PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

प्रचण्डलाई सहमत गराउन ओली पक्ष नेताको दौडधुप, ओलीइतर समूहका नेता भन्छन्, 'अब त्यस्ता सहमतिको के अर्थ रह्यो र?'



प्रकाश भण्डारी

प्रचण्डलाई सहमत गराउन ओली पक्ष नेताको दौडधुप, ओलीइतर समूहका नेता भन्छन्, 'अब त्यस्ता सहमतिको के अर्थ रह्यो र?'
File Photo

काठमाडौं:  शनिबार बस्ने तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले सहमतिका लागि भेटघाटलाई तीव्र पारेका छन्। मंसिर १७ गतेको सचिवालय बैठकमा दुई अध्यबीच सहमति गरेर मात्रै बैठकमा बस्नुपर्ने भन्दै ओलीले बैठकमा सहभागि नै नहुने अडान राखेका थिए। उनको अडानपछि अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले केही बेर बैठक सञ्चालन गरेर ओलीलाई ३ दिनको समय दिनुपर्ने भन्दै २० गते सम्मकालागि बैठक स्थगित भएको जानकारी गराएका थिए। १७ मंसिरको सचिवालय बैठकले नेताहरु बीचमा पार्टीको संकट समाधानका लागि नेताहरुबीचको अनौपचारिक संवाद बढाउनुपर्ने निर्णय गरेको थियो।  

ओलीपक्षका नेता सहमतिका लागि दौडधुपमा

ओलीले शुक्रवार विहान सचिवालय सदस्य ईश्वर पोखरेललाई कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको निवास खुमलटारमा पठाएका थिए। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले प्रचण्डलाई भेटन पोखरेल खुमलटार आएको पुष्टि गरे।

खुमलटारमा पोखरेलले सचिवालयमा साझा प्रस्तावका लागि प्रचण्डलाई प्रस्ताव गरेका थिए। तर साझा प्रस्तावका लागि प्रचण्ड सकारात्मक नदेखिएको स्रोतले बताएको छ। बिहीवार राष्ट्रपति विद्यादेवि भण्डारीसँग प्रधानमन्त्री ओली र प्रचण्डले छट्टाछुट्टै छलफल गरेका थिए।

नेकपा विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपतिले पटकपटक सहमतिका लागि भुमिका खेल्दै आएकी छन्। बिहीवारको छलफलमा पनि दुई अध्यक्षबीच सहमतिका लागि राष्ट्रपतिले पहल गरेको बताइएको छ। प्रचण्डले भने ओलीका अप्रिय कदममा साथ नदिन राष्ट्रपतिलाई आग्रह गरेको स्रोतको दाबी छ।

बालुवाटारमा रणनीतिक छलफल

बालुवाटारमै ओलीले शुक्रवार बिहानै आफू निकट केही नेतालाई बोलाएर छलफल गरेका थिए।

छलफलमा सहभागि एक नेताले अब कसरी अगाडी बढने भन्ने विषयमा छलफल भएको जानकारी दिए। 'अहिले नै सबैकुरा सार्वजनिक गर्दा भइरहेको प्रयास पनि बिफल हुन्छ। छलफलमा हामी जुटिरहेका छौं, ' ती नेताले भने।

प्रचण्डलाई सहमत गराउन विभिन्न प्रस्तावमाथि छलफल भइरहेको ती नेताको भनाई छ। सहमति कायम गर्नका लागि भइरहेको छलफल भने सकारात्मक भइरहेको उनले बताए। 'हामी सहमतिका लागि त लागिरहेका छौं। विभिन्न खालका विकल्प छन्। अहिले नै सबैकुरा सार्वजनिक गर्दा सहमतिका वतावरण नबन्न सक्छ,' उनले भने।

प्रचण्ड-नेपाल पक्षका नेताको अडान: बैठकबाटै निकास

मंसिर १३ गतेको सचिवालय बैठक अघि सहमतिका लागि प्रचण्डसँगको भेटघाटलाई तीव्र पारेका नेताले फेरि शनिवारको भेटघाटअघि पनि सहमतिका लागि दौडधुप गरिरहेका छन्।

ओली पक्षले सहमतिका लागि लगातार प्रयास गरिरहँदा प्रचण्ड-नेपाल समुहका दोस्रो तहका नेता अब बैठकबाटै निकास निकाल्नुको विकल्प नभएको भन्दै ओली प्रचण्ड बीचको सहमतिले समस्या समाधान नहुने तर्क गरिरहेका छन्।

स्थायी कमिटी सदस्य मात्रिका यादवले अब दुई अध्यक्षबीचको सहमतिको अर्थ नै नभएको बताए। उनले पार्टी कमिटी बाहिर सहमतिका लागि भइरहेका प्रयास व्यर्थ भएको टिप्पणी गरे।

'सहमतिका लागि त विभिन्न खालका प्रयास भइरहेकै छन्। तर अब त्यस्ता सहमतिको के अर्थ रह्यो र? समस्याको समाधान त पार्टी कमिटीका बैठक बाहिरबाट गर्न सकिदैन्,' उनले भने।

स्थायी कमिटी सदस्य गणेश शाहले अब दुई अध्यक्षबीच सहमतिको सम्भावना नै नरहेको बताए। 'अब सहमतिको त सम्भावना नै छैन्। यो बेकारको छलफल र दौडधुप हो,' उनले भने।  

उनले समस्या पार्टी कमिटीमै प्रवेश गरिसकेकाले कमिटीले नै किनारा लगाउने दाबी गरे। उनले एक व्यक्ति एक पदको माग पुरा नभएसम्म अहिलेको समस्या समाधान नहुने तर्क गरे।

'प्रधानमन्त्रीदेखि देशभर 'वान मेन वान पोजिशन' हुनुपर्छ। सरकारले पार्टी कि पार्टीले सरकार चलाउने भन्ने बहसमा अहिले सरकारले पार्टी चलाएपछि समस्या आएको हो,' उनले भने।

दुबैतिर शक्ति सञ्चयका प्रयास

सहमतिका लागि ओली पक्षका नेताहरुले प्रयास गरेपनि दुबै समूहमा नेताहरुलाई आफ्ना पक्षमा पार्न विभिन्न खालका अभ्यास सुरु भएका छन्। प्रचण्ड-नेपाल निकट एक नेताका अनुसार आजैदेखि दुबैतिर नेताहरुलाई फकाउने काम सुरु भएको छ।

'आजैदेखि दुबैतिर बटमलाइन बनाएरै अप्सन एक अप्सन दुई भन्दै तयारी भइरहेको छ' ती नेताले भने,'नेताहरुलाई आफ्ना पक्षमा पार्न विभिन्न खालका अभ्यासहरु भइरहेका छन्। नेतृत्वले यसमा लोभ लालच देखाउने काम पनि हुन्छ।'

सहज रुपमा ओली आफ्नो पद त्याग्न तयार नभएकाले प्रचण्ड नेपाल समूह अब बहुमतिय प्रक्रियामा गएर भएपनि उनलाई पदबाट हटाउने अन्तिम तयारीमा जुटेको छ। त्यसका लागि आफ्ना पक्षलाई बलियो बनाउन पनि नेताहरुको दौडधुप भइरहेको स्रोत बताउँछ।

यो पनि:

नेकपा विवाद : पार्टी कमिटी बाहिर निकास खोज्दै ओली, बैठकमै गलाउने रणनीतिमा प्रचण्ड-नेपाल समूह

ओलीले बैठकमा सहभागी नै नहुने अडान राखेपछि प्रचण्ड-नेपाल समूहले दियो तीन दिनको अल्टिमेट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell