको भोलिपल्ट नै नेपालमा कोरोना भाइरसको संक्रमणबाट पहिलो मृत्यु भएको घोषणा गरियो।

मृतक थिइन् –सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा ९ की एक महिला।

सरकारले आफ्नो ‘जिरो डेथ’ नीति सुनाउनुअघि नै उनको मृत्यु भइसकेको थियो। जेठ १ गते मृत्यु भएकी महिलामा तीन दिनपछिमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। स्वाशप्रस्वासमा समस्या देखिएर धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो उनको। अस्पतालले महिलाको स्वाब परीक्षण गर्दा उनमा कोभिड १९ पोजेटिभ देखिएको थियो। 

त्यसपछि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै गयो। पहिलो मृत्यु भएको ९३ दिन पुग्दा देशभर १०० जनाभन्दा बढीको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।

देशभर कोरोना संक्रमितको संख्या २५ हजार ५०० नाघिसक्दा सातै प्रदेशमा कोभिड १९ को संक्रमणबाट मानिसहरुको मृत्यु भइसकेको छ। लकडाउन अन्त्य भएपछि मृत्यु हुने ट्रेन्ड झन् बढ्दो छ।

कोरोना संक्रमणका कारण सबैभन्दा बढी मृत्यु प्रदेश २ को पर्सामा भएको छ। त्यहाँ २२ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ। वीरगंजमा अस्पताल चहार्दा-चहार्दै संक्रमितको मृत्यु समेत भयो। पछिल्लोपटक मृतकहरुमा लक्षण समेत देखिएको थियो।

त्यसपछि वाग्मती प्रदेशको ललितपुरमा १२ जनाको मृत्यु भएको छ। प्रदेश १ को मोरङमा पछिल्लोपटक संक्रमितको संख्यासँगै मृतकको संख्या पनि बढ्दै गएको छ। त्यहाँ १० जनाको मृत्यु भएको छ। हाल विराटनगर नगरपालिका र संक्रमित अन्य क्षेत्र लकडाउनमा छ।   

त्यसपछि कोभिड १९ बाट संक्रमित भई धेरै  मृत्यु हुने जिल्लामा आउँछ काठमाडौँ। एह हजार ३६१ जनामा संक्रमण पुष्टि भएको काठमाडौंमा ८ जनाको मृत्यु भइसकेको छ।

लकडाउन अन्त्य भएपछि उपत्यकामा मृतक र संक्रमितको संख्या थपिँदै गएसँगै काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालय शुक्रबार राति १२ वजेदेखि भदौ १५ गते १२ बजेसम्म लागू हुनेगरि काठमाडौँ  उपत्यकाभर विभिन्न गतिविधि निषेध गर्ने निर्णय गरिसकेको छ। हालसम्म उपत्यकामा मात्रै एक हजार ६९७ जनामा संक्रमण पुष्टि हुँदा २० जनाको मृत्यु भइसकेको छ।

साउन ६ गतेसम्म देशरभर ४१ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो। २५ दिनमा ५९ जनाको मृत्यु भएको छ। यो त भयो केन्द्र सरकारले पुष्टि गरेको कोरोना संक्रमितको संख्या।

यता प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य निर्देशनालयले पनि कोभिड संक्रमणका कारण मृत्यु हुने संख्या सार्वजनिक गर्दै आएको छ। तर प्रदेशले कोभिड १९ कै कारण मृत्यु भएको भनिसक्दा केन्द्रले ७ जनाको मृत्युलाई कोभिडका कारण भएको भनेर मानेको छैन।

भारतमा मृत्यु भएका एक पुरुषको शव नेपाल ल्याइ कोरोना परीक्षण गरिएको थियो। परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको थियो।  यस्तै, अन्य ६ जनाले आत्महत्या गरेका थिए। ती सबैमा कोरान संक्रमण पुष्टि भएको थियो। असार १ गते सुर्खेतमा  आत्महत्या गरेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसैले कोरोना पुष्टि नहुँदै असार ३ गते अर्घाखाँचीमा एक पुरुषले आत्महत्या गरेका थिए। मृत्युपछिको परीक्षणमा उनमा कोभिड १९ पोजेटिभ देखिएको थियो।

असार ९ गते दैलेखमा एक महिलाले आत्महत्या गरिन्। आत्महत्यापछि उनमा कोरोना संक्रमण देखिएको थियो। यस्तै, असार २० गते रोल्पामा एक पुरुषले आत्महत्या गरेका थिए। उनमा पनि आत्महत्यापछि मात्रै संक्रमण पुष्टि भएको थियो।

बझाङमा एक पुरुषले कोरोना संक्रमण देखिएपछि आत्महत्या गरेका थिए। त्यस्तै बाजुरमा आत्महत्यापछि एक पुरुषमा कोभिड १९ संक्रमण देखिएको थियो। यी सातै कोभिड संक्रमण पुष्टि भई मृत्यु भएकाहरुलाई केन्द्रले आफ्नो तथ्यांकमा समावेश गरेको छैन। यी सबैलाई जोड्दा हालसम्म देशभर १०७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

प्रधानमन्त्रीको मौनता !  

लकडाउनबीच कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भइसक्दा राष्ट्रियसभामा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मीहरुले कोरोनाका कारण मृत्यु भएको भनिएकाहरुको मृत्यु ‘कोरोनाकै कारण नभएको’ ठोकुवा गरेका थिए।

उनले भनेका थिए ' अहिले मर्‍यो भनेको कोरोनाले छोएपछि मेरकोलाई कोरोनाले मरेको नै मान्नुपर्छ भन्ने विश्व स्वास्थ्य संगठनको मापदण्डको कारणले मात्रै कोरोनाले भनेको हो। वास्तवमा कोरोनाले बितेका होइन। बितेको अरु कारणले हो। अरु कम्पिल्केसनले हो। कोरोना विमारीले भएको होइन त्यस्तो।'

त्यसबेलामा कोरोना संक्रमितमा लक्षण देखिएको थिएन। न त मृतकहरुमा नै संक्रमणको कुनै लक्षण देखिएको थियो। तर मृतकको संख्या बढ्दै गए पनि प्रधानमन्त्री ओलीले भन्न छाडेनन्, ‘मृत्यु कोरोनाका कारण भएको होइन।’ बरु उनी बेसार पानी, तातोपानी र नेपालीको रोग प्रतिरोधात्मक क्षमताको बखान गर्दै बसे।

धेरै दिन बिते। मृतकको संख्या १०० पार भइसक्यो। संक्रमणको दर जसरी बढ्दैछ मृतकको संख्या पनि बढ्दैछ। त्यसमाथि लक्षणसहितका र गम्भीर अवस्थामा आइसियूमा उपचार गरिरहेकाहरुको मृत्यु भइरहेको छ। लकडाउनको अवस्थाभन्दा पृथक छ परिस्थिति। साउन ६ गते रातिबाट देशभर लकडाउन अन्त्य गरेयता अवस्था झनै भयावह बन्दै गएको छ। धेरै नगर, गाउँ र क्षेत्र सिल गरिएको छ। जिल्ला प्रशासन र स्थानीय सरकारले लकडाउन र निषेधाज्ञा जारी गरिरहेका छन्।

‘जिरो डेथ’ त नीति त सफल बनाउन सकिएन। तर परिस्थिति थप जटिल बन्न रोक्न थप रणनीति बनाउन सकिएको छैन। त्यसमाथि लक्षण सहितको संक्रमित बढ्दा गम्भीर बिरामीहरुलाई आइसियू र भेन्टिलेटरको अभाव हुने स्वास्थ्य मन्त्रालयले नै बताइसकेको छ।

यता, प्रधानमन्त्री भने अहिले मौन छन्। पार्टीभित्रकै आन्तरिक अल्झनमा व्यस्त। न कोभिडबारे बोलेका छन् न त अहिलेको परिस्थितिबारे। उनले कोभिडका कारण केही व्यक्तिको मृत्यु हुँदा दिएको अभिव्यक्ति फेरि दोहोर्‍याएका छैनन्।  बालुवाटारभित्रै बन्द छन् उनी। सायद उनले बुझे होला, उनीहरुको मृत्युको कारक कोरोना हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell