PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

सरकारको विरोधमा उत्रेको काँग्रेस राजावादीविरुद्ध गरम, हिन्दु राष्ट्रको पक्षमा नरम: शीर्ष नेता कसले के भने?



नेत्र तामाङ

सरकारको विरोधमा उत्रेको काँग्रेस राजावादीविरुद्ध गरम, हिन्दु राष्ट्रको पक्षमा नरम: शीर्ष नेता कसले के भने?

काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सोमबार देशभर सरकारको विरोधमा प्रदर्शन गर्‍यो। कम्युनिस्टको सर्वसत्तावाद लागू भएको आरोप लगाउँदै नेपाल कम्युनिस्ट पार्टीको सरकारविरुद्ध आन्दोलनमा उत्रिएको काँग्रेस शीर्ष नेताहरु राजावादीविरुद्ध गरम देखिए भने हिन्दु राष्ट्रको पक्षमा नरम देखिए।

२०६२/०६३ को जनआन्दोलनसँगै देश गणतन्त्रमा गइसकेको छ। नयाँ संविधान जारी भएसँगै देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन सुरु भएपछि राजतन्त्र समाप्त भयो र हिन्दु राष्ट्रबाट देश धर्म निरपेक्ष बन्यो।

अहिले यी दुई मुद्दालाई विभिन्न पार्टी तथा व्यक्तिहरुले आफ्नो मुद्दा बनाउने कोसिसमा लागेका छन्। कोरोना महामारीकै बीचमा राजतन्त्रको पक्षमा देशका विभिन्न ठाउँमा 'राजा आऊ, देश बचाऊ' को नारा लाग्यो। अहिले पनि उक्त क्रम जारी छ। राजावादीको यो आन्दोलनमा हिन्दु राष्ट्रको मुद्दा ओझेलमा छ।

यही मुद्दालाई भने काँग्रेसले समेट्ने संकेत गरेको छ। काँग्रेस महामन्त्री शशांक कोइरालाले सोमबार बिहानै विराटनगरस्थित कोइराला निवासबाट यस विषयमा शंखनाद् गरे। हुन त शशांकले यसअघि पनि हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका थिए। तर, विरोधका स्वर गुञ्जिन थालेपछि ब्याक हुन्थे। यसपटक भने कोइराला निवासमा बिहानै पत्रकार बोलाएर उनले यसबारे आफू प्रष्ट रहेको जनाउ दिए।

कुनै पनि नेताले विरोध प्रदर्शनमा भनाई नराखेकै बेला शशांकले भने, ‘नेपाल हिन्दु राष्ट्र हुनुपर्छ। यसका लागि नेपाली कांग्रेसको आगामी सरकारले जनमत संग्रह गराउने छ।’

पढ्नुस्ः बहुमतको सरकार बनाएर हिन्दु राष्ट्रका लागि जनमत सङ्ग्रह गराउने काँग्रेस महामन्त्री शशाङ्क कोइरालाको उद्घोष

के काँग्रेसले अर्को पटक सरकार गठन गर्ने गरी मत बटुल्छ होला त? आजको विरोध सभामा काँग्रेसका शीर्ष नेताहरुको भनाई सुन्ने हो भने पक्कै पनि ल्याउनेछ। किनकी उनीहरुको एउटै स्वर थियो : वर्तमान सरकार पूर्णता असफल भइसक्यो। जनताको ज्यान बचाउनेभन्दा पनि सरकार सत्ता जोगाउने खेलमा लागिसकेकोले यो सम्भव भएको काँग्रेस नेताहरुको दाबी छ।

हुन त हिन्दु राष्ट्रको नारा आफ्नो पोल्टामा पर्‍यो भने केही थप मत बटुल्न सकिन्छ कि भन्ने आत्मविश्वास काँग्रेस नेताहरुलाई परेको हुन सक्छ। त्यसैले पनि काँग्रेसका नेताहरुले यसलाई मौन समर्थन जनाएका छन्। बिहानै काँग्रेस महामन्त्री कोइरालाले यो भनाई राख्दा दिनभर अरु शीर्ष नेताहरुले उनको भनाई काटेनन्। भलै हिन्दु राष्ट्रको बारेमा समर्थनसहितको अभिव्यक्ति पनि दिएनन्।

बरु राजतन्त्रविरुद्ध भने खरो रुपमा उत्रिए। काँग्रेस सभापति शेरबहादुर देउवाले मकवानपुरको विरोध सभालाई सम्बोधन गर्दै राजतन्त्र कुनै हालतमा नफर्कने दाबी गरे। उनले अहिले राजतन्त्रको पक्षमा लागेको नारा केपी ओली सरकारकै कारण भएको आरोप लगाए।

‘राजा आऊ देश बचाऊ भन्ने नारा लाग्नुमा कम्युनिस्ट सरकार जिम्मेवार छ। राजा ज्ञानेन्द्रले मलाई थुन्दा स्वतन्त्र न्यायलयले रिहा गर्‍यो। अहिले त ओली सरकारले अदालतमा कम्युनिस्टकरण गरिरहेको छ। राजा आउ भन्नेहरु ओलीकै कारण बोलिरहेका छन्,’ देउवाले भने, ‘सात सालमा भागेको राजालाई कांग्रेसले फर्काएर ल्याएकै हो। महेन्द्रलाई पनि मानेकै हो। तर प्रजातन्त्रलाई देखिसहेनन्। अब फेरि फर्किने कुरो छैन। राजा आऊ देश बचाऊ भनेर कराउनेहरु ओलीकै कारण कराइराख्या छन्।’

पढ्नुस्ः कमल थापाको गृहजिल्लामा देउवाको गर्जन : राजा फेरि फर्किने कुरो छैन, ओलीकै कारण ‘राजा आउ देश बचाउ’ भनेर कराउँदैछन्

यता काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंको रत्नपार्कमा राजावादीविरुद्ध मुर्मुरिए।

उनले राजतन्त्रले प्रजातन्त्र खोस्ने उल्लेख गर्दै अहिले राजावादीले टाउको उठाउनुमा वर्तमान सरकार नै दोषी रहेको दाबी गरे। पौडेलको प्रश्न थियो, 'राजा आऊ देश बचाऊ भन्नेहरुलाई म प्रश्न गर्न चाहन्छु, तिमीहरुले कस्त कुन राजा ल्याउन खोजेको? कस्तो राजा ल्याउने खोजेको?'

पौडेलले राजतन्त्रबाटै देशमा विभिन्न पर्व र काण्ड मच्चेको उल्लेख गर्दै कस्तो खालको राजतन्त्र चाहेको भनी थप प्रश्न गरेका थिए। पौडेलको थप प्रश्न थियो, 'तिमीहरुले भण्डारखाल र कोतपर्व रचाउने राजा ल्याउन खोजेको हो कि, तिमीहरुले १७ सालको काण्ड रचाउने राजा ल्याउन खोजेको हो कि? माओवादी जन्माएर प्रजातन्त्रवादीको हत्या गराउने राजा ल्याउन खोजेको? ६३ सालमा जनताको अधिकार खोसेर आफैँ प्रधानमन्त्री घोषणा गर्ने राजा ल्याउन खोजेको हो कि कस्तो राजा ल्याउन खोजेको, कुन राजा ल्याउन खोजेको?'

यस्तो बेला प्रतिगामी सोच जन्मिनु भनेको कम्युनिस्ट सरकारकै कारण भएको उनको दाबी थियो। 'यो २१ औं शताब्दीमा यो प्रतिगामी सोच कसरी जन्मियो। कसले जन्मायो। यस्तो कुरा पनि नारा लगाउने बनाउने को हो? यो कम्युनिस्ट सरकार जिम्मेवार हुनुपर्छ। अहिलेको सत्ता जिम्मेवार हुनुपर्छ,'पौडेलको भनाई थियो।

यता काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनता पुरानो चिहानको पछाडि नलाग्ने भन्दै राजावादीको घुमाउरो विरोध गरे। काँग्रेस सडकमा आउनुपरेको पाँचौ कारण सुनाउँदै प्रवक्ता शर्माले जनता नयाँ बिहानका लागि अघि बढ्ने बताए।

'जनतामा निराशा बढ्यो। यो सरकारका प्रतिको निराशालाई व्यवस्थाप्रतिको निराशा भएको भन्दै कतिपयले व्याख्या गर्ने प्रयत्न गरे,' मकवानपुरको हेटौँडामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले भने,'तर जनता नयाँ बिहानको पछाडि लाग्छ र चिहानको पछि लाग्दैन भन्ने बुझाउन लागि पनि आज देशव्यापी रुपमा उत्रेका छौँ।'

शर्माले कांग्रेसलाई सुतेको बाघ भन्दै जिस्क्याउने प्रयास नगर्न सरकारलाई चेतावनीसमेत दिए।

शर्माले भने, ‘कांग्रेस सकियो, दिन गयो भन्नेहरु, पार्टीभित्र रडाको मच्चिँदा कांग्रेसको ढोका ढक्ढक्याउनेहरुलाई भन्न चाहन्छु हामी सडकमै रहन्छौं। सरकारमा जानु पर्‍यो भने आगामी निर्वाचनबाट बहुमत लिएर जान्छौं भन्नका लागि आज हामी सडकमा उपस्थित छौं। कांग्रेस यति भन्न आएको छ कि सुतेको बाघलाई जिस्काउने प्रयत्न नगर। कांग्रेसलाई जिस्क्याउने प्रयत्न नगर।’

पढ्नुस्ः सरकारलाई कांग्रेस प्रवक्ताको चेतावनी, ‘सुतेको बाघलाई जिस्काउने प्रयत्न नगर, समयमै सच्चिनुपर्छ’

कसले के भने?

कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कोरोनाले विश्वलाई आतंकित बनाएजस्तै कम्युनिस्ट नेतृत्वको सरकारले नेपालमा संघीयता र लोकतन्त्रमाथि आतंक मच्चाएको टिप्पणी गरे।

भक्तपुरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै निधिले कम्युनिस्ट सरकारलाई कोभिड २०७७ को संज्ञा दिए। उनले कम्युनिष्ट सरकारले सत्तामा बस्ने नैतिक र राजनैतिक अधिकार गुमाइसकेको दाबी गरे।

सरकारले जनताको बोली राख्ने संसद अधिबेशन हठात स्थगित गरेर भ्रष्टाचारीलाई संरक्षण गर्न खोजेकोसमेत दाबी गरे। उनले संसद् अधिवेशन स्थगित गरेर सरकार अधिनायकवादतिर उन्मुख भएको आरोप लगाए।

केन्द्रीय सदस्य गगनकुमार थापाले बरालिएको सरकारलाई ठेगानमा ल्याउन कांग्रेस सडकमा आएको बताए। ठेगानमा नआएसम्म कांग्रेस घर नफर्किने उनको भनाई थियो।

कैलालीको धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले भने, ‘जनतालाई घरभित्र राखेर कोरोना महाव्याधिको नियन्त्रणमा लाग्छु भन्दै संसदबाट भागेको, बालुवाटारको दुलोभित्र लुकेर षडयन्त्र गरेको सरकारलाई लल्कार्नका निम्ति, बरालिएको सरकारलाई ठेगान ल्याउनका निम्ति कांग्रेस सडकमा आएको छ। अब घर फर्केर जाँदैन। जबसम्म सरकार ठेगानमा आउँदैन तबसम्म कांग्रेस सडकमा आइरहन्छ।’

सरकारले मुखले भ्रष्टाचार गर्दिनँ, सहन्न भन्ने गरेको तर वाइडबडी, सेक्युरिटी प्रेस खर्लप्पै खान्छ, बालुवाटारको जग्गा खर्लप्पै खान्छ, यति ग्रुपसँग साठगाँठ गर्छ भन्दै आलोचना गरे। सरकार पूर्ण रुपमा असफल भइसकेको उनको भनाई थियो।

इतिहासकै भ्रष्ट सरकारलाई ठेगानमा ल्‍याउन कांग्रेस सडक र सदनबाट लड्छ,’ उनले भने।

‘बालुवाटारको चार आना जग्गा अर्थमन्त्री बिष्णु पौडेलको छोराको नाममा सिफारिस गर्ने मान्छे जेल जाने तर उनै अर्थमन्त्री भने कुर्सीमा विराजमान हुनुहुन्छ,’ उनले भने। कांग्रेस नेता थापाले भ्रष्टाचारी खोज्न कहीँ जानु नपर्ने बरु बालुवाटार र सिंहदरबार गए पुग्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell