PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

अदालतको परमादेशपछि ज्योतिषी रिजालको खोजी : देउवालाई भनेका थिए,'फेरि प्रधानमन्त्री बन्छन्'



नेत्र तामाङ

अदालतको परमादेशपछि ज्योतिषी रिजालको खोजी : देउवालाई भनेका थिए,'फेरि प्रधानमन्त्री बन्छन्'

काठमाडौं: सोमबार जब सर्वोच्च अदालतले पाँच गठबन्धनको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्‍यो - तब एकाएक खोजी भयो ज्योतिषी सुरेशचन्द्र रिजालको।

'देउवाको चिना हेराउने ज्योतिषीले आइपिओ खुलाएका छैनन्? लौन १० कित्ता हाल्न परो,' फेसबुकमा पत्रकार एवं लेखक भवसागर घिमिरेले लेखेका छन्।

ट्वीटरमा पुनम डाँगीले लेखेकी छिन् : लौन शेरबहादुर देउवाको हात हेराउने ज्योतिषी पत्ता लगाउन पर्‍यो। मलाई नि भविष्यको चिन्ताले खाना नै मिठो हुन छाड्यो।'

 

त्यसैगरी ट्वीटरमै धर्मराज ढकालले लेखेका छन्, 'सात पटक प्रधानमन्त्री बन्छ भन्ने ज्योतिषीको भाउ बढ्ने भयो!'

यसैबारे पत्रकार भुवन शर्माले फेसबुकमा लेखेका छन्, 'देउवाको ज्योतिषीले ठयाम्मै मिलाएछन्, राजेन्द्र महतोको ज्योतिषी भने नक्कली परेछ।'

यसरी सर्वोच्चको परमादेश आउनसाथ रिजालको खोजी सुरु भयो। उसो त ज्योतिषी रिजाललाई सोधखोज गर्ने धेरैजसो सञ्चारमाध्यम पनि बन्यो। सर्वोच्चको आदेशसँगै उनी दिनभर छाए।

+++

प्रधानमन्त्री ओलीले पुस ५ गते पहिलोपटक प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपामा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष मन्त्रीमण्डलबाट राजीनामा दिएर सडकमा ओर्लियो। साथमा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले पनि सरकारको कदमको विरोध गर्‍यो। प्रतिनिधिसभा पुनर्स्थापनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अगुवाइ गर्नुपर्ने निष्कर्षसहित देउवाको ढोका ढक्ढक्याउन पुगे तीनै दलका शीर्ष नेता।

तर त्यतिबेला देउवाले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा जोडबल लगाएनन्। उनी हरेक सभामा पुग्दा एउटै बोली हुन्थ्यो : अदालतलाई धम्क्याउन हुन्न। सर्वोच्चले जे निर्णय गर्छ त्यो कांग्रेसलाई मान्य हुनेछ।

उनको बोलीमा लोली मिलाउने कांग्रेस नेताहरु पनि थिए। उनको भनाई काट्ने नेताहरु पनि कांग्रेसमै थिए। आशंका गर्ने नेताहरु पनि। आशंका यो थियो कि : देउवा ओलीसँग साँठगाँठमा छन्। केही सिप नलागे ओली देउवालाई सत्ताको बागडोर सुम्पने तयारीमा छन्।

यस्तो आशंकाकाबीच सरकारको विरोधमा सडकमा ओर्लेका नेताहरुले देउवा नै अबको प्रधानमन्त्री बन्ने दाबी गरिरहेका छन्। माघ २ गते गोरखा पुगेर बाबुराम भट्टराईले अबको प्रधानमन्त्री देउवा नै हुने दाबी पेस गरेका थिए।

'ओलीमाथि र राष्ट्रपतिमाथि महाअभियोग लगाउनुपर्छ। दण्डितै गर्नुपर्छ। यसो गरेपछि ओली यसै रिङआउट हुन्छन्,’ पत्रकार भेटघाटमा उनले भनेका थिए, ‘अब केपीलाई हटाएर आफू सरकारको नेतृत्व गर्नुभन्नु सरासर पदलोलुपता हुन्छ। त्यसो भएपछि सरकारको नेतृत्व गर्ने पालो नेपाली काँग्रेसको आउँछ। काँग्रेसमा पनि प्रतिष्पर्धा गर्ने रामचन्द्रजीहरु संसदमा सदस्य हुनुहुन्न। त्यसैले मलाई लाग्छ अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्छ।’

त्यसैको भोलिपल्ट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवा फेरि प्रधानमन्त्री हुन 'बेर नलाग्ने' टिप्पणी गरेका थिए। 'प्रतिनिधिसभा आए पनि केही नोक्सान छैन। उनीहरु दुई फ्याक भएका छन्। हामी त निर्णायक नै हो। कांग्रेस जता लाग्छ त्यतै निर्णय हुन्छ,' माघ ३ गते पौडेलले भनेका थिए, 'हाम्रो सभापतिको तालुमा आलु फल्यो। फेरि प्रधानमन्त्री हुन बेर छैन।'

यता सत्ता छोडेर सडक रोजेका नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पनि अबको प्रधानमन्त्री देउवालाई बनाउन तयार रहेको प्रस्तावसहित कहिले बुढानीलकण्ठ त कहिले सानेपा धाए। यही विषयमा प्रस्ट पार्दै माघ ६ गते प्राइम टिभीको कार्यक्रम 'जनता जान्न चाहन्छन्'मा प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउन समेत आफूलाई अफ्ठ्यारो नपर्ने बताएका थिए। ‘संसद् पुनर्स्थापना भयो भने शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन,’ उनले भनेका थिए।

+++

यसरी देउवालाई चौतर्फी रुपमा 'प्रधानमन्त्री अफर' आएपछि पहिलोपोस्ट न्युज रुममा उनलाई सातपटक प्रधानमन्त्री हुन्छन् भनी दाबी गर्ने ज्योतिषीको खोजी भयो। 'के यसपटक पनि प्रधानमन्त्री बन्दैछन् त देउवा? सात पटक प्रधानमन्त्री बन्छन् भनी भविष्यवाणी गरेका भविष्यवेत्तासँग यसबारे किन नसोध्ने त?' यही प्रश्न लिएर रिजालको खोजी सुरु भएको थियो।

यसो त रिजाल पछिल्लोपटक प्रधानमन्त्री ओलीको कडा निगरानीमा रहेको समाचार पनि सार्वजनिक भएको थियो। केटीएम दैनिक अनलाइनमा उनीमाथि नेकपाको निगरानी रहेको खबर प्रकाशित भएको थियो।

रिजाललाई भेट्न केही सम्पर्क सुत्र लगाउनुपर्‍यो र केही दिनको प्रयासपछि माघको पहिलो हप्ता भेट भयो। पशुपतिको एक आश्रममा भेटपछि देउवाको भविष्यवाणी गर्दा उनले एउटा शर्त भने तेर्स्याए, 'तोडमरोड नगरी लेख्‍ने भएमात्र यसबारेमा कुरा गर्ने हो।'

उनै रिजालसँगको कुराकानीका आधारमा यो रिपोर्ट तयार पारें।

पढ्नुस्ः देउवालाई सात पटक प्रधानमन्त्री बन्छन् भन्ने ज्योतिषको नजरमा अब नयाँ प्रधानमन्त्री को?

त्यतिबेला रिजालले देउवाको ग्रहदशा बलियो रहेको बताएका थिए, 'ग्रहदशा बलियो छ देउवाको। हामीले ग्रह, राशी र नक्षत्रबाट क्यालकुलेसन गर्ने हो। यसले स्पष्ट देखाउँछ। चैतसम्ममा देउवा प्रधानमन्त्री बन्नुहुने योग छ।' त्यतिबेला चुनावको घोषणा भएको थियो। तर चुनावको विषय सुन्नसाथ रिजालले बीचैमा भनेका थिए, 'चुनाव हुने योग नै छैन। बृहस्पति तल परेको बेला यो सम्भव नै छैन।'

राशीमा समेत देउवा बलियो भएको उनको तर्क थियो।

उनका अनुसार देउवाको कुम्भ राशीका हुन्। यो राशी ज्यादै बलवान भएर आएको दाबी थिए। ओली मकर राशीका हुन्। जुन राशी अहिले कमजोर हुँदै आएको उनको दावी थियो।

कात्तिक १ बाट सुरु भएर चैतको नवरात्रीभित्र देशले नयाँ प्रधानमन्त्री पाउने योग देखेको उनले त्यतिबेला भनेका थिए। त्यसो त उनले त्यतबेलै राजनीतिक किचलो २०७९ सम्मै जारी रहने बताएका थिए। भने, '२०७९ मा मात्र देशले निकास पाउँछ।'

***

त्यसो त राजनीतिक परिदृश्यमा फेरबदल भइरह्यो। र उनले भने झै चैतमै नयाँ प्रधामन्त्री बन्ने परिस्थिति रहेन। प्रतिनिधिसभा पुनर्स्थापनापछि देउवा प्रधानमन्त्री हुने छाँट देखिएन। यही बीचमा रिजाल देउवा भेट्न पुगे बुढानिलकण्ठ। त्यतिबेला रिजालले देउवालाई सुझाव दिएका थिए केही महिना अझै पर्खिनु।

'चैत ३१ देखि असारसम्ममा कुनै पनि महत्वपूर्ण निर्णय नलिँदा राम्रो हुन्छ। उहाँले हातको औला गनेर यत्रो चार महिना भनेर भन्नु भएको थियो। उहाँले अर्कै मुडमा यो कुरा गर्नु भएको थियो,' भेटपछि रिजालले भनेका थिए।

फागुन २३ गतेका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक आह्वान गरेकी थिइन्। त्यसअघि नै कांग्रेसको कित्ता क्लिएर गर्नुपर्ने देउवामाथि दबाब थियो। नेकपालाई लिएर कांग्रेसभित्रै दुई वटा समूह देखा परेको छ। ओलीको कदमलाई रुचाउने र प्रचण्ड-नेपाललाई आन्दोलनमा साथ दिने। संसद् विघटनको मुद्दा विचाराधीन भएका बेला पनि देउवाले नचाहेरै भए पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए।

देउवालाई कांग्रेसबाटै सरकारको नेतृत्व लिनका लागि पटक-पटक दबाब हुन थाल्यो। नेकपाबाट फुटेर बनेको माओवादी केन्द्र, एमालेकै माधव नेपाल पक्ष, जसपाको बाबुराम उपेन्द्र पक्षको साथ। तर देउवा सरकारको नेतृत्व गर्ने पक्षमा तयारी देखिएनन्। किनकि न त नेकपाबाट फुटेको माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो, न त एमालेका माधव नेपाल पक्षकै विश्वास थियो।

ओलीलाई प्रधानमन्त्रीबाट अपदस्त गराउनैपर्ने आफ्नो नेताहरुको कचकच सुनेर देउवा भन्थे, 'ओलीलाई हटाउन चाहेकै छ नि। किन चाहदैन मैले। तर सियोर सट हुनुपर्छ है। त्यसको सन्दर्भमा सल्लाह हुँदैछ। मैले झुट बोलेर हुँदैन,' प्रचण्डले फिर्ता लिएको छैन। त्यहाँ बहुमतको सरकार छ। प्रचण्डले फिर्ता लिए पनि मधेशको पार्टीले समर्थन गर्न लागेको छ। भित्रभित्रै मिटिङ भइरहेको छ। के भइरहेको छ थाहा छैन।'

परिस्थिति बदलिँदै गयो। ओलीले विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरे। त्यही बेला १४९ सांसदको हस्ताक्षर लिएर देउवा जेठ ७ गते राष्ट्रपति शीतलनिवास पुगे। तर राष्ट्रपतिले देउवाको दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा मध्यराति प्रतिनिधिसभा विघटन गरिन्। 

जेठ १० गते देउवासहित १४७ जना सांसदको सनाखतसहित सर्वोच्च अदालत पुगे -देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग्दै।

सर्वोच्चले सोमबार देउवाको मागको पक्षमा सुनुवाइ गर्दै प्रतिनिधिसभा विघटन बदर गरेको छ भने देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भनी परमादेशसमेत दिएको छ।

असार २६ मा सकियो छत्रभंग योग, देउवालाई राम्रो

सरकारमा हुने किचलो छत्रभंग योगका कारण हुने रिजालले यसअघि नै बताइसकेका थिए। यसपटक भने असार २६ बाट यो योग सकिएकोले देउवाको योग बलियो भएको रिजालले दाबी गरे। यद्यपि नयाँ सरकार बनेपछि चार महिना देश थप संकटमा पर्न सक्ने उनको ठम्याइ छ।

प्रधानमन्त्री बन्नका लागि देउवाको समय अनुकूल रहे पनि देशको अवस्था हाल नाजुक रहेको उनको भनाई रह्यो।

'अहिले कोरोना महामारीको संक्रमण उस्तै छ। बाढी पहिरोको डर उत्तिकै छ,' रिजालले भने, 'देउवाका लागि योग राम्रो रहे पनि देशका लागि सावधानी अपनाउनुपर्ने देखिन्छ।'

यसका लागि हरेक काममा देउवाले होसियारी अपनाउनुपर्ने उनको सुझाव छ। 'राजा पनि मंगल, मन्त्री पनि मंगल भएकोले कडा समय छ। राज्याभिषेकदेखि हरेक कामको शुभ साइत हेर्नुपर्छ। चार महिना कठिन परिस्थिति छ,' उनले भने।

यद्यपि देउवाको योग शक्तिशाली रहेको उनको दाबी रह्यो। 'हामीले योग हेर्ने हो। शक्तिशाली योग देउवाको छ। प्रतिपक्षीको भूमिकामा बस्नुपर्ने व्यक्ति प्रधानमन्त्रीको दाबेदारसम्म जानु भनेको उहाँको योग बलियो भएरै हो,' उनले भने। यसपटक प्रधानमन्त्री बनेमा देउवाको यो पाँचौँ कार्यकाल हुनेछ।

देउवालाई सात पटक प्रधानमन्त्री बन्छन् भन्ने ज्योतिषीको नजरमा अब नयाँ प्रधानमन्त्री को?

राजनीतिको व्यस्त 'सेड्युल'बिच देउवाले भेटे ज्योतिषी, प्रसाद लिएपछिको चासो : अबको समय कस्तो छ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell