PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कांग्रेसको चरित्र दुई टाउके सर्पको : ज्योतिषको जोखना र सत्तासँगको हिमचिममै बित्यो वर्ष



नेत्र तामाङ

कांग्रेसको चरित्र दुई टाउके सर्पको : ज्योतिषको जोखना र सत्तासँगको हिमचिममै बित्यो वर्ष

काठमाडौं : सर्प विज्ञहरुका अनुसार बेलाबेला प्रकृतिमा दुई टाउके सर्पको जन्म हुन्छ। वर्ष २०७६ को अन्त्यतिर हुनुपर्छ नेपालमा पहिलोपटक 'ब्यान्डेड् कुक्री' प्रजातिको दुई टाउके सर्प भेटिएको थियो

सोही वर्षको माघतिर करेत प्रजातिको दुई टाउके सर्प पनि भेटियो। तर यस्तो दुई टाउके सर्पको आयु धेरै नहुने अनुसन्धानकर्ता कमल देवकोटाले बताए। किन त? देवकोटाले भने, 'हिँडडुल गर्न गाह्रो हुन्छ। खाना खान लडाईँ पर्छ। एउटा टाउकोले यता जाउँ, अर्कोले उता जाउँ भन्दाभन्दै शत्रुको फन्दामा पर्न सक्छ।'

हो कांग्रेसको वर्ष २०७७ को अवस्था ठ्याक्कै यस्तैमा बित्यो - दुई टाउके सर्पझैं।

+++

सिंगो मुलुक प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सर्वसत्ताबाद’को सिकार भइरहँदा प्रतिपक्षी नेपाली कांग्रेस ‘प्यारालाइज’ अवस्थाबाट माथि उठ्न सकेन। न सरकारविरुद्ध कडा उभिन सक्यो न त पार्टी चुस्त बनाउन नै। कांग्रेसले छायाँ सरकार बनाए पनि त्यो छायाँमै सीमित भयो, अस्तित्वहीन। पार्टी सभापति शेरबहादुर देउवा सत्ता नेतृत्व गरिरहेका केपी शर्मा ओलीका लाचार छायाँ चाहिँ बनिरहे, त्यसले उनलाई विवादमा ल्याइरह्यो। सत्तारुढ दलको कमजोरी समातेर त्यसमाथि प्रहार गर्न वर्षभरि नै चुकिरह्यो प्रमुख प्रतिपक्षी। काँग्रेसले वर्षभरि के गर्‍यो त?

वर्ष २०७७ को सुरुवात नेपाली कांग्रेसलाई उमंगबाटै शुरु भयो। सत्ताधारी दलले असंवैधानिक कदम चालेर वर्षको श्रीगणेश गर्दा कांग्रेस नेतृत्वलाई पक्कै पनि भित्रभित्रै गद्गद् लागेको थियो होला - अब निर्वाचनको माहोल बन्यो। तर, ज्योतिषको जोखनामा लठ्ठ कांग्रेस नेतृत्व यसपटक पनि दुवै हातमा लड्डु हेर्दाहेर्दै लद्दु बन्न पुग्यो

केपी ओली नेतृत्वको सरकारले ८ वैशाखमा राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी विधेयक संशोधनसहितको अध्यादेश जारी गर्‍यो। यस्तो असंवैधानिक कदम चाल्ने कम्युनिस्ट सरकारविरुद्ध कांग्रेसले ठूलो स्वर गर्ने मौका पायो। यसको प्रभाव पक्कै आउँदो निर्वाचनको लागि फलदायी हुने नै थियो।

यतिमात्र हैन, बिच्च बिच्चमा ओली सरकारले असंवैधानिक कदमहरुको 'क्लाइमेक्स' ल्याइरहे। पुस ५ गते प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरिदिए। जसले सत्ताधारी दल नेकपा नराम्ररी चिरा पर्‍यो। सत्तामा राज गरिरहेको दल सत्ता र सडकमा विभाजित बन्यो। प्रतिपक्षी दलका लागि यो सुवर्ण अवसर थियो। तर, भुत्ते भइसकेको नेतृत्वको धारले छिमोल्न केही सकेन। दुई टाउको सर्पको स्वरुपमा वर्षभरि रह्यो कांग्रेस।

पुस ५ को कदमपछि कांग्रेस सभापतिको ध्यान निर्वाचन तिरै थियो। देउवाइतरका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको ध्यान प्रतिनिधि सभा पुनर्स्थापिततिर। सभापति देउवाको भनाई हुन्थ्यो - पुस ५ को कदम प्रतिगामी हो तर प्रतिनिधिसभा पुनर्स्थापनाबारे सर्वोच्चको फैसला कुरौं। वरिष्ठ नेता पौडेलको जोड थियो - पुस ५ को कदम प्रतिगामी हो, सर्वोच्चले सदर गर्नसक्छ। त्यसैले सडकबाट कांग्रेसले खबरदारी गर्नुपर्छ। देउवा पक्षको जोड थियो - ताजा जनादेशमा जाने। अनि बहुमत प्राप्त गरेपछि कांग्रेसको नेतृत्वमा सरकार बनाउने। पौडेल पक्षको जोड थियो - प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रधानमन्त्री हुने देउवा नै हुन्। त्यसैले पुनर्स्थापनामा जोड दिउँ।

देउवा भने प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चमा विचराधीन रहेकाले यसविरुद्ध बोल्नै नहुने भन्दै अड्डी कसे। कसैगरी पनि चुनावतिरै फोकस हुन कार्याकर्तालाई देउवाको आग्रह थियो। फागुन ७ गते पनि देउवाले नुवाकोट पुगेर चुनावमा जोड दिए। पौडेलले धरान पुगेर असंवैधानिक सरकारले चुनावै गर्न नसक्ने ठोकुवा गरे।

यसरी कांग्रेस नेतृत्व दुई टाउके सर्प झै एउटा टाउकोले यता जाउँ र अर्को टाउकोले उता जाउँ भनेरै विवादमा तानियो। सायद कांग्रेस एक भएर गएको भए राजनीतिको कोर्स अर्कै हुने थियो।

सरकारको नेतृत्व लिनेबारे पनि दुई टाउके प्रवृत्ति!

सत्ताधारी दल नेकपामा गम्भीर दरार पैदा भएपछि मंसिरतिरै ओलीले देउवासँग सत्ता साझेदारीको प्रस्ताव सुनाएका थिए। मंसिर ६ मा देउवा बालुवाटार पुगे। त्यही बेला सत्ता साझेदारीको प्रस्ताव आएको चर्चाले देउवाइतरका नेताहरु झस्के। उनीहरुले देउवाले गर्नै नहुने काम गरेको आरोप लगाए। ओलीसँग देउवाको 'हबनब' रुचिकर थिएन पौडेल पक्षका लागि।

वैशाखमा फिर्ता लिइसकेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ओलीले पुन: मंसिर २९ मा ल्याए। सोही दिन देउवा बालुवाटार पुगे बिहानै। सभामुख अग्निप्रसाद सापकोटा नगएको बैठकमा उनको उपस्थितिले कांग्रेसभित्रैबाट उनको चर्को विरोध भयो। विरोधपछि बेलुकाको बैठकमा गएनन् देउवा। कांग्रेसले सरकारको कदमको चर्को विरोध गरे पनि देउवाको सिफारिसमा संवैधानिक आयोगहरुमा नियुक्ति भयो। यो दाग देउवालाई सायद जीवनभर लागिरहने छ नै।

जब फागुन २३ गते सर्वोच्चले नेकपा नामसम्बन्धी विवाद टुंग्याइदियो। नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुई फ्याँक भयो। अनि सभापति देउवालाई दुईतिरबाट प्रधानमन्त्रीको अफर आयो। सत्ताधारी दल एमालेबाट पनि र सत्ताबाट बिदा भएको दल माओवादी लगायत माधव नेपालबाट पनि। यस्तो अवस्थामा जनता समाजवादी पार्टी र माओवादीले पनि सरकार गठनमा कांग्रेसले नेतृत्व गर्नुपर्ने दबाव दिन थाल्यो। देउवा इतरकै कांग्रेस नेताहरुले पनि सरकारको नेतृत्व लिन देउवालाई उक्साउन थाले।

तर, देउवालाई सरकारको नेतृत्व लिएर अपजसको भारी बोक्ने मन भएन। उनले धेरै समय यसमा रुचि देखाएनन्। माओवादीले समर्थन फिर्ता नलिएको अवस्था र जसपाको दोधारे चरित्रलाई देखाउँदै देउवा चुप रहे। तर, पार्टीभित्र उनीइतरका नेताहरुले कांग्रेसले ओलीलाई विदाई गरेर सरकारको नेतृत्व लिनुपर्ने बेला आइसकेको भन्दै देउवालाई दबाव दिन थाले। देउवामाथि दबाव यति आइपर्‍यो कि - प्रधानमन्त्रीको दाबी नगर्ने हो भने अर्कै उम्मेद्वार तयार पार्नेसम्मको कुरा पार्टीभित्रै आयो।

त्यसपछि बाध्य भएर देउवाले केन्द्रीय समिति डाक्यो र प्रधानमन्त्रीबाट ओलीको राजीनामा मागियो। अनि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गर्‍यो। यसकै फलोअपमा देउवाले चैत २७ गते आफ्नै निवासमा तीन दलको बैठक बोलाए। बैठकमा माओवादी त सकारात्मक हुने नै भए तर जसपा अनिर्णित बनिदियो। यसले गर्दा देउवाले सन्तोषको सास फेर्न पाएका छन्।

फेरि गर्न सकेनन् महाधिवेशन

कोभिड नआएको भए सायद यतिबेला नेपाली कांग्रेसले नयाँ नेतृत्व पाइसकेको हुने थियो। वर्ष २०७७ को फागुन ७ देखि १० गतेसम्ममा १४ औं महाधिवेशन सकाउने मिति तय भएको थियो। तर, कोभिड र केपी ओली नेतृत्व सरकारको तिकडमले कांग्रेसको राजनीति पनि नराम्ररी बिथोलियो।

यससँगै संविधानको साहरा लिन बाध्य भएको कांग्रेसको महाधिवेशन २०७८ भदौ ७ देखि १० भित्रमा गर्ने गरी मिति धकेलियो। २०७४ को निर्वाचनमा प्रतिनिधिसभामा ६३ सिटमा सीमित कांग्रेसका लागि यसपटक निर्वाचनमा जाने कि सरकारको नेतृत्व गर्न जाने भन्ने विषय नै निकै विवादित बनिदियो।

अघिल्लो वर्षको उपनिर्वाचनमा केही फाइदा मिले पनि राष्ट्रिय सभामा कांग्रेस ६ पदमा खुम्चिएको थियो। सोही वर्ष छाया सरकार गठन गरेको कांग्रेसको यो सरकार वर्ष २०७७ मा कहीँ कतै देखिएन सुनिएन।

यसरी सरकारविरुद्धको आन्दोलनमा होमिएर थाकेको कांग्रेसले आफ्नै पार्टीलाई जिवन्त बनाउने काम भने गर्न सकेन। पार्टीलाई जीवन दिने महाधिवेशन पटकपटक स्थगित गरेर अन्तिम मिति फागुनका लागि तोकिएकोमा कोभिड-१९ र लकडाउन देखाउँदै नयाँ मिति घोषणा गर्न बाध्य भयो। फागुन ७ गतेबाट महाधिवशेन हुने मिति भए पनि फागुन ५ गते बल्ल कांग्रेसले महाधिवेशनको नयाँ मिति तय गर्‍यो।

सत्ताले हान्दा तात्यो कांग्रेस

कांग्रेस वरिष्ठ नेता पौडेलमाथि गृह जिल्ला पुगेर पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पक्राउ गर्‍यो र झन्डै तीन घण्टा नियन्त्रणमा लियो। मंसिर १७ को यस घटनापछि भने कांग्रेस तात्यो। घटनाको विरोधमा २९ गते देशभर प्रदर्शन भयो।

मंसिर २९ मै ओली सरकारले पुन: संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्यायो। पुस ५ मा प्रतिनिधिसभा भंग गर्न ओली सरकारले सिफारिस गर्‍यो। राष्ट्रपतिबाट तुरुन्तै अनुमोदन भयो। संवैधानिक आयोगका रिक्त पदाधिकारी नियुक्त भए। वैशाख १७ र २७ गते दुई चरण गरी निर्वाचन हुने मिति तोकियो। भोलिपल्ट ६ गते साँझ ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बस्यो। बैठकमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र जसपाका अध्यक्ष महन्थ ठाकुर सहभागी भए। सर्वदलीय बैठकले ओली सरकारको कदम असंवैधानिक ठहर संयुक्त रुपमा विरोधमा जाने सहमति भने हुन सकेन।

सत्तामा ओर्लेको नेकपा आफ्नै तालमा आन्दोलनमा थियो। जसपाले पनि छिटफुट आन्दोलन गरिरहेको थियो। पटकपटक एकै ब्यानरमा आन्दोलनमा जाने भनेर सडकमा ओर्लिएका नेताहरुले भने पनि कांग्रेसले एक्लै विरोधमा निस्कने निर्णय गर्‍यो। पुस १४ गते कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा विरोध गर्‍यो। माघ ३ गते देशभरका प्रदेश तह र स्थानीय तहमा विरोध गर्‍यो भने माघ ८ गते देशभरका वडाहरुमा विरोध प्रदर्शन गर्‍यो। त्यसैगरी कांग्रेसले माघ १९ गते भ्रातृ संगठनले देशभर प्रदर्शन गर्‍यो भने २४ गते शुभेच्छुक संस्थाले र फागुन ३ गते जिल्ला कार्यसमितिले।

वर्ष २०७७ मा कांग्रेसको नाफा नोक्सान

यस वर्ष कांग्रेसका दुई सांसदहरुको निधन भयो। बाग्लुङबाट २०७० सालमा संविधानसभा सदस्य तथा प्रतिनिधि सभामा समानुपातिक सांसद रहेको ज्ञानकुमारी छन्त्यालको असार १७ गते निधन भयो। उनको ठाउँमा सुवर्ण ज्वारचन सांसद बनिन्।

कात्तिक १८ गते सांसद एवं आमन्त्रित सदस्य सूर्यबहादुर केसीको निधन भयो। केसीको ठाउँमा मोहन पाण्डे सांसद बने। मोरङ कांग्रेसका पूर्व सभापति अशोक कोइरालाको चैत ५ गते निधन भयो। चैत १४ गते काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको नर्भिकमा निधन भयो।

यसबिच कांग्रेसले पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापालाई आफ्नो पार्टीमा भित्र्याउन सफल भयो। सुनिलबहादुर सहमहामन्त्री पद पाउने सहमतिमा राप्रपाका केही नेतासहित साउन १३ गते नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। कात्तिक २८ गते थापाले सहमहामन्त्री पद पाए त्यसैगरी उनको साथमा आएका ६ जनाले केन्द्रीय सदस्य र ४ जनाले आमन्त्रित केन्द्रीय सदस्य पद पाए।

यता पूर्व महामन्त्री गोविन्दराज जोशीलाई भने पाँच वर्षका लागि कांग्रेसबाट निष्कासन गरेको कांग्रेस अनुशासन समितिको निर्णय साउन १० गते सुनाइसकेको थियो।

यही बिचमा देउवाले १२ विभाग विस्तार गरे। पाँच विभाग गठन गरे। विभाग गठन र विस्तारमा पौडेल पक्षको विरोध कायमै रह्यो। असोज १२ गते पौडेल प्रकाशमान सिंह र शशांक कोइरालाले देउवाविरुद्ध ९ पृष्ठको विरोधपत्र बुझाए। सिटौलाको पक्षको भने यसमा असहमति थियो।

दुई टाउके प्रवृत्तिको चर्काचर्की!

देउवा र पौडेलबीच कांग्रेसभित्र चर्काचर्की परिरहन्छ। यो वर्ष पनि यस्ता केही घटना दोहोरिए। पुस २६ गते देउवा निवास बुढानीलकण्ठमा दुई नेताबिचको विवाद सतहमा आयो। ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ कार्यक्रम पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नै नसक्ने विषयमा व्यख्या गर्दै संविधान बनाउने आफूहरु जिउँदै रहेको बताएका थिए।

'संविधानमा कही पनि विघटन गर्ने ठाउँ छैन। प्रतिनिधिसभा विघटन हुनै सक्दैन भनेर लेखिएको छ। प्रधानमन्त्रीले संसद भंग गर्न नपाउने। २ वर्ष नभई अविश्वासको प्रस्ताव ल्याउन नपाइने संविधान बनाउने हामी हौं। हामी यहाँ जिउँदै हुँदाहुँदै,' पौडेलले यति भनेपछि देउवा जंगिए।

जंगिँदै देउवाले भने, 'म पनि जिउँदै छु त यहाँ।' त्यसपछि पौडेलले सँगै थपे, 'तपाई हामी सबै हो त। हामी संविधान बनाउने रछ्यानमा फालेको सहेर बस्नु हुँदैन।'

यस बिचमा पौडेलसँग सम्बन्ध सुमधुर बनाउन माघ ५ मा देउवा पौडेल निवास बोहोराटार पुगेका थिए। तर उनीहरुको तुष कहाँ मेटिनु? चैत २७ गते नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा देउवा र पौडेलबिच फेरि भनाभन भयो। कांग्रेसमा देउवा र पौडेलको नीति दुई टाउके सर्पको झैं देखिन्छ नै। यसले कतै सर्पविद्ले भने झैं कांग्रेसको अवस्था 'एउटा टाउकोले यता जाउँ, अर्कोले उता जाउँ' भन्दाभन्दै संकटमा पर्ने त हैन?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell