PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नेतृत्वमा देउवाका लागि मैदानमा सहज बनाउँदै पौडेल समूह



नेत्र तामाङ

नेतृत्वमा देउवाका लागि मैदानमा सहज बनाउँदै पौडेल समूह

काठमाडौं : नेपाली कांग्रेस अहिले १४औँ महाधिवेशनको संघारमा छ। महाधिवेशन नजिकिँदा सबैभन्दा रोचक लडाईं सभापतिको पदमा हुने देखिएको छ। अहिले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा फेरि सभापतिमा दोहोरिने दाउमा छन्।

संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधिको चुनौती छ देउवालाई। संस्थापन इतरमा देउवासँग को भिड्ने? मिलेर एक भएर लड्नुपर्छ भन्नेहरु अझै जुटेका छैनन्। बरु उनीहरु एकले अर्कोलाई नाङ्गो बनाउनतिर लागिपरेका छन्।

संस्थापन इतरमा सभापतिका आकांक्षी हुन् वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र डा. शेखर कोइराला। सबै आकांक्षी एक भएर लडेमात्र देउवालाई हराउन सकिन्छ भन्ने निष्कर्षमा पुगिसकेका छन् पाँचै जना।

सिटौला एकातिर

तर यी पाँचै जना पाँचतिर फर्केका छन्। कुनै बेला कांग्रेसमा 'थर्ड पोल'को नेतृत्व गर्दै शक्ति सञ्चय गरेका सिटौला पौडेलले नेतृत्व गरेको गुटमा घोलिन सकेका छैनन्। उनलाई पछ्याएका गगन थापा महामन्त्रीमा एकल उम्मेद्वारी दिएर बेलामौकामा पौडेलले नेतृत्व गरेको समूहमा देखिएका छन्। थापा पछिल्लो समय सिटौलालाई पनि यही समूहमा अटाउन सक्नुपर्ने बताउँदै आएका छन्। तर विभिन्न छलफल र भेटघाटमा सिटौलाको उपस्थिति देखिँदैन पौडेलले नेतृत्व गरेको समूहमा।

पौडेलको प्रयास

यसैले पनि यो समूहमा अहिले मिल्नै पर्ने र एकजना उम्मेद्वार हुनुपर्ने भनाई राख्ने चार जना छन्। तर भदौ १८ बाट महाधिवेशन सुरु हुनुअघि नै एक हुने भनी प्रचार गरेका आकंक्षी अझै एक हुन सकेका छैनन्।

‘पार्टीलाई सुधारेर जनताको भरोसाको केन्द्र बनाउन यो टिम चाहन्छ,’ संस्थापन इतरका नेताहरुले 'हामी एक हौं' भन्ने सन्देश दिन सानेपास्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा पौडेलले भनेका थिए, ‘हामीले यस अधिवेशनमा विचार मिल्ने साथीहरुसँग एकता गर्ने कुरामा विश्वास गर्छौँ।’

प्रकाशमानको आफ्नै तयारी

उनै पौडेल गठबन्धन सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बने। पौडेल जब गठबन्धनका संयोजक बने - सबैभन्दा पहिले झोक्किए प्रकाशमान। पौडेल संयोजक बनेको भोलिपल्टै शोभाभगवती पुगेर प्रकाशमानले राजनीतिक संयन्त्रको कामै नभएको बताए

यतिमात्र होइन त्यसको तीन दिनपछि आयोजना गरिएको संस्थापन इतरको बत्तिसपुतली भेला प्रकाशमानले बहिष्कार नै गरे। मन्त्रिपरिषद् विस्तारमा समेत आफ्नो कोटा पौडेलले मेटाएको आरोप छ प्रकाशमानको। त्यसैले उनी पक्षका नेताहरुले पौडेलसँग भन्दा अब सिधै देउवासँगै डिल गर्नु राम्रो हुने तर्कसमेत गरे।

प्रकाशमान नआइदिँदा भेला खल्लो भए पनि त्यहाँ उपस्थित नेताहरुले उनको बचाउ गरे। चित्ता दुखाएका प्रकाशमानले मंसिर २ मा बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सम्पादकहरुसँग आफ्नो अडान व्यक्त गरे - सभापतिको उम्मेद्वारीबाट पछि हट्दिनँ भन्दै।

प्रकाशमान शशांकको घोचपेच

काठमाडौंमा कुनै पार्टीमा नेतृत्व आउन नसकेकाले पनि आफू कांग्रेसको सभापति हुनुपर्ने जिकिर गर्छन् प्रकाशमान। यसो त गणेशमानको त्यागको पाठ पढाउन पनि पछि पर्दैनन् उनी। उनै प्रकाशमानमाथि महामन्त्री शशांकले गरेको घोचपेच पछिल्लो समय चर्चामै रह्यो।

‘प्रकाशमान सिंहको बारेमा भन्दाखेरि नराम्रो लाग्छ, तर सत्य हो, उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ। काठमाडौं बाहिर निक्लिनेवित्तिकै प्रकाशमानलाई मान्छेले चिन्दैनन्,’ शशांकले मंसिर १ गते एक कार्यक्रममा भने। उनले यति भनेपछि प्रकाशमान फायर भए। विराटनगर पुगेका उनले शशांकलाई आफूले पार्टीको काममा गरेको योगदानको रेकर्ड हेर्न चुनौती दिए। यसरी एकै समूहमा भएका प्रकाशमान र शशांक द्वन्द्व महाधिवेशनको मुखमा चर्किँदो छ। दुईबीच मेल होला या बेमेल त्यो समयले बताउँला नै। यद्यपि शनिवार चक्सीबारी पुगेर शशांकले माफी मागेको विषय पनि चर्चामा छ।

शशांक शेखरको खेल

वीपी कोइरालाको विरासत हुन् महामन्त्री डा शशांक। शशांकलाई कतिपयले प्रकाशमानलाई उनी आफैँले लगाएजस्तै आरोप लगाउँछन् 'फाइभ स्टार कांग्रेस हुन् शशांक' भनेर। तर शशांक कोइराला त्यस्तो पदाधिकारी हुन् जसले सभापति देउवाको असफलतामा सक्दो ढाल बनिरहे। उनले देउवाको हरेक असफलता पार्टीमा छोप्ने कोसिस गरे। फाइभ स्टार कांग्रेस भनोस् वा सर्वसाधारणसँग घुलमिल हुन्न भनोस् यावत आरोप लागेपनि शशांक पछिल्लो समय कार्यकर्तासँग भिज्न देश दौडाहमा लागे। भलै उनी अरुभन्दा कम दौडिरहेका छन् र बोल्ने पनि कमै।

यता कोइराला परिवारबाटै सभापतिका अर्का प्रबल दावेदार हुन् डा शेखर। डा शेखर विस्तारै सभापति उम्मेद्वारमा संस्थापन इतरबाट जबर्जस्त हाबी हुँदै आएका छन्। सशक्त आवाज उठाउने देश दौडाहमा सक्रियपूर्वक लागेका उनको पक्षमा लबिङ गर्न संस्थापन पक्षकै नेताहरुले दिल्ली केन्द्रविन्दु बनाएर अभ्यास थालिरहेको बताइन्छ। यद्यपि डा शेखर शशांकको नाममा सहमति भएमा आफू पछि हट्न तयार रहेको हल्ला एक पक्षले चलाइरहेको छ। शशांकको पनि कुरा यही हो। शशांकको यस्तो किसिमको भनाईले तरंग पनि पैदा भएको थियो। र, कोइराला समूहको मेल भन्दै पत्रकार सम्मेलनको तयारीसमेत गरिएको हल्ला चल्यो। यद्यपि शशांक संखुवासभा हिँडेपछि त्यो सपना पूरा भएन। देउवा टिमको दाबी छ : शशांक आए गाह्रो पर्छ। अरु आए सजिलै देउवाको पल्ला भारी हुन्छ।

शशांकलाई रोक्ने गरी देउवा टिमले सशक्त तयारी गरिरहेका छन् महाधिवेशनमा। भित्रभित्रै देउवा टिम देशभर सक्रिय भइसकेका छन्। यता संस्थापनइतर भने एकअर्का नै लडिरहेका छन्।

पौडेललाई संस्थापनइतरकै शंका!

यही बीचमा सबैभन्दा विश्वासमा लिन नसकिने पात्रका रुपमा पौडेललाई लिइएको छ। जसले संस्थापन इतरको नेतृत्व गरिएको भनिए पनि गठबन्धन सरकारको संयन्त्रको संयोजक बन्दिँदा टाउको दुखाईको विषय बनेको छ। पौडेललाई पिरलो छ -यति धेरै आकांक्षीलाई कसरी मिलाउने? राष्ट्रपति, प्रधानमन्त्री जस्ता पद अहिले कांग्रेसको बाँडफाँडको विषय बनेको छ। कुनै योजना र आकर्षण विना कांग्रेसले आफूलाई देशको नम्बर वान पार्टी दाबी गरिरहेको छ र यी पदलाई आफ्नो पेवा ठानिरहेको छ।

यद्यपि डा शेखरले प्रकाशमानसँग यस्तै बलियो पदको पावर सेयरिङबारे पनि छलफल गरिसकेका छन्। पौडेल आफैचाहि केही समय नेतृत्व लिएर अरुलाई छाडिदिने वचन बाँडिरहेका छन्। कतिले वरिष्ठ नेता पौडेल राजनीतिक संयन्त्रको संयोजक बनेर आफ्नै समूहको क्षयीकरणतर्फ लागेको बताउँछन्।

रिङ देउवाका लागि खाली हुँदै!

यसरी संस्थापन इतर पाँचतिर फर्कँदा आगामी नेतृत्वका लागि हुने भिडन्तको रिङ देउवाका लागि खाली हुँदै जाने बताइन्छ। बेलाबेला महामन्त्री शशांक आफैँले भन्दै आएको कुरा हो, 'समूहभित्र सहमति नभए वर्तमान सभापति शेरबहादुर देउवालाई नै पार्टी बुझाए हुन्छ।'

तर संस्थापन इतरमा मेल हुने कुनै छाँट देखिँदैन। देउवासँग भिड्नका लागि सबै एकापसमा लडिरहेका छन्। देउवाविरुद्ध सभापतिमा अहिलेसम्म उपसभापति निधि र केन्द्रीय सदस्य कल्याण गुरुङले उम्मेद्वारी घोषणा गरेका छन्। संस्थापन इतरमा बलियो भनिएका पौडेल, प्रकाशमान, शशांक, शेखर एकापसमा मनमुटावमा छन्। वडादेखि महाधिवेशन प्रतिनिधिसम्म देउवाले आफ्नो पक्षमा माहोल बनाउँदै आएको बेला कांग्रेस रुपान्तरणको पक्षमा रहेका यी नेताहरु नमिल्दा रिङ देउवाकै लागि खाली हुँदै हो कि भनेर कतिपयले लख काट्न थालेका छन्। देउवा तिनै सभापति हुन् जसले न त समयमा पार्टीको महाधिवेशन गरे न त आफ्नो नेतृत्वमा पार्टीलाई सशक्त बनाए। उनै देउवालाई पार्टीको नेतृत्व पुन सुम्पने गरी झगडामा उत्रिएका नेताहरु कतिको जवाफदेही हुने हो त्यो हिसाब किताब पक्कै जनताले गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell