काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न लागेको बताएका छन्।
आइतवार नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले देशको अर्थतन्त्र संकटपूर्ण हुँदै गएको बताएका हुन्। उनले आउने केही समयमा कर्मचारीले तलब र भत्ता जनताले नपाउने दाबी समेत गरे।
‘अहिले अर्थतन्त्र हेर्नुस् त देशको। श्रीलंका बन्न जाँदैछ नेपाल। केही समयपछि तपाईहरुले तलब पाउनुभएन भने अनौठो नमान्नु होला। तलब दिनसक्ने अवस्था छैन। जेष्ठ नागरिकहरुले भत्ता पाएनन् भने अनौठो नमान्नु होला। दिन सक्ने अवस्था छैन। योजनाहरु, आयोजनाहरु काटिएका छन्,’ उनले भने।
ओलीले देश आर्थिक संकटउन्मुख हुँदै गर्दै सत्तारुढ गठबन्धन भने खुशी भइरहेको टिपण्णी गरे।
‘देश यस्तो अवस्थामा पुग्दापनि गठबन्धनमा बस्नेहरु आनन्दमा छन्, प्रशन्न छन्, खुशी छन्। किनभने एमालेलाई रोकियो। एमालेलाई सरकारबाट हटाइयो। कतिदिन हटाउने एमालेलाई सरकारबाट? ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल। नेकपा एमाले त चुनावको वर्षायाम पर्खिरहेको छ। चुनावको वसन्तको याम पर्खिराखेको छ। चुनाव आयो कि एमाले त ढुंगाको काप फोरेर पनि उम्रिन्छ। गठबन्धन केही पनि होइन,’ ओलीले भने।
ओलीले सत्तारुढ गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त बनाएर देशलाई बर्बाद बनाउँदै लगेको आरोप समेत लगाए। राष्ट्र बैंकले डलर दिन नसक्ने भन्दै उनले यसबाट नेपालीहरु विदेश जानबाट रोकिने दाबी गरे।
सम्बन्धित समाचार : एमालेले भन्यो : कांग्रेसले फेरि देशको अर्थतन्त्र संकटमय बनाउन खोज्यो, असफलता ढाक्न गभर्नरलाई प्रायोजित कारबाही
‘देश बर्बाद बनाउँदैछन् गठबन्धनवालाहरुले। बर्बाद बनाउँदैछन्, अहिले नै अर्थतन्त्र ध्वस्त भइसक्यो। देश एउटा फेल्ड स्टेट तिर जाने अवस्था आउँदै छ। श्रीलंका कस्तो भइराखेको छ अवस्था? कोही विदेश जाने कल्पना नगरे हुन्छ किनभने विदेश जान डलर चाहिन्छ, डलर राष्ट्र बैंकले दिन सक्दैन,’ ओलीले भने।
शनिवार पनि ओलीले गठबन्धनले देशको अर्थतन्त्र बिगारेको आरोप लगाएका थिए। यस्तै, सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताएका थिए। अर्थतन्त्र बुझेको र अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नर निलम्बन गरेर बलिको बोको बनाउने काम भएको आरोप उनले लगाएका थिए।
आज पनि नेकपा एमालेले पत्रकार सम्मेलन गरेर अर्थमन्त्रील जनार्दन शर्माले आफ्नो असफलता ढाक्न गभर्नरलाई प्रायोजित कारबाही गरेको आरोप लगाएको थियो। नेकपा एमालेबाट अर्थमन्त्री भइसकेका विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाले सरकारले आर्थिक संकट आउन नदिन केही नगरेको बताएका थिए।
एमालेबाट अर्थमन्त्री बनेका कसले के भने ?
श्रीलंकाका अर्थमन्त्री भागे रे, यो सरकारको अर्थमन्त्री पनि भाग्ने त होइन : सुरेन्द्र पाण्डे
अर्थतन्त्र संकटमा छ, हस्तक्षेप गरेनौं भने नेपाललाई श्रीलंका हुनबाट रोक्न सकिँदैन : विष्णु पौडेल