काठमाडौं : सोमवार संखुवासभाको मादी नगरपालिका १ उम्लिङ खोलगाउँमा हत्या गरिएको अवस्थामा फेला परेका ६ वटा शवको मुचुल्का उठाएर अनुसन्धान प्रकृया अगाडि बढाइएको छ। घटनास्थलको सर्च, शवको अवस्था परीक्षण गरेर पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।
शवलाई पोस्टमार्टम गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको अनुसन्धानमा खटिएका एसपी भीम दाहालले जानकारी दिए।
'शवको चेक गरेर पोस्टमार्टमका लागि पठाएका छौं। अब थप अनुसन्धान अगाडि बढ्छ,' एसपी दाहालले भने। सोमवार बिहान करिब १० बजेतिर प्रहरी घटनास्थल पुगेको थियो। प्राप्त जनशक्ति र साधन स्रोतको कमी र सदरमुकामबाट प्रहरी पुग्नुपर्ने भएकाले सोमवार घटनास्थललाई सुरक्षित गर्ने काम बाहेक अन्य अनुसन्धानको प्रकृया अगाडि बढ्न सकेको थिएन।
मंगलवार भने फरेन्सिक सहितको प्रहरी टोलीले घटनास्थलबाट प्राप्त हुनसक्ने प्रमाणदेखि अन्य कुराहरु संकलन गरेको हो। प्रहरीको प्रारम्भीक अनुसन्धानमा ६ जनाको एकै प्रकारले हत्या गरेको देखिएको छ। छ जनालाई नै टाउकामा प्रहार गरेको देखिएको छ।
'प्राय सबैको टाउकामा प्रहार भएको छ। कस्तो बस्तुले हान्यो भन्ने कुरा थप अनुसन्धानमा खुल्ला,' एसपी दाहालले भने।
हिजो विभिन्न ४ ठाउँमा ६ वटा शव फेला परेको थियो। ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको हत्या भएको हो।
पार्वती घरभित्र नै खाटमा मृत अवस्थामा फेला परेकी थिइन्। तेजबहादुर भेने घर बाहिर बाटोको भित्तामा मृत अवस्थामा भेटिएका थिए। बुहारी रञ्जना खोलामा, दुई नाबालिका बारी नजिकै घोप्टो परेको अवस्थामा फेला परेका थिए।
तेजबहादुरका दुई छोरा भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन्। एकै परिवारका ६ जना मारिँदा घरमा रहेका तेजबहादुरका बुबा भने सकुशल छन्। उनले बिहानमात्र घटना भएको थाहा पाएका थिए।
एकै परिवारका ६ जनाको हत्या हुनुको कारण खुल्न सकेको छैन। प्रहरीका लागि यो घटनाको अनुसन्धान चुनौतीपूर्ण पनि देखिएको छ। त्यसैले घटनाको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय नक्सालले केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) बाट डीएसपी रुगम कुँवरको नेतृत्वमा तीन जनाको टोली पठाइसकेको छ।
प्रहरीले घटनास्थलमा पुगेर सूचना संकलन, त्यसको भेरिफाइ गर्ने काम भइरहेको छ।