PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

युरो कपको सेमिफाइनल: इटलीको स्पेन र इङ्ग्ल्याण्डको डेनमार्क प्रतिस्पर्धी



पहिलोपोस्ट

युरो कपको सेमिफाइनल: इटलीको स्पेन र इङ्ग्ल्याण्डको डेनमार्क प्रतिस्पर्धी
File Photo: Reuters

यूईएफए युरो कपको क्वाटरफाइनलको खेल सकिएको छ।

क्वाटरफाइनलको खेलहरुमा स्पेनले स्वीजरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदा इटलीले बेल्जियमलाई २-१ गोलअन्तरले हरायो। त्यस्तै डेनमार्कले चेक रिपब्लिकलाई २-१ गोलअन्तरले हराउँदा इङ्ग्ल्याण्डले इङ्ग्ल्याण्डले युक्रेनमाथि ४-० को फराकिलो जित निकाल्यो।

योसँगै युरो कप २०२० को सेमिफाइनलको समीकरण पुरा भएको छ। 

कुन टिम कसरी पुगे सेमिफाइनल?

स्पेन: समूह 'ई' को उपविजेता स्पेनले प्रतियोगिताका सुरुवाती दुई खेलमा बराबरी खेल्दै निराशाजनक सुरुवात गरेको थियो। यद्यपि त्यसपछिका दुई खेलमा भने बिपक्षीको पोस्टमा समान ५/५ गोल गर्‍यो।

अन्तिम १६ को खेलमा ८ गोलको 'थ्रिलर' मा क्रोएसियालाई ५-३ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो। त्यस्तै क्वाटरफाइनलमा स्वीजरल्याण्ड लाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेनले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

क्वाटरफाइनलमा स्वीजरल्याण्डको आत्मघाती गोलमार्फत स्पेनले अग्रता लिएको थियो। खेलको ८ औं मिनेटमा जोडी अल्बाको सट डेनिस जकारियाको खुट्टामा लागेर गोल हुन पुगेको थियो। पहिलो हाफमा स्पेनले १-० को अग्रता लिएको थियो।

खेल अवधिभर स्पेनले स्वीजरल्याण्डलाई दबाबमा राखे पनि दोस्रो हाफ पटकपटक फिनिसिङमा चुकेको थियो। दोस्रो हाफमा स्वीजरल्याण्डले बराबरी गोल गर्न सफल भयो। ६८ औँ मिनेटमा सेर्डान साकिरीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ७७ औँ मिनेटमा मिडफिल्डर रेमो फ्रिलर रातो कार्ड पाएर बाहिरिएपछि भने स्वीजरल्याण्ड थप दबाबमा परेको थियो।

निर्धारित ९० मिनेटको समयमा खेल १-१ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। तर त्यसमा पनि दुबै पक्षले गोल थप्न सकेन र खेलको निर्णय पेनाल्टी सुटआउटमा पुग्यो। पेनाल्टीमा ३-१ ले अघि रहँदै स्पेनले सेमिफाइनलमा स्थान बनाएको हो।

इटली: पछिल्ला ३२ खेल यता अपराजित समूह 'ए' को विजेता इटलीले अन्तिम १६ मा अस्ट्रियालाई २-१ ले हराउँदै इटलीले क्वाटरफाइनलको यात्रा तय गरेको थियो। क्वाटरफाइनलमा विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई हराउँदै इटलीले सेमिफाइनलमा स्थान बनाएको थियो।

क्वाटरफाइनलमा जर्मनीको म्युनिखस्थित एलिनाज एरेनामा सम्पन्न खेलमा इटलीले बेल्जियमलाई २-१ गोलअन्तरले हराएको थियो।

खेलको ३१ औं मिनेटमा निकोलो बरेलाको गोलमा इटलीले अग्रता बनाएको थियो। त्यस्तै खेलको ४४ औं मिनेटमा बरेलाकै पासमा लोरेन्ट इनसाइनले इटलीको अग्रता दोब्बर बनाए। अर्कोतर्फ बेल्जियमका लागि पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै रोमेलु लुकाकुले गोल फर्काए। यद्यपि उनको गोल खेलमा फर्कन पर्याप्त भएन। र, इटलीले २-१ को जित निकाल्दै सेमिफाइनल स्थान सुरक्षित गर्‍यो।

डेनमार्क: समूह चरणमा सुरुवाती दुई खेल गुमाएर पनि समूह 'बी' को उपविजेता बनेको डेनमार्कले अन्तिम १६ मा वेल्सलाई हराएको थियो। त्यस्तै क्वाटरफाइनलमा चेक रिपब्लिकलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

इङ्ग्ल्याण्ड: समूह 'डी' को विजेता इङ्ग्ल्याण्डले अन्तिम १६ मा जर्मनीलाई हराएको थियो भने क्वाटरफाइनलमा युक्रेनलाई  ४-० को फराकिलो अन्तरले हराएको थियो। यो सँगै १९९६ पछि इङ्ग्ल्याण्ड पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो।

यस्तो छ सेमिफाइनलको समीकरण

स्पेन भर्सेस इटली: जुलाई ७ बुधवार बिहान पौने १ बजे( मंगलवार राति)

डेनमार्क भर्सेस इङ्ग्ल्याण्ड : जुलाई ८ बिहान पौने १ बजे (बुधवार राति)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell