PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

निर्मला प्रकरणमा प्रहरीको 'हनी ट्र्याप'सम्मका फरक फरक प्रयोग तर हात लाग्यो शून्य, टाढिँदो न्याय



सविन ढकाल

निर्मला प्रकरणमा प्रहरीको 'हनी ट्र्याप'सम्मका फरक फरक प्रयोग तर हात लाग्यो शून्य, टाढिँदो न्याय

काठमाडौं : 'अनुसन्धानको घेरा साँघुरिएको छ। भेटिएका प्रमाणलाई भेरिफाइ र प्राविधिक पक्षबाट हेरिरहेका छौं।'

केही दिनअघि निर्मला पन्त प्रकरणमा प्रहरीको अनुसन्धान के भइरहेको छ? भन्ने प्रश्नमा नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले दिएको जवाफ यही हो।

तीन वर्षमा नेपाल प्रहरीका आधा दर्जन जति प्रवक्ता फेरिए, हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीदेखि एआइजी विश्वराज पोखरेलसम्म। त्यसो त निर्मला प्रकरणको अनुसन्धान गर्ने जिल्लाको नेतृत्व गर्दै पुगेका तत्कालीन एसपी कुबेरबहादुर कठायतले पनि नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी पाएका थिए। त्यतिखेर पनि उनको रेडिमेड जवाफ अरु प्रवक्ताको झैं थियो - प्रमाण खोजिरहेका छौं। फेरिफाइ गरिरहेका छौं।

आखिर प्रहरीले तीन वर्षसम्म के प्रमाण खोजी गरिरहेको छ त जसले निर्मलाको हत्यारासम्म पुग्न सकियोस्। के तीन वर्ष अघिको घटनामा अब थप नयाँ प्रमाण भेटिएला? अथवा पहिले भएका अनुसन्धानमा भेटिएका परिस्थितिजन्य प्रमाणको आधारमा नै अपराधी पत्ता लगाउनुपर्ला? केही गरी नयाँ प्रमाण फेला नपरे, निर्मलाको हत्यारा कहिल्यै नभेटिने त होइन?

गएको तीन वर्षमा सुदूर पश्चिमको एउटा बलात्कार र हत्याबारे अनुसन्धानमा खटिएका प्रहरीहरु बिच नै घटनाको सामान्य विषयमा मत किन बाझियो? उनीहरुको एउटै निष्कर्षमा नपुग्दासम्म अनुसन्धानकर्ता नै कतै निर्मलाको हत्यारासम्म पुग्न बाधक बनिरहेको होइन? संशय पैदा हुनु स्वभाविक बनेको छ। अनुसन्धानकर्ताको अनुसन्धान शैली फरक भए पनि लक्ष्य एउटै हुने गर्छ। लक्ष्य अर्थात्, हत्यारा पक्राउ, पीडितलाई न्याय।

यतिसम्म कि निर्मलाको शव भेटिएको घटनास्थलको विश्लेषण गर्ने विषयमा समेत अनुसन्धानकर्ताको मत बाझिएको छ। केही समय निर्मला हत्याको घटनालाई भिडले ट्र्याक गर्‍यो। केही पत्रकार, मानव अधिकारकर्मी लगायतले तोडमोड गर्ने कोसिस गरे। विपक्षी दलका लागि राजनीतिक मुद्दा बन्यो। तर, अनुसन्धानमा खटिने प्रहरीलाई यस्ता कारण देखाउँदै भावनात्मक बन्ने सुविधा छैन।

भिडले भन्यो भने अपराधि समात्ने अथवा छोड्ने गर्न मिल्ने विषय नै होइन। तर, निर्मला प्रकरणमा जे नहुनुपर्ने हो, त्यही भइरहेको थियो। बम दिदी बहिनीलाई भिडको माग अनुसार नै थुनियो। जबकि केन्द्रीय अनुसन्धान व्यूरोबाट डीएसपी अंगुर जीसी नेतृत्वमा गएको टोलीले प्राविधिक र म्यानुअल विधिबाट अनुसन्धान गर्दै थप प्रमाण नभेटिएपछि उनीहरु अनुसन्धानको घेराबाट परै राखेको थियो।

तर, जब जिल्लाको नेतृत्व गर्ने एसपी कुबेरबहादुर कठायत पुगे, उनी भिडबाट बहकिए। भिडको माग अनुसार नै बम दिदी बहिनीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरे। त्यसअघि उनले कुनै प्रमाण फेला पारेका थिएनन् नै, पक्राउको औचित्य स्थापित पनि गर्न सकेनन्। डीएसपी जीसीको टोलीले उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्नु अन्यायपूर्ण हुने देखेको थियो।

एसपी कठायत र गृह मन्त्रालयले गठन गरेको समिति कञ्चनपुर पुग्दा त्यहाँको माहोल तातेको थियो। एसपी र समितिको टोलीले त्यहाँ अवस्था हेरेर बम दिदी बहिनीलाई नियन्त्रणमा लिँदा उर्लिएको आन्दोलनको राप मत्थर हुने देख्यो र नियन्त्रणमा लियो।

घटनास्थलमा प्रहरीबिच फरक मत

कुनै पनि घटनास्थल अनुसन्धानका लागि प्रारम्भिक थलो हो। अपराधिसम्म पुग्न घटनास्थलको प्रकृति, त्यहाँ भेटिएका प्रमाण, वरपरको स्थिति आदिले मद्दत गर्छ। अहिले निर्मला प्रकरणमा अनुसन्धानमा गएका केही प्रहरी घटनास्थलमा नै अलमलिएका छन्। घटना साउन महिनाको थियो। तर, चैतमा पुगेका अनुसन्धान टोलीले साउनको अवस्था विष्लेषण गरोस् कसरी?

२०७५ साउन ११ गते निर्मलाको शव भेटिएको हो। त्यसपछि सबैभन्दा पहिले केन्द्रबाट पुगेका प्रहरी हुन् अंगुर जीसी। उनले केही दिन ढिलो भए पनि घटनास्थललाई नजिकबाट नियाल्न पाएका थिए। जतिखेर निर्मलाको शव भेटियो त्यतिखेर नै डीएसपी जीसीले घटनास्थल देखे, न त अरु पछि पुगेका अनुसन्धानकर्ताले। जिल्लाबाट गएको प्रहरी टोलीले त्यतिखेर लिएको फोटो, भिडियो र स्थानीयबाट प्राप्त फोटो भिडियोकै आधारमा नै डीएसपी जीसीको टोलीले अनुसन्धान अगाडि बढाएको थियो।

डीएसपी जीसी अहिले पनि घटनास्थलको सही विष्लेषण गर्न नसक्दा निर्मला प्रकरण बल्झिरहेको दाबी गर्छन्। निर्मलाको शव भेटिएको स्थानमा नै बलत्कार भएको हो वा अन्यत्र गरेर फ्याँलिएको? अर्थात् घटनास्थल प्राइमरी क्राइम सिन हो वा सेकेन्डरी हो? यसमै अनुसन्धान अल्मलिएको छ। तर, डीएसपी जीसी भने प्रहरीले अभियुक्त भनेर सार्वजनिक गरेका दिलिपसिंह विष्टको बयानले नै घटनालाई प्रमाणित गरेको दाबी गर्छन्।

यस्तो अवस्थामा अब अपराधी कसरी पत्ता लगाउने त? घटनास्थलमा अपराधीको पहिचान खुल्ने कुनै कागजपत्र भेटिएको भए अनुसन्धान सहज हुन्थ्यो। त्यसो पनि भएन। कसैले देखेको भए अनुसन्धानमा समस्या नै हुँदैन थियो। झन् घटनास्थल वरपर सीसी क्यामरा भएको अथवा कुनै ब्यक्तिको गतिविधिहरु भएको भए पनि सहज हुन्थ्यो। धेरै घटनामा अपराधी यसरी नै पत्ता लागेका उदाहरणहरु छन्। तर, निर्मलाको शव भेटिएको स्थान वरपर यसखाले क्यामरा हुने कल्पना समेत गर्न सकिन्न। किनकि शहरी क्षेत्रमा त सुरक्षाका लागि यस्ता क्यामरा छैन भने ग्रामिण सडक र बारीका बिच कहाँबाट क्यामरा जडान हुनु।

त्यसोभए अब प्रमाण चाहिँ कसरी जुटाउने त? अब निर्मला प्रकरणमा अर्का अभियुक्त पहिचान गर्ने हो भने दिलिपसिंह विष्टबारे जुटेकाभन्दा बढी प्रमाण फेलापार्नुपर्ने देखिन्छ। विष्टका केही परिस्थितजन्य प्रमाण र साविति बयानले उनलाई अभियुक्त करार गर्ने अवस्था थियो। तर, निर्मला पन्त हत्याको यति राजनीतिकरण भयो कि विष्टलाई समात्नु नै 'अपराध' हुनु हो भन्ने भिडले तय गर्‍यो।

निर्मला प्रकरण यति धेरै गिजोलिएको छ कि अब अभियुक्तभन्दा पहिले प्रमाण पेश गर्नुपर्ने चुनौती प्रहरीसामु छ। त्यसो त यसअघि प्रहरीले निर्मला प्रकरणमा यातना दिएर जबर्जस्ती अभियुक्त बनाइएका प्रदीप रावल र विशाल चौधरीकै जस्तो प्रकरण दोहरियो भने प्रहरी थप विवादमा फस्नेछ। तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यातना दिन लगाएर यी दुई युवालाई घटना गराएको कबुल गर्न लगाएका थिए जुन पछि ओपन सेक्रेट बन्यो। काम देखाउने नाममा प्रहरी प्रमुखले नै अनुसन्धानलाई गिजोल्दिएपछि प्रहरीका हरेक अनुसन्धानमाथि प्रश्न उठ्नु अनौठो भएन। त्यसैले देखाउन सकिने खालको प्रमाण नभेटिएसम्म प्रहरीसँग यस घटनाका अभियुक्त समात्ने आधार देखिन्न।

तर, के यसको अर्थ भौतिक प्रमाण नभएसम्म कसैलाई पनि नियन्त्रणमा नलिने त? सर्वोच्च अदालतको एउटा फैसलाले यसको जवाफ दिएको छ - पूर्ण इजलासको निर्णय नम्बर १००२१ ले। न्यायाधीश ओमप्रकाश मिश्र, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाले २०७३ माघ गते एउटा फैसला सुनाए।

“फौजदारी मुद्दामा प्रत्यक्ष प्रमाणको महत्त्वपूर्ण स्थान रहने भन्ने कुरामा विवाद हुन सक्तैन। तर कुनै मुद्दामा प्रत्यक्ष प्रमाण उपलब्ध नभएकै आधारमा अपराध र अपराधीको बारेमा खोजबिन नहुने भन्ने हुँदैन। प्रत्यक्ष प्रमाण उपलब्ध नभएको स्थितिमा परिस्थितिजन्य प्रमाणको सहाराबाट मिसिलमा रहेको तथ्य एवम् प्रमाणहरूको विश्लेषण गरी अपराध र अपराधीको बारेमा न्यायिक निरूपण हुन आवश्यक हुने। कुनै घटनामा परिस्थितिजन्य प्रमाणले नै घटनाक्रम उजागर गरी घटनाको पुष्टि गरिरहेको छ भने प्रत्यक्ष प्रमाण प्रस्तुत हुन नसकेकै कारण निर्दोषिताको आधार बन्न नसक्ने।'

त्यसैले निर्मला प्रकरणमा पनि यही नजिरका आधारमा परिस्थितिजन्य प्रमाण जुटाउँदै अपराधी खोज्न सकिन्छ।

२०७५ भदौ ४ गते प्रहरीले दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो। उनलाई अभियुक्तका रुपमा उभ्याउनुको कारण 'परिस्थितजन्य प्रमाण र साविति बयान'लाई नै आधार बनाइएको थियो। तर, दिलिपसिंह विष्टलाई प्रहरीले सार्वजनिक गर्ने बित्तिकै कञ्चनपुरमा आन्दोलन आगो सल्कियो। प्रहरीको अनुसन्धान र परिस्थितिजन्य प्रमाण एकातिर रह्यो भने भिड अर्कोतिर मोडियो। यसमा केही पत्रकार र मानव अधिकारकर्मीको भूमिका रह्यो।

अर्कातिर प्रहरी पनि परिस्थितजन्य प्रमाणभन्दा बढी प्राविधिक पक्षबाट पनि दिलिपसिंह विष्टलाई अभियुक्त प्रमाणित गर्न सक्रिय थियो। विष्टको डीएनए परीक्षण भयो तर निर्मलाको शरीरबाट संकलन गरिएको स्वाबसँग त्यो मिलेन। त्यसैबिच कञ्चनपुरको माहोल यसरी तात्यो कि प्रहरीले विष्टलाई अदालतमा उपस्थित नै गराउने आँट गर्न सकेन। अदालतमा परिस्थितजन्य प्रमाणका आधारमा उनलाई अभियुक्तका रुपमा लैजान प्रहरीले सकेन। डीएनए परीक्षणलाई नै अन्तिम अस्त्र मानियो, अनुसन्धानको। तर, डीएसपी जीसीले भने परिस्थितिजन्य प्रमाणका आधारमा भएको त्यतिखेरको अनुसन्धान नै सही भएको तर्क गर्छन्। उनको त्यो तर्कलाई डीएनएबाट अपराधी पत्ता नलाग्ने निष्कर्षले पनि पुष्टि गरिसकेको छ। राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका पूर्व निर्देशक जीवन रिजालसहितको समितिले निर्मलाको शरीरबाट निकालिएको स्वाब 'कन्टामिनेटेड' भएको भन्दै त्यसबाट अपराधीको डीएनए पहिचान नहुने प्रतिवेदन बुझाइसकेको छ।

यता डीएनए नमिलेपछि प्रहरीको अनुसन्धान दिलिपभन्दा बाहिरतिर गयो। त्यसैले पालैपालो विशाल चौधरी, प्रदीप रावल, नेपाली सेनाका जवानदेखि अहिले पछिल्लो समय नेपाल थरका एक जना युवकसम्म डोहरिएको छ। जुन स्वाबबाट अपराधीको डीएनए खुल्न नसक्ने भन्ने प्रतिवेदन छ, प्रहरी अहिले त्यसैका आधारमा खोजीमा होमिएको छ।

तत्कालीन डीएसपी कमल थापा (हाल एसपी)को टोलीले प्रदीप रावल र विशाल चौधरीलाई उभ्याएर साविती बयान दिएको दावी गरेको थियो। यसमा तत्कालीन महानिरीक्षक सर्वेन्द्र खनालले समेत अभियुक्तहरुसँग बयान लिएका थिए। तत्कालीन सरकारले उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको मन्त्री ईश्वर पोखरेलले दावी नै गरेका थिए। तर, यस प्रकरणमा पनि जुन दिन निर्मला मारिइन्, त्यस दिन पक्राउ परेका रावल र चौधरी कहाँ थिए भन्ने नखोज्नु नै प्रहरीको कमजोरी बन्यो। घटना भएको दिनको अवस्था, घटनास्थल र उनीहरुले दिएको बयानबिच तालमेल भएन। अनुसन्धान फितलो भयो। शंका लागेको व्यक्तिसँग प्रहरीले अनुसन्धान गर्न सक्छ। तर, त्यसो गर्दा अपनाउने विधि र कानुनी व्यवस्थालाई इन्कार गर्न मिल्दैन।

अनुसन्धानमा अब्बल मानिएका महानगरीय अपराध महाशाखाका डीएसपी रुगुम कुँवरलाई पनि अनुसन्धानका लागि कञ्चनपुर पठाइएको थियो। उनले अपराधीको स्केचसमेत तयार पारेका थिए। त्यो स्केच प्रहरीले सार्वजनिक गर्ने खबर बाहिरिए पनि कहिल्यै देखाइएन। घटना भएको कसैले देख्यो? तर गर्ने मानिस चिनेजानेको भएन भने हुलियाका आधारमा प्रहरीले अनुसन्धानका लागि स्केच तयार पार्छ। स्केच तयार पार्न पनि घटना भएको समयको परिस्थिति जन्य अवस्थाबारे जानकारी हुन आवश्यक हुन्छ। कुनै मानिसको दिमागमा त्यस्तो व्यक्तिको आकृति कति समयसम्म बस्छ भन्ने पनि हुन्छ। हत्यारा देखेको आधारमा त्यतिखेर स्केच तयार गरिएको पनि होइन। निर्मलाको साइकल भेटिएको स्थानमा त्यसअघि पनि कसैले महिलालाई लिंग देखाएको थियो भन्ने चर्चा चलेको थियो। त्यही लिंग देखाउने व्यक्तिको स्केच बनाइएको थियो।

स्केच जसको बन्यो, उसले कुनै दिन बाटो हिँड्नेलाई लिङ्ग देखाएको थियो भन्ने आधारमा नै त्यही व्यक्तिले निर्मलाको हत्या गरेको हो भन्ने तर्क पनि फितलो हुन्थ्यो। त्यसैले, डीएसपी कुँवरको अनुसन्धान पनि चित्रमै टुङ्गियो।

केन्द्रीय अनुसन्धान व्यूरोबाट तत्कालीन एसपी सुदीप गिरी पनि अनुसन्धान गर्न कञ्चनपुर पुगे। उनको अनुसन्धान चाहिँ नेपाली सेनामा कार्यरत एक व्यक्तितिर केन्द्रित रह्यो। ती सैनिक अछाममा कार्यरत थिए। निर्मलाको घटना भएको समयमा उनी महेन्द्रनगर घरमा आएका थिए। बम दिदी बहिनीको घर नजिकै उनको घर। मोबाइलबाट अनुसन्धान गर्दा अन्य धेरै केटीसँग यौन सम्बन्ध देखिनु र मोबाइलको लोकेशन घटनास्थलको बीटीएससँग मेल खानुजस्ता प्राविधिक आधारमा उनी शंकाको घेरामा परेका थिए। जतिखेर घटना भयो भन्ने आँकलन गरियो त्यतिखेर उनको मोबाइल 'स्विच अफ' भएकाले शंकाको घेरा बढाएको थियो।

शंकाको आधार ठीकै भए पनि त्यतिमात्र निर्मलाको हत्यारा पुष्टि गर्न पुग्ने प्रमाण थिएन। मोबाइलको बीटीएसले शव भेटिएको ठाउँदेखि २ किलोमिटरको बस्तीसम्म लोकेट गर्थ्यो जबकि त्यो वृत्तभित्र दश हजार जनाको मोबाइल सक्रिय थियो। त्यसैले ती सैनिकमाथिको आशंका आधारहीन बन्न पुग्यो। मोबाइल अफ भएको बाहेक अन्य कुनै पनि कारण प्रहरीको हात लागेन जसले ती सैनिकलाई अभियुक्त देखाउन सकोस्। अन्तत: एसपी गिरीको अनुसन्धान पनि मोबाइलको बीटीएस लोकेट गर्दै सकियो।

तत्कालीन आईजीपी सर्वेन्द्र खनालले आफू अवकाश हुनुअघि कञ्चनपुर पुगेर आफैँ दिलिपलाई थुन्ने प्रयास पनि गरे। भेटिएका सबैभन्दा बलिया आधारहरुले अभियुक्त दिलिप हो भन्नेमा पुगेका थिए उनी। निर्मला प्रकरणमा अन्य मानिस र प्रमाण फेला नपर्नु र मिलेका प्रमाणहरुले दिलिप सिंहतिर औंला सोझ्याउँदा आईजीपी खनाल उनलाई नियन्त्रणमा लिन तयार भए। तर, उनको त्यो प्रयास सरकारी वकिलको साथ नपाउँदा असफल बन्न पुग्यो।

आफ्नो कार्यकालका अन्तिम दुई महिना बाँकी रहँदा विश्वासपात्र एसपी मुकुन्द मरासिनीलाई खनालले कञ्चनपुर पठाए। उनले चाहिँ खनालको अपेक्षा विपरीत दिलिप विष्ट अपराधी हुन नसक्ने दावी गरे। दिलिप विष्टको सार्वजनिक भएका केही भिडियोहरुमा उनमा अत्याधिक यौन आशक्ति देखिन्छ। ती भिडियोहरु युट्युबहरुमा पछि भाइरल नै भए। त्यसलाई आधार बनाएर मरासिनीले उनीमाथि 'एम्बुस' तयार गरे।

निर्मला शव भेटिए नजिकैको बाटोमा दिलिप आउने समय आँकलन गरेर एकजना युवतीलाई साइकलमा पठाइयो। ती युवती प्रहरी नै थिइन् जसले त्यही बाटोबाट आइरहेका दिलिपलाई साइकल बिग्रिएको भन्दै बनाउन आग्रह गरिन्। त्यो विष्टमा यौन आशक्ति अत्याधिक हो भने ती युवतीसँग उनले निर्मलालाई झै व्यवहार गर्नसक्ने अपेक्षा गरिएको थियो। दिलिपले उनको आग्रह बमोजिम साइकल बनाइदिए। र खुरुखुरु आफ्नो बाटो लागे।

त्यो एम्बुसमा दिलिपसिंह विष्ट नपर्नुलाई मरासिनीले उनले अपराध नगरेको भन्ने आधार माने। यी सबै घटनाक्रमको प्रहरीले भिडियो रेकर्ड गरिरहेको थियो। विष्टले जसरी बलात्कार गरेर हत्या गरेको हुँ भन्दै भिडियो बयान दिएका थिए। प्रहरीको यो अर्को प्राविधिक हिसाबले विष्टलाई दोषी देखाउने प्रयास थियो। तर, बलात्कार र हत्याका घटना अरु कसैले तयार गरिएको 'प्लट'मा कसरी हुनसक्छ? प्रहरीले साइकल बिगारेर सडकमा युवतीलाई अलपत्र परेको देखाउन त सजिलै सक्ने भयो तर यौन आशक्ति र बलात्कार गर्ने सोच कुनै पात्रको दिमागमा पसाउन सक्ने भन्ने हुँदैन। त्यहीँनेर फेरि पनि प्रहरीको प्रयोग चुक्यो।

यस्ता तरह तरहका परीक्षण गरे पनि अभियुक्त अझै निर्वाध छ। घटनाको परिवेशदेखि काल्पनिक फिल्मी स्टाइलका प्लट बुन्दै प्राविधिक परीक्षणहरु पूरा हुँदा पनि अभियुक्त फेला परेका छैन।

दिलिपसिंह विष्टबिरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले किटानी जाहेरी पनि दिएकी छिन्। प्रहरीले सुरुका अनुसन्धानमा फेला परेका परिस्थितिजन्य तथ्यहरुले नै उनले त्यसरी जाहेरी दिनुको आधार बनाइदियो। डीएसपी अंगुर जीसीले दिलिपसिंह विरुद्ध के भेटेका थिए त प्रमाण?

दिलिपको अपराधिक पृष्ठभूमि, उसको चरित्र, घटना घटेको समय आसपासमा दिलिपको घटनास्थलमा उपस्थिति देखिनु, दिलिपको प्रहरीसँगको साबिती बयान घटनास्थलसँग मेल खानुजस्ता कारणलाई नै जीसीले प्रमाणका आधार बनाएका थिए।

दिलिपले बयानमा साइकलको चेन बिग्रेको सन्दर्भ बताएका छन्। के उनको साइकलको चेनमा समस्या थियो त? निर्मला पढ्नका लागि रोशनी बमको घर पुग्नासाथ हात धोएकी थिइन्। रोशनीले सोध्दा - साइकल बनाउँदा हात कालो भएकाले धुनु परेको जवाफ दिएकी थिइन्। निर्मालाकी आमा र दिदीले पनि साइकलको चेनमा समस्या भएको प्रहरीलाई बताएका थिए।

छिमेकी हेमन्ती भट्टले समेत १० गते बिहान साढे १० बजे निर्मलाले घरमै साइकल बनाइरहेको देखेको प्रहरीलाई बताएकी थिइन्। शंकाको घेरामा रहेका विष्टदेखि छिमेकी भट्टसम्मले साइकल मर्मतको विषय बताउनुले बलियो आधार दिएको डीएसपी जीसीको तर्क छ।

त्यस्तै, विष्टले साइकल उठाएर मिल्काएको बयान दिनु र जतिखेर साइकल भेटियो त्यसको पोजिसन मिल्नुलाई जीसीले थप आधार मानेका थिए। दिलिपले आफू साइकल भेटिएको स्थानबाट पारी उक्लेको बताउनु र त्यहाँ एउटा ठूलो पाइला भेटिनुलाई पनि उनले आधार बनाए। विष्टले निर्मलासँग २० रुपैयाँ रहेको र त्यही पैसाले गुट्का किनेर खाएको बयान दिएका थिए प्रहरीलाई। रोशनी बमले पनि निर्मलासँग २० रुपैयाँ रहेको बयान दिएकी थिइन्।

दिलिपले बयानमा बलात्कार र हत्या गर्दाका जेजति विषयको व्याख्या गरेका थिए त्यो 'क्राइम सिन'सँग मिल्दोजुल्दो थियो। बलात्कारपछि दिलिपले घाँटी थिचेर हत्या गरेको बयान प्रहरीमा दिएका थिए। पोष्ट मर्टम रिपोर्टमा घाँटीमा थिचिएको देखाएको छ। अर्थात्, दिलिपले जे बयान दिए, घटनास्थलको परिस्थितिले त्यही हो भन्ने संकेत दियो। तर, प्रयोगहरुमै रुमलिरहेको प्रहरीले न आफ्नै अनुसन्धानकर्तालाई स्वीकार्न सक्यो न दोषी पहिचान गर्न नै। यस्तै प्रयोगहरुमै अल्मलिरहँदा निर्मलाका लागि न्याय चाहिँ टाढिँदो छ।

#WhoKilledNirmala शृङ्खला  

विगत : निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि
शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै 
शृङ्खला १७ : विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव
शृङ्खला १८ : को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए?

शृङ्खला १९ : प्रहरीले गोप्य राखेको निर्मलाको त्यो 'अटोजोमल एसटिआर रिपोर्ट' जसमा बलात्कारीको डिएनए देखिएन

शृङ्खला २० : जब निर्मलाको हत्यामा 'क्लु' खोजिरहेको प्रहरीसामु आफै 'क्लु' आइपुग्यो

शृङ्खला २१ : बरु एक्लै रुन सजिलो : निर्मलाकी आमा

शृङ्खला २२ : 'स्पाइरल अफ साइलेन्स' चिरिएको महेन्द्रनगर : आखिर कसले गर्‍यो निर्मलाको हत्या?

शृङ्खला २३ : अछामबाट 'पक्राउ परेका' दुई आर्मीको निर्मला प्रकरणमा के छ कनेक्सन?

शृङ्खला २४ : निर्मलाको सुरुवाल पखाल्ने चाँदनी : हाइप्रोफाइल अपराधीको हल्लामा चेपिएकी प्युसो प्रहरी

शृङ्खला २५ : निर्मला प्रकरणमा वीरबहादुरको बन्दै गरेको घरसँग जोडिएको कनेक्सन 

शृङ्खला २६ : निर्मला प्रकरणलाई 'ट्विस्ट एन्ड टर्न' गराउने ती शक्तिशाली व्यक्ति

शृङ्खला २७ : मान्छे मर्ने गरी आन्दोलन चर्काउन उक्साउने ती रहस्यमय व्यक्ति को थिए? 

शृङ्खला २८ : 'आन्दोलन नगरे ३५ लाख, मर्ने मार्ने गरी गरे सुविधा' : निर्मलाको नाममा घिनलाग्दो राजनीति  

शृङ्खला २९ : निर्मला र रमिलाको पीडा : कानुनको कठघरामा उभ्याउन होइन, चोख्याउन सघाइरहेको छ डिएनए रिपोर्ट 

शृङ्खला ३० : निर्मला प्रकरण : यसरी गरियो रिपोर्टिङ, यस्तो रह्यो हाम्रो निष्कर्ष 

थप श्रृङ्खलाहरु

शृङ्खला ३१ : निर्मला प्रकरणले चरम पीडा खेपेका यी पात्र जसले न्याय पाए पनि सोध्दैछन् : उनलाई चाहिँ कहिले?

शृङ्खला ३२ : प्रहरी अधिकृतबिच अनुसन्धानमा होडबाजीको असर : न निर्मलालाई न्याय, न अपराधी खोरमा

थप समाचार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell