PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

६ जनाको हत्या प्रकरणमा अनुसन्धानको कोण फेर्दै प्रहरी : सिंगै गाउँ त्रसित, खटियो प्रहरीको टोलीमाथि टोली



सविन ढकाल

६ जनाको हत्या प्रकरणमा अनुसन्धानको कोण फेर्दै प्रहरी : सिंगै गाउँ त्रसित, खटियो प्रहरीको टोलीमाथि टोली

काठमाडौं : सोमवार संखुवासभाको मादी नगरपालिका १ उम्लिङ खोलगाउँमा हत्या प्रकरणको अनुसन्धानको कोण परिवर्तन भएको छ।

प्रहरीले सुरुमा आर्थिक पाटोसँग जोडेर चोरी डकैतीका कारण घटना हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाएको थियो। तर, मंगलवार शव र घटनास्थलको सर्च गर्दा लगाएका गहगहना, घरभित्र भएका नगदसमेत सुरक्षित भेटिएपछि अनुसन्धानलाई फरक हिसाबले अगाडि बढाउनुपर्ने देखिएको हो।

'सुरुमा हत्या आर्थिक कारणबाट हो कि भन्ने थियो। तर, नगद र गहरगहना घरभित्र नै भएपछि अन्य कारणले हुनसक्ने देखिएकाले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं,' एक नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण बीसीले भने।

घरभित्र सहित सोमवार विभिन्न ४ ठाउँमा ६ वटा शव फेला परेको थियो। ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको हत्या भएको हो। उनीहरु एउटै परिवारका हुन्। मंगलवार प्रहरीले घटनास्थलको सर्च गरी शवको मुचुल्का उठाएर पोस्टमार्टम गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो।

मंगलवार कार्कीको घरभित्र हेर्दा नगद ४ लाख ७० हजार रुपैयाँ र विभिन्न गहरगहना फेला पारेको थियो। त्यस्तै, शवमा पनि लगाइएका गहना फेला परेको थियो। जसले गर्दा प्रहरीले घटना लुटपाटको लागि नभएको हुनसक्ने प्रारम्भीक निष्कर्ष निकालेको छ।

मंगलवार भने फरेन्सिक सहितको प्रहरी टोलीले घटनास्थलबाट प्राप्त हुनसक्ने प्रमाणदेखि अन्य कुराहरु संकलन गरेको हो। प्रहरीको प्रारम्भीक अनुसन्धानमा ६ जनाको एकै प्रकारले हत्या गरेको देखिएको छ। छ जनालाई नै टाउकामा प्रहार गरेको देखिएको छ।

हत्या गर्न कुनै धारिलो र आधुनिक हतियार प्रयोग गरिएको देखिएको छैन। त्यसैले प्रहरीले घटना योजनावद्ध र हतियारसहित नभएको हुनसक्ने तर्कका आधारमा पनि अनुसन्धान अगाडि बढाएको छ। ६ जनाको हत्या हुँदासम्म नजिकैको छिमेकीले थाहा नपाउनु, घरभित्र जबर्जस्ती छिरेर हत्या गरेको नदेखिनुले पनि घटना थप रहस्यमय बन्दै गएको छ।

घरका ६ जना सदस्य मारिँदा तेजबहादुरका बुद्ध बाबु भने सकुशल थिए। उनी साँझ ६ बजे खाना खाएर सुतेका थिए। बिहानमात्र उनले आफ्ना घरका सदस्य मारिएको थाहा पाएका थिए।  घरमा रहेका दुई नाबालक भने घर माथिको बारीमा मारिएको अवस्थामा भेटिएका थिए।

तेजबहादुर भने घर बाहिर बाटोको भित्तामा मृत अवस्थामा भेटिएका थिए। बुहारी रञ्जनाको शव खोल्सामा फेला परेको थियो। तेजबहादुरका दुई छोरा भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन्।

घटनाको अनुसन्धान गर्ने अहिले संघीय प्रहरी कार्यालय धरानबाट एसपी भीम दाहालको नेतृत्वमा टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। त्यस्तै, जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट डीएसपी लालध्वज सुवेदीको नेतृत्वमा अर्को टोलीले अनुसन्धान गरिरहेको छ। यता प्रहरी प्रधान कार्यालय नक्सालबाट आइजीको निर्देशनमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी) बाट डीएसपी अंगुर जीसीको नेतृत्वको टोली हिजो नै संखुवासभा पुगिसकेको छ।

प्रहरीले घटनास्थलमा पुगेर सूचना संकलन, त्यसको भेरिफाइ गर्ने काम भइरहेको छ। धरानबाट प्रहरीको तालिम प्राप्त कुकुर समेत लगेर अनुसन्धान गरिएको थियो। तर, कुकुरले प्रहरीको अनुसन्धानलाई ट्र्याक गर्ने संकेत दिन सकेन। त्यस्तै, आज प्रदेश नम्बर एका डीआईजी अरुण बीसी पनि घटनास्थलतर्फ जाँदै छन्।

'प्रहरीले अनुसन्धान गरिरहेको छ। म आफैं आज घटनास्थलतर्फ जाँदै छु। विभिन्न कोणबाट प्रहरीले अनुसन्धान गरिरहेको छ,' डीआईजी बीसीले भने।

गाउँभरि प्रहरी, त्रासमा गाउँ

एकै घरका ६ जनाको हत्या र अपराधीको कुनै छनकसमेत नमिल्दा यतिखेर उम्लिङ खोलगाउँ त्रासमा डुबेको छ। मानिसहरु भयभित छन्। त्यसैमा यतिखेर गाउँमा प्रहरीको सङ्ख्या बाक्लो गरिएको छ।

अनुसन्धानका लागि धेरै सङ्ख्यामा प्रहरी परिचालन गर्दा गाउँमा प्रहरी नै प्रहरी देखिएका छन्।

'अपराधी पत्ता नलाग्दासम्म गाउँमा त्रास हुने नै भयो। प्रहरीले अहिले काम गरिरहेको छ,' मादी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष खेमनाथ कटुवालले भने।

हत्या भएका कार्की परिवारका दुई छोरामध्ये एक जना विदेशबाट नेपाल आइसकेका छन्।  आज बिहान धरान आइपुगेको वडा अध्यक्ष कटुवालले जानकारी दिए।

सामुहिक हत्याका श्रृङ्खला : किन भइरहेका छन् पारिवारिक नर संहार?

श्रीमती छेवैमा मारिँदा बौद्धमानले थाहै पाएनन् : ६ जनाको हत्या भएपछि घटनास्थलमा जे देखियो...

संखुवासभा घटनाको अनुसन्धान गर्न सीआइबीबाट डीएसपीको नेतृत्वमा टोली पठाइयो

कार्की परिवारका ६ जनाको विभत्स हत्या : दुई नाबालक र तिनका बृद्ध हजुरआमा पनि मारिइन्

संखुवासभामा डरलाग्दो घटना : एकै ठाउँमा ६ जना मृत भेटिएको प्रहरीको दावी, धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुमान



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell