PahiloPost

Jul 1, 2025 | १७ असार २०८२

अनिर्णित जसपा : देउवाको प्रस्ताव महन्थले मानेनन्, बाबुराम र उपेन्द्र बोलेनन्



पहिलोपोस्ट

अनिर्णित जसपा : देउवाको प्रस्ताव महन्थले मानेनन्, बाबुराम र उपेन्द्र बोलेनन्

काठमाडौं : बुढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा आज तीन दलको बैठक बस्यो। नयाँ सरकार गठनमा केन्द्रीत रहेको उक्त बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेता सहभागी थिए।  

बैठकमा सभापति देउवाले नयाँ सरकार गठनबारे प्रस्ताव राखेका थिए। कांग्रेस नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र यसअघि नै सहमत थियो। आज देउवाको प्रस्तावमा माओवादी सकारात्मक बन्यो। तर, जसपाले भने आफ्नो कित्ता किल्यर गरेन। जसपा अध्यक्ष महन्थ ठाकुरले सरकार गठनका बारेमा दल भित्र छलफल गर्ने भनेपछि आजको बैठक अनिर्णित बन्यो।

ठाकुरले भने, ‘कांग्रेसले आफ्नो अग्रसरतामा सरकार बनाउने भनेर प्रस्ताव गर्‍यो। हामीले यसबारेमा कुनै छलफल गरेका छैनौँ। अब चाँडै छलफल गरी निर्णय गर्छौँ।’

जसपालाई मनाउनको लागि ठाकुरलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको बारे राजनीतिक वृत्तमा केही समय देखि चर्चा चलिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जसपालाई सरकारमा सहभागी हुन धेरै अघि प्रस्ताव गरिसकेका थिए। ओलीले ठाकुरलाई प्रधानमन्त्री बन्ने प्रस्ताव राखेको बताइन्छ। तर जसपा भने रेशम चौधरी र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बटमलाइनमा छ। साथै सत्तामा जाने अवसर पाए जाने मुडमा पनि छ।  

कांग्रेस र माओवादीबाट पनि जसपा सत्ता नेतृत्वको अफर कुरिरहेको बताइन्छ। तर,आजको बैठकमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने प्रस्ताव अघि सार्‍यो। त्यसैले जसपाले यस विषयमा अहिले नै केही निर्णय दिएन। जसपाले चाँडै आफ्नो धाराणा राख्ने ठाकुरले बताएका छन्।

नयाँ सरकार गठनका विषयमा जसपाका नेताहरुको मत विभाजित छ। डा बाबुराम भट्टराई र उपेन्द्र यादव लगायतका नेताहरु ओलीका विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अडानमा रहेपनि महन्थ ठाकुर र राजेन्द्र महतो लगाएतका नेता भने ओली इतरको गठबन्धनका लागि तयार भएका छैनन्।

कांग्रेस र माओवादी केन्द्र नयाँ सरकार गठनका लागि तयार भएसँगै अब जसपा दबाबमा परेको छ। उसका लागि ओलीतिर लाग्ने की ओलीविरुद्ध भन्ने निर्णय गर्नुपर्ने बाध्यता छ। ओलीको विषयलाई लिएर जसपामा देखिएको किचलोका कारण पनि लामो समयदेखि जसपा अनिर्णित बन्दै आएको छ। ठाकुर-महतो समूहले ओली प्रष्ट भएकाले उनलाई साथ दिनुपर्ने तर्क गरिरहँदा सडकमा एक साथ प्रतिगमन विरुद्ध संघर्ष गरेका दलसँग मिल्नुपर्ने भट्टराई र यादवले बताइरहेका छन्।

आजको बैठकमा देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने कुरालाई अस्वीकार गरेका ठाकुर अझै ओलीसँग पनि छलफलमा जुट्ने अनुमान गरिएको छ।

आजको बैठकमा ओलीलाई हटाउनुपर्ने माग गरिरहेका बाबुराम र उपेन्द्रले भने बोलेनन्। कांग्रेस र माओवादीसँग सत्ता समिकरणबारे 'बार्गेनिङ' मा जसपाले ठाकुरलाई अघि सारेको देखिन्छ।

बैठकपछि माओवादी केन्द्रका नेता नाराणकाजी श्रेष्ठले आफ्नो पार्टीको तर्फबाट केपी ओलीको सरकारलाई हटाएर लोकतन्त्रको रक्षा गर्नेहरु मिलेर सरकार बनाउ भन्ने रहेको बताए।

‘कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार निर्माणबारे तपाईंहरूको धारणा के छ भनेर सोध्नुभयो। केपीको विकल्पमा सरकार बनाउन प्रस्ताव गर्नुभयो। हाम्रो पार्टीको तर्फबाट केपी ओलीको सरकारलाई हटाएर लोकतन्त्रको रक्षा गर्नेहरु मिलेर सरकार बनाउ भन्ने हो,’ उनले भने।

यस्तै, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णय बमोजिम देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने प्रस्ताव राखेको बताए।

सत्ता समीकरणबारे तीन दलको बैठकमा माओवादी सकारात्मक देखिएको र जसपाले निर्णय सुनाउन समय मागेको उनले बताए। माओवादी केन्द्रका नेता श्रेष्ठले पनि जसपाले छलफलका लागि समय मागेको बताए।

बैठकमा जसपाका अध्यक्ष ठाकुर र उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई नेता राजेन्द्र महतो सहभागी थिए। त्यस्तै, माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ लगायतका नेता छलफलमा जुटेका थिए। कांग्रेसको तर्फबाट भने सभापति देउवा सहित रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्णप्रसाद सिटौला लगायतका नेता उपस्थित थिए।

कांग्रेस प्रवक्ता शर्माले सरकार परिवर्तनबारेमा तीनै दलको बैठक चाँडै बस्ने बताए। तर बैठकको मिति भने तय भइसकेको छैन। जसपाले आगामी दिनमा गर्ने निर्णयले बैठकको कार्यदिशा तय हुने बताइएको छ।

सम्बन्धित समाचार : निर्णायक कदमका लागि जुट्दै तीन दल, के होला नयाँ सरकार गठनको लागि 'ब्रेक थ्रु' ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell